स्थानीय निर्वाचनमा झैं आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने मनसाय बनाएको सत्तारुढ नेपाली कांग्रेसले आफ्नो चुनावी रणनीति फेर्ने गृहकार्य अन्तर्गत दिनभर जसो आन्तरिक र लोकतान्त्रिक खेमाका भनिने तथा तराईकेन्द्रित दलहरुसँग पनि पालैपालो बैठक गरेको छ।
त्यसका अलावा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको संवैधानिक हैसियतबारेमा पनि बुधबार नै कानूनविदहरुसँग परामर्श पनि गरेका छन्।
बैठकले आसन्न निर्वाचनमा प्रजातान्त्रिक शक्तिबीच तालमेलका लागि गृहकार्य गर्न सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ।
प्रस्ताव
पहिला पार्टीको कार्यसम्पादन समितिको बैठक र त्यसलगत्तै लोकतान्त्रिक धार बोकेका भनिएका दलका नेताहरुसँग नयाँ गठबन्धनको प्रस्ताव अघि सारेको हो।
नयाँ बन्ने लोकतान्त्रिक गठबन्धनबारे नेपाली कांग्रेसका एक नेता प्रकाशशरण महतले भने, ”अब हामी लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील दल र शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जान्छौं। जहाँजहाँ सम्भव हुन्छ तालमेल गर्ने हाम्रो कोसिस हुन्छ। यस्तो वामपन्थी गठबन्धनवाट हामीहरु कत्तिपनि विचलित वा निरुत्साहित भएका छैनौं।”
अप्रत्याशित रुपमा उक्त वाम गठबन्धन भएको भन्दै नेपाली कांग्रेसले त्यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बताएको छ।
लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै त्यस्तो गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनमा समेत गम्भीर चुनौती थप्ने नेपाली कांग्रेसको कार्यसम्पादन समितिको ठहर छ।
लोकतान्त्रिक गठबन्धनको आह्वान गरिएको भएपनि त्यसको विस्तृत खाका तथा चुनावी तालमेलको मापदण्डबारे थप गृहकार्य गर्न बिहीवार बिहानका लागि पुन: कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
नैतिकता
माओवादीले नयाँ गठबन्धन बनाएपछि वर्तमान सत्ता समीकरणबारे प्रश्न उठ्दै गर्दा प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनावमा जाने नेपाली कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले बताए।
तर माओवादीप्रति भने नैतिकताको प्रश्न उठाउँदै उनले भने, ”स्थानीय निर्वाचन माआवादी केन्द्रको नेतृत्वमा गर्ने, संघीय र प्रदेशको निर्वाचन कांग्रेसको नेतृत्वमा गर्ने भन्ने सहमति भएपनि त्यो तोडिएको छ भने अर्कोतिर सरकारमा बस्ने र प्रतिपक्षीसँग गठबन्धन गर्ने नैतिक दृष्टिकोणले उपयुक्त होइन। हामीले केही भन्नु भन्दापनि माओवादी केन्द्रले नैतिकताको आधारमा तत्काल राजीनामा गर्नुपर्ने हो।”
प्रधानमन्त्री देउवाले साँझ अबेरसम्म तराई केन्द्रित राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायत दलका नेताहरुसँग ‘लोकतान्त्रिक गठबन्धन’ गर्ने बारेमा छलफल गरेका थिए।
चुनावका लागि करिब डेढ महिना मात्र समय बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसलाई पार्टीको आन्तरिक सन्तुलन मिलाउन र सत्ता साझेदार माओवादी केन्द्र विनाको नयाँ गठबन्धनबीचको चुनावी भागवण्डा मिलाउन असहज हुने कतिपय विश्लेषकहरुले बताएका छन्।बीबीसी