(गत पुसको १८ र १९ गते काठमाडौमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘आजको वामपन्थ–२’ राष्ट्रिय गोष्ठीको पहिलो दिनको दोस्रो सत्रमा सुरेश ढकाल, जेबी विश्वकर्मा, कैलाश राई, मल्लिका शाक्य, भाष्कर गौतम र रामरिझन यादवबीच भएको छलफलको सम्पादित अंश )
सुरेश ढकालः यो प्यानलमा प्राज्ञिक क्षेत्र र सामाजिक आन्दोलनको क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न चिन्तनशील र ज्ञान निर्माणको क्षेत्रमा सक्रिय मानिसहरु समावेश हुनुहुन्छ।
आजको सन्दर्भमा वामपन्थी हुनु भनेको के हो? वामपन्थी सोच र चेतनाको निर्माण गर्ने प्रक्रिया के हो? हाम्रा वामपन्थी भनिने दलहरु वामपन्थ निर्माणमा कहाँनेर चुके? र त्यो वामपन्थी चेतनालाई सामुहिक रुपमा फेरि पुनःजागरण गर्न, सामुहिक चेत निर्माणकालागि के–के गर्न सकिन्छ? भन्ने विषयमा केन्द्रित रहेर हामी छलफल अगाडि बढाउन प्रयास गर्ने छौं।
सबैभन्दा पहिला म जेबी विश्वकर्मालाई सोध्छु। नेपालका वामपन्थीहरु आफैमा वहिष्करणवादी छन्। उनीहरु पर्याप्त समावेशी छैनन् भनेर बहस चलिरहेको छ। हाम्रा वामपन्थीहरुमाझ लामो समयसम्म मूलतः वर्गीय मुद्धा नै प्राथमिकतामा रह्यो। वामपन्थीहरुमाझ दलितको विशेष मुद्दा छैन भन्ने बहस चल्यो। यस अर्थमा नेपालका वामपन्थीहरुले दलित दृष्टिकोणबाट हेर्दा प्रगतिका लागि चाहिने सामथ्र्य कहाँनेर गुमाए? र तिनीहरुले के गर्नु पर्थ्यो वा के गरेको भए नेपालमा वामपन्थीहरु सहि रुपमा वामपन्थी चरित्रका रुपमा हुन्थे ?
वर्णव्यवस्था र वर्ग निर्माणबीचको सम्बन्ध वामपन्थीहरुले देखेनन् – जेबी विश्वकर्मा
नेपालको वामपन्थी आन्दोलनमा ५० को दशकपछि मात्र दलित पनि बहसको विषय भएकाछन् भन्ने लाग्छ।
अहिले हाम्रा वामपन्थी दलहरु विचार, राजनीति, कार्यदिशाका हिसाबले वामपन्थी छन् कि छैनन्? यस विषयमा घनिभूत तवरमा छलफल गर्नुपर्छ होला। कम्युनिष्ट, त्यसमाथि मार्क्सवादी पार्टीसँग आवद्ध हुने नेता र तिनका समर्थकलाई मेरो पनि प्रश्न के छ भने कम्युनिष्ट हुनुका आधारभूत चरित्रहरु के हुन्छन्? र, कम्युनिष्ट भन्ने सूचकमा राखेर हेर्दा यी कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट जस्ता त छन्?
भारतको वा दक्षिण एसियाको कम्युनिष्ट राजनीतिमा हेर्दा लामो समयसम्म कम्युनिष्टहरुले वर्ग संघर्षको कुरा गरे। नेपालमा पनि कम्युनिष्ट पार्टीको सुरुवात भएको बेला पुष्पलालले लेखेको घोषणापत्रदेखि नै हेर्ने हो भने कम्युनिष्ट राजनीतिले वर्गको कुरा असाध्यै धेरै उठाएको छ। तर नेपाल जस्तो बहुलता भएको, जातभात, भाषा संस्कृतिको विविधता भएको ठाउँमा वर्गको निर्माण कसरी हुन्छ भन्ने विषयमा त्यति धेरै छलफल भएको देखिएन।
यसलाई जात व्यवस्थाको दृष्टिबाट हेर्दा कस्तो देखियो भने निश्चित खलकमा जन्मिने वित्तिकै त्यो व्यक्ति पूँजीको मालिक हुन पाउने अवस्थामा हामी थियौं। वर्ण व्यवस्थाको उच्चतम तहमा भएको व्यक्तिले भाषाको हिसाबले खास समुदायमा जन्मिने बित्तिकै त्यस्को ‘प्रिभिलेज’ पाउने भयो।
संस्कृतिको हिसाबले जन्मिने बित्तिकै त्यसको ‘प्रिभिलेज’ पाउने। र, पार्टीगत रुपमा पनि निश्चित जात र खलकमा जन्मिने बित्तिकै त्यो व्यक्ति पार्टीको सर्वोच्च नेता भईहाल्ने चलनमा हामी हुर्कियौं। यो अभ्यास हेर्दा सबैभन्दा सिमान्तमा पारिएका, जात व्यवस्थाका कारणले सबैभन्दा उत्पीडनमा परेका, सबैभन्दा बढी शोषणमा परेका, अर्थतन्त्रमा स्वामित्व पाउन नसकेका, राजनीतिमा पहुँच नभएका समुदायको मुद्धालाई वर्गीय कोणबाट धेरै व्याख्या नै गरिएन।
नेपालको राजनीतिमा २०४३ सालतिर तत्कालीन मसालले दलितहरुको मुद्धा पनि विशिष्ट प्रकृतिको छ भन्ने हिसाबले त्यस मुद्धालाई सम्बोधन गर्नेगरी जनवर्गीय संगठन बनाउनुपर्छ भनेर सुरुवात गरेको देखिन्छ। तथापि सैद्धान्तिक रुपले हेर्दा कम्युनिष्ट पार्टीहरुले वर्गको आधारभूत चरित्र र वर्ग निर्माणका बारेमा धेरै छलफल गरेको देखिएन। मान्छे गरिब किन भयो भन्ने कुरा त्यहाँको शासकीय व्यवस्था कस्तो छ, राजनीतिक प्रणाली कस्तो छ, राजनीतिक परिपाटी कस्तो छ भन्नेले निर्धारण गर्दो रहेछ। यसरी जात व्यवस्थाले निर्धारण गरेको, वर्ण व्यवस्थामा अन्तरनिहित भएको निश्चित समुदाय मात्र राजनीतिमा हुने, निश्चित समुदाय मात्र सरकारमा हुने परिपाटी भयो।
दक्षिण एसियामा सबैभन्दा बढी श्रम गर्ने वर्ग कुन थियो? सबै भन्दा बढी सीप भएको समूह कुन हो ? सबैभन्दा बढी श्रम गर्ने र सबैभन्दा बढी गरिब हुने वर्ग को थियो भन्ने कुरालाई ठिक ढंगले नहेरेका कारणले नेपालको पनि कम्युनिष्ट राजनीति, मार्क्सवादी, वामपन्थी आन्दोलनमा यो मुद्धामाथि ठिक ढंगले छलफल हुने अवस्था आएन।
विशेषगरी ५० को दशकमा माओवादी जनयुद्ध सुरु भईसकेपछि दलितहरुको मुद्धा पनि विशिष्ट प्रकृतिको छ भन्ने विषयमा छलफल भएको थियो। कालान्तरमा माओवादीले दलितहरुमाथि ऐतिहासिक उत्पीडन भएको हुनाले क्षतिपूर्ति सहित विशेषाधिकारको बहस गरेको थियो। तथापि विशेषाधिकारको राजनीति कस्तो हुन्छ? विशेषाधिकार सांस्कृतिक क्षेत्रमा कसरी दिइन्छ? अथवा कस्तो खालको विशेषाधिकार कसरी लागू हुन्छ भनेर माओवादी आन्दोलनले पनि ठिक ढंगले निर्क्योल गर्न सकेन।
यसरी हेर्दा वामपन्थीहरुले सैद्धान्तिक रुपमा नेपालको वर्ग निर्माण, र वर्ग संघर्षमा दलितहरुलाई ठिक ढंगले संलग्न गर्न सकेनन् भन्ने लाग्छ मलाई।
नेपालमा भएका सबैजसो वामपन्थी आन्दोलन, सबैजसो क्रान्तिहरु कहाँबाट संभव थिए? क्रान्तिको सबैभन्दा निर्णायक शक्ति कहाँबाट संभव भएको थियो? क्रान्तिको निर्णायक शक्तिको संरक्षण कहाँबाट भएको थियो भनेर हेर्नुहुन्छ भने प्रचण्डले बारम्बार भन्ने गर्छन् गाउँ वस्ती डुल्दा दलितहरुले संरक्षण गरेको कुरा। नेपाली कांग्रेसले गरेको क्रान्तिका बेला दलितहरुले नै नेतााहरुको संरक्षण गरेका थिए।
वामपन्थी राजनीतिमा दलितहरुले गरेको त्यो योगदान, बलिदानको हामीले आत्मसम्मान गर्यौं, कि गरेनौं भनेर हेर्नुपर्छ। त्यो तहसम्म बलिदान गरेको समुदाय अहिले पनि संगठनको नेतृत्व र पार्टीको नेतृत्वमा कहिल्यै नआउनेगरी किन पछाडि पर्यो? कुनै पार्टीमा बल्लतल्ल एक दुई जना मान्छे बाहेक दलितहरु नेपालको वामपन्थी राजनीतिमा केन्द्रीय नेताको तहमा पुगेका हुँदैनन् । दलितहरुलाई माथि पुर्याउने नीति हामीले लियौं कि लिएनौं? त्यस्तो कार्यक्रम हामीले बनायौं कि बनाएनौं?
केन्द्रको कुरा छाडौं जिल्ला कमिटीमा नै त्यहाँ त्यति ठूलो बलिदान गरेका दलितहरु त्यस कमिटीको नेतृत्व गर्न सक्ने क्षमतामा छैनन् होला त ? वामपन्थी राजनीतिमा हाम्रो जात व्यवस्थाको प्रतिनिधित्व सबैतिर देखिन्छ। किसान आन्दोलन/संगठन, मजदुर संगठनको कुरा गर्दा सबैभन्दा सर्वहारा, गरिबको यी संगठन हुने तर, त्यो समूह कहिल्यै पनि नेतृत्वमा स्थापित नहुने भनेको के हो? यो कोणबाट हामीले छलफल गरेनौं भने पार्टीहरु जात व्यवस्थाको अर्को फोरमका रुपमा देखा पर्छन्। अहिलेसम्म यही भईरहेको छ।
सुरेश ढकालः जुन पार्टीभित्र विचार निषेध गरिन्छ, त्यो पार्टी कसरी वामपन्थी हुनसक्छ भन्ने विषयमा यो चिन्तन छलफल त्यसरी गयो भने हामी अलिकता केही अपेक्षा गर्न सक्छौ कि? नीतिगत तहमा वामपन्थी दलहरुले के कुरालाई प्राथमिकतामा राख्दा उनीहरुले वामपन्थी चरित्र ग्रहण गर्न सक्लान्? वामपन्थी सोच र चेतनाको निर्माणका लागि दलहरुले के के गर्नुपर्छ?
जेबी विश्वकर्माः मेरो निष्कर्ष के रह्यो भने केही उपलब्धीहरु हुँदाहुँदै पनि नेपालका सिमान्तकृतहरुले धोका बाहेक धेरै कुरा केही पाएनन्। यो कुरा अहिलेको राजनीतिक व्यवस्था, पार्टीहरुको संरचना, पार्टीको गतिविधि हेर्दा पुष्टि हुन्छ। अब पनि हामी यही लाईनमा जाने हो भने वामपन्थी भनिनेहरुबाट सबैभन्दा उत्पीडितहरु झन उत्पीडित हुन पुग्छन्। जात, भाषा, लिंग, वर्ण, संस्कृति, राष्ट्रका आधारमा थप उत्पीडित हुन्छन्।
विगतमा नेपालका वामपन्थी राजनीतिक पार्टीको अधिवेशन हेरियो भने ती अधिवेशनमा सबैभन्दा बढी विचारको तहमा छलफल हुने गर्थ्यो । पार्टी नेतृत्व निर्माणका बारेमा छलफल हुने गर्थ्यो। नीति तथा कार्यक्रमका बारेमा छलफल हुने सबैभन्दा महत्वपूर्ण प्लेटफर्म हुन्थ्यो अधिवेशन। तर, आजभोली यस्तो छैन। आफूलाई वामपन्थी दावी गर्ने पार्टीहरुको केन्द्रीय समितिको बैठक वा अधिवेशन हेर्दा अब हामीलाई विचार नभएपनि हुने हो भन्नेतिर गएको देखिन्छ।
यदि यसो हुँदैनथियो भने नेपालका आधारभूत समस्याहरु, आधारभुत सरोकार के हुन भन्ने विषय ती पार्टीहरुका अधिवेशमा वैचारिक छलफलका विषय बन्थे होलान्। कुनै पनि पार्टीमा यो खालको वैचारिक छलफल भएको देखिदैन। वैचारीक हिसाबले यी मुद्धामा छलफल नगर्ने हो भने हामी कहाँ जान्छौ तः अलमलको बाटोमा। अहिले हामी अलमलको बाटोमा छौं।
यहाँ विश्वदृष्टिकोणको कुरा पनि उठ्यो। नेपालमा बहुसंख्यक राष्ट्रहरुको कुरा, आदिवासी जनजातिहरुको कुरा, महिलाको मुद्धा, सिमान्तकृत, दलितहरुको मुद्धालाई हेर्ने दृष्टिकोण के हो भन्ने कुरामा साह्रै धेरै अस्ष्पष्टता छ। यी विषयमा पार्टीहरुमा छलफल गरिएको थाहै छैन ।
यी विषयमा छलफल नै नगर्ने हो भने यस्तो प्रश्न उठ्न सक्छः नेपालमा आदिवासीहरुको मुक्ति भइसकेको हो? दलितहरुको मुक्ति भइसकेको हो ? महिलाको मुक्ति भइसकेको हो? यदि मुक्ति भएको छैन भने पार्टीहरुले यी बारे किन छलफल नगरेका?
वामपन्थी विचार निर्माण गर्ने व्यक्तिहरुले पनि यसरी नसोच्ने हो भने हामी फेरि एउटा समूहलाई घात गर्ने दिशातिर जान्छौं। यो विषयमा अलिक गंभीरतापूर्वक सोचविचार र छलफल गर्नुपर्छ ।
अहिलेको वस्तुगत परिस्थिति, अहिलेको अन्तर्राष्ट्रिय राजनीतिक परिवेश नेपालको अर्थ राजनीतिक परिस्थितिलाई मूल्याङकन गरेर सबैभन्दा बढी छलफल गर्नुपर्ने विषय हो – मुक्ति खोजिरहेका जनताहरुको विषय। भूँई मान्छेको विषय। उत्पीडनबाट मुक्ति खोजिरहेका मानिसको चाहानालाई कसरी सम्बोधन गर्छौ भन्ने कुरा अबको छलफलको विषय हुनैपर्छ। यदि यसो भएन भने वामपन्थी राजनीति हराउने खतरा छ।
वामपन्थको पनि आफ्नो संस्कृति छ भनेर रामरिझन यादव दाईले भन्नुभयो। वामपन्थको आफ्नो संस्कृति हुन्छ कि हुँदैन? संस्कृति हुन्छ भने हामीले अभ्यास गरिरहेको संस्कृति कुन संस्कृति हो? अथवा अहिले भईरहेका वामपन्थी पार्टीहरुले गरिरहेको सांस्कृतिक अभ्यास कुन खालको संस्कृति हो?
हामीले संविधानमा देशलाई धर्म निरपेक्ष भनेर घोषणा गर्यौं। भलै व्याख्यातम्क टिप्पणीका नाममा संविधानमा त्रुटि भयो। धर्म निरपेक्षता भनियो तर, राज्यले कुन धर्म अवलम्बन गर्छ? हाम्रो राज्यले धार्मिक रुपमा अल्पसंख्यकहरुको न्यायको पक्षमा बोल्छ कि बोल्दैन? वामपन्थीहरुले बोल्छन कि नाई? बोल्नुपर्ने हो कि होइन?
पहिचानवादी शक्तिहरुले अहिले पनि कमसेकम हामीलाई पहिचान त देऊ भनिरहँदा यो मुद्धालाई वामपन्थले ठिक ढंगले बुझ्नुपर्ने हो कि होइन? यदि हो भने, पहिचानसँगसँगै त्यो मुक्तिको यात्रालाई मुक्तिको चाहानालाई हामीले कसरी सम्बोधन गर्छौ भन्ने कुरा पनि वामपन्थ बहसको विषय हो कि होइन?
नेपालमा श्रम गर्न सक्ने ठाउँ नभएका कारणले गर्दा, नेपालमा श्रमको वातावरण नभएका कारणले गर्दा यहाँ उद्योगधन्दा केही पनि नहुँदा विदेशबाट ल्याउने र त्यसबाट कमसिन खाएर मात्र चल्ने राजनीतिक थिति बसेको छ। वैदेशिक रोजगारी विशेषगरी खाडी मुलुकमा गएकाहरुले यो देशलाई आर्थिक संकटबाट जोगाईदिएकाछन्।
सानातिना उद्योगधन्दा चलाएर गुजारा गर्ने श्रमजीवि। विदेशमा गएर श्रम गरेर देशलाई ठूलो धनराशी पठाउने श्रमिकको मुद्धालाई हेर्ने वामपन्थी दृष्टिकोण हुन्छ कि हुँदैन? यदि हुन्छ भने ति मुद्धाहरुलाई सम्बोधन कसरी गर्ने? नव–उदारवादले निम्त्याईदिएको दलाल पूँजीवादको परिस्थितिबाट मुक्त हुने केही कार्यक्रम हुन्छ कि नाई भनेर पनि हेर्नुपर्छ। त्यतातिर हेरियो भने मात्र बल्ल राष्ट्रिय अर्थतन्त्र बनाउने कुराको बाटो खुल्छ होला।
यतातिर गइएन भने फेरि एक प्रकारको लोकप्रियतावादमा फसिने र धेरै मानिस त्यतातिर जाने संभावना हुन्छ। यसका लागि कम्तिमा वामपन्थी विचारबारे छलफल हुने र पार्टीहरुले नै यो विचारबारे विमर्श गरेमा संभव हुन्छ। विगतका २० वर्ष हेर्दा यस्ता वैचारिक विमर्शहरु पार्टीभित्र र बाहिर पर्याप्त भएका छैनन्। अब हामीले यतातिर ध्यान दिनुपर्छ।
पहिचान र विविधताको मुद्धामा वामपन्थीहरु चुकेजस्तो लाग्छ – कैलाश राई
सुरेश ढकालः – हिजोको आन्दोलन या विद्रोहमा, समावेशिता र पहिचानका मुद्धाहरु मुखर रुपमा आए। भनाइका हिसाबले हेर्ने हो भने ती सम्बोधन भएको जस्तो लाग्छन्। तर सहि अर्थमा अहिले पनि वामपन्थी दृष्टिकोण सहित त्यसलाई बुझ्ने र सम्बोधन गर्ने विषयमा वामपन्थ अहिले पनि चुकेको हो? त्यस्तो लाग्छ?
कैलाश राईः हो मलाई त्यस्तो लाग्छ। नेपालको सन्दर्भमा सिमान्तकृत वहिष्कृत भएका लैङ्गिक, भाषिक, वर्गीय, सांस्कृतिक जति पनि समुदाय छन् ती सबैको मुद्धा उठाउने श्रेय पनि हामीले वामपन्थको सिद्धान्त र वामपन्थी दललाई दिनुपर्छ। वामपन्थमाथिको विश्वासका कारण वामपन्थी दलका नेताहरुमाथि विश्वास गरेर हाम्रा मुद्धा माथिसम्म पुर्याउने एउटा संयन्त्र निर्माण गर्यौं। यस हिसाबले सिमान्तकृत, किनारीकृत समूहले भोगिरहेको विभेद, शोषण, उत्पीडन जस्ता बहुआयामीक समस्यालाई वामपन्थको सिद्धान्तभित्र रहेर नै हामीले निष्कर्ष निकाल्न सक्छौ भन्ने कुरा हामी जस्तै सर्वसाधारणलाई लागेको छ।
अब यहाँ समस्या के छ भने सिद्धान्तको तहमा त हामीले यी बहुआयामी विभेदहरुको अन्त गर्ने, जति पनि पिछडिएका वर्ग छन्, शोषित, दलित छन् ती सबैमाथिको विभेदलाई हटाएर अग्रगामि मार्गमा जाने भनिएको छ। तर, यो विषयलाई आन्तरिकीकरण, स्थानीयकरण गरी आत्मसात गर्ने, यसलाई हाम्रो समाजको संरचना, नेपाली समाजको व्यवस्था, विविधतासँग कसरी तालमेल गरेर लैजाने भन्ने सवालमा हामी चुक्यौं जस्तो लाग्छ।
वामपन्थी सिद्धान्तलाई नेपाली समाजको विभिन्न तह, तप्का र क्षेत्र, वर्ण, वर्ग, लिंग र समुदायमा लैजाने, स्थानीयकरण गर्ने, सामाजिकीकरण गर्ने सवालमा वामपन्थी भनिएका दलहरुले नै काम गरेनन्। वामपन्थीहरुले सबैभन्दा बढी वर्ग व्यवस्थालाई जोड दिए।
वर्ग व्यवस्थासँग आफ्नो बढी झुकाव राखे र त्यसैमा आफ्नो कोर एजेण्डा राखे। तर अहिले पछिल्लो समयमा नेपाली समाजको चरित्र विविध छ, विशाल छ, यो विषमतालाई तोडेर, त्यहाँ भित्रको विभेद, शोषणका विभिन्न स्वरुप र चरित्रलाई वामपन्थको सिद्धान्त अन्तर्गत राखेर कसरी केलाउने? लैगिंकताको हिसाबले कसरी हेर्ने? जातको हिसाबले कसरी हेर्ने हो? जातियता भित्रको समस्यालाई कसरी हेर्ने? यी सबैसँग जोडिएको धर्म निरपेक्षताको सवाललाई हामीले कसरी हेर्ने हो? यी सबै कुरा जोडेर संयोजित स्वरुपमा ल्याएर वामपन्थीहरुको सैद्धान्तिक कसीमा राखेर केलाउन हामी चुक्यौं।
वर्गको कुरा गर्दा हामीले महिलाको मुक्ति पनि वर्गिय मुक्ति मार्फत नै हुन्छ भन्यौं। नेपालको सन्दर्भमा श्रमिक महिलाको कुरा उठाउँदा हामी श्रमिक महिलाको कुराहरु उठाउन अगाडि छौं। तर श्रमिक महिलाको कुरा गरिरहँदा श्रमिक महिलासँग जोडिएका अनेक अवयवहरु छन् जसले यो समाजमा जटिल संरचना बनेको छ। यो भनेको ती महिलासँग जोडिएको भाषिक स्थितिको कुरा हो, जातीय स्थितिको कुरा हो, शैक्षिक स्थितिको कुरा हो। यी सबै कुरालाई समिष्टगत रुपमा हामीले हेर्न सकेका छैनौ।
सिमान्तकृत, वहिष्कृत, पहिचान र संघियतासँग जोडिएको प्रदेश नम्बर १ कुरा पछिल्लो उदाहरण हो । यो संघियतासँग जोडिएको मुद्धा पनि हो, पहिचानको मुद्धा पनि हो । वहिष्कृत सिमान्तृकत समुदायले पहिचानको मुद्धालाई एकदमै धेरै उठायो । त्यो उठाउनका लागि माओवादीले निकै सहयोग गर्यो। त्यो एजेण्डालाई बाहिर ल्यायो। त्यसो हुँदाहुँदै पनि अहिले आएर भने पहिचानको मुद्धा एकातिर, वामपन्थको सिद्धान्त अर्कोतिर जस्तो भएको छ। वामपन्थ र पहिचानको मुद्धाबिच सम्बन्ध नभएजस्तो देखिरहेको छ।
वामपन्थले जुन प्रकारको वर्गीयताको मुद्धालाई बढी जोड दिन्छ, त्यहाँ भित्र पहिचान, सांस्कृतिक पक्षहरु हुन्छन् ती बीचको सम्बन्ध र समन्वय अलिकता खड्किएको हो कि भन्ने लाग्छ।
सुरेश ढकालः– जनताले पार्टीहरु, नेताहरुलाई आफूले भने जस्तो गरिदिएनन् भनेका हैनन् बरु उनीहरुले आफैले गरेका प्रतिबद्धता अनुरुप काम गरेनन् भनेर गुनासो गरेका हुन्। इमानको खडेरी परेको समयमा धेरे कुराहरु गर्न त गाह्रै होला। तैपनि दलहरुले, नेता, कार्यकर्ता, स्वतन्त्र नागरिकले के गर्यो भने नेपालमा वामपन्थी चिन्तन र शक्ति निर्माण गर्न सकिन्छ? परिवर्तनका लागि वामपन्थी चाहिन्छन् भन्ने अर्थमा अहिले वामपन्थीहरु नै वामपन्थी नभईरहेको अवस्थामा के गर्योभने वामपन्थीहरु वामपन्थी हुन्छन् ?
कैलाश राईः– यो मैले उत्तर दिन सक्ने तहको प्रश्न होइन। जेबी विश्वकर्माजीले भनेका कुरामा म एकदमै सहमत छु। अघि झलक सुवेदीले वामपन्थी कार्यसूचि बनाउनु पर्ने भन्नु भयो, त्यो वामपन्थी कार्यसूचि भनेको के हो? कसरी बनाउने? त्यो कार्यसूचिलाई वामपन्थी नै भन्न मिल्ने खालको कसरी हुन्छ? भन्ने प्रश्नमा बढी जोड दिनुपर्छ।
नेपाली अर्थव्यवस्था, नेपाली समाज, राज्य सञ्जालको मोडलदेखि सबैतिर यो विषयमा सोच्नुपर्छ। वामपन्थ भन्ने शब्दावलीसँग परिचित नभएका अथवा यसलाई उच्चारण नगरीकन पनि वामपन्थ हुने ठूलो जमात नेपालमा छ होला। त्यो समूह, त्यस्ता सोच राख्ने नयाँ पुस्ता, पुरानो पुस्तासँग कसरी जोडिने?
हाम्रो सामाजिक संरचनामा यति धेरै समस्याको चाङ छ। ती समस्याको समाधान गर्नका लागि कार्य योजना बनाउने र समस्यालाई खोतलेर राम्रोसँग सुक्ष्म तरिकाले हेर्ने काम हामीले गरिसकेका छैनौं।
भाष्कर दाईले भन्नु भए जस्तै संकट हराएको भनेको संकट सहि तरिकाले खुट्याउन नसकेको स्थिति हो भनेर मैले बुझेको छु। त्यो संकट खुट्याउनकै लागि हामीले सबैभन्दा पहिला विभिन्न कोणबाट वामपन्थलाई, वामपन्थ भित्रकै विभिन्न अवयवलाई कोट्याउनुपर्छ होला।
पछिल्लो समय पर्यावरणको समस्या छ। पर्यावरणीय शोषण सन्तुलनमा कसरी ल्याउने? त्यसलाई कसरी समाधान गर्ने भन्नेमा हामी गयौं भने एउटा नयाँ जमातसँग हामी जोडिन सकौंला। लैगिंकताका सवालमा हामीले सधैं महिला मात्र भन्यौं। तर, महिला भन्दा पर रहेका यौनिक अल्पसंख्यक जसले वामपन्थ उच्चारण नगर्लान् तर उनीहरु उत्पीडनविहिन, समतामूलक समाजमा बाँच्न चाहान्छन्। यस्ता धेरै मुद्धा छन् जसलाई वामपन्थको सिद्धान्तभित्र ल्याएर, वामपन्थी सिद्धान्तसँग टाईअप गरेर सँगसँगै लैजानुपर्छ।
युवा र अर्थव्यवस्थाको कुरा आयो। अर्थतन्त्र हाम्रो हातमा छैन। हाम्रो अर्थतन्त्र मुलुकको हातबाहिर छ। अरुको हातमा छ। उत्पादन अरुको हातमा छ। हामी उपभोग मात्र गरिरहेका छौं। युवा पुस्तालाई नेपालमा कसरी टिकाउने भन्ने सवाल अर्थव्यवस्था र रोजगारीसँग जोडिएको कुरा हो। मध्यम वर्ग र निम्न वर्गको बिचमा कतै एउटा पुस्ता छ जसले नेपालमै बसेर म यही काम गर्छु भन्छ। वामपन्थले यी युवा पुस्तामा रहेको उर्जालाई समातेर अर्थव्यवस्थामा त्यो सीप र श्रमलाई लगाउने भनेर पनि सोच्नुपर्ने होला नी?
हाम्रो वामपन्थ ‘कमोडिफाईड मार्क्सिजम’ भयो – भाष्कर गौतम
सुरेश ढकालः– भाष्करजीले नेपालमा मार्क्सको प्रवेश कसरी भयो भनेर अध्ययन गर्नु भएको थियो। वामपन्थ भनेको संज्ञा नभएर क्रियापद होला। वामपन्थको स्कुल थोक कुरा केही होइन होला सामाजिक अवस्थिति अनुसार स्थानीय परिवेश अनुसार वामपन्थ हुनु भनेको के हो भनेर परिभाषित गरिनुपर्छ होला। अथवा वामपन्थको स्थानीय, राष्ट्रिय चरित्र पनि हुन्छ होला भन्ने अवधारणामा तपाईंको सहमती असहमती जे भएपनि यो विचारशील नागरिक निर्माण गर्ने क्रममा खासगरी वामपन्थ सोच निर्माण गर्ने क्रममा कम्युनिष्ट पार्टीहरु सत्तामा हुँदा र नहुँदा के गरे? हामीले बारम्बार भनिरहेका छौं हाम्रा वामपन्थी भनिने कम्युनिष्ट पार्टीहरुले सहि अर्थमा वामपन्थी चरित्र अपनाएका छैनन्। अघि भर्खर रामरिझन जीले भन्नुभयो कम्युनिष्ट, वामपन्थी हुनु भनेको आचरण पनि हो। यो आचरणसँग जोडिएको प्रश्न पनि हो। विश्वविद्यालय सबै दलहरुले भ्रष्ट पारे भनिरहेका छौं, जुन देशका विश्वविद्यालयहरु दलहरु मिलेर ध्वस्त पार्छन् त्यो देशमा कस्तो खालको चेतना निर्माण संभव हुन्छ र कस्तो खालको वामपन्थ संभव हुन्छ?
भाष्कर गौतमः- अहिले सबैले संकट छ भनिरहेकाछन्। संकट छ भनेको के हो भनेर नै छलफल गर्नुपर्ने हुन्छ। वामपन्थसँग जोडिएका (राजनीतिक दलमा भएपनि नभएपनि) सबैजना संकटको प्रतिक्षामा छन् जस्तो लाग्छ। वामपन्थीहरुले पूँजीवादमा संकट आउँछ, पूँजीवाद ढल्छ अनि समाजवाद आउँछ र हामी सबै खुसी हुन्छौ भन्ने खालको एउटा सपना बोकेको जस्तो लाग्छ। संकट आओस अनि हामीले खोजेको जस्तो संसार होस्। वा हामीले संकट सिर्जना गरौं ताकि हामीले खोजेको जस्तो नयाँ क्षितिज हासिल गर्न सकौं भन्ने।
तर संकट हामीले सिर्जना गर्ने हो कि, आफै आइलाग्ने हो? वा आईलागोस् भन्ने हाम्रो कामनाले गर्दा हामी संकट छ भनिराख्ने हो? त्यसैले यो संकट नै के हो भनेर हामीले प्रसस्तै छलफल गर्नुपर्छ होला किनभने यसलाई ‘टेकन फर ग्रान्टेड’ भनेर स्वीकार्न सकिदैंन।
मलाई भने संकट छैन जस्तो लाग्छ। संकट छैन भन्नका लागि अघि झलक सुवेदीजीले भनेको एउटा भनाइ लिनुपर्छ, ‘आजको मूल संकट भनेको नवउदारवादमा देखिएको विश्वव्यापी संकट हो।’ मलाई भने नेपालबाट हेर्दा त्यस्तो लाग्दैन। अमेरिकातिरको केही लेखाइ पढियो भने त्यस्तो लाग्नसक्छ, त्यही पढेर झलकजीले त्यसो भन्नुभएको हुन सक्छ।
४० को दशकमा म विद्यालयमा पढ्थें, २०५० मा एसएलसी दिएं। ४० को दशकमा के भनिन्थ्यो भने नेपालमा सियो पनि उत्पादन हुँदैन। नेपाल त यति गरिब रहेछ कि सियो पनि आयात गर्नुपर्छ। आज ८० सालमा आउँदा नेपालले आलु प्याज पनि उत्पादन त गर्छ तर आयात धेरै गर्छ। हामीले सबै कुरा आयात गर्दा नेपाली समाजको एउटा आधारभूत चरित्र भनेको उपभोगवाद बन्दै गएको छ। सबै कुरा उपभोग गर्ने, आयात गर्ने। त्यसरी सबै कुरा आयात गर्ने शिलशिलामा नेपालले वामपन्थको विचार पनि आयात गर्यो। बाहिर एउटा मार्क्सिस्ट छ उसले केही भन्दिएको छ अनि त्यो यहाँ लिएर आयो र मार्क्सवाद, वामपन्थ एउटा उपभोग्य वस्तु भयो। चल्तापुर्जा उपभोग्य वस्तु बन्यो। यसलाई हामीले ‘कमोडिफाईङ मार्क्सिजम’ भनेर भन्न मिल्छ।
मार्क्सवाद वा वामपन्थ एउटा यस्तो चल्तापुर्जा ‘कमोडिटि’ भयो कि त्यो उपभोग गर्न पाए पुग्यो। पढेको कुरा दोहोर्याउने बित्तिकै यहाँ वामपन्थ भयो। भनेपछि हामीले सोचिरहेका छैनौ। एउटा संकट के हो भने वामपन्थले नेपालमा सोचिरहेको छैन। सोच्न के गर्नुपर्छ भनेर हाम्रो सन्दर्भमा अलिक खुलेर छलफल गर्नुपर्छ। यसका लागि नेतालाई गालि गरेर मात्र पुग्दैन।
ग्रिसमा आर्थिक मन्दिको समयमा अर्थमन्त्री रहेका यानिस भारोउफाकिसले ‘टेक्नो–फ्युडालिजम ह्वाट किल्ड क्यापिटालिजम’ भन्ने किताब लेखेको छ। लेखकले विश्वमा पुँजीवादको अन्त भएर टेक्नो–फ्युडलिजममा गइसक्यौं भनेकाछन्। प्रविधिय सामन्तवादको यस्तो नयाँ संकटमा विश्व व्यवस्था प्रवेश गरिसक्यो कि चलनचल्तिको भाषामा पूँजीवादको रटान लगाएर अहिलेको विश्वको जटिलता बुझ्न सकिदैन। अहिलेका उत्पादन सम्बन्धहरु, केन्द्रीकरण र, प्रविधिलाई सामन्तवादले आफ्नो पक्षमा कसरी लिएको छ। उत्पादनमा नियन्त्रण कायम राखेको छ र, संसाभरीको वितरणमा कसरी आफ्नो प्रभाव जमाएको छ भनेर बुझ्न सकिदैन। नयाँ किसिमले पूँजीवादको अन्त भएको चरणमा विश्व व्यवस्था प्रवेश गर्दैछ भनेर उनले किताबमा भनेकाछन्।
२० औं शताब्दीको चलनचल्तिको पुरानो ढर्राको नवउदारवादको संकटको मात्र गफ गरेर हाम्रो संकटको समाधान हुँदैन।
नेपालका वामपन्थीहरुमा मैले अहिले चार वटा संकट देखेको छु।
पहिलो विश्वदृष्टिको संकट। यदि मार्क्सवाद न्यायोचित पुनर्वितरणका लागि लड्न र संघर्ष गर्न सघाउने एउटा विधि हो भने भौतिकवादमा निहित द्धन्द्ध हाम्रो परिवेशमा कसरी काम गर्छ भन्ने विश्वदृष्टि अहिले नेपालको वामपन्थमा छैन।
त्यो विश्वदृष्टि नहुँदा हिजो पुष्पलालदेखि आज रुपान्तरीत माओवादी (पूँजीवादी व्यवस्था ल्याउने) सम्मको यात्रा हेरियो भने हाम्रो परिवेशमा हामीले मार्क्सवादलाई विचार र व्यवहारमा पनि लागु गर्न सकेनौ। त्यस्तो किन भयो भने हाम्रो परिवेश, भौतिकवादमा निहित हाम्रो द्धन्द्ध के हो? हाम्रो समाजको सिद्धान्त के हो र त्यसलाई हामीले हाम्रो अन्यायी, असमावेशी चरित्र, हामीमा भएको व्यक्तिवादी चरित्रमाथि कसरी हेर्ने भनेर दृष्टि अभाव भयो। आज हामीसँग विश्वदृष्टि हराएको अवस्था छ।
दोस्रो संकटः विश्वदृष्टि हराएको हुनाले हामीले हाम्रो वरीपरी के भइरहेको छ भन्ने कुरालाई राम्ररी ठम्याउन सकिरहेका छैनौं। यो ठम्याउन नसक्दा हामीले हाम्रो वरीपरी संकट छ भन्ने कुरा पनि ठम्याउन सक्दैनौं। त्यसैले संकट हराएको अवस्था छ। संकट त हामी चाहान्छौ तर संकट नै छैन वामपन्थले हेर्ने दृष्टिकोणमा।
यो संकट के हो भनेर घनिभूत बहस हुनुपर्ने थियो। विचारधाराको छलफल हुनुपर्ने थियो। तर हाम्रो परिवेशमा त्यस्तो भएन। त्यसैले हामी मन्त्र जपे जसरी एकोहोरो ‘संकट छ’ ‘संकट छ’ मात्र भनिरहेका छौं। अहिले संकट हराएको अवस्था हो। संकट हराएको अवस्थाका बारेमा अर्को तरिकाले पनि भन्न मिल्छः १७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपदस्थ गरेर सैन्य कु गरे। सैन्य कु गर्दा उनले प्रजातन्त्रका लागि गरेको भने। उनको भनाइ र गराइमा धेरै विरोधाभाष थिएन किन भने हामीले उनलाई प्रजातन्त्रवादी भनेनौं उनलाई प्रजातन्त्रवादी राजा भनेर भन्यौं। किनभने सामन्तवादी पृष्ठभूमिबाट आएको राजा भएका कारणले गर्दा प्रजातन्त्र उनले भन्नका लागि मात्र भनेका हुन् भन्ने कुरा त्यतिबेला पनि प्रष्ट थियो र अहिले पनि प्रष्ट छ।
तर अहिले भन्नलाई वामपन्थ भन्ने तर एकदमै गतिशील पूँजीवादी व्यवस्था कसरी नेपालमा ल्याउने भन्ने बारेमा कसरत गर्ने। अहिले वामपन्थ भित्र एकदमै अन्तरनिहित अलमल छ। कम्युनिष्ट पार्टीहरुले आफूलाई वामपन्थ भन्ने तर खासमा पूँजीवादको काम गरिरहेका छन्। त्यसैले एउटा कुरा भन्ने अर्को कुरा गर्ने विरोधाभाषले गर्दा समाजमा संकट छ। आवरण, लेप भित्र लुक्ने चलनबाट निस्कनुपर्ने छ।
तेस्रो संकटः विकल्प हराएको अवस्था। नेपालमा सुषुप्त रुपमा ००७ देखि वैकल्पिक राजनीतिको व्यापक चर्चा भएको छ। तर, यसको परिणामः माओवादबाट पूँजीवादमा जाने विकल्प बाबुराम भट्टराईको भयो। अर्को पार्टी फोडेर राजा ल्याउने विकल्प भयो। यस्तो विकल्पहरुको हास्यास्पद अवस्था अहिले नेपालमा छ। त्यसैले वैकल्पिक राजनीति के हो? वैकल्पिक सोच के हो? मेरो विचारमा सामान्य मान्छे कामदार, मजदुरले आफ्नो स्वायत्तता सहितको जीवन नयाँ तरिकाले बाँच्न सक्छौ भन्ने संभावना राजनीतिमा देखिनु विकल्प हो।
‘विकल्प’ ‘विकल्प’ भन्दैमा, विकल्पको रटान लाउँदैमा विकल्प आउँदैन। त्यसैले अहिले हामी वैकल्पिक राजनीति नभएको संकटमा छौं। वा वैकल्पिक राजनीति हराएको अवस्थामा छौं। त्यसैले वामपन्थीहरु पार्टी खोल्ने तर कस्तो राजनीति गर्ने भनेर थाहै छैन। र, त्यो कसरी प्रस्तुत गर्ने भन्ने पनि थाह छैन र यस्तो देखिएको पनि छैन।
चौथो संकटः वामपन्थीहरु परिवर्तनको संवाहक रहेनन्। यस्तो किन भयो नेपालका धेरै कम्युनिष्ट पार्टीहरु, यही कोठामा भएका धेरै नेताहरु घनश्याम भुषालजीको भाषामा भन्दा दलालहरुको संवाहक भए। क्रान्तिकारी, परिर्तनगामीको संवाहक भएनन्। कामदारहरुको संवाहक कुनै वामपन्थी पार्टी छैनन् भने उसले कसको प्रतिनिधित्व गर्ने राजनीति गरिरहेको छ भन्ने प्रश्न आउँछ। यो प्रश्नबारे छलफल होस्।
सजिलो भाषामा कामदार वर्गको सदस्यको नताले कस्तो किसिमको स्वार्थ वामपन्थी राजनीतिमा देखिनुपर्ने हो? र, त्यो किन देखिएको छैन?
यही प्रश्नसँग अर्को प्रश्न गाँसिन्छ कामदार भन्ने समूह कुनै राष्ट्र विशेषमा अहिले नेपाल राष्ट्र विशेषमा छ भन्ने मानेर नेपाल राष्ट्रको कामदार वर्ग एकदमै गरिब, विपन्न भएको हुनाले उसको राष्ट्रीय स्वार्थ के हो? त्यसका बारेमा वामपन्थले कसरी काम गर्ने भन्ने पनि खोजी हुनुपर्छ।
यो किन खोजिनुपर्छ भने, वैकल्पिक राजनीतिको अन्योन्याश्रित कुरा राष्ट्र र विपन्न वर्ग वा सर्वहारासँग जोडिन्छ। कामदार आफै आफ्नो वर्गको सदस्य भएको हुनाले उसले आफै आफ्नो वलमा उभिने खालको राजनीतिक आधार वामपन्थी संगठनहरुले दिन सक्छन कि सक्दैनन्। त्यसैगरी नेपाल राष्ट्र आफै आफ्नो बलमा उभिने खालको राजनीति वामपन्थले दिन सक्छ कि सक्दैन?
अहिलेसम्मको अवस्था हेर्दा ‘सक्दैनन्’ जस्तो लाग्छ। किनभने अहिलेसम्म वामपन्थमा व्यवहारिक मूल्य मान्यतामा जुन प्रकारका मानकहरु बसेको हुनुपर्ने हो त्यसको सर्वथा अभाव छ। यसो हुँदा प्रत्येक वामपन्थी नेता एउटा ढोंगको पुञ्ज जस्तो लाग्छन्। त्यहाँबाट हामी निस्कनुपर्छ।
सुरेश ढकालः– भाष्कर गौतमजी तपाईं आफूले व्यक्तिगत तहमा अपेक्षा गरेका परिवर्तनका लागि वामपन्थी पार्टीहरु चाहिन्छन्? वामपन्थी भन्ने चिज चाहिन्छ? चाहिन्छ भने किन चाहिन्छ र त्यसको निर्माणका लागि एक दुई तीन के गर्न सकिन्छ?
भाष्कर गौतमः– यी दुई दिन संकट पहिचान गर्न लगाउँ। तर, तपाईं त अहिले नै त्यसपछि के भनेर सोध्न थाल्नुभयो। यो कार्यक्रमको नाम आजको वामपन्थ–२ छ। मिसन ८४ कै यो एउटा अभ्यास हो भने ०८३ सम्म वामपन्थ–३, वामपन्थ–४ भनेर संकट पहिचान गर्न मै लागौं।
०४६ देखि अहिलेसम्म कम्युनिष्ट पार्टी र वामपन्थ भनाउँदा थुप्रै पार्टीहरु निरन्तर सरकारमा भए। र लामो समय सरकारमा भएका कारणले गर्दा के के गर्ने भनेर लामो सूचि बन्न सक्छ। यो सूचि पनि बनाउँला। तर, यसभन्दा सजिलो के भने वामपन्थीले के नगर्ने भनेर सूचि बनाइयो भने के गर्ने भनेर सजिलो हुन्छ।
०४६ देखि अहिलेसम्म पटक–पटक सरकारमा जाँदा एकदमै गरिब र तन्नम जनताको नयाँ क्षितिज र नयाँ संभावनाको खोजीका लागि अलिकता स्थायी र दिर्घकालीन रुपमा कम्युनिष्ट पार्टी, वामपन्थी सरकारले कस्तो किसिमको नीति लिए भनेर हामीले सम्झिने उल्लेख्य काम भएको छैन। त्यसैले सत्तामा आएको भोलिपल्टदेखि तपाईहरुले के गर्नुहुन्छ? भन्ने प्रश्नका बारेमा हामीले धेरै नै मन्थन गर्नुपर्ने, घोत्लिनुपर्ने छ।
यो बीचमा माओवादी द्वन्द्व र यहाँसम्म आउँदा नेपालको राजनीति मोटामोटी तीन वटा कुराको वरीपरी घुमेको छ। एउटा पहिचान, अर्को प्रतिनिधित्व र अर्को पहुँच। पहुँचलाई म पुनर्वितरण भन्छु।
यी तीन कुरा छुट्टाछुट्टै होइनन्। राजनीति पहिचान, प्रतिनिधित्व र पुनर्वितरणको संगम हो। यी सँगसँगै जान्छन्। तर नेपालमा एक थरी वामपन्थी छन् जसलाई पुनर्वितरणको गफ गर्न मन लाग्दैन। एकथरी पुनर्वितरण त भन्छन् तर, पहिचानको कुरा गर्दैनन्। यस्तो ढर्राबाट जबसम्म हामी निस्कदैनौ तबसम्म हामीले हाम्रो सामाजिक विविधता, जटिलतासँग गाँसिएका यो तीनवटै कुरालाई सँगै लिएर जान सक्दैनौ।
अब के गर्ने भन्ने कुरामा हतारो नगरौं। लामो अनुभव गरेर समाजको जटिलता बुझेपछि बल्ल ‘ओके’ गर्ने भन्ने जुन अभ्यास छ त्यसबाट हाम्रो वामपन्थ धेरै टाढा छ। माओवादीले पनि १९ हजार सेनाको अन्तर्राष्ट्रिय वैधतासहित सरकारमा हुँदाखेरी आफूले खोजेको जस्तो परिवर्तन चाहेन पनि र गरेन पनि। चाहेर नगरेको होइन कि उसको कोसिस नै देखिएन।
अंग्रेजीमा ‘रिर्फम’ र ‘रिभोलुसन’ भन्छन्। हामीले त्यस्तो खालको ‘रिफर्म’का बारेमा सोच्नु पर्यो जुन ‘रिफर्म’ले हामीले सोचेको जस्तो ‘रिभोलुसन’का लागि आधार तय गर्दै जान्छ। सुधार र क्रान्ति छुट्टै कुरा होइन। हामीले खोजेको क्रान्तिका लागि सुधार गर्दै जाने हो। यस्तो सुधारले एकदमै सामान्य जनताको जीवनमा आधारभूत परिवर्तन ल्याउने र उसले खोजेको जस्तो राजनीतिको संभावना छ भन्ने कुराका लागि निरन्तर ढोका खोल्ने काम गर्नुपर्छ। जुन हामीकहाँ भएको छैन। अबको बाँकीको सेसन हामीले के गर्ने भन्दा पनि आधारभूत रुपमा हाम्रो समस्या के हो भन्ने बारे घोत्लिनुपर्छ।
नेपाली उद्योग डुबिरहँदा पनि वामपन्थीहरुले हस्तक्षेप गरेनन् – मल्लिका शाक्य
सुरेश ढकालः– हालसालै पिताम्बर शर्माको एउटा लेख आएको थियो जसमा उहाँले राजनीतिमा नैतिकता हराएको अवस्था भन्नुभएको थियो। त्यसो भएर अहिले हामीसँग संकट छैन, विकल्प छैन र नैतिकता पनि नभएको अवस्थामा राजनीति पुगेको छ।
अब म मल्लिका शाक्यलाई प्रश्न गर्दछु। हाम्रोमा मार्क्सवाद वा वामपन्थको कुरा गर्दा मार्क्सले के भन्नुभएको छ भन्ने कोटेशन कण्ठ गर्न पाउँदा हामी अब्बल खालको मार्क्सवादी हुने अवस्थामा पुग्यौं। वामपन्थी दलभित्र चिन्तन सोच, आचरण र त्यसका व्यवहार नहेरिकन उसको कार्यनीति नहेरिकनै हामीले वामपन्थी पार्टीहरुले को बढी वामपन्थी, को बढी मार्क्सवादी भयौ भन्ने खालको भयंकर ठूलो हल्ला गर्यौं। को उपाध्याय बाहुन वामपन्थी, को कुमाई वामपन्थी, कोही क्षेत्री वामपन्थी भनेर, कसैलाई दलित वामपन्थी पनि बनायौं। पूँजीको विस्तारित व्याख्या गर्दैगर्दा आफ्नै कुरा मात्र गरेर हुँदैन यसको सामाजिक आयम पनि छ भनेर पढ्यौ । नेपालको सन्दर्भमा कतै नेपाली वामपन्थीहरु एउटा सिद्धान्तबाट बढी गाईडेड भएर आफ्ना जीवनका अनुभवलाई त्यसमा समेट्न नसकेको र त्यस्तो चेतनालाई संस्थागत गर्न सकेनौ कि? कतै नेपाल बाहिरको वामपन्थसँग नेपालको वामपन्थ एकाकार हुन नसकेको हो कि?
मल्लिका शाक्यः– नेपालबाट बाहिर बसेपनि मानवशास्त्रीको हैसियतले नेपालको पनि अध्यन गर्दैछु। त्यसकारण मेरो दृष्टिकोण अलिकता बाहिरको जस्तो सुनिनसक्छ।
विश्वको वामपन्थ र नेपालको वामपन्थबिच एक प्रकारको एकाकार हुन नसकेको अथवा ‘टेन्सन’ आएको हो कि भनेर सोध्नु भयो।
मैले पार्टीसँग सहकार्य गरेको छैन। म सक्रिय वामपन्थी राजनीतिमा पनि छैन।
खासमा मैले आफ्नो अध्ययन सुरु गर्दाखेरी यो वामपन्थबारे त्यहाँनेर मेरो बाटो जुध्छ भनेर सोचेको पनि थिइन। सुरुमा ‘इकोनोमिक्स’मा एमए गर्दै थिएँ। अर्थतन्त्रमा उत्पादन भन्ने चिज एकदमै महत्वपूर्ण छ। अघि भाष्कर (गौतम) जी ले नेपालमा सियो पनि उत्पादन हुँदैन भन्ने भाष्य सुनाउनुभयो। हाम्रो विकास हुने हो भने हामीले हामीलाई चाहिने चिज आफैले बनाउन जरुरी छ। त्यसपछि मात्र अरु कुरा हुन्छ। यो सामान्य अर्थशास्त्र हो।
गार्मेन्ट उद्योगमा अध्ययन गरेर मैले एमए गरें। त्यसपछि सन् २००१ मा म पिएचडी रिसर्चमा लागें। यो अवधिमा मैले करिब २ वर्ष गार्मेन्टमा काम (अध्ययन) गरे। त्यतिखेर राजनीतिक हिसाबले सोचिएन। पछि २००१ मा जब पिएचडीको रिसर्चमा लागें यतिखेर काठमाडौंमा अनेक आन्दोलन भए। त्यसक्रममा वामपन्थप्रति झुक्दै आएँ।
मेरो किताबमा मैले सोचाइ कसरी निर्माण हुन्छ, दृष्टिकोण कसरी निर्माण हुन्छ, संगठन कसरी बन्दै जान्छ भन्नेबारे लेखेकी छु। शिकारीले बाघ मारिरहेको छ भने जबसम्म बाघले आफ्नो कथा आफै लेख्दैन सिकारी सधैं सहि हुन्छ बाघ सधैं गलत हुन्छ।
यस्ता कुराहरुमा संकथनहरु कसरी निर्माण हुँदै जान्छन् भन्ने कुरा म गार्मेन्ट उद्योगको घटनाबाट सुनाउँछु। सन् १९९९ तिर त नेपालको एक चौथाई निर्यात गार्मेन्ट मात्र हुन्थ्यो। सबैभन्दा ठूलो उद्योग थियो गार्मेन्ट। यो उद्योग सन् २००६/००७ तिर पुगेपछि ध्वस्त भयो। सानोतिनो किसिमले खुम्चिएको होइन ध्वस्त भयो। अनि मैले किताबको शिषर्क नै ‘एउटा उद्योगको अवसान’ भनेर लेखेको छु।
यो उद्योगको अवसान कर्णाली, सुदुरपश्चिममा होइन, काठमाडौंको माझमा भयो। काठमाडौंको बानेश्वर, सीतापाइला, रिगंरोडको वरिपरी रहेका उद्योगको अवसान भयो। त्यहाँ एक तप्काका लाखौं मानिसको रोजगारी तुरुन्तै तहसनहस हुनेगरी गुम्यो जुन ठाउँले देशलाई धानेको थियो।
जुन जुन उद्योगमा म काम गर्न जान्थे ती सबै उद्योगहरु एकएक गरेर डुब्दै गरेको हुन्थे, तिनमा ताला लागेको हुन्थ्यो। मालिकहरु उद्योगमा ताला लगाएर भाग्थे, मजदुरलाई मालिक कहाँ छन् भनेर थाह हुँदैन थियो। अन्तिम महिनाको तलब आउने हो कि होइन थाहा हुन्थेन, त्यसपछि कहाँ जाने भन्ने कुरा पनि अन्योल थियो उनीहरुका लागि।
यो भइरहँदा रिर्सचरको नाताले म सिंहदरबार छिर्थें, सचिवहरुसँग कुरा गर्थे। किन हाम्रो गार्मेन्ट उद्योग डुब्यो, तपाईहरुले के गरिरहनु भएको छ? भन्ने मेरो प्रश्नमा अचम्मका जवाफ, संकथन हुने गर्थे। एउटा संकथन के आयो भने, ‘तपाईंलाई थाहै छैन यो गार्मेन्ट उद्योग त छँदै छैन। हुँदै नभएको चिजको बचाऊ गरेर हुन्छ?’
‘हुँदै नभएको’ या भएता पनि ‘नेपाली नभएको’ संकथनहरु निर्माण भयो। गार्मेन्ट उद्योग भारतीय पूँजीवादीले खोलेको उद्योग हो भन्ने सुनियो। ती उद्योगमा भारतीय मात्र काम गर्छन्, त्यहाँ नेपाली काम गर्दैनन् त्यसैले भारतीय उद्योग हामीले किन बचाईरहने भन्ने संकथन निर्माण भयो। सीमापारीबाट आएका हुन उतै जान्छन् भन्ने भाष्य निर्माण गरियो।
सुरुवातमा एकाध उद्योग भारतबाट आएका मान्छेले खोलेका थिए। ‘को नेपाली, को नेपाली होइन’ भन्ने राष्ट्रियताको खडेरी छ नेपालमा। सन् २००१ मा मधेशीहरु सबै भारतीय हुन् भन्नलाई हिचकिचाउन नपर्ने अवस्था थियो। अहिले आएर भने यो सोचाइमा धेरै परिवर्तन भएको छ। तर, अझै पनि हामी भित्र कतै नै कतै त्यो ‘वायसनेस’ बाँकी छ।
पहाडी मूलको मानिसको संलग्नता छैनन् भने यो (गार्मेन्ट) उद्योगको संरक्षण किन गर्नुपर्यो भन्ने समूह थियो। सन् १९९० देखि २००५ सम्म आईपुग्दा काठमाडौं वरीपरिका मानिसले ती उद्योगमा मजदुरी गरिरहेका थिए। काठमाडौंकै पुँजीपतिवर्गको पुँजी उद्योगमा लागेको थियो। सुरुवातमा भारतीय र मधेशी मूलका मानिसको लागि भएका कारण यो उद्योगलाई बचाउन पर्दैन भन्ने नकारात्मक भाष्य स्थापित गरियो। उद्योग ध्वस्त भयो, दशौं हजार मजदुर देशमा रोजगारी नभएर पीडामा परे, विवश अवस्थामा विदेश गए। सरकारले यी मानिसको पिडा देखेन।
सरकार भनेर जो शक्तिमा छन् ती मानिस मात्र होइनन्। मिडिया, नागरिक समाज, वामपन्थी नेता, वामपन्थी झुकाव भएका विज्ञ पनि सरकारमा पर्छन्। यति ठूलो तप्काका मानिसले यस्ता नकारात्मक भाष्य र संकथन तयार हुँदा त्यसको प्रतिवाद किन गरेनन् यो प्रश्न मैले दश वर्ष अगाडि उठाएको थिए।
मलाई दुःख के छ भने दश वर्ष पछाडि अहिले पनि अवस्था खासै फरक छैन। हालसालै दुई जना युवाको ज्यान जानेगरी बालकुमारी घटना भयो। युवाहरु निरिह, विवश छन्। ती युवाका बारेमा हाम्रा युवा नेताहरुले, प्रबुद्ध बुद्धिजीविले कुनै पनि नयाँ भाष्यको निर्माण गरेको जस्तो मलाई लाग्दैन।
पहिले गार्मेन्ट उद्योग नेपाली होइन र यसलाई बचाउन पर्दैन भन्ने जुन भाष्य निर्माण गरियो। त्यो उद्योगको कम्पिटिटिभ (प्रतिस्पर्धामूलक) पनि छैन भनेर एकदमै नवउदारवादी भाष्य बनाइयो। अनि त्यसपछि भाष्कर गौतमजीले भनेको जस्तै नेपालमा रोजगारी नदिनुपर्ने खालको अर्थतन्तत्र बनाइयो। स्टक ब्रोकिङ, स्टक इन्भेष्टमेन्ट, ट्रेड अथवा फाईनान्स जस्ता रोजगारी सिर्जना कम मात्र गर्ने क्षेत्र निर्माण गरियो।
एकातिर मजदुर आन्दोलनले गर्दा सूर्य नेपाल बन्द भएको भाष्य बनाइयो। सूर्य नेपाल बन्द हुँदा पूर्व सचिव रामेश्वर खनालले मजदुर आन्दोलनले गर्दा उद्योग बन्द भयो भन्दै मजदुर आन्दोलनले यसको जिम्मेवारी लिनुपर्छ भनेर लेख लेख्नुभयो।
सूर्य नेपाल ६/७ वर्षपछि बन्द भयो त्यस अगाडि मजदुर आन्दोलन नउठ्दै सयौंको संख्यामा उद्योगहरु बन्द हुँदा, नेता, सचिवहरु किन चुप हुनुभयो भनेर मैले एउटा लेख खनालको लेखेका काउण्टरमा लेखे। मजदुर आन्दोलन हुनु अगाडि नै बन्द भएका उद्योगको दोष कसलाई दिने?
मजदुर आन्दोलनको हवाला दिएर अब त रोजगारी दिन, काम गर्न गाह्रो भयो, त्यसकारण रोजगारी दिन नपर्ने खालको उद्योगहरु चलाउ भनियो। त्यसपछि रोजगारी दिन नपर्ने खालको विचौलियातन्त्र हावी हुँदै आयो। हामी विचौलियातन्त्र ठिक भएन भन्छौ तर विचौलियातन्त्र कसरी आयो, यसले मानिसको सोचाइ कसरी कब्जा गर्यो? भन्ने भाष्य हामीले चिर्न सकिरहेका छैनौ। जबसम्म ती नकारात्मक भाष्य चिर्न सक्दैनौ हामीले जतिसुकै नयाँ कुरा गरेपनि त्यसको कुनै सही निर्देश केही होला जस्तो लाग्दैन। एउटा सानो खडेरी आयो भने पनि त्यो भताभुङ्ग हुन्छ।
अहिले हामी यहाँ ‘संकट छ’, ‘संकट छ’ भनिरहेका छौं। जब कि सहि मानेमा संकट हुँदा यहाँ संकट देखिएन। त्यसको अभाष गरिएन।
देशभित्र र बाहिरका वाम बुद्धिजीवको सहकार्य किन भईरहेको छैन? किनभने हामी सिद्धान्त बाहिरबाट खोज्छौ, त्यसको इनपुट लिन्छौ र यहाँ बेच्छौं। जब कि हामी भित्रबाट एउटा कुनै सिद्धान्त आउनुपर्यो। र त्यो सिद्धान्त लिएर विश्वसँग सहकार्य गर्न जानुपर्यो। यो काम हाम्रा युवा बुद्धिजीविबाट भईरहेको छैन। यसकारण पनि नेपाल भित्र र बाहिरका वामपन्थीबिच सहकार्यको अभाव छ।
नेपालमा संकट छ भनेर संसारले भनिरहने। तर, नेपालमा संकट किन छ त? संकटलाई खुट्याएर त्यसको नयाँ दिशानिर्देश के हो त भनेर हामीले विश्वसँग, विश्व तहमा वामपन्थी साथीहरुसँग छलफल बहस भने गर्न नसक्ने जस्तो स्थिति सिर्जना हुन गएको छ। यसका लागि हामीले हामी माझ मात्र होइन हामी पछिको पुस्ताका बुद्धिजिविले पनि छलफल गर्न जरुरी छ। अघि झलक सुवेदीले भने जस्तो नेपाल एउटा आईशोलेटेड देश मात्र होइन। हामी यही पृथ्वीको र यही विश्वको हिस्सा हौं। र, हामीले बाँकी विश्वसँग कसरी छलफल गर्ने भनेर दृष्टिकोण आउन जरुरी छ।
ढकालः– सामान्यतय अर्थतन्त्र भन्ने बित्तिकै हामीले वस्तु र सेवाको उत्पादन, वितरण र उपभोग भनेर बुझ्छौ। तर, यसलाई विस्तारीत गर्ने हो भने उत्पादनका स्रोत साधानमा कसको पहुँच छ, कसको स्वामित्व छ, उत्पादक शक्ति श्रमिकको अवस्था कस्तो छ, लाभको पुनर्वितरणको अवस्था कस्तो छ भन्ने पनि बुझ्नुपर्छ। अहिले नेपालको सन्दर्भमा वामपन्थी खालको अर्थनीतिका लागि के–के तत्वहरु आवश्यक पर्छन्? जसले यो अर्थतन्त्र वामपन्थी चरित्रको अर्थतन्त्र हो भनेर भन्न सकियोस्?
मल्लिका शाक्यः– वैकल्पिक अर्थतन्त्रको लामो इतिहास छ। यसलाई हामीले मानव अर्थतन्त्र भनेका छौं। अर्थतन्त्रको वैश्विक रुपमा स्थापित भाष्य छ। त्यसको वैकल्पिक ढाँचामा अरु विभिन्न प्रकारका अर्थतन्त्रसम्बन्धी कल्पनाहरु तयार गरिएका छन्, अभ्यास गरिएकाछन् भनेर अध्ययन भएका छन्।
म पार्टीमा लागेको मान्छे होइन तसर्थ पार्टीले के गर्नुपर्छ, वामपन्थी आन्दोलनले अब के गर्नुपर्छ भनेर भन्दिन। तर, विचार निर्माणको काममा कार्यकर्ता एउटा हुन् पार्टी चलाउने नेताहरु अर्को हुन्। विचार निर्माण पनि एउटा काम हो। विचार निर्माणलाई पार्टीले निर्देशित गर्छु भन्ने होइन। विचार निर्माण एक किसिमको स्वतन्त्र पक्ष हो। त्यसकारण विचार निर्माण गर्ने मुख्य थलो विश्वविद्यालयहरु दलको ‘आईडियोलोजी’ बाट मुक्त हुनुपर्छ। त्यहाँ सबै प्रकारका ‘आईडियोलोजी’हरु सँगै बसेर बहस गर्न सक्ने ‘प्लेटफर्म’ बन्नुपर्छ। त्यस्तो प्लेटफर्म नेपालमा भएन। यस्ता विचार हामीले हामी भन्दा पछिका पुस्तालाई पनि हस्तान्तरण गर्दै जानुपर्छ। यो प्राज्ञिक पूँजी हो।
विचार निर्माण भन्ने बित्तिकै बोल्न जरुरी छैन। जसले विचार निर्माण गरिरहनु भएको छ उहाँहरुले मासलाई लक्षित गरेर काम गर्न जरुरी छैन। चुपचाप बसेर पढ्ने, लेख्ने, फेरि पढ्ने र विचार निर्माण गर्ने हो। तथ्यांकहरु संकलन गर्ने त्यसमा कुनै पक्षपात हुन सक्छ कि भनेर चनाखो हुने।
यस्तो काम नबोलीकन, नदेखिईकन गरिने दिर्घकालीन काम हुन्। र, यसका लागि कुनै संस्थाहरुले अग्रसरता लिनुपर्छ वा भएका संस्थाहरुको सहि उपयोग गर्नुपर्छ। यसका लागि पार्टी र विचार निर्माताबिच सहकार्य हुन जरुरी छ। कुन कुन विचार निर्माताले कस्तो कस्तो खालको विचार निर्माण गरिरहेकाछन् भनेर थाह पाउन जरुरी छ। वामपन्थको विचार निर्मातासँग पार्टीहरुले स्वतन्त्र हिसाबले सहयकार्य गर्न सक्छन्।
काठमाडौं बसेपछि मान्छे (वामपन्थी) बिग्रन्छ – रामरिझन यादव
सुरेश ढकालः– रामरिझन यादव आफै वामपन्थी आन्दोलन, अभियान र राजनीतिमा सक्रिय हुनुहुन्छ। नेपालको वामपन्थलाई दक्षिणी मैदानी भागबाट हेरेर निगरानी पनि गर्नुहुन्छ। नेपालको कम्युनिष्ट पार्टी निर्माणमा मध्य पहाडी दृष्टिकोण बढी हावी भयो अथवा त्यो दृष्टिकोणले प्राथमिकता पायो जसका कारण मधेश र त्यहाँका मुद्धा वामपन्थको प्राथमिकतामा परेनन् भन्ने गरिन्छ। तपाईलाई के लाग्छ? नेपालको कम्युनिष्ट आन्दोलन र वामपन्थी चिन्तनहरु मध्य पहाडी चेतना र संरचनाबाट निर्देशित थियो? नेपालको वामपन्थ विचार निर्माणमा कहाँनेर चुकेको छ?
रामरिझन यादवः- मेरो जन्म बहुदलीय व्यवस्था स्थापनाको उत्तरार्धमा भयो। पञ्चायती अवस्थामा म हुर्के, पढें लेखे र वामपन्थ के हो? कम्युनिष्ट के हो भन्ने बुझें र सिकें। क्याम्पसमा प्रध्यापन गर्दा म ०४६ सालको आन्दोलनमा जेल गएको हुँ। यदि पञ्चायती व्यवस्था रहिरहेको भए मेरो जागिर रहने थिएन। पक्का हो। बहुदलीय व्यवस्थाको पुनस्थापना भयो र त्यसकारण मेरो जागिर रहिरह्यो।
म निरन्तर रुपमा पञ्चायतीकालदेखि नै वामपन्थी सोच, वामपन्थी विचार र वामपन्थी संस्कृति, संस्कारबाट दिक्षित भएँ।
मध्यपहाडबाट वामपन्थ निश्रृत भयो भनेर तपाईले भन्नुभएको कुरा म मान्दछु। यसमा कुनै दुई मत छैन। तर, यसको मतलब मधेश खाली थियो भन्ने पनि होइन। मधेश पनि नेपालमा वामपन्थको सुरुवात देखि नै सक्रिय छ। वि.सं. २००६ सालदेखि नै निरन्तर ठूला ठूला संघर्ष गर्दै आएको छ मधेशले। त्यसैको उत्पादन हौं हामी। मधेशले वामपन्थमा समानुपातिक सहभागिता नजनाएको भए मधेशमा यति धेरै किसान आन्दोलन हुने थिएनन्। एकताका त सिराहको रुखको पात पनि रातो हुन्छ भनिन्थ्यो। त्यो किन भनिएको हो भने त्यहाँ वामपन्थी आन्दोलन हुन्थे। रौतहटमा विष्णुबहादुर मानन्धर लगायतका ठूला नेताहरु आन्दोलन गर्थे। झापाको आन्दोलन पनि त मधेशकै आन्दोलन हो, आन्दोलन गर्नेमा त मधेशीहरु पनि थिए। राजवंशीदेखि लिएर चौधरीहरु झापा विद्रोहमा लागेकै हुन्। वामपन्थमा मध्यपहाडको नेतृत्व थियो त्यसमा कुनै दुविधा छैन। पहाडी समुदायका व्यक्तिको वर्चस्व थियो। तर मधेश पनि त्यसमा समानुपातिक तवरमा अग्रसर थियो। त्यसैको फलस्वरुप म जस्ता व्यक्ति उत्पादन भए।
तपाईंहरुलाई भन्न संकोच लागिरहेको छ म एक वर्षपछि काठमाडौं आएको हुँ। म प्राय काठमाडौं आउँदिन। म काठमाडौं नआउनुको कारण छ। यहाँ बसेको समयमा मैले यहाँ के देखे भने, काठमाडौं बसिसकेपछि मान्छे बिग्रन्छ। काठमाडौं बसेपछि मान्छे बिग्रन्छ भनेर म फेरि मधेश फर्केको हुँ। म गाउँ फर्केको हुँ। म आफ्नो गाउँ सिराहामा बस्छु। विराटनगर पनि बस्छु कहिलेकाहीं।
पार्टी एकता पछि म पनि माओवादी पार्टीको केन्द्रीय समीतिमा थिएँ। माओवादीको केन्द्रीय समितिमा पुग्यो भने सबैको बालबच्चाहरु ठूलो स्कुलमा पढ्छन् है भन्ने भयो। निजि स्कुलमा पढ्छन् भन्ने भयो। मेरा बालबच्चालाई निकालेर मैले त्रिचन्द्र क्याम्पसमा हाल्दिएँ। त्रिचन्द्र क्याम्पसमा पढ्न लगाएँ उनीहरुलाई।
अब म कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएँ त्यसैले अब तिमीहरुले त्रिचन्द्रमा पढ्नै पर्छ भनेर बच्चाहरुलाई भनें। मेरो बालबच्चा त्यहाँ पढाए तर यता हेर्छु माओवादी साथीहरु सबैका बालबच्चा निजि विद्यालयमा पढिरहेका छन्। अनि मेरो बालबच्चाले मलाई कुरा सुनाउँछन् ‘बुबा अरु नेताका बालबच्चा त निजिमा पढ्छन्। तपाईले हामीलाई किन त्यहाँ पढाउनु भयो?’
हामीले शिक्षालाई सबैचिजको जग भनेका थियौं। तर, शिक्षा क्षेत्रलाई बर्बाद गर्नका लागि यी राजनीतिक पार्टीहरुले जुन भूमिका खेले त्यो भुमिकामा माओवादी पनि जोडियो। त्यस भन्दा पहिले एमाले र कांग्रेसले शिक्षा क्षेत्रलाई बिगारी सकेका थिए। तर माओवादीले केही राम्रो गर्छ कि भनेर हामीले सोचेका थियौं। मेरो मनमा थियो माओवादीको जुनूनले केही राम्रो गर्छ। तर त्यसो हुन सकेन माओवादीले पनि शिक्षा क्षेत्र सुधार गर्न सकेन।
त्यसबाट मैले माओवादी पनि परित्याग गरें। अनि बाबुराम(भट्टराई) तिर लागें। हुँदाहुँदै बाबुरामजी उपेन्द्र यादवसम्म पुगे। उपेन्द्र पनि वामपन्थी !
वामपन्थी हुँदाहुँदै उहाँ (उपेन्द्र यादव) त घोर दक्षिणपन्थतिर लाग्नुभयो। अब अहिले पनि हाम्रो कामरेड प्रचण्डले उहाँलाई वामपन्थी भनेर काखी च्याप्या छन्। कामरेड प्रचण्डसँग म भन्छु, अहिले उपेन्द्र यादवसँग कहिँ कतै कुनै ठाउँमा पनि वामपन्थको सोच छैन। उहाँमा पूर्ण रुपमा दक्षिणपन्थी सोचाइ छ।
वामपन्थ भनेको एउटा संस्कृति हो। संस्कार हो। कामरेड भन्नु, लालसलाम भन्नु कम्युनिष्ट पार्टी भित्रको परिधिभित्र मात्र बस्छ? अरुले लालसलाम भन्न नपाउने? कामरेड भन्न नपाउने? कम्युनिष्ट पार्टीबाट बाहिर बसेर म कम्युनिष्ट भएर बस्न सक्दिन्?
कम्युनिष्ट पार्टीको सदस्यता नलिईकन म रामरिझन यादव कम्युनिष्ट हुन सक्छु कि सक्दिन्? सिराहाको गाउँमा बसेर पनि म कस्तो वामपन्थी हुँ, कस्तो कम्युनिष्ट हुँ भनेर देखाउन सक्छु। के चरित्र हुन्छ, के संस्कार, संस्कृति हुन्छ वामपन्थीको भनेर देखाउन सक्छु?
सुरेश ढकालः– रामरीझन यादवजी तपाँई वामपन्थी पार्टीको खोजीमा भौंतारिनुभयो । वामपन्थी दलमा वामपन्थी चरित्र देखिएन भन्नुभयो । नेपालका वामपन्थी पार्टीहरुले चाह्यो भने उनीहरुले गर्नुपर्ने काम एक, दूई, तीन भनिदिनुहोस् त ?
रामरिझन यादवः– मेरो विचारमा नेपालमा वामपन्थीहरुले जे जति सम्पत्ति आर्जन गरेकाछन् त्यो सबै एकचोटी सार्वजनिक गर्नुपर्छ। सार्वजनिक गर्ने मात्र होइन त्यसलाई जनताको बिचमा बाँडिदिनुपर्छ। गरिब जनताकोबिचमा बाँड्नुपर्छ।
माओवादीको जनयुद्ध गर्दाखेर म सम्पत्ति आर्जन गर्दिन भनेर कसम खाएर आएका वर्षमान पुन ‘अनन्त’ यहीँ हुनुहुन्छ। घनश्याम भुषाल जी हुनुहुन्छ। पहिला उहाँहरुले उठेर मसँग व्यक्तिगत सम्पत्ति यति छ भनेर भन्नुपर्यो। आफ्नो सम्पत्ति सार्वजनिक गर्नुहोस्।
पृथ्वीसुब्बा गुरुङलाई हेरिरहेछु उहाँ झापा विद्रोहको प्रतिफल हो। त्यो झापा विद्रोहले के सन्देश दिएको थियो भनेर उहाँले भन्न सक्नुपर्यो म सँग कति सम्पत्ति छ। भारतको कांग्रेस आई (भारतीय कांग्रेस) को सांसद जस्तो देखाउँदा ४० करोड देखाउने आयकर विभागले छापा हान्दा २६५ करोड रुपैयाँ फेला पर्ने जस्तो हुनुभएन।
हाम्रा नेताहरुले सबैभन्दा पहिला आफ्ना सम्पत्ति सार्वजनिक गरुन्। धेरैले गरेका छन्, तर कांग्रेस आईका सांसद जस्तो देखाउँदा ४० करोड देखाउने घरमा २६५ करोड। जनताको विश्वास नेताहरुबाट हटेको छ। नेताहरु आफ्नो सुविधामा लागेकाछन्। त्यसैले हाम्रो गाउँठाउँ सबैतिर लुटतन्त्रमा स्थापित भएको छ। जो सँग सबैभन्दा बढी पैसा हुन्छ उसलाई टिकट दिइन्छ। किनकी उसलै मात्र चुनाव जित्न सक्छ।
यहाँ जति जना बुद्धिजीवि हुनुहुन्छ उहाँहरुको पनि दोष छ। बुद्धिजिविहरु सबैभन्दा धेरै अर्पचुनिष्ट छन्। बुद्धिजिविहरु नेताका झोले भए। मार्क्सवादका २/४ अक्षर पढेर, समाजवादका एकाध अक्षर पढेर अलिकता भाषण जान्ने भएका नेताहरुका झोले भए बुद्धीजिविहरु। मलाई कसरी राजदुत बनाईदिन्छ, मलाई कसरी नियुक्ति मिल्छ भन्नेतिर लागेर ९९ प्रतिशत बुद्धिजिविहरु झोले भए। त्यसकारण यो दुर्दशा भयो। सबैभन्दा पहिला बुद्धिजिविहरु सुध्रिनुहोस् नेताहरु आफै सुध्रिन्छन्।
सुरेश ढकालः– मलाई एकजना युवा नेताले भनेका थिए, ‘पानी र बानी माथिबाट तल बग्छ। माथि नेताहरु नै ठिक छैनन् भने हामीले तलबाट के गर्न?’ ती युवा नेताको यो भनाइ मलाई निकै हदसम्म सत्य लाग्छ। यो छलफलका गुनासाहरु वामपन्थतिर किन छन् भन्दा यहाँ प्यानलमा भएका मानिसहरुले वामपन्थ र कम्युनिष्ट बिचारप्रति सहानुभूति राख्छन्।
हामीले खोजेको, भावी पुस्ताले खोजेको परिवर्तन संभव छ। वामपन्थको चिन्तन निर्माण गर्ने, परिवर्तनकारी सोचहरुलाई संस्थागत गर्ने सहज कुरा होइन। एकैचोटी हुने कुरा पनि होइन। यस्ता खालका छलफलले यो चिन्तनको प्रक्रियालाई निरन्तरता दिन्छ।
धन्यवाद ।
भिडियो: