बजार आफैंद्वारा नियन्त्रित हुन्छ भन्ने अवधारणासहित प्रयोगमा आएको उदारवाद तथा नवउदारवादको विफलतालाई अब यसका प्रवक्ताहरूले नै ढाकछोप गर्न नसक्ने अवस्था बनेको छ। तिनै प्रवक्ताहरू नै आज यसको विकल्प खोज्न थालेका छन्। बजारलाई स्वतन्त्र रहन दिँदा असमानता, गरिबी, शोषण लगायत समस्या झन् चर्किदै गएको उनीहरू स्वयम् स्वीकार गर्छन्। यसै सन्दर्भमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ ई. स्टिग्लिजले गर्नुभएको विश्लेषण सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिएको छः
मानव हितका लागि सबैभन्दा अनुकूल आर्थिक प्रणाली कुन हो? यो प्रश्नले वर्तमान युगलाई परिभाषित गरेको छ, किनकि अमेरिका तथा अरु स्तरीय अर्थतन्त्रमा नवउदारवाद लागू भएको ४० वर्ष बितिसकेको अवस्थामा अब के कुराले काम गर्दैन भन्ने कुरा हामीलाई थाहा भइसकेको छ।
नवउदारवादका परीक्षणहरूः धनीहरूका लागि करको दायरा घटाउने, श्रम तथा उत्पादन बजार नियमन नगर्ने, वित्तीयकरण र विश्वव्यापीकरण पूणर्तः असफल भइसकेका छन्। दोस्रो विश्वयुद्धपछिको २५ वर्ष अवधिको तुलनामा अहिलेको आर्थिक वृद्धि कम छ र भएको वृद्धि पनिअत्याधिक आय भएकाहरू कहाँ गएर थुप्रिएको छ। उनीहरूका भन्दा कम आय भएकाहरूको आम्दानी स्थिर रहने र घट्दै जाने भएकाले अबको केही केही दशकपछि नवउदारवादलाई मृत घोषणा गर्नुपर्ने हुन्छ।
नवउदारवादसँग टक्कर गर्ने होडमा अहिले तीन मुख्य राजनीतिक विकल्पहरू छन्। ती हुन्ः
- उग्र दक्षिणपन्थी राष्ट्रवाद,
- मध्यमार्गी-वामपन्थी सुधारवाद र
- प्रगतिशील वामपन्थी ।
मध्यमार्गी-दक्षिणपन्थीले नवउदारवादको पक्षपोषण गर्छ र यो असफल भइसकेको छ। र, प्रगतिशील वामपन्थी बाहेक अरु सबै विकल्पहरूले मिति गुज्रिएको विचारधारा बोकेका छन्।
उदाहरणका लागि मध्यमार्गी-वामपन्थीको लक्ष्य भनेको वित्तीयकरण र विश्वव्यापीकरणका प्रचलित तरिकाहरूमा सामान्य परिवर्तन गर्दै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरको नीतिलाई २१औँ शताब्दीमा ल्याउनु हो।
यता राष्ट्रवादी दक्षिणपन्थीहरू विश्वव्यापीकरणलाई अस्वीकार गर्छन् र आजका सबै समस्याको दोष आप्रवासीहरू तथा विदेशीहरूमाथि थोपर्छन्। यो धारले धनीहरूलाई कर छुट दिने, नियमन खारेज गर्ने तथा सामाजिक कार्यक्रममा लगानी नगर्ने जस्ता चरित्र बोकेको छ भन्ने कुरा डोनाल्ड ट्रम्पको कार्यकालले नै पुष्टि गरेको छ।
यी भन्दा फरक तेस्रो खेमा, जसलाई प्रगतिशील पूँजीवाद भनिन्छ। यसले मुख्यगरी चारवटा प्रथमिकतामा आधारित भएर एउटा नितान्त फरकखालको आर्थिक एजेण्डा सिफारिस गर्छ। प्रगतिशील पूँजीवादका चार प्राथमिकताहरू यसप्रकार छन्।
पहिलो प्राथमिकताः बजार, राज्य र नागरिक समाजबीचको सन्तुलनलाई पुनर्स्थापित गर्नु।
मन्द आर्थिक वृद्धि, बढ्दो असमानता, आर्थिक अस्थिरता र वातावरण विनाश बजारबाट पैदा भएका समस्याहरू हुन् र यी समस्यालाई बजार आफैंले हटाउन सक्दैन। वातावरणीय, स्वास्थ्य, कार्यस्थल सुरक्षा र अन्य प्रकारका नियमनको माध्यमबाट बजारलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो। बजारले गर्न नसक्ने र नगर्ने काम सरकारले गर्नुपर्छ। जस्तैः आधारभूत अनुसन्धान, प्रविधि, शिक्षा र आफ्ना जनताको स्वास्थ्यमा सक्रिय लगानी गर्नु सरकारको दायित्व हो।
दोस्रो प्राथमिकताः राष्ट्रको पूँजी आम हितका लागि सँगै काम गर्ने मानिसहरूको ठूलो समूहमा आधारित छ भन्ने पहिचान गर्नु।
सामाजिक साझेदारीका लागि बजारहरूले अझैपनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर बजार विधिको शासन र लोकतान्त्रिक नियमनको अधिनमा रहे मात्र यो सम्भव छ। अन्यथा व्यक्तिहरू अरुको शोषण गरेर धनी हुन्छन्। उनीहरू नयाँ विचारसहित धन उत्पादनको सट्टा समाजलाई फाइदा नहुने गरी आफूलाई मात्र आर्थिक लाभ हुने काम (रेन्ट सिकिङ) गर्छन्। आजका धेरै धनीहरू शोषण गरेरै यो ठाउँमा पुगेका हुन्। यस्ता मानिसलाई ट्रम्पको नीतिबाट फाइदा भएको छ, जसले धन उत्पादनको मुख्य स्रोतको विनाश गर्दै ‘रेन्ट सिकिङ’ लाई प्रोत्साहन गर्छ। प्रगतिशील पूँजीवादले यो भन्दा विपरित गर्न खोजिरहेको छ।
तेस्रो प्राथमिकताः केन्द्रीकृत बजार शक्तिबाट बढ्दो समस्यालाई सम्बोधन गर्नु।
सूचनाको लाभ लिँदै, सम्भावित प्रतिस्पर्धीलाई किन्दै र नवप्रवेशीलाई अवरोध गर्दै वर्चश्वशाली फार्महरू अरुका लागि हानी हुने ठूलो ‘रेन्ट सिकिङ’मा पहुँच पुर्याउन सफल हुन्छन्। कर्पोरेट बजारको शक्तिमा वृद्धि हुनुका साथै कामदारहरूको बार्गेनिङ शक्ति घट्दै जाँदा असमानता उच्च बनेको छ भने आर्थिक वृद्धि कमजोर भएको छ। नवउदारवादले भन्दा अझै धेरै सक्रिय भूमिका सरकारले निर्वाह नगरेमा यी समस्याहरू झनै जटिल हुँदै जानेछन् भने रोवोटाइजेसन र एआईका कारण यी समस्याहरू थप चर्किनेछन्।
चौथो प्राथमिकताः आर्थिक शक्ति र राजनीतिक प्रभावबीचको सम्बन्ध वा कडीलाई तोड्नु।
आर्थिक शक्ति र राजनीतिक प्रभावले एक अर्कालाई बलियो बनाइरहेका हुन्छन् र यिनले आफैंलाई मात्रै अघि बढाइरहेका हुन्छन्। खासगरी अमेरिकामा धनी व्यक्ति र निगमहरूले निर्वाचनमा असिमित खर्च गर्छन्। अमेरिका ‘एक डलर, एक भोट’ को एउटा अलोकतान्त्रिक प्रणालीतर्फ जाँदै गर्दा त्यहाँ लोकतन्त्रमा अनिवार्य रहेको ‘चेक एण्ड व्यालेन्स’ प्रणालीले काम गरिरहन सक्दैन। त्यससँगै धनीहरूको सम्पत्तिको शक्तिलाई केहीले पनि विवश पार्न सक्ने छैन।
यो नैतिक र राजनीतिक समस्या मात्र होइन। कम असमानता भएका अर्थतन्त्रहरूले वास्तवमै राम्रो भूमिका निर्वाह गर्छन्। त्यसैले प्रगतिशील पूँजीवादले राजनीतिमा पैसाको प्रभावलाई कटौती गर्दै आर्थिक असमानता घटाउन सुरु गरेको छ।
कस्तो एजेण्डा चाहिन्छ?
नवउदारवादले पछिल्ला दशकभरी ध्वस्त पारेको स्थितिलाई सुधार्नका लागि यहाँ त्यस्तो कुनै जादुको छडी छैन। तर माथि उल्लिखित रेखाचित्रसहितको एउटा व्यापक एजेण्डाले यो काम गर्न सक्छ। निजी क्षेत्रले जन्माएको बजारको अत्यधिक शक्ति र असमानता जस्ता समस्याको सामना गर्न सुधारकहरू कत्तिको दृढ छन् भन्ने कुरामा सबैथोक निर्भर छ।
विस्तृत एजेन्डाले शिक्षा, अनुसन्धान तथा धनका अन्य सही स्रोतहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। यसले वातावरणको रक्षा गर्नुपर्छ र जलवायु परिवर्तनको सामना गर्नुपर्छ। यसले कुनै पनि नागरिक राम्रो जीवनयापन गर्नका लागि आवश्यक हुने कुराबाट वञ्चित नहुने प्रत्याभूति गर्नुपर्छ। यस्ता प्रत्याभूतिमा आर्थिक सुरक्षा, काम तथा उचित ज्यालामा पहुँच, स्वास्थ्य सेवा तथा पर्याप्त आवास सुविधा, सुरक्षित सेवानिवृत्ति तथा सन्तानका लागि गुणस्तरीय शिक्षा पर्छन्।
यो एजेन्डा महंगो छैन। बरु हामीले यसलाई ग्रहण नगर्दा भने घाटा हुन्छ। राष्ट्रवादी तथा नवउदारवादीहरूले प्रस्ताव गरेको विकल्पले थप आर्थिक सुस्तता, असमानता, वातावरणीय विनाश तथा राजनीतिक शत्रुता जन्माउँछ र हामी तिनको परिणामको कल्पना पनि गर्न सक्दैनौं। प्रगतिशील पूँजीवाद असफल भइसकेको विचारधाराको समुचित विकल्प हो। यसले अहिलेको आर्थिक र राजनीतिक समस्याबाट बच्ने सर्वोत्कृष्ट अवसर प्रदान गर्छ।
(प्रोजेक्ट सिन्डिकेटबाट अनुवाद)