गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँगको समन्वयमा राष्ट्रिय समस्या समाधान गर्ने सामर्थ्य देखाएको दाबी गरेको छ। पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगतको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले तयार पारेको प्रतिवेदनमायस्तो उल्लेख गरिएको हो। नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहित पाँच दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको कांग्रेसले ३२९ स्थानीय तहमा जित हासिल गरेको छ। कांग्रेसले नगरपालिकाहरूमा १४१ र गाउँपालिकाहरूमा १८८ स्थानमा जितेको हो।
वि.सं.२०७४ मा भएको निर्वाचनमा करिव ३५% अर्थात् २६६ स्थानीय तहमा जितेको कांग्रेसले यसपटक ४४% मा विजय प्राप्त गर्यो। स्थानीय तहको मतपरिणामलाई प्रदेशका आधारमा हेर्ने हो भने पनि सबै प्रदेशमा कांग्रेस अगाडि देखिएको छ। वडाध्यक्ष पदमा पनि कांग्रेस अगाडि छ। ६७३३ वडामा भएका निर्वाचनमा कांग्रेस २६६५ वडामा विजयी भएको हो।
यो निर्वाचनमा कांग्रेससहितको गठबन्धनका लागि फलदायी रह्यो। पाँचदलबीच ७५३ मध्ये ३२४ पालिकामा गठबन्धन भएको थियो। गठबन्धनका तर्फबाट कांग्रेसले २०९ स्थानीय तहमा प्रमुख पदमा उम्मेद्वारी दिएकोमा उसको १२८ पालिकामा जित भएको छ। गठबन्धनकै अर्को घटक माओवादी केन्द्र१२१ पालिकामा जित हात पार्दै तेस्रो दल बनेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रले पालिका प्रमुख पदमा ८१ स्थानमा उम्मेद्वारी दिएकोमा उसलाई ६९ स्थानमा विजय प्राप्त भएको छ। यस्तै जनता समाजवादी पार्टीले ३३ स्थानीय पालिकामा जित हात पारेको छ। जसपाले ३ प्रमुख पदमा गठबन्धनसहित उम्मेद्वारी दिएकोमा २ स्थानमा जितेको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उक्त प्रतिवेदनले आन्तरिक सर्वेक्षणका आधारमा उम्मेद्वार उठाउनुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने, मतदातालाई आकर्षित गर्ने तथा चुनावलक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव पार्टीलाई दिएको छ। स्थानीय तह निर्वाचन २०७९ लाई समीक्षा गर्दै कांग्रेसको उपसमितिले बुझाएको प्रतिवेदन विस्तृतमा हेर्नुहोस्ः