जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी
यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी
फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै
खारेर भिर पाखो सम्म्याउनै छ बाँकी
पालो कुरेर बस्दै जो लुट्छ देश मेरो
बाँधेर कठ्घरामा उभ्याउँनै छ बाँकी
सच्चा ईमानी युवा छाडेर देश भागे
खोजेर रोजगारी भित्र्याउनै छ बाँकी
………………………………………………………
दासी वनेर हाम्रो वित्दै छ जिन्दगानी
आएन खै सुनौलो यौटा नयाँ बिहानी
स्वप्ना थिए अनेकौँ सङ्घर्षमा बुनेका
लागे सबै डँढेलो बन्दैछ रे खरानी
मिल्दैन रोजगारी स्वदेशमा युवाको
भागे विदेश जम्मै फाले उतै जवानी
नाच्दैछ वस्त्र फाली सामन्ती यो धरामा
नाङ्गै छ देखिए ’नी छोप्दैन लाज मानी
जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता
सच्चा इमानी मान्छे रेटिन्छ छानी–छानी
………………………………………………………
राती बसेर जागा, दिउँसो झुलेर हिड्छन्
लाजै नमानी नेता, नाङ्गै डुलेर हिड्छन्
के मा भयो र आशा, के मा लिनु भरोसा
निस्फिक्री भै, गरेका बाचा भुलेर हिड्छन्
के नै रह्यो र बाँकी, सत्तै बन्यो शिकार !
गोरा लगाई पाखा, काला हुलेर हिड्छन्
फालेर बाग खोज्छन् वास्ना चमेली डुल्दै
आफैं बनेर माली, आफैं फुलेर हिड्छन्
त्यत्रो थियो भरोसा, स्वप्ना थिए सुनौला
गर्दै प्रहार आँखै सामु, खुलेर हिड्छन्
………………………………………………………
बेचेरै पसिना मैले जिन्दगी यो चलाउँछु
धेरै भयो निभेको छ आज चुल्हो बलाउँछु
उर्वरा भूमी छाडेर युवा भए पलायन
खनी खोस्रीगरी बारी सुद्ध अन्न फलाउँछु
छेक्दैन काममा कैल्यै कुनै लिङ्ग उमेरले
खाएर पौरखी मानो फेदै बाट पलाउँछु
हत्या, हिंसा, बलत्कार जहाँतहीँ अशान्ती छ
मागेर प्रेमको भिख शान्ती दीप जलाउँछु
-भरतपुर,चितवन