डीपी ढकाल पेशेवर राजनीतिकर्मी हुन् । लामो समय देखि नेकपा माओवादीका कार्यकर्ताका रुपमा काम गरेका ढकालले अध्ययन र लेखन कार्यलाई पनि सँगै लगेका छन् । अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । माओवादी आन्दोलनको नयाँ पुस्तामा बैचरिक अध्ययन र लेखन मार्फत आफ्नो दलको विचारधारालाई प्रभावित गर्ने र समाजसँग अन्तरक्रिया गर्ने राजनीतिक काममा खासै कसैको रुची देखिदैन। यस्तो लाग्छ हर माओवादी आफ्नो हैसियत अनुसारको पद र सुविधातिर बाहेक अन्यत्र नजर लगाउँदैन। त्यो पंक्ति त्यसमा अर्जुनदृष्टि लगाएर हिँड्दै छ र आफै हिँडेको बाटोको गोरेटो समेत पुर्दै मेट्दै छ। यता मोहन विक्रम, मोहन वैद्य लगायतले नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरु छन् जसको विचारले १९७० को माओकालीन साँस्कृतिक क्रान्तिको समय भन्दा अगाडि एक पाइला सारेको छैन। तिनीहरु कम्युनिष्ट आन्दोलनको वितेका स्वर्णिम दिनहरुको सम्झना गर्दै बुढो वरको रुखमुनी सितल बसेर सन्ततिलाई कथा सुनाउन चाहन्छन् ।
तर केही जागरुक युवाहरुमा पर्छन् ढकाल, जो लेखन मार्फत केही जिज्ञासा र केही प्रस्ताव अघि सारिरहन्छन्। कविता देखि अर्थराजनीतिका विविध आयाम समेटेर पुस्तकहरु प्रकाशित गरेका ढकालले समाजवादी क्रान्तिका दुई चरण नामक पुस्तक हालै बजारमा ल्याएका छन्।
समाजवाद नेपाली समाजमा लामो समय देखि आम चासो र बहसको विषय रहँदै आएको छ। समाजवादी बहसका दुई रुप छन् । पहिलो मार्क्सवादी समाजवाद । दोस्रो मार्क्सको लेपन लगाइएको बुर्जुवा समाजवाद। नेपाली काँग्रेस लगायत गैह्र कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद सारमा पुँजीवादी समाजवाद हो । यता कम्युनिष्टहरुले भन्ने गरेको (ओठले भने पनि मनभित्रैबाट भनेपनि) समाजवाद मार्क्सवादी अर्थात् ऐतिहासिक भौतिकवादमा आधारित समाजवाद हो । यस्तो समाजवादी क्रान्ति यदि पुँजीवादी देशमा भएको हो भने त्यहाँ समाजवादका दुई चरण हुन्छन् । पहिलो समाजवादको प्रारम्भिक चरण जहाँ पुँजीवादका कतिपय विशेषता कायम रहन्छन् । आम रुपमा उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व कायम भएको हुन्छ । व्यक्तिलाई उसको योग्यता अनुसारको काम दिने र उसले काम अनुसारको दाम पाउने व्यवस्था समाजवादको पहिलो चरणको अर्थराजनीतिक चरित्र हो। यहाँ राज्य हुन्छ, सरकार हुन्छ, न्यायालय र दण्डाधिकारी हुन्छन्, जेल हुन्छ। अर्थात् राज्यले बल प्रयोगका विधि मार्फत समाजलाई नियन्त्रण गर्छ र साम्यवादका लागि आधार तयार पार्छ ।
दोस्रो चरण भनेको राज्यको विस्तारै विलोप भएपछिको अवस्था हो। यहाँ वर्ग हुँदैन, व्यक्तिले क्षमता अनुसारको काम र आवस्यकता अनुसारको दाम पाउँछ । वर्ग नभएपछि राज्य, सरकार, प्रहरी, सेना, जेल र दण्डविधान पनि रहँदैन। समुदाय र उत्पादनका इकाइहरुमा संगठित मानिसहरुले उत्पादन र वितरणको स्वचालित प्रणाली निर्माण गर्छन् । समाज विकासको भौतिकवादी विश्लेषण गर्ने मार्क्सेली साहित्यले साम्यवादको परिकल्पना यसरी नै गरेको छ।
तर पुँजीवादको प्रारम्भिक चरणमा रहेको समाजमा कम्युनिष्टहरुले गर्ने क्रान्तिले समाजवाद निर्माणको अर्को उपचरण पनि पुरा गर्नु पर्छ । त्यो भनेको पुँजीवादी क्रान्ति सम्पन्न गर्नु, उत्पादन प्रक्रियालाई सामान्तवादी र साम्राज्यवादी पञ्जाबाट मुक्त गर्नु र पुँजीवादको एकचरणको विकास मार्फत समाजवादका लागि आधार तयार पार्नु हो। चर्चा गरिएको पुस्तकमा डीपी ढकाल यो उपचरण र यस भन्दा माथिको समाजवादी चरणको कुरा गरिरहेका छन् ।
नेपालमा हुने मार्क्सवादी विचारधारात्मक बहसमा अहिले समाजवाद निर्माणका यी पक्षहरुबारे गम्भीर चर्चा हुन छाडेको छ । कम्युनिष्ट पार्टीहरुमा सक्रिय अहिलेको पुस्ता यस्ता गम्भीर विषयमा खासै रुची राख्दैन। खासगरी एमाले, माओवादी र एकीकृत समाजवादीमा संगठित भएर पद र अवसर जित्न हिँडेको समूहलाई यसप्रकारको बहससँग खासै चासो देखिदैन। पहिलेको पुस्ताका नेताहरुलाई र साधारण समर्थकलाई भुलाउन मात्र नेतृत्वले समाजवाद, साम्यवाद या नयाँ र बहुदलीय जनवादका कुरा गर्न छाडेको छैन। यसमा बरु एमाले र त्यसका अध्यक्ष केपी ओली प्रष्ट देखिन्छन्। २०७४ को संसदीय निर्वाचनको मुखमा पत्रकार विजयकुमारसँग गरेको कुराकानीमा उनले नेपालमा राजनीतिक कम्युनिष्टहरु रहेको दर्शन र सिद्धान्तवाला कम्युनिष्ट नरहेको भनेका थिए ।
अहिले यस्तो बहसमा रुची हुने बौद्धिक जमात पनि छ। हालै ‘नेपाल रिडर्स’ का लागि नविन तिवारीले राजनीतिशास्त्री डा. सरोज गिरीसँग गरेको कुरा सुन्न देखिएको रुचीलाई हेर्दा बौद्धिक मन्थनमा लाग्ने नयाँ पुस्ता पनि देखिन्छ तर यसले राजनीतिक दलको नीति निर्माणलाई प्रभावित गर्ने सम्भावना भने एकदम कम छ ।
ढकालको पुस्तकले विश्वमा भएका समाजवादी प्रयोगहरुको समीक्षा गरेको छ। अहिले भइरहेका अभ्यासहरु खासगरि ल्याटिन अमेरिका र चिनका प्रयोगलाई रेफरेन्समा लिएको छ । पुँजीवादको अहिलेको चरणको विशेषता केलाउने प्रयास गरेको छ। तथा यसले अहिलेका बजारका पपुलर हल्लाको पछि लागेर प्रविधिमा आएका परिवर्तनलाई पनि पर्गेल्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिको यो विकासले पुँजीको केन्द्रीकरण, सिमित मानिसहरुको हातमा दौलतको भकारी र आम मानिसहरुलाई भकारीबाट चुहेको दौलतले दिएको राहतलाई मार्क्सले गरेको उत्पादन पद्धती र सम्बन्धको आधारभूत चरित्रमा के फरक पार्छ भन्ने विश्लेषण गर्नबाट भने उनको लेखन तर्किन्छ । उनले पर्यावरणीय विनाशका चुनौतीलाई पनि बहसमा ल्याएका छन् ।
समग्रमा ढकालले जे प्रयास गरेका छन्, त्यसलाई विषय प्रवेशको ढोका बनाएर बहस अगाडि बढाउन सक्ने हो भने खासगरि (कथित) कम्युनिष्ट पार्टीहरु र त्यहाँका नयाँ पुस्ताका कार्यकर्तालाई बैचारिक बहसमा सामेल गर्न सहयोग हुनेछ।