नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल विगत पचास वर्षभन्दा पहिलेदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्। २०३७ सालमा तत्कालिन नेकपा मालेमा एकीकृत हुनु अघि उनले विभिन्न समुहमा रहेर कम्युनिष्ट आन्दोलन अघि बढाउन सक्रिय योगदान गरेका थिए। त्यस यताका ४४ वर्ष उनी निरन्तर नेकपा माले र एमालेको नेतृत्वमा पहिले भूमिगत र पछि खुल्ला राजनीतिमा सक्रिय रहे। विसं २०४६ को आन्दोलनमा पाटन मुक्त क्षेत्र बनाउने क्रममा फिल्डमा नै पर्दा पछिबाट नेतृत्व गर्दै अघि बढेका बडालले २०५१ सालमा एमालेको अल्पमत सरकारले गठन गरेको उच्चस्तरीय भूमिसुधार आयोगको अध्यक्षका रुपमा नेपालमा भूमिसुधार सम्बन्धी नीति बनाउन महत्वपूर्ण हुनसक्ने प्रतिवेदन तयार पार्ने कामको नेतृत्व गरेका थिए। तर त्यसपछि बनेका एमाले लगायत कुनैपनि सरकारहरुले यो प्रतिवेदन कार्यान्वयन गर्नेतिर ध्यान दिएनन् ।
बडाल पहिले देखि नै लेखकका रुपमा परिचित छन्। संसार बनाउने श्रमजीवि जनता हुन भन्ने उनको रचना कम्युनिष्ट विचारको प्रचार गर्न महत्वपूर्ण अध्ययन सामग्री बनेको थियो। पछि उनले अखिल नेपाल किसान महासंघको नेतृत्व गरे। राष्ट्रिय सहकारी महासंघको अध्यक्षका रुपमा पनि काम गरे र उद्योग मन्त्री पनि बने। त्यस क्रममा उनका भूमि सुधार र सहकारीको विकाससँग सम्बन्धीत अनेक पुस्तकहरु प्रकाशित भएका छन्।
लेखक आफैले प्रकाशन गरेको यो पुस्तक ३९४ पेजको छ। रु ४ सय मुल्यको प्रस्तुत पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापना देखि एमालेले आयोजना गरेको दशौं महाधिवेशनसम्मको संक्षिप्त सिंहावलोकन हो। यसले कम्युनिष्ट आन्दोलनको इतिहास, त्यसका उतार चढाव र खासगरी नेकपा एमालेको आन्तरिक जीवनमा आएका अनेक आयामको चर्चा समेटेको छ। नेपालको कम्युनिष्ट आन्दोलनबारे जान्न चाहनेका लागि यो एउटा पाठ्य सामग्री बन्नेछ।
यहाँ उक्त पुस्तकको केही अंश प्रकाशित गरिएको छ। यो उध्दृतांशले नेकपा एमालेको आन्तरिक पार्टी जीवनमा अभ्यास हुने जनवादका बारेमा सुक्ष्म सुचना दिनेछ। पार्टीको केन्द्रीय कमिटिमा हुने निर्णयहरु कति गम्भिर छलफल र बहस पस्चात लिइन्थे भन्ने जानकारी पनि यहाँ पाइन्छ। यो अंश हामीले पुस्तकको पेज नम्बर १२९ देखि १४० सम्मबाट लिएका हौं। देखको शिर्षक हामीले दिएका हौं । यो अंशमा धेरै हिस्सा उनको डायरीका पाना जस्तो छ। लेखकलाई बधाई तथा शुभकामना सहित प्रस्तुत छ पुस्तक अंश। -सम्पादक
छैटौ र सातौं महाधिवेशनबीचको आन्तरिक अवस्थाको झलक
माथि केही महत्वपूर्ण घटना सन्दर्भलाई संक्षेपमा उल्लेख गरिएको छ। पार्टी विभाजन र एकताका बारे पनि चर्चा गरिएको छ। यहाँ उल्लेख गर्न खोजिएको विषय पार्टी विभाजन र एकताका बीचका केही गम्भीर महत्वको सन्दर्भ हो, जसले पार्टीभित्रको सामान्य दृश्यबोध गर्ने छ भन्ने ठानेको छु। यसबीचमा भएका दर्जनौं स्थायी कमिटी बैठकहरु र केन्द्रीय कमिटीको २२औं बैठकसम्म आइपुग्दा पार्टीभित्र सिर्जना भएको अस्वस्थ स्थितिबारे केही प्रतिनिधिमूलक भनाइहरु सामेल गर्दा त्यसबेलाको अवस्थाको झलक आउनेछ भन्ने विश्वास गरेको छु।
१५ असार २०५७ मा बसेको ६२औं स्थायी कमिटीको बैठकमा उठेका धेरै विषयमध्ये केही कमरेडहरुका भनाइका अंश यस्ता थिए:
प्रदीप नेपाल: पार्टीभित्र अस्वस्थ खेल देशैभरि चलेको छ। कम्युनिष्ट पार्टीको अनुशासन पालना हुनछाडेको छ। जनवादी केन्द्रीयता र कमिटी प्रणाली पालना हुनछाडेको छ। यही अवस्था रहने हो भने हामी सबैजना स्थायी कमिटीबाट हटौं। यही अवस्था रहिरहने हो भने सातौं महाधिवेशनमा पार्टी फेरि फुट्छ। पार्टीपंक्ति निराश छ। म यो बैठकपछि राजीनामा दिन्छु। म स्थायी कमिटी र केन्द्रीय कमिटीबाट राजीनामा दिएर आफूले गरेका दोष र अपराधबाट मुक्त हुन चाहन्छु। मलाई बिदा दिइयोस् होइन भने मलाई विशेष अधिकार दिइयोस्।
ईश्वर पोखरेल: गुटबन्दी तलसम्म योजनाबद्ध रुपले भएको छ। पार्टीको भारी बिसाएर कता जानु जस्तो भएको छ। उपत्यकालगायत देशैभरि पार्टी दुई गुटमा विभाजित छ। माधव भर्सेज केपीको अवस्था छ। माधवले
तर्क गर्ने होइन समाधान खोज्नुस्। उपदेशात्मक उपचार होइन समाधान दिनुस् काठमाडौंमा त पूरै संगठन चरचरी चर्किएको छ।
मोदनाथ प्रश्रित: मदन विचारधारा संकटमा पर्यो, रक्षा गर्ने म मात्रै हो भनेर केपीले ठान्नुभएन।
अमृत बोहोरा: तलको कमिटी जाम भएर बसेको छ। क्रान्तिकारी परिवर्तनप्रतिको विश्वास घटेको छ। नेतृत्व खुइल्याउने, हल्काफुल्का टिप्पणी गर्नेक्रम बढेको छ। पार्टी शुद्धीकरण अभियान चलाए पनि त्यसले काम गरेको छैन।
मुकुन्द न्यौपाने: माओवादीकोे हत्या, अपहरण, जबर्जस्ती चन्दा उठाउनेलगायतको आतंक व्याप्त छ। नेपाली काँग्रेस विरोधी फुटाउने र लाभ लिने काममा दिलोज्यानले लागेको छ। यस्तो स्थितिको सामना गर्न महासचिव सफल हुनुभएको छैन।
केपी शर्मा ओली: जति सोच्दा पनि काम गर्ने मानसिकता बन्न सकेको छैन। म ५० वर्ष नपुग्दै थाकें। अब सहने र पार्टीभित्रको परिस्थिति बुझ्ने क्षमता ममा हराउँदै गएको छ। बहिर विरोधी हमला, भित्र पार्टीको विरोध छ। झापा विद्रोहका बेला म स्वयं सचिव थिए। पार्टी लाइनबारे फरक सोच लिएकै कारण केही असम्बन्धितहरुको भेला गरेर मलाई हटाइयो। यस्तो स्थितिमा पनि पार्टी र क्रान्तिप्रति दृढ भएर म निरन्तर लागिरहें। मेरो संघर्ष महासचिव पदका लागि थिएन। अहिले पनि पदका लागि होइन विचारका लागि हो। मेरो ३१ वर्षको राजनीतिक जीवन पद्धतिहीन ढंगले चलेको छैन। महासचिवलाई हरेक अप्ठेरोमा सहयोग गर्दै आएको छु। म युरोप जाँदा त्यहाँ भएका नेपाली कमरेडहरुले माला लगाइदिए, त्यसको पनि यहाँ विरोध हुन थाल्यो। निरन्तर केपीलाई साइजमा राख्नुपर्छ भन्दै हिँडियो। महासचिवको असहिष्णुता ज्यादै भयो। यस्तो स्थितिले गर्दा म स्थायी कमिटीमा रहिरहने स्थिति छैन। अब म केन्द्रीय कमिटीमा मात्रै बस्छु। मलाई बैठक र छलफल पनि कष्टपूर्ण लाग्न थाल्यो।
केशवप्रसाद बडाल: पार्टीमा समस्या आउँछ, त्यसको समाधान निकाल्नुपर्छ। समस्या के हो? समस्या हो कि हाउगुजी? वर्तमान समस्याको आधारभूत कारण के हो? समस्या किन बल्झिरहन्छ? एकले अर्कालाई दोषेर मात्र समस्यको समाधान हुन्छ? ‘पार्टीभित्र समस्या छ, समस्यासँग जुझ्दाजुझ्दा म थाकें। अब म जुझ्न सक्तिनँ मलाई बिदा दिनुपर्छ भनेर प्रदीप कमरेडले के भनेको हो? समस्यासँग प्रदीप कमरेड मात्रै जुझ्नु भएको हो? अरूले केही गरेका छैनन्? नत्र उहाँले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्छ। अनि छलफल गर्नुपर्छ।
कमरेड केपीले पनि असजिलो वातावरण सिर्जना गर्ने र पद्धति छलेर प्यानल खडा गरेको भन्ने कुरा उठेको छ। प्यानल खडा गरेको भए किन गरेको? कमरेड केपीले चाहनुभएको के हो? वर्तमान महासचिव माधवकुमार नेपाललाई महासचिवमा कमरेड केपीले नै प्रस्ताव गर्नुभएको हो। हामीले समर्थन मात्रै गरेको होइन र? हाल उहाँको माग के हो? यो स्थायी कमिटी र केन्द्रीय कमिटी काम लाग्दैन भन्दै हिँड्नुको विकल्प के हो त?
गुटबन्दी गरेर स्थापित हुन्छु भनेर प्रयत्न गरेको हो भने गुट चलाउनेले पार्टी चलाउन सक्छ र? कमरेड केपीको चाहना के हो? अहिले नै महासचिव बन्न चाहनुभएको हो अथवा पार्टीको अध्यक्ष हुन खोज्नुभएको हो? अथवा अध्यक्ष वा महासचिवमा अरू कसैलाई बनाउन खोज्नुभएको हो? प्रस्ताव के हो? प्रस्ताव खुलस्त आउनुपर्छ। अनि छलफल गरौंला।
महासचिव माधवकुमार नेपालले यस्तो गम्भीर समस्यालाई समयमै समाधान गर्न किन पहल गर्नुभएन? पार्टीले आन्तरिक समस्या समाधान नगरी राष्ट्रिय समस्या समाधान गर्न सकिन्न भन्ने कुरा बारबार उठाउँदा पनि यसमा गम्भीरता किन देखाइएन? पदको समस्या हो भने महासचिव पनि लचिलो हुनुपर्छ, मनका कुरा खुलस्त राखौं। भित्रभित्र गुम्स्याएर नराखौं।
स्थायी कमिटीले समस्या हल गर्न सकेन। २० साउन २०५८मा केन्द्रीय कमिटीको २२औं बैठक बस्यो। २० देखि २५ साउनसम्म ६ दिन व्यापक छलफल भयो। यो केन्द्रीय कमिटीको बैठकमा पार्टीको आन्तरिक समस्याबारे ३८ जना नेताले आफ्ना विचार राख्नुभयो। त्यसको पनि प्रतिनिधिमूलक भनाइहरु यहाँ सामेल गर्न उपयुक्त ठानेको छु।
छैठौं महाधिवेशनपछिको केन्द्रीय कमिटीको २२औं बैठकको झलक
वाचस्पति देवकोटा: मालेसँग एकता गर्नुपर्छ तर भुइँको टिप्दा पोल्टाको नखसोस् भन्ने कुरामा गम्भीर भएर सोच्न जरुरी छ। हिरो बन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। यस सन्दर्भमा पार्टी महासचिव माधव कमरेडको दरबारलाई हेर्ने दृष्टिकोणमा समस्या देखिएको छ। दरबारमा भेटी चढाउन जानु हाम्रो पार्टीको प्रतिष्ठामा ठेस पुर्याउने घटना हो।
पृथ्वीसुब्बा गुरुङ: पार्टीभित्र दरो वैचारिक शिक्षा नहुँदा र शुद्धीकरण अभियान सञ्चालन नहुँदा उग्रवामपन्थी र माओवादीसम्म पलायन हुनेक्रम बढेको छ। शुद्धीकरण अभियान सञ्चालन गर्न जरुरी छ। राप्रपाभित्रको सकारात्मक पक्ष एमाले प्रवेश गर्न तयार छ, तर ल्याएर संगठित गर्ने वैचारिक समस्याले गर्दा अप्ठेरो परेको छ। त्यस्ता समस्या सल्टाउनुपर्छ।
भीम रावल: नारायणहिटी हत्याकाण्डमा षड्यन्त्र छ भनेर प्रस्ट रुपमा लेखिनुपर्छ। पार्टीका निर्णयहरुलाई सम्पूर्ण कमरेडले एकमतले बाहिर लानुपर्छ। यसबारे पार्टीभित्र अभियान नै सञ्चालन गर्नुपर्छ। निर्णयहरु फरकफरक ढंगले बाहिर जाँदा पार्टीप्रतिको विश्वसनीयतामा समस्या आउँछ।
गुरू बराल: नारायणहिटी हत्याकाण्डबारे हाम्रो पार्टीले अस्पष्ट र दोधारे होइन प्रस्ट रुपमा षड्यन्त्रमूलक हत्याकाण्ड भनेर लेखिनुपर्छ। दीपेन्द्रलाई हत्यारा पनि भन्ने उनैलाई राजा पनि बनाउने कुरा विश्वकै निम्ति लज्जास्पद कुरा हो। जो मर्यो, उही हत्यारा पनि भन्ने फेरि उसैलाई राज्यरोहण पनि गराउने नाटकलाई संसारको कसैले पनि सही भन्न सक्दैन।
सुवास नेम्वाङ: दरबार हत्याकाण्ड सम्बन्धमा देश र जनताको हितअनुकूल पार्टी दह्रोसित उभिएको देखिएन। दरबार हत्याकाण्ड छानबिन आयोगमा माधवकुमार नेपाल नरहने पार्टी निर्णयपछि र अघिका माहासचिव माधवकुमार नेपालका लेखाइ र प्रतिवेदनमा एकरुपता देखिएको छैन। संसद् कुना पस्यो। एमालेको भूमिका निस्तेज देखियो। विशेष अधिवेशन डाकौं भनेर वकिलहरुले माग गरे। दरबार प्रतिवेदनबारे सकारात्मक ढंगले प्रस्तुत हुनहुँदैनथ्यो। त्यो प्रतिवेदनबारे सकारात्मक कुरा नै होइन।
विष्णु पौडेल: विगतभन्दा यो बैठक जीवन्त छ। यो बैठकको समग्र छलफल स्वयं आलोचना अनि आत्मालोचनाको बैठकको रुपमा प्रस्तुत भएको छ। कम्युनिष्ट पार्टी काँडासहितको गुलाब हो। फरक मतसहितको निर्णय हुँदै छ। कमरेड केपी शर्मा ओलीको चित्त दुखे पनि, रातभर निद्रा नलागे पनि समाधान खोज्ने यही बैठकमा हो। यस बैठकमा अनुपस्थित भएर समस्याको समाधान निस्किँदैन। गुटबन्दी कुन स्तरमा छ भन्न सकिन्न तर समाधान विधिसम्मत नै हुनुपर्छ। केही ‘पेनिट्रेट’ भएको हो कि भन्ने कुरा लुम्बिनीमा पनि छ। म एकताको पक्षमा हर्दिकतापूर्वक उभिनुपर्छ भन्नेमा छु। विभाजन (२०५४–११–२१) हुनुमा तिनीहरु मूल रुपमा दोषी छन्। २०५६ सालको निर्वाचनमा तिनीहरुको हार हुनु पुनः एकताका लागि राम्रो भो र अब जे भए पनि मालेको ब्यानर हटाउनुपर्छ। विगतमा पार्टीका रुपमा अस्वीकार गरेर हामीले ठीक गरेका छौं। एकता छैठौं महाधिवेशनकै आधारमा गर्नुपर्छ।
विद्या भण्डारी: नारायणहिटी दरबार हत्याकाण्डबारे हाम्रो प्रस्ट धारणा आउनुपर्छ। वाम एकताका लागि माले सच्चिएर आउने हो कि के हो? हामीभित्रको एकता दह्रो बनाएर जान जरुरी छ। हामीले आआफ्नो सामाजिक हैसियत जोगाउने कुरामा होइन देश निर्माण गर्नेतर्फ बढी केन्द्रित हुन जरुरी छ। एमालेबाट विभाजन भएर माले गठन हुनुमा को दोषी छ? माधवकुमार नेपाल दोषी हो कि वामदेव हो? विभाजनको दोष कसले बोक्ने? प्रस्ट भएर एकता अघि बढाउँदा दिगो होला। अनेमसंघका तर्फबाट सीता पौडेललाई यूएसए पठाउँदा महासचिवले नराम्ररी हप्काउनुभयो। त्यसपछि औपचारिकताबाहेक राम्ररी बोलचाल पनि हुन सकेन। कसलाई कति हप्काउन उचित हुन्छ भन्ने कुरामा महासचिवले पनि हेक्का राख्नुपर्छ कि?
मोदनाथ प्रश्रित: नेता र अभिनेतामा फरक छ। अभिनेताले छुट्टै रुप, रंग र शक्ति देखाउने गर्छन् तर नेताले आफ्नो आकर्षण दिन आकर्षित गर्न सकेको भए टाउकैले हिँड्नुपर्ने थिएन। दौडने काम खुट्टाको हो सोच्ने र योजना बनाउने काम टाउकाको हो। लेखक नै भए पनि कमिटीभित्र रहँदा लेखेर अभिनेता बन्नुहुँदैन। प्रदीपले राजीनामा फिर्ता लिनुपर्छ। स्थिति हेर्दा ‘फ्लप’ खाएको अभिनेताका रुपमा झलनाथ पर्नुभएको छ। केपी शर्मा ओलीलाई लागेको छ, म महासचिवभन्दा योग्य छु। अस्ति दृष्टि पत्रिकाले अभिनेता बनाएको छ। केपी शर्मा ओली बैठकमा प्रायः ढिलो आउने, आफूलाई चिनाउन खोज्ने, सीपी मैनाली र वामदेव गौतमलाई शक्तिशाली प्रभावशाली उपनाम दिने गरेपछि विभाजित भएर गए। महासचिव माधवकुमार नेपाल पनि आलोचना सुन्नै नसक्ने रिसाइहाल्ने। यसरी नेता भइँदैन, गुटगत गतिविधि पनि कसैले गर्नुहुँदैन। जे गर्ने हो यही कमिटीमा आएर छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्छ।
माओवादी गणतन्त्रवादी हुन् कि भन्ने भ्रम नपालौं। राजासँग कार्यगत एकता गरेको कुरा, सेना परिचालन नगर्न राजालाई मनाउने माओवादी, राजा जोगाउन तयार हुने माओवादी, अहिले पनि माओवादी, राजा र शेरबहादुर एकैठाउँमा छन्। यो स्थितिलाई ध्यानमा राखेर हाम्रो पार्टीले जनताको भर गरेर चल्नुपर्छ।
ईश्वर पोखरेल: अहिलेको स्थितिमा एमालेले वामपन्थी शक्तिको नेतृत्व सम्हाल्नुपर्छ। एमालेले मात्र अहिलेको चुनौती सामना गर्न सक्छ। मुलुक यथास्थितिमा चल्दैन, मुलुक प्रतिगमनतर्फ जाने खतरा छ। विगतमा हामीले नै कसलाई के–के विशेषण भिराएनौं, जननेता मदन भण्डारीले नै धरहराको टुप्पोबाट भुइँमा हेर्नुपर्छ भनेर भनिएको आवाज नसेलाउदै माले मार्क्सवादी एकता गरेर बराबरीको हैसियत दिएर मनमोहन अधिकारीलाई अध्यक्ष बनायौं। हिजो भनेका थियौं विचारमा अवसरवाद, संगठनात्मक क्षेत्रमा अराजकतावाद, हिजो युद्धको बोली बोल्यौं, अब समीक्षाको बोलीमा जानुपर्छ र एकता गर्नुपर्छ। विगतको विभाजन आन्तरिक रुपमा व्यवस्थापन गर्न नसकेर भएको विभाजन थियो। विगतमा उपमहासचिव बनाउँदा विधि विधान मिचिएको थियो। इतिहासको कालखण्डमा भएको घटनाको समीक्षा गर्नुपर्छ ‘मोही माग्ने ढुंग्रो लुकाउने’ गर्नुहुँदैन। एकताको प्रयास गर्नुपर्छ। सिद्धान्त नीति र विधानलाई छोडेर होइन जोडेर गर्नुपर्छ। कम्युनिष्ट पार्टीभित्र नीति र पद्धतिअनुसार निर्णय भएन भने आफूले भनेको मान्दा पद्धति मान्ने अनि आफूअनुसार निर्णय भएन भने कहिल्यै नमान्ने सीपी प्रवृत्तिको अन्त्य गरौं। हामी हिरोपीडित छौं। अब त्यो बन्द हुनुपर्छ। एकताबारे नर्मल मुडमा एकता प्रयास थालिहालौं।
मेरो सबैभन्दा सम्मानित ठाउँ यही हो। म आग्रह पूर्वाग्रहबिना सबै कुरा भन्छु। यहाँ उपस्थित प्रायः सबै अर्थात् ८० प्रतिशत कमरेड केपी शर्मा ओलीकै समकालीन हुनुहुन्छ। तर, आज यस बैठकमा उहाँ किन आउनुभएन? केन्द्रीय कमिटीलाई अनादर हुनेगरी अनुपस्थित हुनु ठीक होइन। सात पटकसम्म स्थायी कमिटीमा समाधान गर्न नसकेपछि केन्द्रीय कमिटीमा यो विषय ल्याइएको हो। स्थायी समितिमा कोही हिम्मतदार आउन खोज्नुभएको भए आए हुन्छ। वास्तवमा पार्टीमा गुटबन्दी छ। पार्टी अफिसियल च्यानलजत्तिकै केही सञ्चालित छ। सञ्चार जगतबाट कसले स्थापित र विस्थापित गर्ने त्यसको च्यानल नै बनेको छ। यो नै गुटबन्दी हो। गुटबन्दी ‘प्रेत’ जटिल ढंगले प्रकट हुने गरेको छ।
सस्ंथागत निणर्यका विरुद्ध कार्यकर्ताको रक्षा गर्नु धर्म हो भनेर सीपी मैनाली भन्ने गर्नुहुन्थ्यो। अहिले केपी शर्मा आली त्यसै गरिरहनभुएको छ। केपीले आएर आत्मालोचना गर्नुपर्छ। कमिटीलाई सबलै सम्मान गर्नुपर्छ। केन्द्रीय कमिटीलाई अपमान गर्ने अधिकार न केपीलाई छ, न कसैलााई।
झलनाथ खनाल: पार्टी शुद्धीकरण अभियान २०५७ सालको वर्षभरि सञ्चालन गरियो भनियो। तर, यो २२औं बैठकको प्रस्तुति हेर्दा हाम्रो पार्टीलाई २०५७ सालको वर्षभरि सञ्चालित शुद्धीकरण अभियानको कुनै प्रभाव परेको देखिएन। इमान्दार प्रयत्न पनि भएन भन्ने कुरा यस बैठकमा प्रस्तुत भएका विचारले देखायो। चिनियाँ कम्युनिष्ट पार्टीले एमालेलाई निमन्त्रणा गर्दा महासचिवको नेतृत्वमा बोलाएको थियो। महासचिवको नेतृत्वमा केपी जान मान्नुभएन, पछि महासचिव नगएर केपी जानुभयो।
गुटबन्दीका ६ रुपबारे यो एउटा असजिलो प्रवृत्ति केपीले देखाउनुभयोः
– पार्टीको भन्दा फरक उद्देश्य राख्नु
– एकभन्दा बढी जमात क्रियाशील हुनु
– जमातको बीच पार्टी च्यानलभन्दा फरक च्यानल खडा गर्नु
– जमातबीच समान सोच, भाषा व्यक्त हुनु
– माथि र तल कमिटी प्रणालीभन्दा फरक उठबस हुनु
अहिलेसम्म सच्याउन नसक्ने तहमा पुगेको छैन। सच्याउन प्रयास गर्नुपर्छ। प्रदीप नेपाल र भीम रावलको राजीनामा अस्वीकृत गर्नुपर्छ। राजीनामाको कुरा बाहिर जानु बिल्कुल गलत हो। प्रदीप नेपालले आत्मालोचना गर्नुपर्छ। यस्तो अवस्था आउन नदिन महासचिवले बेलैमा ध्यान दिन सक्नुपर्छ। अहिलेसम्म देखिएका गुटगत प्रवृत्ति सच्याउन सकिने तहको हो। सच्याएर जानुपर्छ।
२०५४ सालको फुटकै कारण माओवादी मौलिन पुग्यो। कार्यकर्ता माझ जाँदा हामी डिफेन्सिभ भयौं। त्यसबेलाको हाम्रो अडान ठीक थियो। एकता गर्नुपर्छ। आजको भोलि एकता हुँदैन। विगतको विभाजनमा दोष उनीहरु (वामदेव र सिपी) को हो, अब एकता गर्नुपर्छ। एकताबाट कति सिट आउँछ भन्दा पनि राम्रो म्यासेज जान्छ। त्यसलै मालेसँग एकता गर्नुपर्छ।
केपी शर्मा ओली: बैठकमा ममाथि आरोपित गरेर लगातार छलफलमा प्रस्तुत भएको कुराले म अलि गम्भीर भएको छु। झापा विद्रोहका बेलामा म स्वयं सचिव थिएँ। केही केटाकेटी आदि भेला गरेर त्यसैलाई सम्मेलन भनेर मलाई सचिव मात्र होइन सदस्यबाटै हटाइयो। तर, आन्दोलनको हितका लागि गुटबन्दी विरुद्धमा निरन्तर पार्टीको हितमा लागिरहें। छैठौं महाधिवेशनअघि र पछि पनि जे जति संघर्ष गरें त्यो महासचिव पदका लागि होइन। मेरो ३१ वर्षको पार्टी जीवनमा कहिल्यै पद्धतिहीन तरिकाले चलिनँ र छैन पनि।
महासचिवका रुपमा माधव कमरेडलाई सधैं सहयोग गर्दै आएँ। उपनेताका लागि’ भनेर जिल्ला कमिटीसम्म लगेपछि केही प्रतिवाद गरेको हुँ। अध्यक्ष मनमोहन अधिकारीको देहावसान भएपछि संसदीय विभागको जिम्मेवारी माग गर्दा, कोठाको लडाइँ भनेर गलत प्रचार गरियो। युरोप भ्रमणमा जाँदा साथीहरुले माला लगाइदिए। त्यो मालाको समेत मेरो विरोधको विषय बनाइयो। तलतलकुरा केपीलाई साइजमा राख्नुपर्छ भनेर असम्बन्धित मान्छेसम्म लगियो। एउटा झुन्ड बनाएर मलाई अध्यक्ष, महासचिव बन्न खोज्यो’ भनियो। महासचिव माधवकुमार नेपालको असहिष्णुता ज्यादा भो। हकारपकार ज्यादा भयो। यो स्थायी समितिले पनि केही गर्ला जस्तो छैन भनेर स्थायी समितिको बैठकमा भनेको हुँ। त्यसैले, केही पहिलेको स्थायी समितिको बैठकमा स्थायी कमिटीबाट बिदा लिएर केन्द्रीय कमिटीमा मात्र बस्छु भनेको हुँ।
त्यसपछि केपी शर्मा ओली एकता विरोधी हो भन्ने कुराको हल्ला चलाइयो। म एकताकै अभियानमा लाग्दै यहाँसम्म आइपुगेको हुँ। म एकीकरणविरोधी होइन। यसमा यो केन्द्रीय कमिटीका कमरेडहरुमा भ्रम नरहोस्। मैले २०५६ सालको निर्वाचनभन्दा पहिले पनि एकताका लागि खबर आदानप्रदान गरें। निर्वाचनपछि पनि पटकपटक कुराकानी भयो।
यो सबै कुरा महासचिव माधव कमरेडलाई रिपोर्ट गरें। मैले वामदेवलाई भनें,। तपाईंहरुलाई मान्यता दिन सकिन्छ, आत्मालोचना गर्नुस्, मान्यतासँगै एकता गर्ने कुरामा वामदेव सहमत भएको कुरा महासचिवलाई मैले भने तर यो कुरा स्थायी कमिटीमा ठाडै अस्वीकृत भयो। अनि मलाई नै एकताविरोधी भनियो। मैले आन्तरिक एकतामा जोड दिएँ। त्यो भएको छैन। एकताबद्ध जनआधारित एमाले पहिलो सर्त हो। अनि मात्रै बाँकी शक्तिसँग पनि एकताबद्ध हुन सक्छौं। मैले यो केन्द्रीय कमिटीको २२औं बैठकमा केही गम्भीर विषय, जसलाई हामी पार्टीले गम्भीर भएर सोच्नुपर्ने कुरा राख्न उपयुक्त ठानेको छु।
हाम्रो पार्टी २१ फागुन २०५४ मा सहिद दिवसकै दिन विभाजन किन भयो? विभाजनका मुख्य नायकहरुले विभाजन हुनुभन्दा पहिले नेपाली काँग्रेससँग त्यसका मुख्य नेताहरुसँग सल्लाह गरेका थिए। त्यसबेला पार्टीले एकताबद्ध भएर निर्वाचनमा बहुमत ल्याउन सक्ने सम्भावना थियो। त्यस्तो बेला दरबारले पनि हाम्रो पार्टी विभाजन गर्नमा भूमिका निभायो। अब उसलाई त्यो वामदेवहरुको समूहको अस्तित्व दरबारलाई चाहिएको छैन तब एकीकरणको पक्षमा जान त्यही शक्तिले प्रयोग गरिरहेको कुरा बुझ्न कठिन छैन। अब एमालेलाई कमजोर पार्न दरबार लागिपरेको छ। त्यसका लागि वामदेव पार्टीभित्र नै आएर एमाले कमजोर बनाउन भूमिका निभाउन अवश्यक भएको हुनसक्छ। यसबारे सतर्क हुँदै एकता प्रक्रिया अघि बढाउनुपर्छ। वामदेव दरबार र तस्करको सम्पर्कमा रहने मानिस हुन्। वामदेव चरम तानासाह पनि हुन सक्छन्। निरीह हुन, हाँस्न, रून जे गर्न पनि सक्ने पात्र हुन्।
अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारलाई सृदृढ गरेर केही लामै समय लान सकिने थियो। त्यसको आधार पनि थियो। त्यसका लागि प्रयास पनि भएको थियो। त्यसलाई असफल बनाउन हामीभित्रकै केही कमरेडहरुले उग्रक्रान्तिकारिता देखाएर सरकार निरन्तर कायम रहन सकेन। राप्रपालाई ४ सिट दिएर सरकारको निरन्तरता दिन सकिने कुरालाई १० भाइ कमरेडहरुले एमालेको पवित्र सरकारमा राप्रपा मिसाएर अपवित्र पार्न हुन्न भनेर वक्तव्यबाजी गर्नुभो। हाम्रो सरकार गिरेको केही समयपछि लोकेन्द्र सरकारमा वक्तव्य दिने १० मध्ये ६ जना मन्त्री हुन पुग्नुभयो। लोकेन्द्र सरकारमा हाम्रो पार्टी सामेल नभएको भए पार्टी फुट्ने थिएन। यही समयमा गलत काण्ड गर्न सघाउने र हाम्रो पार्टी विभाजन गर्ने प्रत्यक्ष अप्रत्यक्षरुपमा सरकारले भूमिका खेल्यो। काँग्रेसले त्यसमा थपथाप गर्यो।
लोकेन्द्र सरकारमा गएपछि हाम्रो इमेज पहिलेको जस्तो रहेन। यी सबै कुरालाई गम्भीरताका साथ लिँदै एकताले कस्तो परिणाम देला विचार गर्नुपर्छ। एकता शब्द राम्रो हो तर एकताले दिने परिणाम विश्लेषण गरी निष्कर्षमा पुग्नुपर्छ भन्ने मेरो विचार हो। मेरो विचारलाई गम्भीरतासाथ लिन यो केन्द्रीय कमिटीलाई अनुरोध गर्छु।
माधवकुमार नेपाल: दरबार हत्याकाण्डबारे बोल्दा एक किनारमा बसेर बोलिहाल्न भन्दा रहस्यमय हत्याकाण्ड भन्नुपर्छ। राजतन्त्रलाई संवैधानिकीकरण गर्नुपर्छ। अर्थात् अझ बढी संवैधानिकीकरण गर्दै जाने हो। राजतन्त्रबारे छैठौं महाधिवेशनले सोचेभन्दा फेरबदल आएको छ। त्यसकारण विकल्पसहित जानेबारे पनि सोच बनाउनुपर्छ। राजतन्त्रको भविष्यबारे दरबारकै घटनाले पुनर्विचार गर्ने तहमा गएको छ। प्रजातान्त्रीकरण र पारदर्शिता दरबारले पनि गर्नुपर्छ।
दरबार हत्याकाण्डबारे हामी अकर्मण्य भएका छैनौं। पार्टी एकता प्रस्तावबारे मालेलाई मात्रै ध्यानमा राखेर प्रस्ताव गरिएको होइन। वामदेवले जे भनिरहेका छन्, त्यसको यथार्थता पुष्टि भएको छैन। एकता कायम होस् भन्नका निम्ति हामीले १ प्रतिशत पनि गल्ती गरेका छैनौं। महाधिवेशन लत्याएर हिँड्नेलाई पनि खाली ठाउँ राखेका थियौं। ४० प्रतिशतको माग आफैंमा गलत थियो। विगतमा उपमहासचिव बनाउने, उपप्रधानमन्त्री बनाउनेलगायत तुष्टीकरणको काम ठीक भएन। विभाजनपछि जुन प्रहार गरियो, त्यो ठीक गरियो। तर, भएको पार्टीलाई पार्टीका रुपमा अस्वीकार गर्नु खासगरी २०५६ सालको निर्वाचनमा राष्ट्रिय पार्टीका रुपमा स्थापित भएपछि पनि पार्टीको रुपमा स्वीकार नगर्नु गल्ती हो। अब पार्टीका रुपमा स्वीकार गरेर वार्ता गर्नुपर्छ। तर, उहाँहरुले पनि छैठौं महाधिवेशन मान्नुपर्यो। फुट्नु गल्ती थियो भन्ने कुरा स्वीकार्नुपर्यो। पार्टीले तय गरेको गतिलाई स्वीकार गरेर आउनुपर्यो।
एकता वार्ताका लागि भरतमोहन अधिकारी, युवराज ज्ञवाली र केशवप्रसाद बडाल समेतको वार्ता कमिटी गठन गरेका छौं। पार्टी विभाजनपछि पार्टीको पक्षमा सशक्त भूमिका निभाउने कमरेडहरुलाई पार्टीले सम्मान गर्नुपर्छ। मालेसँगको एकतालाई मूल पक्ष ठान्दै अरूसँगको एकतालाई पनि निरन्तर प्रयास गर्नुपर्छ।
बैठकको अन्त्यमा महासचिव माधवकुमार नेपालको निष्कर्ष हो यो।
– एकता वार्ताका लागि तीन सदस्यीय वार्ता कमिटीमा भरतमोहन अधिकारी, युवराज ज्ञवाली र केशवप्रसाद बडाल रहनुहुन्छ।
– अविश्वास हार्दिकताको स्थितिसम्म नपुगे पनि तुलानात्मक रुपमा समाधान भएको छ।
– गलत प्रकृतिबाट सबै कमरेड मुक्त भएर काममा जुट्नुपर्छ।
– पार्टी पद्धतिसम्मत ढंगले चल्न/चलाउनुपर्छ।
– मालेसँग एकता प्रयास गर्ने, एकता भए पनि नभए पनि हाम्रो आजको निर्णयले पार्टी अगाडि बढाउन योगदान गरेको छ।
– प्रदीप कमरेडको राजीनामा बैठकले अस्वीकार गरेको छ।
केपी कमरेड बैठकमा पछिल्लो दिनमा आउनु भएन, उहाँ जस्तोसुकै भए पनि व्यक्तिले पार्टीको अनुशासन मानेर बैठकमा पूरै समय सहभागी हुनुपर्थ्यो। भोलि पत्रकार सम्मेलन गरेर आवश्यक विषय बाहिर लगिनेछ। बाँकी तीतामीठा जे जस्तो भए पनि त्यो यहीँ थन्क्याउनुपर्छ।
(२२औं बैठक २०५८–४–२५ साँझ ५ बजे)