मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या गर्दै गरेको दृश्यले विश्वलाई गहिरो शोकमा पार्यो। उनको हत्याको विरोधमा अमेरिका लगायत विश्वभर ‘ब्ल्याक लाइभ्स् म्याटर’ आन्दोलन चर्कियो। संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले अमेरिकी न्यायप्रणालीमा नश्लीयता, प्रहरीको क्रुरता र संरचनागत भेदभावको निन्दा गर्यो।
त्यस घटनाको ३ वर्षपछि सोही महिनामा एक अश्वेत घरबारविहिन व्यक्ति जोर्डन निलीको हत्या भयो। न्युयोर्कस्थित सबवेमा डेनिय पेनी नामक श्वेत व्यक्तिले उनको घाँटी अठ्याएर हत्या गरेका हुन्। कतिले यस हत्यालाई ‘लिन्चिङ्’ भनेका छन्, अर्कोथरीले हत्यारा पेनीलाई ‘हिरो’ बनाइरहेका छन्।
६० वर्ष अगाडि नागरिक अधिकारवादी मार्टिन लुथर किंगले ‘आइ ह्याभ अ ड्रिम’ भन्दै गर्दा र आजको अमेरिकामा अश्वेत नागरिकले बाँच्न पाउने अधिकारको माग गर्दै गर्दा यी दुई समयबीच खासै फरकपनको महशुस गर्न सकिँदैन। परिस्थिति झन बिग्रिदै गएको छ। जुन देशलाई मानवअधिकारको केन्द्र मानिन्छ, त्यही देशमा फ्लोएड र निली जस्ता अल्पसंख्यकहरूलाई श्वास फेर्ने ठाउँसम्म छैन।
एउटा गैरसरकारी संस्था दि सेन्टेन्सिङ प्रोजेक्टको तथ्यांकअनुसार ल्याटिन अमेरिकीहरूलाई कैद गरिने दर श्वेत अमेरिकीहरूको तुलनामा १.३ गुणा बढी छ। जबकि श्वेतको तुलनामा ५ गुणा बढी अश्वेतहरूलाई जेल राखिएको छ। सेन्ट लुइसको फेडेरल रिजर्ब बैंकका अनुसार सन् २०२२ मा अश्वेत परिवारहरूसँग श्वेतहरूसँगको औसत सम्पत्ति भन्दा ९ लाख ५६ हजार डलरले कम सम्पत्ति छ। जबिक हिस्पानिक परिवारसँग गोराहरूको भन्दा १ बिलियन डलर सम्पत्ति कम छ। ब्राउन युनिभर्सिटी, स्कुल अफ पब्लिक हेल्थको एउटा अध्ययनले देखाएको छ कि अश्वेत महिलाहरूले श्वेत महिलाको तुलनामा ३.३ गुणा बढी मातृ मृत्युदरको सामना गरेका छन्। यसले अमेरिकामा अल्पसंख्यकको मानवअधिकारको चिन्ताजनक अवस्थालाई देखाउँछ।
अमेरिकी प्रहरीको क्रुरता विश्वलाई थाहा छ। द न्युयोर्क टाइम्स्ले यसलाई अमेरिकाको लज्जा भन्दै आलोचना गरेको छ। म्यापिङ् पुलिस भायलेन्सको वेभसाइटबाट लिइएको डाटा अनुसार सन् २०२१ मा अमेरिकामा प्रहरीले ११ सय ६३ मानिसको हत्या गरेको थियो। यो संख्या बढेर सन् २०२२ मा १२ सय ३८ पुग्यो। यसै वर्षको मार्चमा प्रहरीको क्रुरताका कारण ३ सय १ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, श्वेतको तुलनामा अश्वेतहरू २.९ गुणाले बढी मारिएको वेभसाइटमा उल्लेख गरिएको छ।
अमेरिकी समाजमा नश्लीयता निकै गहिरो समस्या हो। तर, लामो समयदेखिको यो समस्याको सामधान गर्न असफल रहेका कारण अमेरिकाले अब नयाँ समस्याको सामना गरिरहनुपरेको छ। यस देशमा मानवअधिकारको अवस्था बिग्रदो छ। रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको छ कि अमेरिकामा सन् २०१८ यता ७० प्रतिशतले बालश्रमको शोषण बढेको छ। २०२२ को आर्थिक वर्षमा ८ सय ३५ कम्पनीहरूले श्रम कानुनको उल्लंघन गर्दै ३ हजार ८ सय ७६ बालबालिकालाई काम लगाएको पाइएको छ। २०२१ को आर्थिक वर्षपछि जोखिमपूर्ण क्षेत्रमा कार्यरत नाबालिगहरूको संख्या २६ प्रतिशतले बढेको छ। अभावका कारण श्रम आपूर्तिलाई बढाउनका लागि आयोवा र मिनेसोटा जस्ता निश्चित अमेरिकी राज्यहरू बालश्रम कानुनलाई फितलो बनाउन गइरहेका छन्, जसले नाबालिगहरूलाई जोखिमयुक्त कार्यक्षेत्रमा पुर्याउन सक्छ।
मानवअधिकारको गढ मानिएको अमेरिका किन फ्लोएडको मृत्युको ३ वर्षपछि पनि बिग्रदो मानवअधिकारसँग संघर्ष गरिरहेको छ ? अमेरिकामा कथित लोकतन्त्र भनेको कुलिन प्रणालीलाई जोगाइराख्ने उपकरण मात्र हो। कुलिनहरूको अस्तित्व र समृद्धिलाई सुनिश्चित गर्नका लागि राजनीतिक रुपमा ध्रुविकृत डेमोक्रेट्स् तथा रिपब्लिकनहरू पहिचाान संकटलाई बढाइचढाई पेश गरिरहेका छन्, आम अमेरिकीहरूबीच संघर्षलाई भड्काइरहेका छन् र जनताको ध्यान विकेन्द्रित गर्न र सामाजिक दबाबलाई कम गर्नका लागि नश्लीय अशान्ति, प्रहरी क्रुरता, लैंगिक असमानता र संस्कृति युद्धलाई बढाइरहेका छन्।
लोकतन्त्र र मानवअधिकारहरूको रक्षाको नाममा अमेरिकाको हर्कतबाट आम अमेरिकीहरूलाई ऐँठन भइरहेको छ, जहाँ स्वतन्त्र रुपले सास फेर्ने ठाउँसम्म छैन। -सिजिटिएनबाट