विषय प्रवेश/परिभाषा
मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर काम गर्छ र निश्चित सामाजिक तथा राजनीतिक सम्बन्धमा पनि प्रवेश गर्छ। जसरी भौतिक वस्तुहरूको उपलब्धताले उसको श्रम र उत्पादन सम्बन्धलाइ निर्धारित गर्छन्, त्यसरी नै राजनीति, कानुन, नैतिकता, धर्मसहित चेतनाले गर्ने तत्त्वमीमांसा मान्छेको मानसिक उपज पनि उत्पादक शक्तिको विकासको अवस्था र त्यससँगको अन्तक्रियाले निर्धारण गर्छ। अर्थात् मान्छेको चेतना भौतिक अवस्थासँग मान्छेले गर्ने अन्तरक्रियाबाट स्वतन्त्र छैन। यसैलाई आधार र उपरिसंरचनाका रूपमा माक्र्स र एङ्गेल्सले व्याख्या गरेका छन्।
समाजमा विद्यमान उत्पादन सम्बन्ध र भौतिक विकासको अवस्थाले मान्छेको चेतनालाई प्रभावित गर्छ जसले राजनीति, धर्म, राज्य, नैतिकताजस्ता विषयलाई निर्धारण गर्छ। यहाँ भौतिक अवस्था र उत्पादन पद्धति आधार हो र राजनीति, धर्मलगायतका विषय उपरिसंरचना हुन्। ‘चेतनाले जीवनलाई निर्धारण गर्दैन, बरु चेतनालाई जीवनले निर्धारण गर्छ।’ त्यसैले संस्कृतिको उत्पादन पनि समाजको विद्यमान उत्पादन सम्बन्ध र उत्पादनका वस्तुहरूसँग मान्छेले गर्ने अन्तक्रियात्मक अवस्थासँग सिधै सम्बन्धित रहन्छन्।”
उत्पादनका साधनमाथि जसको नियन्त्रण हुन्छ, उसँगै सत्ता पनि हुन्छ र सत्तालाई पक्षपोषण गर्ने विचारसत्ता पनि हुन्छ। यहाँ मादीको लोकसंस्कृतिको कुरा गर्दा खासगरी यसअघिको सामन्तवादी युगका विशेषता अनुरूप सत्ताधारीहरूले बसालेका रीतिथिति, उनीहरूले स्थापित गरेका धार्मिक, सांस्कृतिक मूल्य र प्रचलनहरूको निरन्तरता र त्यसमा आइरहेका परिवर्तन समेतलाई बुझ्नु पर्छ।
“संस्कृति अनुभवबाट निश्रित एवं परिमार्जित सामुहिक चेतना र त्यसबाट निर्धारित सामुहिक अभ्यास हो। यसका दुइटा पक्ष छन्ः व्यवहारबाट निश्रित सामुहिक चेतना र सामुहिक व्यवहार। यो लगातारको परिमार्जन र पुनर्रचनाको प्रक्रियाबाट अघि बढ्छ। जति व्यवहारले, वस्तुगत अवस्थाले र नयाँ वस्तुको उत्पत्तिले चेतनालाई प्रभाव पार्छ, त्यही अनुरूप सामुहिक सोच, चलन र अभ्यासहरू हराउने र जन्मने काम हुन्छ। संस्कृति राम्रा र नराम्रा दुबै खाले सामुहिक चेतना र व्यवहारको समष्टिगत रूप हो। संस्कृतिको व्यापक अर्थ र परिधिभित्र मूल्य र मान्यताहरू, चलन, प्रथाहरू, भाषा, धारणाहरू, विश्वासहरू, रीतिरिवाजहरू र सामाजिक जीवनका दार्शनिक पक्षहरू समाहित हुन्छन्। संस्कृति विज्ञानसम्मत मान्यता र व्यवस्थाहरू तथा सामन्तहरू, ब्राह्मण पुरोहितहरू, धामी वा विजुवाहरू र ओझाहरूले (यो लेख लक्षित रहेको मादीको सन्दर्भमा पैंडी, पच्यु, घ्याब्रीहरू पनि थप्नुपर्ला –सम्पादक) आफ्नो वर्गीय जातीय एवं लिङ्गीय शासनलाई सुदृढ गर्न बनाएका कर्मकाण्डहरू र सामाजिक विधानहरूको कूल योगका रूपमा रहेको हुन्छ।” (न्यौपाने २००४)
न्यौपानेको यो परिभाषाले संस्कृतिका सम्बन्धमा एउटा अवधारणा बनाउन सहयोग पुग्छ। उनले संस्कृतिलाई सामुहिक चेतना र व्यवहारको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्, जसअन्तर्गत भाषा, चालचलन, रीतिथिती, धारणाहरू र सामाजिक जीवनका दार्शनिक अवधारणा पर्छन् भनेका छन्। यसरी हेर्दा संस्कृति भन्नाले खास क्षेत्र विशेष या जाति विशेषका मानिसहरूका आम सामाजिक व्यवहारहरूलाई बुझ्ने समग्र अभिव्यक्ति भन्ने बुझाउँछ। यहाँ मादीको लोकसंस्कृतिको विषयमा केही लेख्न लागिएको छ। न्यौपानेको अभिव्यक्तिलाई आधार मान्ने हो भने मादीभित्र बसोवास गर्ने मानिसहरूले एक आपसमा स्थापित गरेका सम्बन्ध र अभिव्यक्तिका विभिन्न आयामहरूको समष्टि रूपलाई यहाँको संस्कृति भन्न सकिन्छ। यसमा स्थान र जनसङ्ख्याको बनोटका कारणले मुख्यतया तीनवटा संस्कृतिका पक्षहरू भेटिनेछन्: पहिलो– गुरुङ समाज र जातिले अँगालेको संस्कृति, दोस्रो– खस आर्यहरूको संस्कृति र तेस्रो– दुवैका बिच घुलमिल हुँदा साझा बनेका संस्कृतिका पक्षहरू।
“सांस्कृतिक अध्ययनले विभिन्न किसिमका साहित्यिक तथा सांस्कृतिक कृतिबिचको दूरीलाई भत्काउने जमर्को गर्छ। सांस्कृतिक समालोचनाको प्रयोग गर्दै कथा, उपन्यास, नाटक तथा कविताजस्ता साहित्यिक कृतिको त अध्ययन गरिन्छ नै, त्यसबाहेक यसै विधि पहिल्याएर फिल्म, डक्युमेन्ट्री, टेलिभिजन, जात्रा/प्रदर्शनी, कार्टुन, सङ्गीत, विज्ञापनका बिलबोर्ड, तथा इन्टरनेट जस्ता सांस्कृतिक कृतिको समेत विश्लेषण गरिन्छ। सांस्कृतिक अध्ययनकर्ताहरूको जसरी उपन्यास एउटा
सांस्कृतिक कृति हो, त्यसरी नै फिल्म, जात्रा, अखबारी लेख या दैनिक जीवनका भेटघाटहरू पनि सांस्कृतिक कृति नै हुन् यी सबै कृतिहरू विभिन्न किसिमका राजनीतिक, आर्थिक र सामाजिक परिप्रेक्ष्यभित्र लेखिन्छन् र पढिन्छन्। आर्थिक उत्पादनको संरचना, मिडियाको विश्वव्यापी प्रवाह तथा चलिआएका सामाजिक मान्यताले उपन्यास, फिल्म, चित्र, कार्टुनलगायतका सबै किसिमका कृतिको लेखन पठनलाई असर पारेकै हुन्छ।” (उप्रेती २०६८)
यसरी सांस्कृतिक अध्ययनले चाहिँ मानिसहरूले आफू र आफ्नो समाजलाई अभिव्यक्त गर्ने विभिन्न विधा र माध्यमहरूलाई समेट्छ। आर्थिक उत्पादनको संरचना अर्थात् उत्पादन पद्धति र त्यसको जगमा निर्माण हुने सामाजिक मूल्य या वैचारिक पक्षहरूलाई नै कला र साहित्यका माध्यमबाट व्यक्त गरिन्छन् भन्ने मान्यता डा. सञ्जीव उप्रेतीले राखेका छन्।
लोकसंस्कृतिको सन्दर्भमा भने अलि फरक परिभाषाहरू पाइन्छन्। बृहत् नेपाली शब्दकोषमा लोक भन्नाले “समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक इकाइमा रहने मानिसको समुदाय, जनसमूह” भनेर परिभाषित गरेको छ। यसैगरी संस्कृति भन्नाले “कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप” भन्ने परिभाषा दिइएको छ। यसैगरी भारतीय विद्वान् त्रिलोचन पाण्डेयले ‘लोकसंस्कृतिको अध्ययनमा संस्कृतिलाई भन्दा लोकलाई बढी मान्यता दिइन्छ’ भनी बताएका छन्, जसको अर्थ हुन्छ संस्कृति परिणाम हो लोककर्ता हो।
यसैले लोकसंस्कृतिको अध्ययन लोक या सर्वसाधारण नागरिकहरूको जीवनको अध्ययन हो। यसैगरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति सूर्यविक्रम ज्ञवालीले लोक गीत या कथा, नृत्य मात्र होइन, लोक जीवनसँग जोडिएको जातीय इतिहास, भौगोलिक तत्त्वहरूको प्रभाव भाषाको सम्बन्ध तथा सामाजिक आर्थिक पक्षहरूको अध्ययन अन्वेषणले मात्र लोकसंस्कृतिको अध्ययनलाई पूर्ण बनाउन सक्छ भनेर उल्लेख गरेका छन्।
यो परिभाषाले पनि मादीको लोकसंस्कृतिभित्र यहाँ बसोवास गर्ने भिन्न पृष्ठभूमिका मानिसहरूका अलगअलग र सामुहिक चालचलन, सामाजिक आर्थिक अवस्था र त्यसलाई व्यक्त गर्ने रीतिथिति, भाषा, भेषभुषा, गीत सङ्गीत, जात्रा पर्व जस्ता पक्षहरूलाई बुझ्नुपर्ने हुन्छ। यहाँ लोक भन्नाले स्थान विशेषमा रहेका निश्चित समुदायका मानिसहरू र संस्कृति भन्नाले तिनीहरूले पुर्खाबाट सिक्दै आएका अनेक रीति र संस्कृतिलाई बुझाइएको हुनाले मादीभित्र गुरुङ संस्कृति मूलतः लोकसंस्कृतिमा पर्छ भने गैरगुरुङहरूको संस्कृतिमा पनि लोकसंस्कृतिका पक्षहरू रहेको बुझ्न सकिन्छ। मादीभित्र रहेको यही आर्थिक, सामाजिक र विभिन्न तरिकाले मानिसहरूले समाजमा गर्ने अन्तक्रियाका आयामहरू समेटेर मादीको लोकसंस्कृतिको यो सानो चित्र तयार पारिएको हो।
स्थानीय रूपमा बोलिने भाषा, लवज, उखान, पहाड या नदी सम्बन्धी लोककथाहरू, भूत या देवी देवताका कथाहरू, चौतारी र खर्कहरू, धारा कुवा र पँधेराहरू, किंवदन्ती, वास्तुकला, प्रविधि लोकसंस्कृतिका बिम्बहरू हुन्। स्थानीय रूपमा खेलिने खेलहरू या अन्य प्रभावबाट खेलिने खेल, गाइने गीत र बजाइने बाजा, लवाइखवाइ, गीतसङ्गीत (यसमा वनमा बजाइने पातको लयदेखि श्लोक र कविताहरू पनि पर्छन्) परम्परागत उत्पादन, जो अरु क्षेत्रमा हुन्न, समरूपी समुदायका चालचलन सबै लोकसंस्कृतिका अङ्गहरू हुन्। गुरुङहरू गाउँमा यताउता गर्दा बाटोमा भेटिने सबैलाई साइनोअनुसार नबोलाई हिँड्दैनन्। खाना खाने बेलामा अरुलाई सोधेर ‘खायो है’ नभनी खाँदैनन्। महिलाहरूले घर–माइती गर्दा या टाढाबाट हिँडेर यात्रा गर्दा खोला नदी तर्ने बेलामा पाती या मौरो या कुनै पातले शरीर पुछेर बाटोमा ढुङ्गाले अँठ्याएर छाड्छन्। देउरालीमा फूल चढाउँछन्। यी सबै लोकसंस्कृति र परम्पराकै अभिव्यक्ति हुन। जन्म, मृत्यु र विवाहमा कस्तो के–के विधि अँगालिन्छ भन्ने कुरामा एउटै धर्म मान्नेका बिच पनि स्थान विशेषका विशेषता र विशिष्टता हुन्छन्। चार कोशमा पानी र आठ कोशमा लवज फरक हुन्छ भन्ने भनाइ छ अर्थात् लोकसंस्कृतिका पनि स्थानिक प्रभावहरू हुन्छन्।
भाङ्ग्रा, ट्होंटे, गाउँ बार्ने चलन, छोरीको तीर्थाटन, घरेलु तान, रोधीँ, लोकगीत, स्वागत सत्कारका तरिका, खानाको स्थानीयता, गाउँ समाजका रीतिथितिको सञ्चालन, स्थानीय शक्ति सम्बन्ध, सहभागिता, जाति विशेषका बिचका सामाजिक–आर्थिक सम्बन्धहरू सबैको समुच्च अभिव्यक्ति पनि सांस्कृतिक अध्ययनकै एउटा पाटो हो। तर यहाँ हामी यस भेगका परम्परादेखि चलिआएका सामुहिक चेतनाका अभिव्यक्तिका माध्यमका रूपमा उनीहरूले बनाएका संस्था, चाडपर्व, मठमन्दिर जात्रा पर्व, चालचलन र परम्पराहरूमा बढी केन्द्रित हुनेछौं।
हामीले यहाँ संस्कृतिका रूपमा दुई पाटालाई सम्झने छौ। पहिलो हो– यो ठाउँमा लामो समय बसोबास गर्नेहरूले आफुसँगै ल्याएका सभ्यता र संस्कृतिका परम्पराहरू। दोस्रो हो– यहाँ बसोबास गर्ने मुख्यतः गुरुङ र खस आर्य समुदायका बिच अन्तरक्रियाबाट विकसित लोकसंस्कृति।
भाषा, आर्थिक प्रणाली या उत्पादन पद्धति, धर्म, भूगोल, राज्यका नीतिहरू, शिक्षा, जाति, धर्म र संस्कृतिको अन्तरघुलन, वैदेशिक रोजगार पनि हाम्रो संस्कृतिलाई प्रभावित गर्ने तत्त्व हुन्। जस्तो यताका लोकगीतमा प्रायः लाहुरेको प्रसङ्ग आउँछ। ‘म त हुँ मलायाको लाहुरे, हामीसित जान्छौ कि…’ भनेर युवाले युवतीलाई फकाउने गुरुङ भाषाको गीत गुरुङ गाउँमा लोकप्रिय छ। यसले लाहुरेहरूमा पनि मलाया या अहिलेको सन्दर्भमा ब्रिटिस आर्मीको लाहुरे हुनुलाई गर्वको विषय मान्छ र ‘केटी फकाउने’ अस्त्र पनि। ‘मै हुँ कान्छी रेलको डाइबर’ यतैका लोक स्रष्टा लोकबहादुर गुरुङहरूकै देन हो। ‘जाऊँ हिँड मायालु, रेलको झ्यालमा बसौली, चमेली तेल घसौली’ भन्दै रोइलामा प्रेमीले प्रेमिकालाई सुनाउने गीतले पनि लाहुर जाने कुरालाई नै इङ्गित गर्छ। उहिले ठेट्टरमा ‘आज पनि जाऊँ–जाऊँ, भोलि पनि जाऊँ–जाऊँ, पर्सि त गइदिउँला, स्टेसनसम्म पुर्याइदेऊ मलाई, बिरानो भइजाउँला…’ भनेर नाच्ने ङ्वलो–ङ्वल्स्योहरूका मनमा पनि लाहुर नै खेल्दो हो। अर्थात् लाहुर यताको लोकपरम्परा र संस्कृतिको अङ्ग बनेको सङ्केत हो। यस्ता गीतले आर्थिक रूपमा यस क्षेत्रका युवाहरू वैदेशिक रोजगारमा जान बाध्य रहेको र स्थानीय रूपमा रोजगारीका अवसरहरू कमजोर रहेको पनि सङ्केत गर्छ।
मादी गाउँपालिका मुख्यतया गुरुङ र खस आर्यहरूको मिश्रित बसोवासको क्षेत्र हो। यहाँको कूल जनसङ्ख्यामा गुरुङहरू ३९ प्रतिशत, ब्राम्हण क्षेत्रीहरू ३थ प्रतिशत रहेका छन्। कामी झण्डै १० प्रतिशत छन्। गुरुङहरूको पनि यस भेगमा बसोबास गर्नुअघि देखिका परम्परा र रितिथितिहरू छन्। उस्तै–उस्तै देखिए पनि फरक–फरक स्थानिक भाषिक लवजहरू छन्, सांस्कृतिक भेदहरू उनीहरूका बिचमा पनि छन्। यता बाहुन क्षेत्रहरूका उस्तै–उस्तै रहनसहन, लवाइखवाइ, सांस्कृतिक पर्व र मूल्यहरू भए पनि स्थान विशेष र थर विशेषका पनि केही भिन्न परम्पराहरू हुन्छन्। यस्तो भिन्नता कुलायनको पूजा र स्थानीय देवीदेवतासहित पर्व–परम्परामा पनि देखिन्छ। यसबाहेक तामाङ, ठकुरी, गिरी, पुरी, सन्यासी, कामी, दमाई र सार्कीहरूको बसोबास रहेको यस क्षेत्रमा अनेक विविधिता भेटिन्छ। यस क्षेत्रको अलिकति ऐतिहासिकता, अलिकति वर्तमानको रितिथिति र प्रथाहरू तथा सांस्कृतिक पर्वहरू नै यस पुस्तकमा समावेश भएका मुख्य पाटाहरू हुन्।
भीरमौरीको मह काढ्ने, शिकार खेल्ने, कटुवाल प्रथा, गोला प्रथा, हुरी प्रथाजस्ता प्रथाजनित र जीविकासँग जोडिएका कतिपय परम्परा लोप हुँदै गएका छन्। यी सबैले खास समयको सामाजिक आर्थिक अवस्थासँग साइनो राख्छन्। तीजका जात्रा र रत्यौली हराउँदै गएको छ भन्ने कुराले कृषि युगबाट मानिसहरूले फड्को मार्दै गएको र नयाँ उत्पादन सम्बन्ध र मानिसहरूले उत्पादनका कार्यमा लाग्दा गर्ने समाजसँगको अन्तक्रियाको रूप परिवर्तन हुँदै गएको तर्फ सङ्केत गर्छन्। अर्थात् आधारमा परिवर्तन आउँदै जाँदा उपरिसंरचनामा पनि परिवर्तन आउन थालेको देखिन्छ। सामन्तवादबाट पुँजीवादमा फड्को मार्ने प्रक्रियासँगै समाजबाट मुखियाहरूको सत्ता भत्केको छ, पुँजीको सत्ता बढ्दै गएको छ, जुन विभिन्न राजनीतिक दलहरूका गतिविधिबाट अभिव्यक्त हुन्छ। व्यक्तिको स्वतन्त्रता विस्तारित हुँदै गएको छ, जसले समाजमा उत्पादनका क्रममा स्थापित हुने सम्बन्धहरूको अवस्था बदलिएको सङ्केत गर्छ। मुखियाले आदेश दिने चलन सकिएर मत माग्दै गर्दा र पछि मत माग्नुपर्ने भएकाले सँधै भेट हुँदा सामान्य र गरिब परिवारको नागरिकसँग पनि कतै न कतै झुक्नुपर्ने बाध्यता सिर्जना हुनु विचारधारात्मक क्षेत्रमा आएको परिवर्तनकै अभिव्यक्ति त हो।
मादीको जनसंख्यामा जातिगत अवस्था
माथिको तालिकाले मादी गाउँपालिकाको जनसङ्ख्याको अवस्था देखाउँछ। यहाँ मुख्यतया गुरुङ जातिको बहुलता छ। त्यसपछि ब्राम्हण क्षेत्री, कामी, दमाई, सार्की, तामाङ र घर्तीको सङ्ख्या रहेको छ। यो क्षेत्रमा मिश्रित बसोबास भए पनि मुख्य लेकाली गाउँमा गुरुङको बसोबास छ र त्यहाँ उनीहरूकै संस्कार–संस्कृति प्रधान छ। ब्राम्हण क्षेत्रीका घनाबस्ती भएका तप्राङ, तारकाङ, मकैखोला र गोर्जेजस्ता गाउँमा खस आर्यहरूको संस्कृति र संस्कार मुख्य प्रवृत्तिका रूपमा छ। धेरैजसो क्षेत्रमा मूलतः जातीय सम्मिश्रण र मिश्रित संस्कृति अँगालेको पाइन्छ।
वडाहरूमा जातिगत जनसंख्याको समूहगत विवरण
माथिको तालिकाले सबै वडामा सबै समूहको बसोबास भए पनि सघनताका दृष्टिले रहेको भिन्नता देखाउँछ। समूहगत बसोबासको यही अवस्था संस्कृतिमा पनि झल्किन्छ। एक आपसमा सांस्कृतिक अन्तरघुलन भए पनि स्रोत, सम्पत्ति र शक्तिमाथि जसको नियन्त्रण छ, त्यसैको भाषा तथा संस्कृतिलाई अरुले पछ्याउने गरेको हुन्छ। गुरुङ बहुल क्षेत्रका दलित तथा बाहुन–क्षेत्री सबैले गुरुङ भाषामा सम्वाद गर्न सक्छन्, बोल्ने गर्छन्। तर दलितबाट भाषा या संस्कृति अरु जातिमा सरेको देखिन्न। यो शक्ति सम्बन्ध विश्वव्यापी चरित्रकै अभिव्यक्ति हो। यता गैरजनजातिले जनजाति समुदायबाट धामी–झाँक्री लगाउने, उनीहरूका देवीथानहरूमा पूजाआजा गर्ने गर्छन् भने जनजातिले ब्राह्मण पण्डित बोलाएर पूजा लगाउने, सत्यनारायणको कथा सुन्ने गरको देखिन्छ। अर्थात् एकअर्काका संस्कृति र धर्म या रीतिथिति साटासाट भएको छ। पछिल्लो समय शिक्षा र प्रशासनिक पहुँचमा ब्राह्मण–क्षेत्रीहरूको शक्ति बढिरहेको तर राजनीतिक रूपमा गुरुङहरू बलियो रहेको देखिन्छ। मादी गाउँपालिकाका अध्यक्ष गुरुङ छन्। १२ मध्ये १० वडाका अध्यक्षहरू गुरुङ नै छन्। मुख्य राजनीतिक दल नेकपा एमाले र नेपाली काङ्ग्रेसका गाउँ अध्यक्ष तथा सभापति पनि गुरुङ नै छन्। यस क्षेत्रबाट प्रदेशसभामा निर्वाचित पहिलो सदस्य पनि गुरुङ नै छन्। यसले शक्ति–सम्बन्धको अवस्था देखाउँछ, जसले संस्कृतिमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।
भाषागत रूपमा जनसंख्याको वितरण
संस्कृतिलाई प्रभावित गर्ने अर्को महत्त्वपूर्ण पक्ष हो, भाषा। गाउँपालिकामा मुख्य बोलीचालीको भाषा खस नेपाली नै रहेको छ। गुरुङ, तामाङ र मगर मातृभाषा हुनेको सङ्ख्या पनि उल्लेख्य छ। भाषागत भिन्नता सँगै धार्मिक रूपमा जनसङ्ख्याको विभाजन पनि संस्कृतिलाई प्रभावित गर्ने महत्त्वपूर्ण पक्ष हो। यहाँको जनसङ्ख्याको मुख्य हिस्सा हिन्दु सनातन धर्म मान्नेहरूको रहे पनि बौद्ध र बोन धर्म मान्नेहरू पनि उल्लेख्य मात्रामा छन्। यसले धार्मिक आस्थाका आधारमा गरिने जन्म–मृत्यु तथा विवाह संस्कारदेखि आस्थाका आधारमा गरिने पर्वहरूमा भिन्नतालाई दर्शाउँछ।
धर्मअनुसार परिवार र जनसंख्याको वितरण
आर्थिक स्रोत तथा रोजगारीको अवस्थाः
मानिसहरूको पारिवारिक तथा सामाजिक मूल्यप्रणालीको निर्माणमा उनीहरूको आर्थिक क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहन्छ। कृषि प्रधान समाजमा अर्मपर्म, हुरी, खेतालाको प्रचलन रहन्छ भने उद्योग या व्यापार प्रधान समाजमा ज्यालादारी, मजदुर, क्लर्क या व्यवस्थापकहरू रहन्छन्। आय स्रोत र वर्गअनुसार मानिसहरूको क्रियाकलाप निर्देशित हुन्छ। तिनले सिर्जना गर्ने कला, राजनीतिक माग र नाराहरू, सङ्गठन, जमघटजस्ता विषय पनि यसैले प्रभावित हुन्छन्। मादी गाउँपालिकाको रोजगारीको अवस्थाले यो समाज क्रमशः कृषिप्रधानबाट पुँजीवादी अर्थतन्त्रतिर जान थालेको जस्तो देखिन्छ।
गापाको पारिवारिक सर्वेक्षण २०७४ अनुसार गाउँपालिकामा ४,३१४ घरपरिवार सङ्ख्या छ। त्यसमध्ये २,७६६ (६४ प्रतिशत) कृषि तथा पशुपालनमा संलग्न छन्। त्यसैगरी जागिरमा २७९ (६.५ प्रतिशत), उद्योगमा ८ परिवार (०.१८ प्रतिशत), व्यापारमा १८० परिवार (४.१७ प्रतिशत), ज्यालादारी मजदुरीमा २२७ (५.२६ प्रतिशत), १४ परिवार व्यावसायिक कार्य (०.३२ प्रतिशत) ६१५ (१४.२५) परिवार वैदेशिक रोजगारी र २२५ परिवार विविधि पेशामा संलग्न छन्।
वैदेशिक रोजगारीमा जानेहरूको गन्तव्य पनि विविधतापूर्ण छ। वि.सं. २०७४ को तथ्याङ्कअनुसार २८३ महिला र २,३२१ पुरुष गरी २,६०४ जना वैदेशिक रोजगारीमा गएका छन्। ४,३१४ परिवार सङ्ख्या रहेको पालिकामा २६ सय जना वैदेशिक रोजगारीमा भएको तथ्याङ्कले औसतमा ६० प्रतिशत जति परिवारको आयमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको भरथेग रहेको देखाउँछ। यसरी वैदेशिक रोजगारीमा जानेमध्ये ५७ प्रतिशतभन्दा बढी खाडी मुलुकमा पुगेका छन्। राम्रो गन्तव्य मानिने दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, युरोप र अमेरिका जानेको सङ्ख्या ५३१ अर्थात् २०.३९ प्रतिशत छ।
नेपालमा मानिसहरूको वर्ग आधार र सामाजिक हैसियत धेरै हदसम्म भूमिको स्वामित्वसँग जोडिएको छ। जति बढी जमिन, उति बढी आम्दानी, उति सामाजिक हैसियतमा वृद्धि। मादीमा भूमिहीन किसान परिवारको सङ्ख्या ६.०७ प्रतिशत, ३ रोपनीसम्म जमिन हुनेको सङ्ख्या २६.०३ प्रतिशत, ३ देखि ७ रोपनीसम्म हुने परिवार २४.६६ प्रतिशत, ७ देखि १३ रोपनीसम्म जमिन हुने २४.५५ प्रतिशत, १३ देखि ६५ प्रतिशत जमिन हुनेको सङ्ख्या १८.५४ प्रतिशत र ६५ रोपनीभन्दा बढी जमिन हुनेको सङ्ख्या ०.१४ प्रतिशत रहेको छ। यसरी हेर्दा ८१ प्रतिशतभन्दा बढी परिवार १३ रोपनीभन्दा कम जमिन हुनेको छ। अब्बल खेत हुनेहरू
१३ रोपनी जमिन हुँदा पनि खान पुग्ने हुन सक्छन्। तर कुल परिवार सङ्ख्याको अत्यधिक ठूलो सङ्ख्यासँग जमिन निकै कम भएको देखाउँछ। यो आयको वितरण र स्रोतमाथिको नियन्त्रणका दृष्टिले मादीवासीहरू अप्ठेरो अवस्थामा रहेकोतिर सङ्केत गर्छ।
शैक्षिक अवस्था
मादी गाउँपालिकाको कुल २थ,७७९ जनसङ्ख्यामध्ये १२,११६ जना अर्थात् ४६.९९ प्रतिशतले दशजोड दुई या प्रमाणपत्र तह र सोभन्दा माथि पिएचडीसम्मको शिक्षा हासिल गरेका छन्। यसमा महिलाको सङ्ख्या ७,७२२ र पुरुषको सङ्ख्या ४,३९४ रहेको छ। स्नातकोत्तर या सोसरह अध्ययन गर्ने महिलाहरूको सङ्ख्या ८९ र पुरुष १७८ जना छन्। पाँच जना महिलाले एमफिल र पिएचडी सरहको अध्ययन गरेका छन्। ब्राह्मण, क्षेत्री र ठकुरीको साक्षरता प्रतिशत ९० भन्दा बढी, आदिवासी जनजातिको ८९.३७ र दलितको झण्डै ८४ प्रतिशत छ। शैक्षिक स्तर र साक्षरता दरलाई हेर्दा यो पालिकाका मानिसहरूको सांस्कृतिक रुझान आधुनिकतातिर ढल्केको अनुमान गर्न सकिन्छ।
संस्कृतिलाई प्रभावित गर्ने आधुनिक सञ्चार र मनोरञ्जनका साधनहरूले पनि हो। यो पालिकामा १,७६थ परिवारसँग रेडियो या क्यासेट प्लेयर छ, २,८०३ परिवारसँग टेलिभिजन छ, ४,०१४ परिवारमा मोबाइल या टेलिफोन पुगेको छ। इमेल–इन्टरनेट प्रयोग गर्ने परिवार २४९ पुगेका छन् (यो चारवर्ष पहिलेको सूचक हो। अहिले यसमा केही अवश्य पनि थपिएको छ)।
आर्थिक–सामाजिक सूचकहरूको यो अवस्थाले समाजमा आउँदै गरेका परिवर्तनलाई सङ्केत गर्छन्, जसले लोकको जीवन र व्यवहारलाई निर्देशित गर्छन्। मानिसहरूको भौतिक अवस्थाले चेतनालाई प्रभावित गर्छ भन्ने माक्र्सेली सिद्धान्तलाई आधार मान्ने हो भने उपरोक्त अवस्थाले परिवार र समाजको सङ्गठन, उनीहरूलाई आपसमा जोडेर राख्ने संस्कार, रीतिथिति, चालचलन, पर्व र चाडबाड, जन्ममृत्यु संस्कारदेखि आफूभन्दा बाहिरको समाजसँगको सम्बन्धलाई पनि निर्देशित गर्छन्।
समाजको अन्तरघुलन आन्तरिक र बाह्य दुवै क्षेत्रसँग हुन्छ र घर्षण हुन्छ, जसले हरेक दिन व्यक्ति र समाजलाई सूक्ष्म रूपमा परिवर्तन गरिरहेको हुन्छ। खास समयको अन्तरालपछि यस्ता सुस्त परिवर्तनले एउटा गुणात्मक परिवर्तनको रूप लिन्छन्। सभ्यताहरू आफ्नो छाप छाडेर अघि बढ्छन्। लोकको जीवनमा आउने परिवर्तनले उनीहरूको चेतनालाई, चेतनाले संस्कृतिका रूपमा हुने अभिव्यक्तिलाई फेरिरहन्छन्। मादीका हकमा पनि यो अवश्य लागू हुन्छ। सहरसँगको निरन्तरको अन्तक्रियाले लोकसंस्कृतिलाई सहरी लोकप्रिय संस्कृतिले थिच्दै लगेको छ। मानिसहरूको आय बढ्ने र मध्यमवर्गको विकास हुने क्रम बढेकाले समाजको एउटा हिस्साले आफूसँग जोडिएको परम्परा, संस्कृतिलाई जोगाउन लगानी गर्न थालेको छ। कुलायन पूजाका नाममा, थरगोत्रका नाममा सङ्गठित हुने क्रम बढेको छ। जात्रा पर्व जोगाउने, ऐतिहासिक स्थलहरूको संरक्षण गर्ने र पहिचानसँग गर्व गर्ने नयाँ तप्का तयार भइरहेको छ। यो पनि लोकसंस्कृतिका बदलिँदा स्वरूपका दृष्टिले महत्त्वपूर्ण अध्ययनको विषय बन्न सक्छ। क्होला सोँथर, कफुचे ताल, क्रपुडाँडा, दुधपोखरी, लमतरी, भगवती मन्दिर सबैले अब बिस्तारै संस्कृतिका रूपमा व्यवसायिक वस्तुका आकार लिँदैछन्। यसको सूक्ष्म अध्ययनले मात्र मादीको लोकसंस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ।
गुठल सभ्यता र संस्कृति
क्होलासोंथरलाई गुरुङहरूको सभ्यताको उद्गमस्थल मानिन्छ। मादी गाउँपालिकाको वडा २ अन्तर्गत ताङतिङभन्दा माथि नेपालकै मध्यविन्दु नजिक पर्छ, क्होला सोंथर। अन्दाजी १२ सय वर्षअघि मनाङबाट नामुनभञ्जाङ कटेर शिकार र चरनको खोजीमा गुरुङहरू यो पाखोमा आएको र बस्ती बसाएको अनुमान गरिएको छ। कालान्तरमा उनीहरू चिली (सिकलेस), ताङतिङ, लमतरी, याङ्जाकोट, सिङ्धी, भुजुङ र घनपोखरा हुँदै लमजुङ र कास्कीका लेकाली भेगमा फैलिएको मानिन्छ। अहिलेको स्थायी बस्ती बस्नुपहिले उनीहरू क्होला सोंथरबाट विभिन्न भागमा सर्दै–सर्दै आएका थिए। यस क्रममा शाहवंशीय राजाहरूले उनीहरूको राज्य जितेपछि खसआर्यहरू र उनीहरूको सभ्यतासँग गुरुङहरूको अन्तक्रिया भयो। संस्कृति र चालनचलन, रीतिथिति र संस्कारहरू एकअर्काबाट सिक्ने प्रक्रिया बढ्दै गयो। दशैंलगायतका हिन्दु चाडबाड मान्न राज्यले नै दबाब दिएको र भाषिक अन्तक्रियाको बाध्यता भएपछि नै गुरुङ संस्कृतिमा हिन्दुछाप पर्दै गएको मानिन्छ। हामीले यहाँ साभार गरेको आलेखमा लेखकले घाटुमा सतिप्रथा देखिनु र गोबरको पवित्रताजस्ता कुरा हिन्दु धर्मबाट गुरुङहरूले ग्रहण गरेको मानेका छन्। गरा बनाएर स्थायी खेतीपाती गर्ने चलन गुरुङहरूले खसआर्यहरूबाटै सिकेका हुन्। यो अन्तरक्रिया अहिले बिस्तार भएर विश्वभरि फैलिएको छ। गुरुङहरू लाहुर जाँदा आम नेपालीसँगको अन्तक्रियामा सामेल भएर फर्किआउँदा विदेशमा सिकेका चालचलन पनि लिएर आए। सम्भवतः त्यस भेकको ठेट्टर (थिएटर) जस्ता सांस्कृतिक कार्यक्रमको चलन लाहुरेहरूले ल्याएका हुन्।
अहिले विश्वव्यापीकरणका तीव्र प्रभावहरू यहाँको लोकसंस्कृतिमा पनि परेको छ। यसले आफ्ना मौलिक चलनहरू गुमाउने र नयाँ लोकप्रिय र सहरी संस्कृतिसँग परिचित हुने अवस्था सिर्जना भएको छ। यहाँका मानिसहरू जागिरको सिलसिलामा विश्वभरि घुमेका छन्, नयाँ चालचलन, गीत, नाच तथा खाद्य संस्कृति भित्र्याएका छन्, स्वागत सत्कारका नयाँ चलन आएका छन्। टेलिभिजन, एफएम रेडियो, स्मार्ट फोन र इन्टरनेटको पहुँचका कारण अब स्थानिकताभन्दा बृहत्तर नेपाली समाज र विश्व समुदायका संस्कृतिसँग यो घुलमिल हुन थालेको छ। आफूलाई व्यक्त गर्ने लोकगीत र भाकाहरू हराउने र बाहिरबाट सुनेको, देखेको र रुचाइएको गीतसङ्गीतको रैथानेकरण हुन थालेको छ।
बाह्य संस्कृतिको असर चाडबाडमा पनि देखिन्छ, लवाइखवाइमा देखिन्छ। ज्ञान र वैचारिक अभिव्यक्तिमा देखिन्छ। सामुहिक निर्णय गर्ने र मुखियाले भनेको मान्ने परम्पराबाट अब समुदाय राजनीतिक रूपमा विभाजित छ। शक्ति सङ्घर्षको रूप बदलिएको छ। पहिलेकै जस्तो जातीय विभेद बाँकी छैन, विभेदको रूप परिवर्तन हुँदै गएको छ। यसले लोकसंस्कृतिका सिर्जनात्मक पक्षहरूलाई प्रभावित गरेको छ।
मुख्य चाडपर्व, मेला तथा जात्राहरू
माघे संक्रान्ति
यो पर्वको सांस्कृतिक महत्त्व छ। ब्राह्मण क्षेत्री समुदायले मादीमा गएर स्नान गर्ने, सूर्यलाई पूजा गर्ने र देवीदेवताको दर्शन गर्ने गर्छन्। तरुल, सख्खर या चिनी, चिउरा, सखरखण्ड खान्छन्। यस्तो कन्दमुल एकदिन पहिले पकाएर राख्ने र बासी खाने चलन छ। माघे सङ्क्रान्तिमा खिचडी खाने चलन पनि छ। यता सिक्लेस र भगवती मन्दिर नजिक बरालडाँडाको बेंसीमा जात्रा लाग्छ। जात्रामा ठेलो हान्ने खेलको विशेष आकर्षण रहन्छ। आजभोलि स्थानीय युवाक्लबहरूले भलिबललगायत खेल पनि आयोजना गर्ने गर्छन्।
शिवरात्रीः
हिन्दु धर्ममा आस्था राख्नेहरूको वर्चस्व भएकाले शिवरात्रीलाई विशेष पर्वका रूपमा मनाउने गरिन्छ। शिव या महादेवको मन्दिरमा गई पूजाआजा गर्ने परम्परा छ। सुनपदेलीको शिव मन्दिर, मकैखोलालगायत शिव मन्दिर भएका ठाउँमा भक्तजनहरू महादेवको दर्शन पूजाआजा र भजनकिर्तन गरेर पर्व मनाउँछन्। आजभोलि मन्दिरको सङ्ख्या पनि बढ्दै गएको छ।
फागु पूर्णिमाः
यो पर्वमा पहिले–पहिले जात्रा गर्ने र रङ खेल्ने गरे पनि आजभोलि वडा नम्बर ७ मा पर्ने पानीघाटबाहेक अरु ठाउँका जात्रा हराउँदै गएका छन्। रङ भने टोलटोलमा या घरघरमा खेल्ने गरिन्छ।
चैते दशैंः
यो पर्व चैत्र या वैशाख महिनामा पर्छ। ताङतिङ, याङ्जाकोट र वार्चोकमा मेला लाग्छ। रामनवमीमा मन्दिरहरू र घरआँगनमा रामायण
सुन्ने र रामको पूजा गर्ने गरिन्छ।
नयाँ वर्ष मेलाः
वडा नम्बर ११ को खिमाजीमा नयाँ वर्ष विशेष कार्यक्रमसहित मनाउने चलन छ।
वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीः
वैशाख पूर्णिमालाई बुद्धधर्म मान्नेहरूले विशेष रूपमा मनाउने गरेको पाइन्छ। याङ्जाकोटमा घाटु नाचसहित विशेष मेला आयोजना हुन्छ। वैशाख पूर्णिमामा नै छाचोकमा देवीपूजा गर्ने परम्परा छ।
असार पन्ध्रः
असार पन्ध्र धान रोपाईंलाई उच्च महत्त्व दिइने पर्व हो। परम्परादेखि यस दिन सेलरोटी या दहीचिउरा खाएर रोपार्इंलाई उत्सवमय बनाउने चलन छ। खासगरी ठूला फाँट भएका ठाउँमा यसको विशेष महत्त्व छ। पन्ध्र असारमा हिलो खेल्ने, रोपाहारहरूले असारे गीत गाउने गर्छन्।
साउने संक्रान्ति:
साउने सङ्क्रान्तिलाई पनि परम्परादेखि महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यसलाई वर्षा क्रमशः घट्ने र हिँउद लाग्ने दिनका रूपमा मनाइन्छ। साँझ अनदीको लट्टे खाने या मासुभात खाने र लुतो फाल्ने परम्परा छ। यस्तो लुतो फाल्दा सबैले चार दिशाका छिमेकीलाई आफ्नो लुतो लैजा भन्दै अगुल्टो फाल्छन्।
नागपञ्चमीः
यो दिन नागको थानमा पूजा गर्ने र घरघरमा दैलोमाथि नागको चित्र टाँस्ने गरिन्छ।
जनैपूर्णिमाः
ब्राह्मण क्षेत्री समुदायमा यो विशेष महत्त्व राख्ने पर्व हो। सकेसम्म ज्वाइँहरू ससुराली जान्छन्, भाञ्जाहरू मावली जान्छन्। वैदिक मन्त्र पाठ गरेर ऋषिहरूलाई तर्पण दिएर शुद्ध बनाइएका जनै धारण गर्ने, त्यसैको धागो नाडीमा बाँधिदिने, व्रतबन्ध गरेकाहरूले नयाँ जनै धारण गर्ने चलन छ। ज्वाइँहरूको विशेष मानमनितो र मिठोमसिनो खुवाउने दक्षिणा दिएर पठाउने गरिन्छ।
जनैपूर्णिमामा मादी गाउँपालिका र मनाङको सीमानजिक मादी गापामा पर्ने दुधपोखरीमा नुहाउने चलन छ। यो मेलामा ब्राह्मण क्षेत्री हिन्दुहरू र बौद्ध तथा वोन समुदायका गुरुङलगायतका जनजातिका महिला तथा पुरुषहरू सबैले भाग लिन्छन्। मादीका तीर्थालुहरू यहाँ जान सिक्लिस, ताङतिङ, याङ्जाकोट, वार्चोक भाचोक र नागीधारको बाटो प्रयोग गर्छन्। मस्र्याङ्दी पश्चिमको लमजुङका मानिसहरू पनि यहाँ जान्छन्, मुख्यगरी क्होला सोंथरका बासिन्दाहरू।
कृष्णाष्टमी:
कृष्णका मन्दिरमा या गाउँमा सामूहिक रूपले कृष्णको भजन गाउने या कथा सुनाउने सुन्ने गरिन्छ।
तीजः
हिन्दु महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा तिज मनाइन्छ। छोरी चेलीलाई माइतीबाट लिन आउने र तिज मनाएर पठाउने गरिन्छ। यसका तीनवटा सन्दर्भ छन्। महिलाहरूले दर खाने, व्रतका दिन नाचगान गर्ने र पञ्चमीका दिन दत्तिवन खाएर पूजा गर्ने। यो माइती र चेलीको विशिष्ट सम्बन्धको एउटा प्रतीक जस्तो पनि हो। तिजका दिन तप्राङ, छाचोक, तारकाङ, मकैखोला, गोर्जेको छापाडाँडा, लिपेयानी, पैह्रे, मुग्रीबेंसीमा विशेष कार्यक्रमहरू हुन्छन्।
दशैं/तिहारः
देशका अरु भागमा जस्तै यहाँ पनि सबैजसो परिवारले दशैंतिहार मनाउँछन्। दशैंमा याङ्जाकोटमा मौलो पूजा गर्ने चलन छ। अहिले गाउँपालिकाले पनि घटस्थापनाका दिनमा झण्डा पूजा गर्ने चलन बसालेको छ।
हरिबोधनी एकादशीः
यसमा फूल तार्ने व्रत बसेर विशेष अनुष्ठानसहित मादीका घाटमा फूल तार्ने गरिन्छ। पहिले थुम्सीकोटमा एकादशीको जात्रा गण्डकी क्षेत्रभरि प्रसिद्ध थियो।
ल्होछारः
गुरुङहरूले पुस पन्ध्र र तामाङहरूले माघ या फागुनमा नयाँ वर्ष विशेष कार्यक्रमसहित मनाउँछन्। गुरुङहरूको ल्होछार कार्यक्रम खिलाङ, ताङतिङ, याङ्जाकोट, नागीधार र पाख्रीकोट, भाचोक लगायत गाउँमा विशेष कार्यक्रम गरी मनाइन्छ। तामाङ ल्होसारमा सैमराङमा विशेष कार्यक्रम गरिन्छ। पुस १थ मा उपल्लो साप्लेमा पनि विशेष कार्यक्रम गरिन्छ।
यसबाहेक थाकको मैपोलो सिल्दु पूजा पनि विशेष महत्त्वको छ। यसैगरी तारकाङका सापकोटा, तप्राङका बराल, गोर्जेका अधिकारी, मकैखोलाका सुवेदीलगायत विभिन्न थरगोत्रका ब्राह्मणहरूको कुलपूजा यस क्षेत्रका महत्त्वपूर्ण सांस्कृतिक महत्त्व बोेकेका पर्व हुन्। अधिकारी र सापकोटाहरूले कुलायनमा बोकाको बली दिने गर्छन्। एकै दिनमा सयौं बोका काटिन्छन्। आफन्त कुटुम्बहरूलाई बोलाएर खुवाउने गर्छन्।
सिमेभूमे पुज्ने, देवीदेउराली भाक्ने र बलि दिने बोन धर्म मान्ने गुरुङ र हिन्दु धर्म मान्ने खस आर्यहरूका साझा धार्मिक सांस्कृतिक पर्वहरू छन्। लमतरी पुज्ने, भगवतीको मन्दिरमा पञ्चबलि दिने साझा परम्परा छ। आफ्नो भाकल पूरा भएपछि भगवतीमा पञ्चबली दिनेले गाजाबाजासहित विशेष उत्सवका रूपमा कार्यक्रम आयोजना गर्छन्। कुलपूजा, स्थानीय देवीदेवता या अँगेरभँगेर आफ्ना–आफ्ना परिवार या टोलछिमेकका मिलेर पुज्ने गरिन्छ।
जे जति चर्चा गरिएका चाडपर्व, मेला, जात्रा, गीत–सङ्गीत, संस्कार, संस्कृति छन्, ती धेरैजसो सामन्तवादी युगमा बनेका/बनाइएका सोही समयको सत्ताको चेतनाका अभिव्यक्ति थिए। खस–बाहुनहरूको बसाइँसराइ र शाह राजाहरूबाट नियन्त्रणपछि यस भेगको गुरुङ संस्कृतिमा ठूलो परिवर्तन आएको थियो। उनीहरूलाई दशैंलगायत हिन्दु चाडहरू मान्न बाध्य बनाइएको थियो भने कतिपय हिन्दु राजाहरूको गाथामा आधारित नाच र गीतलाई समुदायमा मिसाइएको थियो। घाटु, कृष्णचरित्र र सोरठीजस्ता गीति परम्परामा यसको छनक पाइन्छ। खस– बाहुनहरूले पनि यता गुरुङहरूले मानिआएका देवीदेउरालीलाई स्विकार गरेका थिए। कतिपय साझा संस्कृतिको निर्माण यही अन्तक्रियाका उपज हुन्। तिज, एकादशी, स्वस्थानी व्रतकथा, सत्यनारायणको पूजा गर्ने परम्परासहित परिवारमा बिस्तारै बढ्दै गएको पुरुष हैकम र महिलाहरूको सत्ता कमजोर हुने कुरा जुन गुरुङ समाजमा बढ्दै गएको छ, त्यो सामन्तवादकालीन खस संस्कृतिको प्रभाव उता परेको हो।
अहिले यता पनि सामन्तवाद परास्त हुँदै गएको छ। त्यो उत्पादन सम्बन्धमा पनि देखिन्छ। उत्पादनका साधनहरूमाथिको नियन्त्रणमा पनि देखिन्छ र सहरी लोकप्रिय संस्कृतिसँगको अन्तक्रियासँग पनि देखिन्छ। यसै पुस्तकमा समेटिएका कृष्णचरित्र र घाटुजस्ता परम्परागत कला र गीतिनाटकहरू हराउँदै गएका छन्। गुरुङ समाज गरिब र आत्मनिर्भर तर बृहत्तर नेपाली समाज र बाह्य समाजसँग अन्तरक्रिया नगर्दै स्थापित भएको रोधीँ परम्परा अब बिस्तारै लोप हुन थालेको छ। जात्रा र पर्वहरू हराउँदै र पातलिँदै गएका छन्। तिनको ठाउँ नयाँ मेला, पर्व महोत्सवहरूले लिन थालेका छन्।
साँस्कृतिक धार्मिक परम्परालाई जोगाउने र आफ्नो पहिचानको रक्षा गर्ने एउटा नयाँ चिन्तन देखा पर्दैछ। दलितहरूका संगठनहरू बनेका छन्। गैह्र दलितहरूका पक्षबाट आफ्ना आफ्ना कुल देवता, जाती या थरगोत्र विशेषका संगठनहरू बन्दै गएका छन्। सामुहिकताका अभ्यास गर्ने उपभोक्ता समूह, आमा समूह, युवाक्लव र सहकारीहरू बनिरहेका छन्। यसले संक्रमणकालिन अवस्थाको प्रतिनिधित्व गर्छ। परम्पराहरू धान्न बल गर्ने र नयाँ साँस्कृतिक मुल्यहरू निर्माण र स्विकार गर्ने चेतनाको उत्पादन र पुनरुत्पादनको यो प्रक्रिया तिव्र भइरहेको छ। नयाँ उत्पादन सम्वन्धको विकास, नयाँ भौतिक अवस्थाहरूसंग सामना गर्नुपर्ने वाध्यता संगै स्थापित सँस्कृतिको विस्थापन र नयाँ मुल्यहरू ग्रहण गर्ने क्रम पनि अघि बढिरहने छ।
लोकगीत र सिनेमामा मादी
कलाका माध्यमबाट समाजसँग संवाद गर्ने परम्परा मानव सभ्यताजत्तिकै पुरानो छ। यसमा गीत र सङ्गीत तथा सिनेमा, नाटक, चित्रकला, मूर्तिकला, भवन निर्माण कला, सिपका कुराहरू फोटोग्राफी आदि सबै पर्छन्। राम्रो खुर्पेटो बनाउनु या राम्रो आँसी कोदाली या ठेकी मदानी बनाउनु, राम्रो गोठ बनाएर चटक्क पार्नु, आकर्षक ढङ्गले कपडा सिलाउनु सबै कलाकै अभिव्यक्ति हुन्। कपडा लगाउने तरिका, के लगाउने भन्ने रोजाइ, गहनाहरू, एक आपसमा स्वागत–सत्कार गर्दा पालन गरिने मान्यता, इष्टमित्र र कुटुम्ब बिचका सम्बन्धहरू निर्वाह गर्दा पूरा गरिने औपचारिकता सबै लोकसंस्कृतिकै अङ्ग हुन्। लोकसंस्कृतिमा मानिसहरूले व्यक्ति या समुदाय दुवैस्तरमा आफूलाई अभिव्यक्त गर्ने र समाजसँग सम्वाद गर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भने श्रुतिपरम्पराबाट सर्दै आएका र तत्काल सिर्जना गरिएका गीत श्लोक, कविताहरू पर्छन्। यस मानेमा मादी क्षेत्रले विशेष अर्थ राख्छ। गीत गाउने र नाच्ने काम एक्लै हुँदैन, त्यसैले यो सामुहिक कार्य हो, सामुहिक सिर्जना पनि हो। लोक लयहरूको सिर्जना व्यक्तिले गरेपनि त्यो सामाजिक सामुदायिक सम्पत्ति बन्छ।
कविताका दृष्टिले मादीमा धेरै कविहरू स्रष्टाका रूपमा देखा पर्छन्। गोर्जेका रविलाल अधिकारी, तारकाङका विश्व सापकोटा र रामकृष्ण सापकोटा, मकैखोलाकी विष्णु सुवेदीले कविता सङ्ग्रह प्रकाशित गरेका छन्। यस्ता कवितामा राष्ट्रप्रेम र समाजका विसङ्गति विकृतिविरुद्ध चेतनामूलक विषय र प्रकृतिको वर्णन पाइन्छ।
जस्तो मादी गापा वडा नम्बर ८ मा जन्मथलो रहेका स्वर्गीय पञ्चसुब्बा गुरुङ मुख्य सर्जक रहेको ठाडो भाका या करापुटारे लयका गीतले लमजुङको एउटा पहिचान र गहनाको रूप लिएको छ। मादीका गाउँहरूमा अहिले पनि ठाडो भाकामा उत्साहित भएर गाउने बुढापाकाहरू छन्। यो पंक्तिकारले याङ्जाकोटका वीरसिंह गुरुङसँग ०७८ साल असोजमा गरेको साक्षात्कारमा उनले ठाडो भाकाका गीतहरू सुनाएका थिए। गुरुङले सुनाएको गीतको एक टुक्राः
‘हा हा, भोर्लेटारे चपरी
मिदिम खोले दुवाली
कल्ले मार्यो सहर…..
ए होला र यसै माया जाल
कल्ले मार्यो सहर……!
हा हा, तिसै पनि गयो
चालिस पनि कट्यो
गयो मेरो रहर……..!!
त्यस्तै गीतको दोस्रो टुक्राः
झलल हेर्दा टलक्कै टल्क्यो
कासकीको बैदाम ताल,
हा हा कासकीको बैदाम ताल,
हा हा खिइमा जाला छिनिमा जाला
रेशमैको डोरी
छिनिदैन माया जाल !
यसमा कास्कीको बैदाम तालको सुन्दरताको चर्चा गर्र्दै पहिलो पंक्ति गाइएको छ। दोस्रोमा माया प्रेमको अमरताको गाथा छ। यस्ता गीतमा आफ्नो समय चेतना, स्थान परिचय, प्रकृति र समाजमा रहेका अनेक बिम्बहरू सामेल हुन्छन्। श्रुति परम्पराले नयाँ पुस्तासम्म सार्दै लगिरहेको हुन्छ। ०७८ कै कार्तिक दोस्रो साता सिकलेसमा भेटिएका इच्छाबहादुर गुरुङले चैं सालैजो भाका भन्दै गीत सुनाएका थिएः
हलो मेरो छैन
गोरु मेरो छैन
खेत मेरो बाँझै छ,
हा हा जोवन पनि गयो
उमेर पनि गयो
सिरमतीको खाँचै छ।
यो गीतमा गोरु हलो र खेतको सम्वन्ध र कृषि पेशालाई पहिलो हरफमा उल्लेख गरिएको छ भने दोस्रो हरफमा रसिक र प्रेमको खोजी गर्ने सन्दर्भहरू छन्। उमेर ढल्कदै जाँदा पनि विहे नभएकाहरूको पिरलो गीतमा व्यक्त गरिएको छ।
लोकगीतबारे प्राज्ञ तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा मादी गाउँपालिका वडा नं. ४ याङ्जाकोट निवासी जगमान गुरुङले ‘गुरुङ थिति तथा संस्कृति’ नामक पुस्तकमा यसरी विस्तारमा चर्चा गरेका छन्, ‘चैत–वैशाख वसन्त ऋतुमा ढोलकी र साउन–भदौ अर्थात् वर्षा ऋतुमा सालीज्यू गाउने चलन छ। ढोलकी गीत विरहपूर्ण करुण रसप्रधान र सालीज्यू शृङ्गार रसप्रधान हुन्छ। ऋतुराज वसन्तमा जोडाजोडी मिलेकाले त संसारै देख्दैन होला तर वियोगी–वियोगिनीलाई भने अन्तररापले भतभती पोलिराखेको हुन्छ। त्यसै त वियोगी–वियोगिनीको आलाप नै ढोलकी गीत हो। यसको अतिरिक्त ठाडो भाका, तेर्सो भाका, सुनिमया आदि लोकगीतहरू प्रसिद्ध छन्। सिकलेसदेखि माथि एउटा कोयँ भन्ने डाँडो छ, जहाँबाट पोखरा उपत्यका छर्लङ्ग गरी देखिन्छ। त्यस कोयँको डाँडो र दुधपोखरीमा युवकयुवतीहरू जात्रा जाँदा पनि स्थान एवं अन्य वस्तु समेतको वर्णनात्मक जात्रु गीत गाउने चलन छ।
चैतमासको उराठिलो घाममा लालीगुराँसको थुँगा सिउरेको दाउराको भारी भीरमाथिको चौतारीमा बिसाएर गाउँमन्तिरको पाखामा हलो जोत्दै गरेको आफ्नो मयालु कान्छालाई लक्ष्य गर्दै गालामा हात अड्याएर बैंसालु कान्छीले हालेको ढोलकी गीतको विरहपूर्ण भाका र साउन मासको झरीमा झ्याँउकिरीको साथमा मायालु कान्छाले आफ्नी बैंसालु कान्छीलाई लक्ष्य गर्दै गाएको सालीज्यू गीतमा कुन पाषाणमय हृदय द्रविभूत नहोला ?’
यसरी गुरुङले हाम्रो मादी भेकका लेकाली गाउँमा गाइने लोकगीतका सन्दर्भलाई प्रकृति र प्रेमसँग जोडेर मज्जाले व्याख्या गरेका छन्। यी गीत र भाका कुनै जाति विशेषका मात्र हुँदैनन्, स्थान र सन्दर्भहरू फरक भएपनि मादीका सबै जाति समूहले यस्ता लोकभाकाहरूको प्रयोग गर्छन्।
यसबाहेक घाँसदाउरा गर्न जाने या वनमा विभिन्न कामले जानेहरूले पात बजाएर र सस्वर लय हालेर गाउने लामा घुमाउरा लयले कुनै समय यी पाखाहरू रन्कन्थे। गाउँमा भनाइ नै प्रचलनमा थियो– मनमा हुनेले वनमा गाउँछन् अर्थात् मनमा विरह या खुशी जे छ, त्यो कतै न कतै लोकगीत र धुनका माध्यमबाट व्यक्त भइ नै हाल्छ। आजकल पेशा बदलिँदै जाँदा कतिपय यस्ता सुसेली र पातका धुन र वनमा गाइने घुमाउरा भाका हराउँदै गएका छन् (वनमा गाइने गीतबारे यसै सङ्कलनमा रहेको प्रतीक्षा पौडेलेको लेख हेर्नुहोस्)। म सानो छँदा पनि यस्ता गीतहरू सुनेरै हुर्केको हुँ। मलाई यो गीत रेडियोबाट गाउँ पुग्यो कि गाउँबाट बसाइँ सर्यो थाहा भएन तर लामो र घुमाउरो पारामा गाइने गरेको ‘भोलि पनि झरे है माया सुर्केडाँडा फुर्के घाँस काटन…’ भन्ने गीत अहिले पनि सम्झना हुन्छ। वारिपारिका ठिटा तरुनीहरू एक आपसमा सुसेलीका माध्यमबाट सन्देश आदान–प्रदान गर्ने गर्थे। यसले वनपाखा र उकाली–ओरालीलाई जीवन्त बनाइरहन्थ्यो।
स्वर्गीय लोकबहादुर गुरुङ मादीका एकजना स्थापित लोकगीतका स्रष्टा हुन्। अहिलेको वडा नम्बर ७ मा पर्ने थाक गाउँमा जन्मेका र शिक्षण पेशामा जीवन बिताएका गुरुङले नेपाली लोकगीतको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेका छन्। लोकबहादुर गुरुङको समूहले २०२६ सालमा रेकर्ड गराएको गीत ‘कसकी छोरी हौ नानी, चौतारीमा बसेको, झण्डै मैले सिन्दुर घसेको…’ भन्ने कौडा गीतले नेपालमा कौडा भाकालाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।
यता वडा नम्बर ४ तारकाङमा जन्मे–हुर्केका स्व. नरबहादुर परियारले पनि लोकगायक तथा सर्जकका रूपमा चर्चित भएर जीवन बिताएका थिए। उनको सङ्कलनमा रहेको ‘ऐना हेरेर’ भन्ने गीत आफ्नो समयको हिट र चर्चित गीत थियो। त्यसमा पनि उनले स्थानीय परिवेशलाई र बिम्बहरूलाई प्रयोग गरेका छन्। ‘आज मेरो साइतै परेको, वनको मृग ओराली झरेको, ऐना हेरेर’ भन्दै युवकले मनपराएकी युवती भेट हुँदाको क्षणलाई ‘वनको मृग ओराली झरेको’ भन्दै बिम्बमा व्यक्त गरेका छन्। ‘उकाली ओराली, मनको धोको पुर्याइदेऊ देउराली’ भन्दै स्थानीय आस्थामा देवीदेउरालीको स्थानबारे एउटा भाव व्यक्त गरेका छन्।
यस क्षेत्रमा बाहुन गाउँहरूमा भजन, चुड्का र रोइला गाउने चलन छ। खैंजडी र मुजुराको तालमा पूजा पर्वहरूमा युवायुवतीहरू जम्मा भएर कहिलेकाहीँ दोहोरी पनि गाइने यस्ता गायनमा दुईवटा पाटा छन्। एउटा महाभारत र रामायणका कथा भनेर र आरती गाएर पूजा लगाउने या धार्मिक कार्य गर्ने घरका कर्ताहरूलाई आशीर्वाद दिने चलन। यसमा शास्त्रको ज्ञान भएकाहरूले मात्रै गीत झिक्न सक्छन्। अर्को चरणमा माया प्रेमसँग जोडिएका गीतहरू गाइन्छन्। यस्तोमा पनि नेतृत्व गर्ने र गीत झिक्ने र छोप्नेहरू हुन्छन्। महिला र पुरुष दुवैले गाउने र नाच्ने भएकाले यो पनि समूह या सामाजिक सम्वादको एउटा महत्त्वपूर्ण लोकपरम्परा हो। यस्ता गीतहरुमा प्रेम र प्रणयका प्रस्ताव मात्र हुँदैन समाजको वर्ग विभाजनको बिम्ब पनि देखिन्छन्। जस्तो:
महिलाले भन्छन्ः
के मायाँ लाउँथ्यो र
कालीसँग गोराले,
धनी साउको छोराले।
अलिअलि शास्त्रका विषय सुने बुझेकाले चैंः ‘बस्यो कृष्ण जाली, कदम डाली छेलपारी’ भन्दै कृष्णलीला र आफ्ना चाहना मिसमास गरेर, द्विअर्थी गीतहरूमार्फत आफ्ना भावना अभिव्यक्त गर्छन्। ‘आउन वेगै हानी, कोइ छौ भने मन खानी’ भन्दै लाज मानेर या सम्मान खोजेर बसिरहेका र नाचगानमा सामेल हुन पर्खिरहेका युवतीलाई लक्षित गरेर यस्तो गीत पनि गाउँछन्। यसमा गल्लै लाउरे, भजन, रोइला र चुड्का लयहरू हुन्छन्। मेरा अनुभवहरू चैं तारकाङ र मकैखोला वरपरका बाहुन गाउँमा सुनेका आधारमा बनेका हुन्।
श्लोकका माध्यमबाट आफ्ना भावना व्यक्त गर्ने र जीवन दर्शनका विषयमा कुरा गर्ने परम्परा यता पनि छ। यस्ता श्लोकहरू लोकछन्दकै रूपमा हुन्छन्। विवाहमा वर र वधुपक्षका पुरुषहरूका बिच श्लोक गाउन प्रतिस्पर्धा गर्ने चलन थियो। अहिले विस्तारै लोप हुँदै गएको छ। मलाई यसको ज्ञान भने आमाले सुनाउने अरुका रचना र आफ्नै सिर्जनाका श्लोकहरूबाट भएको थियो। आमाका रचनाहरू सामयिक विषय र आफ्ना व्यथाहरू अभिव्यक्तिका माध्यम थिए। ०४६ सालको आन्दोलनमा म गिरफ्तार भएर कस्टडीमा पुगेपछि आमाले रचना गरेको श्लोकको आखिरी पंक्ति यस्तो थियोः
क्याम्पसमा विद्यार्थी हिनामिना भए कति बिचैमा मरे
कतिलाई लगेर तिनै पुलिसले जेलभित्र बन्दी गरे।
जेल बसें अबलाई नभन बाबु हो देशका लागि मन्दिर
तिम्रो इच्छा सधैं सफल हुँदै जाओस् भो–भो नलियो पिर।।
यसरी आफूलाई र समाजका मनोदशालाई व्यक्त गर्न खासगरी ब्राम्हण क्षेत्री समाजमा पुरुष तथा महिलाहरूले श्लोकको सहारा लिन्थे। यसमा त्यसभेगबाट पहिलो पटक रेकर्ड गराएर श्लोक भन्ने चैं मकैखोलाका स्व. दामोदार पौडेल हुन्, जसले पाण्डव सुनुवारले रेडियो नेपालमा चलाउने चौतारी कार्यक्रममा गएर श्लोक सुनाएका थिए। अहिले भजनका क्षेत्रमा तारकाङका दीपक सापकोटा कास्की र देशैभरि चर्चित छन्।
सिनेमामा व्यक्त हुने लोकसंस्कृति र विचारका पक्षहरू पनि सांस्कृतिक अध्ययनकै विषय हुन् भनेर सञ्जीव उप्रेतीले भनेको परिभाषा पछ्याँउदा यहाँ यस भेगका सर्जकहरूले बनाएका सिनेमामा व्यक्त विषयको समीक्षा गर्नु उपयुक्त हुन्छ। यस सन्दर्भमा वेदबहादुर गुरुङले निर्देशन र अभिनय समेत गरेको सिनेमा ‘क्रमु’को समीक्षा गरिएको छ। ‘क्रमु’ २०६४ सालमा निर्माण गरिएको चलचित्र हो। वेदबहादुर (लाहुरे), नविना (लाहुरेकी प्रेमिका), जीतमान र सविना अर्को पे्रमी जोडी, मनबहादुर गुरुङ (बाउमाइला) गोठालोको मुख्य भूमिकामा अभिनय रहेको यो सिनेमाले गुरुङ समाजमा युवायुवतीका बिच हुने प्रेम र परम्परागत समाजले प्रेमलाई आफ्नो पारिवारिक अहम्को कारण सफल हुन नदिन गर्ने प्रपञ्चका वरपर कथा भनेको छ।
ताङतिङ र पसगाउँ क्रपुडाँडा पश्चिम र पूर्वका लेकाली गुरुङ गाउँहरू हुन्। उनीहरूको लेकाली चरन र उपभोगका क्षेत्र क्रपु डाँडाबाटै विभाजित छन्। विभिन्न चाडबाडमा दुवै गाउँका युवायुवती भेला हुन्छन्। उनीहरूको आपसमा प्रेम हुन्छ र कतिपयको बिहे पनि। सिनेमामा त्यस्तै एउटा कथा बुनिएको छ। सिनेमाको पाश्र्व दृश्य, भेडीगोठ र लेकाली चरनहरू, लमजुङ हिमालको फेदी र गुरुङहरूको नयाँ र पुरानो पुस्ताका घरहरू, संस्कारहरू, भेडाको उन कातेको र त्यसबाट राडीपाखी बुनेको, पुराना घुमाउने स्लेटले छाएका घरहरू सबैले गुरुङ समाजको एक समयको चिनारी बोकेको छ। यसमार्फत् निर्देशकले गुरुङ सभ्यता र संस्कृतिलाई बाहिरी दुनियाँसामु चिनाउन राम्रै प्रयास गरेका छन्।
दुई गाउँका बिच प्राकृतिक स्रोतका विषयलाई लिएर हुने द्वन्द्व पनि लेकाली पाखाहरूको स्वामित्वका विषयलाई लिएर भएको दुई गाउँका बिचको झगडामार्फत् देखाइएको छ। यसैगरी त्यसको समाधानका लागि सम्झौता गर्ने तरिका पनि देखाइएको छ। पुटपुटेमा परम्परागत नाच र गाना देखाइएको छ, जुन कुनै चिनियाँ गीत सङ्गीतसँग साइनो जोडिएको जस्तो सुनिन्छ। यसैगरी प्रेमी र प्रेमिकाले भागेर बिहे गरेको, पछि केटी पक्षले जबर्जस्ती तानेर केटीलाई उसको लोग्नेबाट छुटाएर लगेको, विछोडपछि लाहुरेलाई घरकाले अर्कै बिहे गरिदिएको, केटीलाई अर्कोसँग बिहे गर्न कर गरेपछि ऊ भागेर आत्महत्या गरेको जस्ता घटनामार्फत् प्रेमलाई अमर देखाउन सिनेमाको निकै समय खर्च गरिएको छ। आफूसँग बिहे गरेकी केटीलाई उसको प्रेमीलाई बुझाउन नायकले खेलेको दृश्य बढी नै आदर्शवादी जस्तो देखिन्छ। असाध्यै सुस्त गतिमा देखाइएकाले दर्शकलाई पट्यारलाग्दो हुनु यसका कमजोरीजस्ता लागे पनि त्यो गुरुङ समाजको एउटा पहिचान जस्तो हो। तर सिनेमा गुरुङ समाज, लाहुरेको प्रभाव, संस्कृति, परम्परा, वेशभुषा, अर्थतन्त्रमा भेडीगोठहरूको प्रभाव र स्रोतमाथि नियन्त्रणका परम्परागत उपायहरूको विषयमा महत्त्वपूर्ण अभिलेख बनेको छ। यो समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिले पनि एउटा दस्तावेज हो। लोकसंस्कृतिको अध्ययनका लागि पनि महत्त्वपूर्ण खजाना हो। आधुनिकता र परम्पराका बिच सन्ध्याकालको समय यसले प्रतिबिम्बित गर्छ।
स्थानीय रूपमा तत्काल सिर्जना गरेर गीत गाउने र दोहोरी तथा लोकगीतहरूलाई जीवित राख्ने अनेक प्रतिभाहरू छन्। उनीहरूले यहाँको लोकगीत र सिर्जनाको परम्परालाई पुस्तान्तरण पनि गर्दै आएका छन्।
उपसंहार
समष्टिमा मादीको लोकसंस्कृति गण्डकीका विभिन्न पहाडी जिल्लाहरूकै संस्कृतिको एउटा भाग हो। मिश्रित बसोबासको क्षेत्र भएकाले यहाँको संस्कृतिमा जातीय विशिष्टता र समग्र नेपाली लोकसंस्कृतिका झलकहरू नै पाइन्छन्। गुरुङ जातिले खोरिया खनेर बसोबासयोग्य बनाएको र यतैबाट उनीहरू विभिन्न ठाउँमा छरिएकाले गुरुङ संस्कृतिको मूल थलोको रूपमा यही ठाउँलाई लिन सकिन्छ। यता विभिन्न समयमा यहाँ आएर बसोबास गरेका विभिन्न थरगोत्रका ब्राह्मण, क्षेत्री, दशनामी र ठकुरी तथा दलित समुदायको संस्कृति र स्थानीय रैथाने संस्कृतिको मिश्रणले यसलाई अझ विशिष्ट बनाएको छ।
लोक र संस्कृतिलाई प्रभावित गर्ने तत्त्व मूलतः परिवार–परिवार र भिन्नभिन्न गाउँ, थरगोत्रका मानिसहरू, जातिहरू र समग्र समुदायका बिचका अन्तक्रिया नै हो। स्थानीय परम्परा, रीतिथिति र संस्कारहरू, मानिसलाई एउटा मालामा उन्ने वैचारिक पक्षहरू हुन्। यस्तो संस्कृतिको समग्र रूपले जातीय प्रतिनिधित्व गरेको पनि हुन सक्छ, जसले भौगोलिक राजनीतिक शर्तहरू पूरा गरेको खण्डमा राष्ट्रको रूप लिन सहयोग गर्छन्। संस्कृति स्थिर र अपरिवर्तनीय हुँदैन। लोकको जीवनका आधारका रूपमा आर्थिक–सामाजिक अवस्थामा परिवर्तन आउँदा संस्कृति पनि परिवर्तन हुँदै जान्छ। भान्सामा पिडुका ओच्छ्याएर धोती कछाड फेरेर देवतालाई चढाएर भात खाने ब्राह्मणहरू अब टेबल–कुर्सीमा भान्सा गर्ने हुँदै गएका छन् भने त्यो उनीहरूको सामाजिक चेतनामा आएको परिवर्तनकै अभिव्यक्ति हो।
गाउँमा आउने पाहुनालाई होमस्टेमा राख्न थाल्नु पनि सत्कारलाई पेशा या व्यवसायमा बदल्न आइलागेको दबाबले ल्याउँदै गरेका परिवर्तनको प्रतिबिम्व हो। राडीपाखी बुन्न छाडियो, आरन थाप्न र बालिघरे प्रथामा बिष्ट बाँड्न छाडियो भने त्यो आर्थिक सामाजिक हैसियत, वर्गसम्बन्धमा समेत आउँदै गरेका परिवर्तनको सङ्केत हो जसको सीधा सम्बन्ध सांस्कृतिक बिम्बहरूमा देखिने छन्। यी सबै परिवर्तनको चापसहित मादी बिस्तारै आफ्नो रैथाने लोकसंस्कृतिलाई देशको मुलधारे संस्कृतिकै हिस्सा बनाउँदै जाँदै छ। हामीले आफ्नै इतिहासलाई जीवित राख्न पनि यस्तो परम्परा, रीतिथिति र संस्कृतिको मौलिक स्वरूपहरूको अभिलेख राख्ने, त्यसलाई सकिए श्रव्यदृश्य माध्यममा अभिलिखित गर्ने र जगेर्ना गर्ने काम गर्नैपर्छ। आउने पुस्ताका लागि आफ्नो पहिचानका आधार दिने काम पनि यस्ता अभिलेखले गर्छन्।
रविलाल अधिकारीले गोर्जे र वरपरका २ वटा वडाका बारेमा केही मिथकीय र ऐतिहासिक सन्दर्भ उल्लेख गरेका छन्। जसबहादुर गुरुङ र गुमान गुरुङले केही प्रथा र परम्पराबारे लेखेर सहयोग गरेका छन्। बेदवबहादुर गुरुङले रोधी परम्परा, नवराज पहारीले ठाडो भाका र पञ्चसुब्बा गुरुङबारे लेखेर यसलाई समृद्ध पारेका छन्। निर्मला गौतम र प्रतीक्षा पौडेलले रत्यौली र वनमा गाइने गीतहरूको सन्दर्भबाट हाम्रा कला पक्षबारे चर्चा गरेका छन्। ओमप्रकाश गुरुङले मादी नदी र हीरादेवी गुरुङले घाटुबारे लेखेर सहयोग गरेका छन्। यसैगरी लोकगायकहरू नरबहादुर परियार र लोकसंस्कृतिका अभियन्ता मेनकाजी गुरुङका विषयमा पनि हामीले सामाग्री समावेश गरेका छौं। झण्डै ६० वर्ष पहिलेको सिकलिस वरपरको चित्र र संस्कृतिबारे हर्क गुरुङले गरेको चित्रणले पनि यो सङ्कलनलाई समृद्ध पारेको छ।
विद्यमान र केही लोप हुँदै गएका लोकसंस्कृतिका यी विविध पक्षलाई समेटेर यो सङ्कलन तयार पारिएको हो। मादी गाउँपालिकाले आफ्नो पहिचान नगुमोस्, नयाँ पुस्ताले आफ्नो परिचय खोज्दा केही परम्पराहरूको अभिलेख पनि भेटाउन् भनेर यहाँ विविध विषय समेटेर पुस्तक तयार भएको छ। यहाँ जे–जति रचनाहरू सामेल भएका छन् ती र त्यति मात्रै मादीको संस्कृतिको अंश होइनन्। समय र स्रोतको सीमितताका कारण सबै वडा र बस्तीका विभिन्न थर र जातिका चाल चलन र रितीथिती जस्ता विषयलाई यसमा सबै समेट्न सकिएको छैन। यसपाली जे जति समेटिएका छन्, त्यसलाई पूर्ण गर्ने काम आउने समयमा विभिन्न क्षेत्रबाट हुँदै जानेछ भन्ने आशा गर्न सकिन्छ। त्यसका लागि प्रस्थानविन्दुका रूपमा यसले काम गर्ने अपेक्षा भने गर्न सकिन्छ।
सन्दर्भ सामग्री:
Karl Marx and Frederic Engels, Feuerbach. Opposition of the Materialistic and Idealistic Outlook. Selected works In three volume, volume
one. Progress publishers Moscow. 1983.
न्यौपाने गोविन्द, सहभागितामूलक सामाजिक विकास, नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन, सम्पादक प्रत्युष वन्त र मेरी डेशेन, सोसल साइन्स वाहः काठमाण्डौ, २००४ पेज ३८५।
उप्रेती सञ्जिव, सिद्धान्तका कुरा, अक्षर क्रियसन्स नेपाल, काठमाण्डौ, २०६८।
त्रिलोचन पाण्डेय, डा. कृष्णदेव उपाध्यायको पुस्तक लोक संस्कृति की रूपरेखाको भूमिका, लोक भारती प्रकाशन।
कर्णाली लोक संस्कृति, खण्ड १, इतिहास, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०२८ मा लेखिएको भूमिकामा प्रतिष्ठानका सदस्यका रूपमा ज्ञवालीको भनाइ।
देवराज गुरुङ, कौरा चुड्काको उत्पति र नामकरणको कथा, सेतोपाटी, कात्तिक १२, २०७८।
(मादी गाउँपालिका कास्कीद्वारा प्रकाशित तथा झलक सुवेदीद्वारा सम्पादित मादीको लोक संस्कृति पुस्तकबाट साभार।)