एकजना मार्क्सवादी छ
त्यसो त धेरै अरु पनि छन ।
हुनलाई ऊ माक्सवादी हो
तर नढाँटी भन्नु पर्दा
अचेल ऊ मार्क्सवादसँग बेस्सरी डराउँछ ।
कुनै समय ऊ पनि मार्क्सवादी थियो
त्यो समय ऊ मनैबाट थियो
त्यो समय ऊ अचेलजस्तो थिएन
तातो र रातो दुबै थियो ।
ऊ कम्युनिष्ट घोषणापत्रका कुरा गर्थ्यो
ड्युहरिङ्ग मत खण्डन
र राज्य र क्रान्तिका कुरा गर्थ्यो ।
ऊ चीनियाँ समाजमा वर्ग विश्लेषण
र माओका सैन्य रचनाका कुरा गर्थ्यो ।
कुनै समय ऊ
पेरिस कम्युन
अक्टोवर क्रान्ति
र चीनियाँ जनवादी क्रान्तिका कुरा गर्थ्यो।
कुनै बेला ऊ
मार्क्स एङ्गेल्स
लेनिन स्टालिन
माओ चुतेह
किमइल सुङ
होचिमिन्ह र चेग्वेभाराका कुरा गर्थ्यो ।
कुनै बेला ऊ
बर्ग सङ्घर्ष
र सर्वहारा अधिनायकत्वका कुरा गर्थ्यो
यसरी कुरा गरिरहदा
ऊ मनैबाट कुरा गर्थ्यो ।
अचेल उसलाई
मार्क्स कम बाकुनिन बढी मन पर्छ
लेनिन कम ट्राटस्की बढी मन पर्छ
स्टालिन कम ख्रुस्चेभ बढी मन पर्छ
माओ कम तेङ स्याओ फङ बढी मन पर्छ
अचेल उसलाई
हिजो आफैले घृणा गरेका कुरा मन पर्छ ।
अचेल ऊ सोच्छ
यी मार्क्स बुढाले
बर्ग सङ्घर्षसम्म त ठिकै लेखे
याे वाहियात सर्वहारा अधिनायकत्व
पक्कै मातेको बेला लेखेको हुनु पर्छ
समाजवादसम्म त ठिकै हो
यो साम्यवादको कुरा
पक्कै कलम चिप्लिएर लेखेको हुनु पर्छ
या त सम्पादकले
पक्कै भयानक गल्ति गरेकाे हुनु पर्छ ।
ऊ सोच्छ
यी लेनिन बोके दाह्रीले
राज्य र क्रान्ति किताब लेखेर
अलि बढी नै उचाले मजदूरलाई
बन्दूकै उठाउनु पर्छ
बिद्रोह नै गर्नु पर्छ
राज्य सत्ता नै कब्जा गर्नु पर्छ
त्यति साह्रो नलेखेर
अलि नरम कुरा लेखिदिएकाे भए के जान्थ्यो ?
बडाे क्रान्तिकारी पल्टन
तिनलाई आगो आगो कुरा लेखिदिनु पर्ने
र हामीलाई अप्ठेरोमा पार्नै पर्ने के थियो ?
ऊ सोच्छ-
यी माओ बुढाले
‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ भनेर
हतार हतारमा किन भनेका होलान ?
‘सत्ता मतपेटिकाबाट पनि निस्कन सक्छ’
यसो पनिभनिदिएका भए
आहा ! क्या गजब हुन्थ्याे !
यी माओ बुढा
कालो बिरालो र सेतो बिरालोको बहसमा
किन अल्झेका होलान ?
मर्ने बेलामा यी बुढालाई
किन चढेको होला सांस्कृतिक क्रान्तिको सनक ?
यस्ता केही गल्ति मात्र नगरेका भए
मै पनि माओवादी भैदिन्थें
ऊ यस्तै यस्तै सोच्छ र भावुक हुन्छ ।
विचित्रको विडम्वना के छ भने
ऊ अझै आफूलाई मार्क्सवादी हुँ भन्छ
र दुनियाँ अझै उसलाई मार्क्सवादी नै भनेर चिन्छन ।
२०८० चैत्र २३ गते
सिनामंगल