नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली मूलत: मूर्तिकार हुन्। ४० को दशकबाटै कम्युनिष्ट राजनीतिमा लागेका हार्तम्छाली २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए। ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हार्तम्छालीले बनाएका नेकपा (माओवादी केन्द्र)को मुख्यालय पेरीसडाँडामा शहिद स्मारक र कास्कीको सिकलेसमा बनाएको शान्ति स्तम्भ चर्चित छन्। उनी चित्रकलामा पनि उत्तिकै रुची राख्छन्। उनै हार्तम्छालीसँग नेपालमा ललितकलाका विभिन्न पक्षमा केन्द्रित रहेर नेपाल रिडर्सले गरेको कुराकानी:
हामीकहाँ परम्परागत स्थापत्य कलाहरु अहिले पनि कायम छन्। मानदेवको चाँगुनारयाणदेखि मल्लकालीन कलाहरु अहिले पनि देख्न पाइन्छन्। नेपाली कलाको दार्शनिक अवधारणा के हो?
नेपालमा कलाको पूर्व विरासत वैदिक कालका विधिहरुबाट सुरु भएको पाइन्छ। अर्कोतिर ‘कग्नेटिभ एप्रोच’ वा ‘इथ्नो’ ज्ञानबाट आएका कलाहरु लोककला, परम्परागत कलाका रुपमा छन्। यस अर्थमा परापुर्व कालबाट लोकविधिबाट, सामुदायीक विधिबाट आएका कलाहरु नै धेरै रहेका छन्।
जब राजनीतिक परिवर्तन भए त्यसपछि कलामा पनि केही परिवर्तन भएको छ। अहिलेका आधुनिक कलाहरु यस्तै राजनीतिक परिवर्तनको पृष्ठभूमिमा तयार भएका हुन्। सन् १९५० भन्दा अगाडि त बाह्य प्रभाव थिएन। राणाशासनकालमा केही कलाकारहरुलाई युरोप, भारततिर घुमाउन, पढाउन पठाइयो। त्यसपछि नेपाली कलामा भारतीय र युरोपियन तरिकाको इन्डोयुरोपियन कला कम्पोजिसन भएर नेपाल प्रवेश भयो।
यहाँको लोक परम्परा, वैदिक परम्परा, शास्त्रीय परम्परामा फ्युजन भएर भारतीय दर्शन, दक्षिणपूर्वी एसियाको दर्शन र विधि नेपालमा प्रयोग भइरहेको छ। साथैसाथै यिनै कलामा जोडिएर युरोपियन शैलीको वस्तुवादी, यथार्थवादी चित्रण पनि कलामा भएको छ।
पछिल्लो कालमा नयाँ प्रकारले ‘ज्योमेट्रिक’ तवरमा, साथै वस्तुवादी नाप तौलका आधारले, ‘ग्रामर अफ फाइन आर्ट’का दृष्टिले नै कलाहरु बन्ने गरेकाछन्। यसभन्दा अगाडिका कलाहरु भने परम्परागत रुपका तयार हुन्थे। ती कलाहरुमा भावनात्मक रुपमा सिम्बोलिक रुपमा चित्रण गरिन्थ्यो। जस्तै उदाहरणका लागि हामीले हाम्रा पुराना कलामा देख्ने बाहन, मुद्राहरु यस्तै सांकृतिक अभिव्यक्ति हुन्। नेपालमा परम्परागत कलाहरु सांकेतिक र विम्बात्मक रुपका धेरै छन्। यही कारण हाम्रा कलामा एउटै मान्छेका दश वटा हात, चार वटा हात, दश वटा टाउको बनाउने सिद्धान्तको प्रयोग भएको थियो।
पछिल्लो कालमा आइसकेपछि भने कलामा वस्तु जस्तो छ त्यसको वस्तुगत अध्ययनबाटै गरेर ‘टु डाइमेन्सन’बाट ‘थ्री डाइमेन्सन’को कला बनाउने अभ्यास प्रयोग भइरहेको छ।
युरोपमा ‘थ्री डाइमेन्सन’ पिकासोले प्रयोग गरेका थिए। शास्त्रीय कलामा भने ‘टु डाइमेन्सन’को अत्यधिक प्रयोग थियो। केही लोककलाहरुमा पनि धेरै जसो ‘टु डाइमेन्सन’ नै प्रयोगमा थियो। तर, मूर्तिकलाहरुमा ‘थ्री डाइमेन्सन’ प्रयोग हुने भएपनि त्यसको विधि भने लोक विधि नै थियो। त्यहाँ चित्र, कलालाई भावनात्मक रुपमा उल्लेख गरिन्थ्यो, त्यसको अनुपात मिल्यो कि मिलेन भनेर धेरै ख्याल गरिँदैनथियो। अर्थात्, कलाको आंगिक सौन्दर्यभन्दा पनि त्यसको भावनात्मक सौन्दर्यलाई बढी हेरिन्थ्यो।
हामीले पुराना लोक मूर्तिकला र चित्रकला हेर्यौं भने त्यो कलामा देखाइएको के हो भनेर बुझिन्छ तर, कलाको शारीरिक यथार्थ वा आंगिक यथार्थ भने मिलेको हुँदैन। उसको एक्सनको रुपमा हेर्दा कहिलेकाही ‘ज्योमेट्रिकल’ रुपले फरक पर्छ।
२००७ सालमा राणाशासन पार गरिसकेपछि नेपालमा आधुनिक कला प्रवेश भयो। त्यसपछि नै नेपालमा युरोपियन, अन्तर्राष्ट्रिय गतिविधिमा पनि बढोत्तरी हुनथाल्यो, यात्रीहरु आउजाउ गर्न थाले र यससँगै नेपाली कलामा पनि ‘मोड्रनिज्म’ पनि आयो।
हाम्रा मन्दिरका टुँडालमा यौन क्रिडा गरिरहेका स्त्री–पुरुषको कला कुँदिएको छ। यो कला मल्लकालीन हो, युरोपियन पुनर्जागरणकालको प्रभाव नेपाल नआउँदैको। यो कस्तो सिद्धान्तमा आधारित छ?
पश्चिममा ‘फिगरेटिभ’ रुपले ‘स्टडी’ गर्ने ‘रियालिजम’ त निकै अगाडिदेखि नै हो। हाम्रो टुँडालको कलालाई पनि ‘रियालिजम’ भन्न सकिन्छ तर, यो मुख्य रुपमा तान्त्रिक विधि हो। धेरै नै सांकेतिक रुपमा छ।
‘सिम्बोलिक’ र अलिकता विम्बात्मक रुपले भाव अभिव्यक्त गर्दै तान्त्रिक विधिमा कलालाई अलिकता जादुगरी रुपले देखाइदियो भने मान्छेले ‘छि’ भन्दैनन् र दिन खोजिएको सन्देश पनि कलात्मक रुपले पुग्छ भन्ने अर्थले यस्तो गरिएको हो।
मन्दिरमा टुँडाल बनाउने सिद्धान्तलाई पश्चिमा आँखाले हेरेर भन्ने हो भने कोकशास्त्रको सिद्धान्त हो। हाम्रो परम्परागत यौन शिक्षामा यौनको कुरा लिखित रुपमा, मौखिक रुपमा सिधै भन्न नसक्ने हुनाले कलात्मक रुपले अभिव्यक्त गर्ने तरिका हो। जैविक रुपले सृष्टि सिर्जना हुनुपर्छ भन्ने शिवलिङ्ग शिवशक्तिको सिद्धान्त पनि कलात्मक नै छ। सिधा अर्थमा त्यो जैविक प्रजननकै कुरा हो। यसलाई हामीले आफ्नो खालको सांकेतिक विम्बमा बनायौं, पश्चिमाहरुले त्यसलाई आफ्नो यौन शास्त्रमा सिधै उल्लेखित पनि गरे र चित्रमा पनि उनीहरुले ‘न्यूड’ भनेर सिधै अभ्यास पनि गर्छन्।
हाम्रो कलामा हिन्दू र बौद्ध दर्शनको मिश्रण कसरी भएको छ? भएको पनि छ कि छैन?
अहिले चलनमा रहेको बज्रयानको सिद्धान्त हिन्दू र बौद्ध दर्शनकै मिश्रण हो। तान्त्रिक विधिमा हिन्दूका सबै कलाहरु बौद्धसँग जोडेर बौद्धलाई पनि हिन्दूकरण गर्ने अर्थमा अथवा मिसाउने क्रममा आएको हुनाले तान्त्रिक विधिका कलाहरु हिन्दू र बौद्ध दर्शनका मिश्रण हुन्।
पहिला यी दुवै दर्शनका आ–आफ्नै कला थिए। तर, पछिल्लो कालमा जब एकले अर्कालाई निषेध गर्न सकेनन् त्यसपछि कलामा हिन्दू र बौद्ध दर्शनको सहकार्य देखिन्छ।
यसको अर्को उदाहरण भनेको थान्का, पौवा हुन्। जस्तो भैरवका मन्दिरहरु तान्त्रिक विधिमा छन्, मण्डल, पौवामा पनि यस्तो मिसावट पाइन्छ। बज्रयानसँग बज्रयोगिनीको सिद्धान्तहरु जोडेर लिएको हुनाले हिन्दू बौद्ध दर्शनको मिसावट भएको पाइन्छ।
पौवा, थान्का तिब्बतबाट हामीकहाँ आयो कि हामी कहाँबाट तिब्बततिर गयो?
थान्का पछिल्लो कालको कला हो। सुरुवातमा त पौवा, मण्डल हो। पौवा र मण्डल नेवारी संस्कृतिमा जोडिएको हुनाले यथार्थमा यहाँबाट त्यहाँ गयो भनेर किटान गर्न सकिदैंन। यो कस्तो हो भने बुद्धको जन्म यहाँ भयो, बुद्धत्व भारतमा प्राप्त भयो भने जस्तै हो। पौवा, मण्डल हिन्दूहरुले प्रयोग गर्थे तर पछि त्यसमा बौद्ध दर्शन मिसिएपछि त्यो हिन्दू र बौद्ध दर्शन दुवैतिर उत्तिकै लोकप्रिय भयो। यही कला पछि थान्काका रुपमा आइसकेपछि पुर्ण रुपमा बुद्धिष्ट कला भएको छ। तर, तिब्बतीहरुको यो कला पनि नेपालबाट भारत, भारतबाट नेपाल हुँदै फेरि तिब्बततिर पुगेको हुँदा यसमा निकै मिसावट छ।
नेपाली थान्कामा तिब्बती कलाको पौवा पनि मिसिएको छ, भारतीय प्रभाव पनि छ। त्यस्तै बौद्धको आफ्नो तिब्बती दर्शनको कुरा पनि जोडेका छन्। तर, अलिकता शैली भने फरक छ।
जस्तो पहिलेको पुरानो पौवा चित्रमा ‘ल्याण्डस्केप’ थोरै भेटिन्छ। त्यस्तै तिब्बती चित्रमा दाहिनेतिर चन्द्रमा र देव्रेतिर सूर्य हुन्छ। सगरमाथालाई मुख्य खम्बा मान्ने हो भने तिब्बतीले हेर्दा त देब्रेतिर सूर्य र दाहिनेतिर चन्द्रमा हुन्छ। त्यसकारण उनीहरुले बनाएको चित्रमा यो दर्शन धेरै देखिन्छ। तर, हाम्रो नेपालमा बनेको थान्का, पौवामा भने पूर्वतिर अर्थात दाहिनेतिर सूर्य र देव्रेतिर चन्द्रमा हुन्छ, किनभने हामीले त यताबाट सगरमाथा हेर्छौं। तिब्बतको कला हो कि यताको कला हो भनेर यो विधिले पनि छुट्याउन सकिन्छ।
तान्त्रिक विधिअनुसार अहिले पनि कला सिर्जना गर्ने काम भइरहेको छ?
भइरहेको छ। अझै पनि छ, गुभाजुहरुले गर्ने गर्छन्। पुराना खाइबाहरुले गर्ने गर्छन्। खाइबा भनेको थान्काको मुल डिजाइनर हो।
हामीमध्ये धेरै मानिस झुक्किन्छौं, थान्कामा एउटा खुट्टा बनाउने, हात बनाउनेलाई नै कलाकार मान्छौ तर, उनीहरु त श्रमिक हुन्। थान्काको मूल डिजाइन बनाउने इन्जिनियर वा आर्टिस्ट भनेका खाइबा हुन्।
डिजाइन बनाएर दिने भनेको कलाकार हो। तर, त्यसको कपी गरेर, खेतालाका रुपमा एउटाले खुट्टा बनाउने, अर्कोले हात, टाउको बनाउने भनेका मान्छे कर्मी हुन्। अन्तिममा त्यो बनाएको सबै ठीक छ कि छैन भनेर जाँच्ने भनेको कलाकार नै हो।
हामीकहाँ मुख्यगरी मधेशमा मिथिला र अर्को नेपाल मण्डलमा नेवारी कला स्थापित रुपमा देखिन्छन्। तर, लिम्बु, राई, कर्णालीका खस, डोट्याल, थारु, मगर वा गुरुङहरुलगायत जानजातिहरुको आफ्नै कला कस्तो छ?
ललितकलाको पनि विभिन्न विधा छ, यहाँले उठाउनु भएको कुरामा ललितकलालाई कुन विधाबाट हेर्ने भन्ने पनि सवाल छ। चित्र, मूर्तिकलाको मात्र कुरा गर्ने हो भने फरक छ। तर, ललिकतला भित्र चित्र, मूर्ति, पर्फमेन्स, स्टलेशन, भिडियो आर्ट, फोटोग्राफी पनि पर्छ।
‘फाईन आर्ट’को सौन्दर्यशास्त्रीय दृष्टिकोणले जुनसुकै सिर्जनात्मक काम जसलाई नर्चर गरिन्छ त्यो नर्चर गर्ने कुरामा विम्बात्मक तवरमा प्रस्तुत गरिने र भाव अभिव्यक्त गर्ने अर्थका सबै कुरा कला हुन् भनेर ललितकलाले लिन्छ। यस अर्थमा लिँदा, वास्तुकला पनि जोडिन्छ, ‘पर्फमिङ’ कला पनि जोडिन्छ। जनजातिहरुमा धेरैजसो चित्र, मूर्ति भन्ने धेरै छैन्। तर, उनीहरुको घर नै आफैमा एउटा विशिष्ट कलाको प्रकारमा गनिन्छ।
जस्तो लिम्बुवान र किरात क्षेत्रतिर उनीहरुको घरको चुल्हा नै उनीहरुको स्थापित्य मण्डल हो। त्यो चुल्होमा जो पायो त्यसैले प्रवेश पाउँदैनन्। चुल्हाको गोलो घेरालाई पृथ्वी संसार मानेर त्यहाँ भित्र राखेका तीन वटा ढुंगालाई आफ्नो तवरमा बिम्बीकरण गरेका हुन्छन्। अनि त्यहाँ उनीहरुले प्राकृतिक धर्म सिद्धान्तमा, प्राकृतिक न्यायको सिद्धान्त अनुसार मान्छेको पुस्तालाई जोडेका हुन्छन्।
शिव र पार्वतीको आधाआधा रुप भनेर अर्धनारेश्वर भनेर हामीले भनेजस्तै उनीहरुको एउटा चुल्हालाई बाबुआमाको सामेद भनिन्छ। अर्को चुल्हालाई दाजुभाई, वंशालवी जुठो पर्नेको भनिन्छ। अर्का चुल्हा ज्वाईचेला, छोरी चेलीको बिम्बका रुपमा हुन्छ। अगेनामा जाँडको चिण्डो ल्याइन्छ, त्यो चिण्डो पुरुषको लिंगको प्रतिक हो। अनि केराको सुप्लाको टुप्पो हुन्छ त्यो महिलाको योनीको विम्बका रुपमा हुन्छ।
मातृसत्तात्मक समाजमा महिलाहरुले परिवार र समाजको नेतृत्व गर्थे। त्यस समयमा जङ्गलमा सबैभन्दा ठूलो त केराको पात हुन्थ्यो। अनि त्यसलाई झण्डाको रुपमा प्रयोग गर्थे र पुरुषले चिण्डो बोक्थे। र, सुप्लामाथि चिण्डो राख्थे जहाँ जाँड हुन्थ्यो। जाँडलाई विर्यको प्रतिकका रुपमा लिइन्थ्यो, र त्यसलाई अगेनमा लगेर राखिन्थ्यो।
सम्पूर्ण घर नै नौ कोठाको सिद्धान्तलाई लिएर बनाइएको हुन्छ। जस्तो मूल चुल्हादेखि बाहिर आँगनमा नातागोता, मितेरी। मूलढोका भित्र आफ्नो सजाति, मूल थामभित्र आफ्नो जुठोपर्ने दाजुभाइ। मुलथामको देब्रेतिर इष्टमित्र, ज्वाँइचेलाहरु। दाहिनेतर्फ जुठोपर्ने दाजुभाइ अंशियारी हुन्छन्। अगाडि तर्फ बीचमा बस्ने बाउआमा। यो प्रकारको सिद्धान्तको आधारमा उनीहरुको घरको संरचना नै बनेको हुन्छ।
घरको बीचको तल्ला आत्माको संक्रमण र त्यो भन्दा माथि बुइङ्गल मरेर जाने आत्माहरुका लागि हुन्छ। अनि उताबाट वंश लिएर हंश दिएर यता नयाँ वंशलाई भविष्यतिर जाने। चुल्हादेखि बाहिर भविष्यकाल, चुल्हा वरिपरीको वर्तमान काल, चुल्हाभन्दा माथिको पाछाको हुन्छ। अन्नपानी माङलाई जिम्मा दिएको हुन्छ। अनि हतियार, कुटो, कोदालो, हँसिया सबै बाजेलाई जिम्मा दिइएको हुन्छ। मृत्यु भइसकेपछि उनीहरु त्यहाँ सुरक्षित हुन्छ भन्ने मानिन्छ।
आदिवासीहरुको वास्तुशास्त्र नै यस्तो हुन्छ। उनीहरुको घरमा काठ पनि जुन पायो त्यही लगाउन पाइदैन। अगेनामा खुट्टा पैतला देखाउन पाइदैन। जुठो हातले खरानी निकाल्न पाइदैन, यस्तो प्रकारका शुद्धि सिद्धान्तहरु त्यहाँ छन्।
यो एक प्रकारको ‘पर्फमिङ’ कला हो। सिकारी युगमा आफूले चाहेका चिजहरु विभिन्न मन्त्र जपेर पूजा गरेर खाने तरिका छ। त्यहीँबाटै वंशको अंश दिने, छोरी चेलीले ल्याएको कोशेली यो चुल्हामा चढाउने, दाजुभाइले सिकार गरेर ल्याएको अर्को चुल्हामा चढाउने। पैसा ल्यायो भने चुल्हामा देखाएर दाजुभाइलाई देखाएर मैले यति पैसा ल्याएँ है भनेर थाह हुने चलन छ। यो एक प्रकारको आर्थिक समताको कुरा पनि हो। न्याय माग्दा पनि चुल्हामा आएर मैले गल्ती गरेर भनेर माफी माग्ने चलन छ। न्याय, कामको विभाजन र आर्थिक सिद्धान्त आ–आफ्नो चलन छ।
यसकारण ‘इथ्नो कग्नेसन’मा यो सिद्धान्त छुट्टै छ। ‘फाइन आर्ट’को दृष्टिमा वास्तु शास्त्रको छुट्टै मूल्य र मान्यता छ। लोक कलाको रुपमा यसो मदानी टाइपमा राखेको हुन्छ अनि पिठो, खरानीले रेखा कोरेर गरिने केही सिद्धान्तहरु छन्। मान्छे मरेको समयमा मूल ढोका भित्रबाट बाहिरतर्फ लिप्ने र अन्य समयमा बाहिरबाट भित्रतिर लिप्ने चलन छ। यी पनि कलाकै सिद्धान्त हुन् जुन आज संस्कृतिका रुपमा आइसकेका छन्। स्याउली पोलेर धुप बालेको जस्तो गर्नुपर्ने। दर्शनढुंगा मसिनो पारेर पोलेर कनिका जस्तो बनाएर हान्नुपर्ने। यस्ता कुराहरु कलामा जोडेर ‘पर्फमेन्स आर्ट’ गरिन्छ।
गाउँमा किसानहरुले आफूलाई चाहिने खुर्पेटो या ठेकी मदानी बनाउँदा कुनै काम चलाउ बनाउँछन्, कुनै एकदम कलात्मक बनाउँछन्। परम्परागत रुपमा गहना बनाउने, फलाम या काठको काम गर्ने शिल्पी समुदायको आफ्नै योगदान छ। यसको सिद्धान्त के हो? त्यसरी कुनै व्यवसायिक उद्देश्य बिना बनाइने कलात्मक सिर्जनालाई के भनेर बुझ्ने हो?
यो ‘क्राफ्टम्यानशिप’ भित्र पर्छ। यो पनि ‘फाइन आर्ट’कै एउटा हिस्सा हो, कला हो। यस्तो कला धामीहरुको ढ्याग्रोको मुर्रामा हुन्छ। धामीको झुम्कामा बुट्टाहरु भरेको हुन्छन्, यी सबै ‘ह्याडीक्राफ्ट’मा पर्छन्। धामीको जामाका रेखाहरुमा समेत कला हुन्छ। यस्तो कलालाई हामीले औद्योगिक कला भन्छौं। अहिले ‘फाइन आर्ट एकेडेमी’ले त्यसलाई खास विशेष ध्यान दिँदैन। एकेडेमीले एस्थेटिक भ्यालु भएको कलालाई विशेष ध्यान दिन्छौं। जस्तै एउटा डोको छ, त्यो भारी बोक्न भन्दा पनि हेर्दाखेरी आहा भन्ने तवरको भयो भने त्यसलाई ध्यान दिन्छ एकेडेमीले।
आज हामी नेपालको ‘फाइन आर्ट’को वा स्थापत्य कलासहित कलाका विधाहरुमा अरु देशको सापेक्षतामा कहाँ छौं?
युरोपमा १६औं शताब्दीतिर पुनर्वाजागरणको युग आयो। त्यस्तै नेपालमा भर्खर पुनर्जागरण युगको कुरा आउँदैछ। तर, कहिलेकाही कुनै कुराहरु सापेक्षतामा राखेर हेनुपर्छ, नेपालमा राउटेहरु पनि छन्। राउटेहरुको आफ्नो गतिशिलता भएन होला, उनीहरुले सांस्कृतिक रुपमा अरुको सभ्यतासँग एडप्टेशन गरेनन्। त्यसलाई हेरेर नेपाल त्यही युगमा छ भन्न त मिल्दैन। युरोपको त्यत्रो विकास भयो हामी भने त्यही पुनर्जागरण युगमा छौं भन्ने पनि हुँदैन। तर, के भने हाम्रो नेपालमा परम्परागत कलाको विधामा धेरै भावनात्मक लगाव, बिम्ब, संकेत आदि भनेर जुन चित्र बनाउँथ्यौं त्यस हिसाबले फिलिगंको रुपमा हामी निकै अगाडि नै छौं।
जस्तो नेपालको ‘इथ्नो कग्नेसन’को कलाहरु हेर्ने हो भने हामी कोही भन्दा पछि छैनौं। तर, कहिलेकाही के हुन्छ भने कलाको ग्रामर अफ आर्ट, स्थापित मान्यतामा ‘सेन्थेसिस’ गरेका कुराहरुका आधारमा विश्व जगतले मूल्याङ्कन गर्छ। यस अर्थमा विश्वजगतले मूल्याङ्कन गर्दा हामी आधुनिक कलामा पछि नै छौं।
तर, लोक कलामा हामी पछाडि छैनौं। ‘इथ्नो कग्नेसन’को क्षेत्रमा आदिवासीको लोककलामा हामी पछि पर्दैनौं । हाम्रो आफ्नो परिचय छ, हाम्रो आफ्नो मौलिकता छ।
यथार्थवादी कला भनेर आयो युरोपमा। ‘क्लासिक’ ‘नियो क्लासिक’ ‘सोसियल रियालिजम’ अनि ‘पोष्ट मोर्डनिजम’का रुपमा आइरहेको छ। त्यस्तै ‘सररियलिजम’ प्रभाववाद आयो। प्रगतिवाद, माक्र्सवाद आयो। पिकासोले माक्र्सवादी कलाको धेरै प्रयोग गरे। चीनमा पनि मार्क्सवादी सौन्दर्यशास्त्र अनुसार धेरै प्रयोग भए। यो विभिन्न वादहरुको आ–आफ्नो प्रभाव छ। नेपालमा भने पहिलेदेखि नै सांकेतिकवाद प्रयोग भयो। विम्ब प्रयोग भयो।
जस्तो षटकोणमा धेरै विम्बहरु प्रयोग भएको छ। पूर्वीय सिद्धान्त अनुसार षष्टकोणमा हुने रातो रङ पुरुष हो निलो रङ महिला हो। रातो माइनस हुन्छ, निलो प्लस हुन्छ। पुरुषले शुक्रकिट माइनस गर्छ, महिलाले डिम्बमा प्लस गर्छ। यस सिद्धान्त अनुसार सृष्टिको बिन्दु नै त्यो हो।
सरस्वती भनेको सार सत्य तथ्यका रुपमा मात्र हो। त्यहाँ पुरुष पनि छ, महिला पनि छ। सरस्वती भनेर महिलाका रुपमा मात्र भनेको होइन। तर, मातृ प्रधानमा महिलाले पहिला शिक्षा दिन्थे त्यसकारणले सरस्वतीले महिला भाव बोकेको हो।
षटकोणमा अगाडि पछाडि दुई कोण छन्। दयाँबायाँ दुई कोण छन्। तलमाथि दुई कोण छन्। यो भनेको कुनै पनि बस्तुलाई षष्ट(६) कोणबाट हेरेपछि सारमा पुगिन्छ भन्ने सिद्धान्त हो। यो ‘सिक्स डाइमेन्सन’ हो। षष्टकोणमा उत्तरी धुव्र र दक्षिणी ध्रुवको सिद्धान्त पनि जोडिएको छ। ‘अफेन्स’ र ‘डिफेन्स’को पनि सिद्धान्त हो, ‘अफेन्स’ रातो र ‘डिफेन्स’ निलो हो। राजनीतिमा प्रतिपक्ष र पक्ष, रातो प्रतिपक्ष हो भने निलो पक्ष। ‘एन्टीथेसिस’, ‘सेन्थेसिस’ र ‘थेसिस’।
यो षष्टकोणमा एउटा ‘थेसिस’ निलो आयो रातोले ‘एन्टीथेसिस’ गर्यो। अनि बीचमा जहाँ षष्टकोण मिल्छ अनि ‘सेन्थेसिस’ हुन्छ। षष्टकोण मिलेन भने त्यो ‘सेन्थेसिस’ हुँदैन। यो पूर्वीय दर्शनमा षष्टकोणको एकदम राम्रो ‘सिम्बोलिजम’ निकालिएको छ।
नेपालमा अहिले कलाको फ्युजन नै भइरहेको छ। ‘रियालिस्टक’ रुपमा हामी पश्चिमा ‘फाइन आर्ट’को ‘ग्रामर’ अभ्यास गर्दैछौं।
नेपालमा पहिले पुनर्जागरण या प्रभाववाद नआएर एकैचोटी ‘पोष्ट मोड्रनिजम’ आएको जस्तो पनि भइरहेको छ।
साहित्यमा लगभग सबैजसो वादहरु आए। सङ्गितमा पनि आए। तर, हाम्रो चित्रमा भने प्रगतिवाद पनि राम्रोसँग आउन सकेन। एकैचोटी ‘पोष्ट मोड्रनिजम’ आइरहेको छ। खासमा नेपालमा खिचडी प्रवृति आइरहेको छ।
‘फेसन’ र संगीतमा परम्परागत र ‘मोड्रन’ मिसाएर नयाँ बनाएको र प्रयोग गरेको देखिन्छ। हामीकहाँ जुन हाम्रो परम्परागत कला थियो त्यो र ‘मोड्रन’ कलाको बीचमा मिक्स गरेर जाने प्रयास पनि भइरहेको छ?
यस्तो भइरहेको छ। कलालाई शैली र ग्रामरमा मिक्स गर्न सकिएपनि नेपाली र अंग्रेजी लेख्दा एउटा अक्षर नेपाली अर्को अक्षर अंग्रेजी लेख्दा के हुन्छ? यसले अर्थ दिदैन। कलामा पनि त्यस्तो मिक्स गर्दा अर्थ नखुल्न सक्छ। त्यसकारण कसरी फ्युजन गर्ने भनेर जानिएन भने समस्या हुन्छ। नेपाली, अंग्रेजी, भारतीय, पूर्वीय सबै मिसमास गर्ने भनेपछि हुँदैन। यो कहिलेकाही जिकज्याक र अराजक भएको अवस्था पनि छ।
समाज विकासको कुरा गर्दा हामी सामन्तवाद, पूँजीवाद र समाजवादजस्ता विभिन्न चरणका कुरा गर्छौ। यो विश्लेषण पद्धतीबाट ‘आर्ट’लाई हेर्दा तपाई त्यसलाई कसरी बुझाउनुहुन्छ? र, आजको नेपाली सन्दर्भमा विशेषगरी पछिल्लो समय भएका राजनीतिक परिवर्तन जसले संस्कृतिमा च्यालेञ्ज गर्यो, महिलाहरु सडकमा आए। बुर्का फाले, बुलाकी फाले। महिला पुरुष समान भएर हिडिरहेका छन्, महिलाले नेतृत्व गरिरहेका छन्। यो परिवर्तनलाई हाम्रो कलाले कसरी हेरेको छ?
यो प्रश्नमा म अलिक बोल्न नसक्ने हुन्छु। नेपालको राजनीतिले जनयुद्ध, जन–आन्दोलन सामाजिक रुपान्तरणका धेरै कुरालाई डिस्कोर्समा ल्यायो तर, चित्रकला, मूर्तिकला वा ललितकलाको क्षेत्रमा त्यति ठूलो डिस्कोर्स ल्याउन सकेन।
त्यो किन पनि हो भने त्यसमा लाग्ने कलाकारहरु एक खाले प्रगतिवादी भए तर, उनीहरुले आफ्नो कृतिमा प्रगतिवाद देखाउन सकेनन्। एक प्रकारका कलाकारले प्रगतिवादी रचना बनाउन खोजे तर, प्रगतिवादी दर्शनको कुरो भने उहाँहरुसँग रहेन।
मानौं न एउटा राणाको फोटो बनाउँदा राणाको भक्ति गरेर बनाउने पनि छन् जस्तो चन्द्रमान मास्के। पछि फेरि त्यसको विरोध गरेर विद्रोह गर्नेहरु पनि छन्। लैनसिंह बांङदेललाइै भनौ, महेन्द्रले ल्याएको हुनाले महेन्द्रको अनुसार उनको छत्रछायाँमा काम गर्नुपर्ने हुनले त्यसो पनि गर्ने। तर, उनी विद्रोह गर्न चाहन्थे प्रजातन्त्र आएपछि उदाउँदो घामको चित्र बनाए।
हाम्रो नेपालमा के भयो भने प्रगतिवादी धार, आस्था, विचार र सिद्धान्तमा प्रष्ट भएका कलाकारहरु सर्जक कलाकार बन्न सकेनन्। केही कलाकारहरु कलाकार त हुन् तर, प्रगतिवादसँग जोडेर सिर्जना बनाएनन् र बनाउन सकेनन्, बनाइएन।
‘ग्रामर अफ आर्ट’ एउटा कुरा हो। तर, ‘कन्टेन्ट’को फरक कुरा हो। कहिलेकाँही हामी ‘एचटुओ’को सिद्धान्तमा विश्वको पानी मूल्याङकन गर्छौं, त्यो गलत हो। हिमालको पानी, नदीको पानी, झरानको पानी, तालको पानी र समुन्द्रको पानीमा फरक हुन्छ नि।
‘आर्ट’ र ‘कल्चर’ले विशेषण गर्नुपर्नेमा हामी धेरै कलाकारहरु एक प्रकारको यान्त्रिक रुपमा गयौं। त्यसमाथि नेतृत्व गर्ने वर्गले कलाकारलाई मजदुरका रुपमा हेरियो, यान्त्रिक, खेतालाका रुपमा हेरियो। श्रम गर्ने हुन्, सिर्जना गर्ने होइनन् भन्ने अर्थमा लिइयो।
केही सर्जकहरु भने आफ्नो सिर्जनाको शक्ति भन्दा अन्य शक्तिसँग सन्तुलन मिलाउन लाग्दा यो कुरा सिर्जना, कलामा आएन। जति प्रगतिवादी गीत संगित, साहित्य आए, सिनेमा आए त्यति चित्रमा आउन नसक्नुको कारण हामी केही सर्जक भन्नेले सिद्धान्त बुझ्यौं तर काम गर्न सकेनौ। केही सर्जकले रुचि राखे तर उनीहरुले मार्क्सवादी सिद्धान्त, मार्क्सवादी दर्शन आत्मसात गरेनन् र उनीहरुले कर्मसियल एप्रोचमा बनाए।
जस्तो मानौं हाम्रा केही कलाकारले पुष्पलालको चित्र बनाएका छन्। पुष्पलालको चित्र बनाउँदैमा प्रगतिवादी होइन्छ र? होइँदैन। मैले अहिलेसम्म प्रचण्डको चित्र बनाएको छैन, मूर्ति बनाएको छैन भनेपछि म प्रगतिवादी हो कि होइन?
मैले बनाएको त्यो पेरिसडाँडाको मूर्ति अथवा सिकलेशमा बनाएको शान्ति स्मारक केही एकाध उदाहरण हुन्। तर, हामी धेरै कलाकारहरुले त्यति ध्यान दिएनौं।
जति सहजै गीत रचना गर्न सकिन्छ, त्यति सहजै चित्र वा फाइन आर्ट रचना सकिँदैन। शौचालयमा जाँदा पनि गीत रचना गरेर साथीभाइलाई सुनाएर, रेडियो, टिभीमा पठाउन सकिन्छ। साहित्यको एउटा टुक्रा कापी पाएपछि लेख्न सकियो। तर, चित्र, मूर्ति, वास्तुकलामा त भौतिक संरचना नै चाहियो, आर्थिक रुपले पनि चाहियो, सामाग्री पनि खर्चिलो हुन्छ।
अहिले मेरो दिमागमा एउटा मूर्तिको डिजाइन छ तर ढुंगा कहाँ छ, कहाँ लगेर काट्ने हो? किनभने यहाँ शहरको बिचमा ग्राइन्डर चलाउँदा त छिमेकीले गाली गर्न थाल्छन्, हल्ला भयो भनेर। भनेपछि म कसरी कलाकार बन्ने भन्ने पनि समस्या छ। यस अर्थमा छुट्टै प्राङ्गण चाहियो, भौतिक संरचना चाहियो। चित्र, मूर्ति बनाउन भौतिक संरचनाका कारणले पनि गाह्रो छ।
अर्को कुरा चित्र, मूर्तिको एक्सपोजर पनि कम छ। गीत, संगित रेडियोमा आउँछ, टिभिमा आउँछ। चित्रमा त गाह्रो छ। मानौं मैले एउटा मूर्ति भोजपुरमा बनाएर यहाँ ल्याउनु पर्यो भने ठूलो गाडी चाहिन्छ। मूर्ति, चित्र प्रर्दशन गर्न आम मानिससम्म पुर्याउन पनि सजिलो छैन। यसले पनि अलिकता गाह्रो भएको हो।
त्यसमाथि हाम्रोमा यो नेपालको राजनीतिक राज्य व्यवस्था परिवर्तन हुँदा कला संस्कृति साहित्यको कुरामा अलिकता विशिष्टिकरण गरेर योजना बनाउन नसकिएको हो। एक प्रकारको परम्परागत कला मात्र भयो। जंगबहादुरको पालामा बरु दुई जना कलाकारलाई बेलायत पठाएर सिकाउन लगाइयो। यी दरबार, र यहाँ भएका सबै चित्र बनाउने त उनीहरु नै हुन्।
त्यसो भए हाम्रो आजको नेपाली कला दार्शनिक अवधारणका हिसाबले, सिद्धान्तका हिसाबले लिबरल (उदारवादी) आर्ट हो? क्यापिटालिस्ट अवधारणलाई पूँजीवादी खालको विचारधारालाई सपोर्ट गर्ने खालकै आर्ट हो यो?
लिबरल आर्ट त हो, यो कुरामा सहमत हुन सकिन्छ।
अहिले ग्लोबल भिलेजको धारणा आईसक्यो, हामीले कतिपय कुराहरु ‘लोकल थ्रु सेन्ट्रल टु ग्लोवल’ त गर्नैपर्छ। अनि ‘ग्लोबल थ्रु सेन्ट्रल टु लोकल’ कति आउन सक्छ भन्ने अर्को कुरा हो।
कहिलेकाही हामीले त्यो बीचमा ‘एसिमीलेसन’ गर्नैपर्छ। अहिले राजनीति पनि ‘फ्युजन’मा गइरहेको छ। निषेधको कुरा हुँदैन। कति कुराहरु दर्शनका रुपमा पनि प्रष्ट छैनन्। अहिले ‘सोसियल एन्थ्रोपोलोजी’ अनुसारको रुपले भन्ने हो भने हाम्रो जस्तो देशमा त भूगोल, नश्ल आदि कुराले पनि प्रभाव पारेको रहेछ। वर्ग मात्र मुख्य कुरा होइन रहेछ भन्ने त प्रमाणीत भइसक्यो। हाम्रो राजनीतिक अवस्था पनि यही छ भने पछि हाम्रो कलामा मात्र कहाँबाट ड्रास्टिक परिवर्तन आउँछ?
त्यसो हुनाले हामीले राजीतिक परिभाषामा लिबरल’ भन्न पनि सकिएला। तर, कलाको ‘लिबरल’ अर्थ चाहि ‘टेक्निकल’ कुराहरु ‘मिक्सअप’ छ। यसलाई भन्छ ‘कोल्याबरेटिभ’, पश्चिमा पनि प्रयोग गर्ने, पूर्वीय पनि प्रयोग गर्ने।
कलामा शैली, प्रविधि जसको र जसरी प्रयोग गरेपनि त्यो कसका लागि हो भन्नेले अर्थ राख्छ नि?
हो तपाईंले भनेजस्तै आइडियोलोजी त उदारवादी नै हो।
आज हामीले भन्ने गरेको समावेशी, समानुपातिक प्रतिनिधित्व र सबैको स्वीकार्यताको कुरा हाम्रो कलामा कतै व्यक्त भएको छ कि छैन?
यो त स्वत भइहाल्छ। किनभने सारत्वमा जे कुरा छ त्यो स्वरुपमा आउँछ नै। वैचारिक रुपले यहाँले भने जस्तै अहिलेको उदारवादी अर्थनीति जस्तै हो कलामा पनि। सामान्यत त्यस्तो ठूलो ‘वेभ’ आएको छैन, र कलामा त्यति ठूलो ‘वेभ’ आउनका लागि अलिकता हाम्रो कलाको नीति पनि नयाँ रुपमा जानुपर्छ।
त्यसमाथि अलिकता लगानी पनि, आर्थिक भौतिक लगायत संरचनागत कुराहरु पनि नयाँ प्रकारले बनाउनुपर्ने हुन्छ। हाम्रो अहिलेको संरचना भनेको पनि सामान्यत यसो गरिराखौं काम चल्दै गर्छ भन्ने खालको छ। हामीले साँच्चिकै ‘ग्रास रुस’बाट अध्ययन, अनुसन्धान गरेर हाम्रो रणनीति, हाम्रो ‘हाइपोथेसिस’ के हो त? हाम्रो परिकल्पना के हो त? के मा लाने भनेर टार्गेट नबनाइकन जाने गरेका छौं।
हाम्रो संस्थाको पनि अहिले यही हो। हामीले १०/२० वर्षपछि के गर्छौ भन्ने टार्गेट छैन। दैनिक रुपमा चल्दै जान्छ, चलाउँदै जाउँ भन्ने हो।
हामीले देशको सामाजिक, राजनीतिक रुपान्तरणमा कलालाई पनि जोडेर ‘रिभोलुसन’ पनि ल्याउने हो भने यसरी हुँदैन, रणनीतिक रुपमा योजना पनि बनाउनु पर्यो। तर, त्यो योजना बनाईसकेका छैनौ।
हाम्रो कलाको अहिलेको स्कुल अफ थट भनेको लैनसिह बाङदेल, त्यो भन्दा अगाडि बालकृष्ण सम, उत्तम नेपाली, शसी शाह नै हुन् कि अरु पनि केही छ?
हामी यो भन्दा धेरै पर गएका छैनौं। उहाँहरुलाई उछिनेका छैनौ। अलिकता शैली र विधि जस्ता प्राविधिक कुरामा प्रयोग गरिएको छ तर, वादका दृष्टिकोणले त्यति ठूलो फराकिलो आयतनमा हामी जान सकेका छैनौ।
यो सारा संरचनामा मार्क्सवादी कलालाई प्रोत्साहित गर्ने, कलाका माध्यमबाट समाजमा भईरहेको द्धन्द्ध देखाउने, समाजवाद उन्मुख, प्रगतिवाद उन्मुख अथवा मार्क्सिस्ट एगंलबाट वर्गीय दृष्टिकोणबाट समाजका घटना, परम्परा, मानिसका दुःख, सुख, सपनाहरु, आकांक्षाहरु व्यक्त गर्ने बहस गराउने, छलफल गराउने प्रयास गर्ने तपाईंको जिम्मेवारी होइन र?
जिम्मेवारी त हो। तर, संस्थागत संरचनामा के हुन्छ भने, अहिलेको यो संस्थामा त्यो वादलाई सिधैं लागू गरेर जाने कुराहरु प्रत्यक्ष रुपमा सकिदैन। किनभने यो संरचना भनेको समावेशी, सहभागिमूलक सबै खाले विचारधाराको संरचना हो। प्राज्ञिक रुपले हामीले सिधै भन्न मिल्दैन्। यो सस्थामा सबैखाले विचार समाहित छन्, समावेश छन्। हाम्रो क्रान्ति पुरा भएर समाजवादी धारको पुरै नेतृत्वमा आएको राज्यसत्ता नभएको हुनाले हामीले सिधैं मार्क्सवादी मात्र काम गर्ने भनेर भन्न सकिदैंन। तर, यहाँले भने जस्तो केही केही प्रयास त हामी गर्न सक्छौ।
समाजमा केही गतिविधि त भएका छन्। पहिले भएका कुराहरु पनि हेर्दैछौं। चन्द्रमान मास्के, कुलमान सिहं भण्डारीले गरेका काम हेर्दैछौं। मैले पनि जेलमा बस्दा प्रगतिवादी धारका चित्र बनाएर प्रर्दशन गरेका थिएँ। अरु ललितकला संघले पनि केही काम गरेको थियो। सिंहदरबार घेराउका समयमा वर्कशप नै चलाएर काम गरेका थियौं। यसबाट पनि कला र विचार जोडिएको ‘कम्प्याक्ट’ कृति भने जन्मिन सकेनन्। कि त नाराको रुपमा धेरै भए केही चित्र। केही चित्रहरु भने कलाका नाममा ‘आर्ट शेक’ मात्र भए।
पछिल्लो कालमा अहिले पनि केही कार्यक्रम राखेका छौं, अबको तीन वर्षे कार्यकालमा हामीले केही कार्यक्रम चलाउँदै छौं। समाजवाद उन्मुख भनेर राष्ट्रले नै सार दिएको छ भने मार्क्सवादी विचारधाराले मात्र समाजवादतर्फ नीतिगत र कार्यक्रमिक रुपमा लान सक्छ। त्यो गर्नका लागि कलाले पनि काम गर्नुपर्यो नि। यसका लागि छलफल त चलाउनै पर्छ।
जसरी साहित्य, सिनेमा कलाका अरु पक्षमा यो मार्क्सवादी हो भनेर छुट्टिएको छ आर्टमा त्यो अवस्था छ कि छैन?
ठ्याक्कै छैन्। अब यसका लागि हामी केही प्रगतिवादी धारका मञ्चसंग जोडिएर केही कार्यक्रम गर्न सक्छौ। हामीले कार्यपत्र तय गर्ने, गोष्ठी गर्न सक्छौ। तर, सिधै एउटा विचारमा लगेर राष्ट्रिय कला प्रर्दशनी भने गर्न सकिदैंन।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अहिले के गर्दैछ?
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अहिले ‘नेपाल ललितकला प्रतिष्ठान, अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने नारा तय गरेको छ। अनुसन्धान, सिर्जना र सम्मान भन्ने तीन वटा कुराको पेरिफेरीमा हामी हाम्रो काम टार्गेट गर्दैछौ।
त्यो अर्थमा अहिले हामीले प्राज्ञिक अनुसन्धानका हकमा ललितकला प्रज्ञा भनेर पत्रिका निकाल्दै छौ। त्यसमा हामी अगाडि भएका विरासतका कुराहरु, विधागत, शैलीगत कुराहरु बाहिर ल्याउँछौं।
त्यसपछि सिर्जनाको सन्दर्भमा विभिन्न क्रियाकलाप गराएर गोष्ठी गराए, छलफल गराएर, सहजिकरण गरेर, लोक परम्परामा रैथाने ज्ञानहरु, लोक कलाहरु, हस्तकला लगायत विभिन्न परम्परागत रुपमा प्रचलमा भएका ‘इथ्नो नलेज’का कलालाई जोडेर नेपालीपनको कुरा के हो त? हामीले कला त भन्यौं तर विश्वमा हाम्रो नेपालीपन के हो त? खोजी गर्ने अनुसन्धान गर्ने काममा लाग्दैछौं। आज पनि धर्म, मूर्ति, बुद्ध, हिमाल भनेर मात्र हुन्छ त? ‘पोष्ट मोड्रनिजम’को ‘कोलाज’ भनेर जिकज्याक मात्र गर्ने? आकाश–आकाश हिडेर धर्ति नटेकेको कुराले हामीलाइ प्रतिनिधित्व गर्छ त? भन्ने विषयमा हामी मन्थन गर्दैछौ।
हाम्रा कलाका सबै कुरालाई संश्लेषण गरेर यो एकेडेमीले संस्थागत संरचनामै त्यस्तो कुरालाई ‘प्याट्रोनाईज’ गरेर लानुपर्छ। अब जसो जसो चलेको छ, कुलपती भइएकै छ, भत्ता पाकेकै छ भनेर जाने स्थिति छैन।