नेपालको संविधानले गरेको धर्मनिरपेक्षताको व्यवस्थालाई हटाएर नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने हिन्दूत्व विचारधाराले पछिल्ला केही बर्षयता आफ्नो प्रभाव विस्तार गर्दै लागेको प्रतित हुन्छ। सार्वजनिक बौद्धिक तथा चिन्तक सिके लाल भने कागजमा धर्मनिरपेक्ष राष्ट्र भएपनि नेपाल कहिल्यै पनि धर्मनिरपेक्ष हुन नसकेको तर्क गर्छन्। भारतमा मौलाउँदै गएको हिन्दूत्वको राजनीति, यसले नेपालमा ल्याउनसक्ने चुनौती र हिन्दूत्ववादी राजनीतिका विविध आयामबारे सिके लालसँग नेपाल रिडर्सका लागि नरेश ज्ञवालीले गरेको कुराकानी।
हिन्दू र हिन्दूत्वका बीच के भिन्नता छ र हिन्दूत्वको राजनीतिले आममानिसको चिन्तन प्रणालीमा कसरी प्रभाव पार्ने गर्छ?
हिन्दूको परिभाषा त्यति सहज छैन। इन्दु नदि जो तिब्बतबाट निस्केर काश्मिर हुँदै पाकिस्तानबाट बग्छ, त्यस पूर्वका सबै बासिन्दालाई चिन्नका लागि हालको इरान र त्यति बेलाको फारसका मानिसले उनीहरुलाई ‘इन्दु’ भन्ने गर्थे। किनभने फारसी भाषामा ‘इ’ को उच्चारण हुँन्दैन्थ्यो। त्यसैबाट अपभ्रङ्स हुँदै ‘हिन्दू’ भन्न थालियो। यस शब्दको धर्मसँग कुनै लेनादेना थिएन। इन्दु नदि भन्दा पूर्वपट्टी, जसलाई महाभारत पनि भनिन्थ्यो त्यस खण्डमा विभिन्न धर्महरु थिए। उनीहरु पशुपति अर्थात् शिवलाई मान्ने गर्थे। देवीमातालाई मान्ने शाक्त धर्म थियो। वैद्धिक विधिबाट विष्णुलाई मान्ने वैश्णवहरु थिए। यी विभिन्न धर्मका परिवारलाई जनाउन कालान्तरमा ‘हिन्दू’ भन्ने शब्दावलीको प्रयोग १८औँ शताब्दीबाट शुरु भयो। त्यस अघिसम्म यो शब्दको त्यति प्रयोग भएको पाइदैन। आजका दिन यिनै धर्म समूहका धर्मावलम्बीलाई हिन्दू भन्ने गरिएको छ।
हिन्दूत्व शब्दका जन्मदाता भारतका विनायक दामोदर सावरकर हुन्। उनले सन् १९२०को दशकमा यो क्षेत्र अर्थात् आजको भारत त्यस्ता व्यक्तिहरुको हो– जसको पितृभूमि, मातृभूमि र पवित्रभूमि भारत हो भन्ने अवधारणा ल्याए। अर्थात् क्रिश्चियनको जन्मभूमि भारत भएपनि उ यहाँको होइन। उ बाहिरिया हो। इस्लामको जन्मभूमि, कर्मभूमि र पितृभूमि भारत भए पनि उ यहाँको होइन किनभने उसको पवित्रभूमि मक्कामा छ। यस अवधारणाले भारतमा शासन गर्ने अधिकार भारतबासीलाई मात्रै छ बाहिरियालाई छैन भन्ने मत राख्छ। यो अवधारणा जर्मन राष्ट्रवादी जोहान गटफ्राइड हर्डरको विचारधाराबाट प्रभावित छ। सावरकर हर्डरको त्यही ‘इन्साइडर’ र ‘आउटसाइडर’ को अवधारणालाई भारतमा लागू गर्न चाहन्थे। त्यसैले हिन्दू धार्मिक अवधारणा हो भने हिन्दूत्व राजनीतिक अवधारणा हो।
सावरकारको विचारधाराबाट प्रभावित भारतका हिन्दूवादीहरु पितृभूमि, मातृभूमि, पवित्रभूमि र कर्मभूमि भारतमै हुने आदिवासीसमेत बाहिरिया हुन भन्ने भाष्यसम्म कसरी पुगे?
हिन्दूत्वको अवधारणाले ‘घर फर्क’ (घर वापसी) भन्छ। पितृभूमि, कर्मभूमि र मातृभूमि भारत भित्रै हुने तर पवित्रभूमि बाहिर भएकाहरु जस्तै क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु घर फर्क भन्छ। हिन्दू धर्म अपनाऊ अनि मात्रै तिमी यहाँका हुन्छौँ, होइन भने तिमी यहाँको होइनौँ भन्ने गरिन्छ। यो भूखण्डमा हिन्दूबाहेक अन्य धर्म अपनाउने प्रक्रियालाई उनीहरुले विदेशीहरुको षडयन्त्रका रुपमा अर्थ्याएका छन्।
हिन्दूत्वको अवधारणाले ‘घर फर्क’भन्छ। पितृभूमि, कर्मभूमि र मातृभूमि भारत भित्रै हुने तर पवित्रभूमि बाहिर भएकाहरु जस्तै क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु घर फर्क भन्छ। हिन्दू धर्म अपनाऊ अनि मात्रै तिमीहरु यहाँका हुन्छौँ, होइन भने तिमीहरु यहाँको होइनौँ भन्ने गरिन्छ।
भारत सरकारले ल्याएको पछिल्लो नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) ले विश्वको जुनसुकै कुनामा रहेका हिन्दूहरुको राष्ट्र भारत हो भन्छ। तर, भारत भित्रै रहेका अन्य धर्मावलम्बीलाई भने उ भारतको मान्न तयार छैन। आदिवासीलाई पनि उनीहरु यसै अवधारणाबाट हेर्छन्। त्यसैले अन्य धर्मावलम्बीहरुले भारत मेरो पनि देश हो भन्नका लागि उनीहरु पहिले ‘घर फर्कनु पर्ने’ हुन्छ। एनआरसी स्वीकार्य नहुनेहरु पाकिस्तान र बांगलादेश जाऊ भनिँदैछ। किनभने सन् १९४७मा मुस्लिमहरुका लागि पाकिस्तान बनाइएको हो भने भारत हिन्दूहरुका लागि हो भन्ने अवधारणा हिन्दूत्वको राजनीतिले अघि सार्छ।
एउटै देश भित्र बसोबास गर्ने खास समुदायलाई ‘तिमी बाहिरिया हौ’ भन्ने जर्मन राष्ट्रवाद र हिन्दूत्ववादी राष्ट्रवादको मुल तत्व के हो?
यी दुईटा विचारधाराबीच खासै विमति छैन। राष्ट्रियताका कयौँ शाखाहरु मध्ये मूल सिद्धान्तहरुमा पहिलो, निर्जातीय राष्ट्रवाद अर्थात् ‘इथ्नीक नेस्नालिजम’ को हो। यसले एउटा राष्ट्रमा एउटा निर्जातीय समूहको वर्चश्व हुनुपर्छ र अन्य निर्जातीय समूह त्यहाँका होइनन् भन्छ। दोस्रो, सांस्कृतिक राष्ट्रवाद। सांस्कृतिक राष्ट्रवादले भिन्न निर्जातीयता भएपनि विद्यमान संस्कृति स्वीकारेको छ भने उसलाई हाम्रै मान्नु पर्छ भन्छ। तेस्रो, नागरिक राष्ट्रवाद। नागरिक राष्ट्रवादले एउटा देश भित्र विभिन्न निर्जातीय र सांस्कृतिक समूह हुन सक्छन्। तर, संविधानलाई शिरोपर गर्ने हो भने व्यक्तिको हक, अधिकार र कर्तव्यका आधारमा त्यो व्यक्ति त्यही राष्ट्रको हो भन्ने गर्छ। चौथो, महाराष्ट्रियता। इस्लाममा यसलाई ‘उम्मा’ भन्ने गरिन्छ। संसारभरीका मुसलमान एक हौँ। संसारको जुनसुकै भूगोलका यहूदीहरु भए पनि तिनको अन्तिम राष्ट्र इजरायल हो भने जस्तै।
जर्मन राष्ट्रवादको थालनी सांस्कृतिक राष्ट्रवादबाट भएपनि यसमा अनेकौँ घालमेल छ। लामो समयको साम्राज्यले गर्दा जर्मन राष्ट्रवाद बलियो भएर आयो। खासगरेर पहिलो विश्वयुद्धमा जर्मनीको पराजयपछि निर्जातीय राष्ट्रवाद बलियो हुन पुग्यो किनभने हिनभाव भएको समुदायमा निर्जातीय राष्ट्रवाद बलियो हुन्छ। जबकी जर्मनीको साहित्य, संगीत र दर्शनशास्त्रमा यहूदीहरुको ठूलो योगदान छ। यस्तै निर्जातीय राष्ट्रवाद इटालीमा पनि देखियो। पहिलो विश्वयुद्धपछि भारतमा पनि मुसलमानहरुले हाम्रो देशमा लामो समय शासन गरे भन्ने भावनाले आकार लिन थाल्यो। त्यसैले गर्दा हाम्रो दुःखको कारण बाहिरिया अर्थात् मुसलमान हुन् भन्ने भावना ठोस हुन पुग्यो।
मुसलमानलाई ‘बाहिरिया’ देख्ने हिन्दू राजा–रजौटाहरु ब्रिटिश उपनिवेशवादीप्रति कसरी नरम हुन पुगे?
तपाईंले सही प्रश्न गर्नु भयो। भारतका अधिकांश हिन्दू राजा–रजौटाहरुले अंग्रेजलाई साथ दिएको सही हो। उनीहरुलाई के लाग्थ्यो भने मुसलमानहरुले हामीमाथि शासन गरे। अंग्रेजहरुले हामीलाई मुसलमानबाट मुक्त गर्छन्। त्यसैले रोवर्ट क्लाईबलाई ‘व्याटल अफ पलासी’ को युद्धमा सबैभन्दा ठूलो सहयोग पुर्याउने संसारकै धनी मध्येका एक मानिएका जगत सेठले सहयोग गरे। तत्कालीन समयमा भारतका हिन्दू राजा–रजौटाहरुमा मुस्लिमले दबाएको हिन भावना थियो। हिन्दूत्वको राजनीतिलाई मलजल गर्नुमा ठूलो कारक तत्वका रुपमा हिन्दूहरुमा रहेको हिन भावले काम गरिरहेको देख्न सकिन्छ।
सन् १९२० को दशकमा बसालिएको हिन्दूत्वको जगमा आज कयौँ तलाको महल ठडी सकेको छ। भारतमा आर्थिक उदारिकरण शुरु हुनुभन्दा अघिसम्म त्यसको उतार–चढावयुक्त बिगत कस्तो थियो?
सन् १९२०को दशकमा हिन्दूत्वको विचारधारा सतहमा देखापर्दै गर्दा भारतमा एउटा शिक्षित समाज तयार भई सकेको थियो। त्यो शिक्षित समाजमा फ्रान्सेली राज्य क्रान्ति, रुसी क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामको प्रभाव थियो। त्यो समूह राजनीतिको आधुनिकीकरण हुनुपर्छ भन्ने मत राख्थ्यो। त्यो शिक्षित समुदाय मूलतः तीन समूहमा समूहिकृत हुन थालेका थियो। एकाथरी रुसी क्रान्तिबाट प्रभावित भएर आफ्नै समूहमा समूहिकृत हुन थालेका थिए भने अर्काथरी अमेरिकी स्वतन्त्रता संग्रामबाट प्रभावित भएर उदार समूहमा गोलबद्ध हुँदै थिए। अर्काथरी भने फ्रान्सेली र बेलायती उज्जवल क्रान्ति (ग्लोरियस रेभुलुसन) बाट प्रभावित भएकाहरु आफूलाई समाजवादी भन्दै एकीकृत भई रहेका थिए। यी तीनै खाले आधुनिक राजनीतिक शक्तिहरु पहिले अंग्रेजबाट स्वतन्त्र हुनुपर्छ भन्ने मत राख्थे र संविधानलाई सर्वोच्च मान्थे।
सन् १९४७ मा जब भारत–पाकिस्तानको विभाजन भयो हिन्दूत्वको राजनीति गर्नेहरुलाई के लाग्न थाल्यो भने हामीले अनेकौँ प्रयत्न गर्दा पनि सफल हुन सकिएन। जब राज्यको विभाजन भएर मुस्लिमहरुको छुट्टै देश बन्यो भने अब हामीले भारतलाई हिन्दूस्तान बनाउनु पर्छ। यसले गर्दा समाजवादीहरुमा समेत नरम हिन्दूत्वले प्रवेश पाउन थाल्छ। उदाहरणका लागि राजेन्द्र प्रसाद भारतका राष्ट्रपति थिए। सोमनाथ मन्दिरको उद्घाटनमा राष्ट्रपति जानु हुँदैन भन्ने जवाहरलाल नेहरुको अनुरोधका बाबजुद मेरो व्यक्तिगत आस्थाको विषय हो जान्छु भने र गए।
पुराना सामन्त, मध्यम वर्गलाई कांग्रेसले संतुलित गरिरहेको तथा पिछडा वर्ग समाजवादीको कब्जामा रहेकाले हामीहरु धेरै अघि बढ्न सक्दैनौँ भन्ने निष्कर्षकै कारण भाजपाले अर्को रणनीति अघि बढाउँछ। उनीहरु आक्रामक प्रचारमा लाग्छन् र रामायण, महाभारत जस्ता सिरियल तथा सन्तोषी माता जस्ता सिनेमा बन्न थाल्छन्।
सन् ५०को दशकमा भारतको संविधान आउँछ। संविधान अम्बेडकरले बनाएका थिए। अम्बेडकरमा फ्रान्सेली राज्य क्रान्तिको भन्दा अमेरिकी स्वतन्त्रता संग्रामको प्रभाव बढी थियो। संविधान निर्माणका क्रममा भारतमा हिन्दूवादीहरु सतहमुनी देखिन्छन्। सन् ६०को दशकमा भारतले चीन र पाकिस्तानसँग दुईटा युद्ध लड्छ। त्यस युद्धले उनीहरुलाई थोरै मुखर बनाई दिन्छ। त्यति बेलासम्म भारतमा एउटा पुँजीवादी वर्ग प्रभावशाली भइसकेको थियो। खासगरेर वैश्य समुदायका मारवाडी र बनिया। तिनले व्यापारमा आफ्नो एकाधिकार कायम राख्ने हो भने दुईटा काम तत्कालै गर्नुपर्ने निष्कर्ष निकाल्छन्। पहिलो, समाजवादी विचारबाट देशलाई मुक्त गराउनु पर्ने । दोस्रो, राजनीतिमा आफ्नो बर्चश्व र हस्तक्षेप बढाउनु पर्ने।
समाजवादबाट मुक्त हुनका लागि गरिबलाई कमजोर तुल्याउनु पर्ने आवश्यकता देखियो भने राजनीतिमा बर्चश्व र हस्तक्षेप बढाउनका लागि ब्राम्हणको बौद्धिकता एवम् हामीसँग भएको सम्पत्तीबीच सहकार्य हुनुपर्ने आवश्यकता छ भन्ने उनीहरुको निष्कर्ष थियो। त्यसपछिको शासन सत्तामा यो गोलबन्दी हुन थाल्छ। ५०कै दशकमा स्थापित भई सकेको भारतीय जनसंघले आरएसएसको राजनीतिक फ्रन्टका रुपमा काम गरिरहेको थियो। त्यसै अनुरुप राष्ट्रिय स्वंयमसेवक संघ सामाजिक परिचालनतर्फ लाग्यो भने जनसंघ राजनीतिक परिचालनमा लाग्यो। अहिलेको भारतीय जनता पार्टी जनसंघकै परिवर्तित स्वरुप हो। सन् ६०को दशकमा उनीहरु कतिसम्म सक्रिय हुन्छन् भने साधु–सन्तहरुको अभिमुखिकरण शुरु हुन्छ।
सन् ७०को दशकमा इन्दिरा गान्धीको शक्ति क्षीण हुने संकेतहरु देखिन थालेका थिए। त्यही भएर आफ्नो शक्ति कायम राख्ने हो भने बहुसंख्यकको तुष्टीकरण गर्दै हिन्दूमा आफ्नो आधार बलियो बनाउनु पर्छ भन्ने इन्दिरालाई लाग्न थाल्छ। अनि उनी विभिन्न शंकराचार्यलाई भेट्न थाल्छिन्। यहाँ ध्यान दिनुपर्ने अर्को विषय के हो भने पश्चिम पाकिस्तानबाट आउने हिन्दूहरुमा जनसंघको प्रभाव बलियो थियो भने पूर्वी पाकिस्तानबाट आउनेहरुमा कांग्रेसको प्रभाव बलियो थियो। अहिलेको भाषामा भन्ने हो भने एउटा कठोर हिन्दूत्व थियो भने अर्को नरम हिन्दूत्व।
सन् ७०को अन्त्यतिर इन्दिरासँग लड्नका लागि भारतका समाजवादीहरु जयप्रकाश नारायण, चन्द्रशेखर, मोरारजी देशाइ, चरण सिंह, जगजीवन रामहरुले जब जनसंघलाई आफ्नो खेमामा मिसाउँछन् त्यसपछि भारतको राजनीतिमा हिन्दूत्वको राजनीतिले वैधानिकता पाउँछ। समाजवादीहरुले नै हिन्दूत्वको टिका लगाएपछि मुलधारको राजनीतिमा हिन्दूत्वको विचारधाराले प्रधानता पाउनु सामान्य परिघटना भयो। जयप्रकाश नारायणले हिन्दूवादीलाई स्वीकार्नु भनेको ठूलो कुरा थियो। यस परिघटनाले आधुनिकतावादी राजनीतिज्ञहरुमा यो विचार ठीक रहेछ भन्ने सन्देश गयो।
जनसंघले स्वीकार्यता प्राप्त गरेपछि सन् ८०को दशकमा राष्ट्रिय स्वंयमसेवक संघले आफ्नो राजनीतिक मोर्चालाई पुनर्गठन गरेर भारतीय जनता पार्टीलाई अघि बढाउँछ। कट्टर हिन्दूवादीको छवि निर्माण गरेको जनसंघले आम मतदाता र नरम हिन्दूहरुलाई समेट्न सक्दैन भन्ने निष्कर्षका साथ भाजपाको गठन भएको थियो। हिन्दूत्वको यो राजनीतिलाई भाजपाले राष्ट्रवादी चास्नीका साथ पस्कन थाल्छ। भन्नुको अर्थ ८०को दशकपछि निर्जातीय राष्ट्रवाद र धर्मको घालमेल भएर समाजमा पोखिन थाल्छ।
भारतीय राजनीतिमा आरजेडीका अध्यक्ष लालुप्रसाद यादव बाहेक हिन्दूत्वको राजनीतिलाई सबैले कसै न कसैगरी सहयोग गरेको देखिन्छ।
सन् ८०को अन्त्यतिर भारतमा आर्थिक उदारिकरणको बहस शुरु हुन्छ। यसले शक्तिका नयाँ चालकका रुपमा वैश्यहरुलाई सतहमा ल्याई दिन्छ। पुराना सामन्त, मध्यम वर्ग र जातीय समीकरणलाई कांग्रेसले संतुलित गरिरहेको तथा पिछडा वर्ग समाजवादीको कब्जामा रहेकाले हामीहरु धेरै अघि बढ्न सक्दैनौँ भन्ने निष्कर्षकै कारण भाजपाले अर्को रणनीति अघि बढाउँछ। उनीहरु आक्रामक प्रचारमा लाग्छन्। उदाहरणका लागि रामायण, महाभारत जस्ता सिरियल र सन्तोषी माता जस्ता सिनेमा बन्न थाल्छन्। पत्र–पत्रिकामा यसले प्रधानता पाउन थाल्छ। तर, जति आगो झोस्दा पनि पानी नउम्लेपछि बाबरी मस्जिद भत्काउनै पर्ने एजेण्डाले प्रवेश पाउँछ। ‘मण्डल भर्सेस कमण्डल’ नारा त्यसको उत्पादन हो।
भारतमा आर्थिक उदारिकरण शुरु भएसँगै सतहमा देखा परेको इन्टरनेटले हिन्दूत्वको राजनीतिलाई अघि बढाउन कसरी सहयोग गरेको देखिन्छ?
माथि हामीले इन्टरनेटको युग शुरु हुनु अघिसम्म आरएसएस, जनसंघ तथा भाजपाको कुरा गर्यौं। सन् ९०को दशकको शुरुमै बाबरी मस्जिद भत्काइन्छ र राम मन्दिर निर्माणले भारतीय राजनीतिमा प्रवेश पाउँछ। सन् ९० दशक हिन्दूत्वको राजनीति फलिफाप भई रहेको दशक थियो। त्यति बेलासम्म नरम हिन्दूत्वको राजनीतिलाई अघि नबढाउने हो भने आफ्नो राजनीतिलाई पनि अघि बढाउन सकिँदैन भन्नेमा निष्कर्षमा कांग्रेस पुग्छ। भारतीय राजनीतिमा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादव बाहेक हिन्दूत्वको राजनीतिलाई सबैले कसै न कसैगरी सहयोग गरेको देखिन्छ। सन् ९०को मध्येसम्म आईपुग्दा कम्युनिष्टहरुसमेत गरी लगभग सबै पार्टीहरुमा हिन्दूत्वको राजनीतिको प्रतिरोध गर्न सक्ने मात्र होइन विरोध गर्न सक्ने उर्जासमेत बाँकी रहँदैन।
भाजपाले यो दशकभरी आक्रामक प्रतिरक्षाको राजनीतिलाई अघि बढाएको देखिन्छ। आर्थिक उदारिकरणका कारण भारतमा एउटा नयाँ वर्गको जन्म भई सकेको थियो। इन्टरनेटको कोडिङ–डिकोडिङ गर्नेदेखि मध्यम वर्गका साना खुद्रा व्यवसायीलाई सांस्कृतिक राष्ट्रवादले आकर्षित गरिरहेकै बेला भाजपाले इन्टरनेटको माध्यमलाई सफलतम रुपले प्रयोग गर्छ र आफ्नो विचारधारा आक्रमक ढंगले फैलाउन शुरु गर्छ। समाजको व्यापक हिन्दूकरणमा नयाँ युगको इन्टरनेटले ठूलो भूमिका खेलेको देख्न सकिन्छ। त्यसपछि आममानिसले ठाडो धर्के टिका र रुद्राक्ष लगाएर कार्यालय जान लाज मान्नु परेन।
सन् २००० अर्थात् नयाँ शताब्दीमा प्रवेश गरेसँगै भारतीय समाजमा हिन्दूत्वको राजनीति फेरी सतहमुनी पुगेको हो कि भन्ने भान हुन थाल्छ। यतिबेला भाजपाले राजनीतिक क्षेत्रमा आफ्नो पहुँच बिस्तारित गरिरहँदा आरएसएसले भने आफूलाई सामाजिक काममा सक्रिय बनाई राख्छ। तर, यहाँ बुझ्नु पर्ने कुरा के छ भने प्रत्यक्ष राजनीतिमा आरएसएस कहीँ नदेखिए पनि उ राज्य र समाजका सबै अंगमा आफ्ना कार्यकर्तालाई नेतृत्व तहसम्म पुर्याउन मसिनो गरी काम गरिहेकै हुन्छ।
आरएसएसको खास रणनीति भनेकै भाजपाको लगाम आफ्नो हातमा राख्ने तर प्रत्यक्ष राजनीतिमा कहीँ सहभागीता नजनाउने नै हो। यसको सबैभन्दा ठूला उदाहरण भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं हुन्। उनी संघका प्रतिवद्ध कार्यकर्ता भएकै कारण गुजरातको मुख्यमन्त्री बन्छन् र पछि प्रधानमन्त्रीका रुपमा अघि सारिन्छन्।
आरएसएसको खास रणनीति भनेकै भाजपाको लगाम आफ्नो हातमा राख्ने तर प्रत्यक्ष राजनीतिमा कहीँ सहभागीता नजनाउने नै हो। यसको सबैभन्दा ठूला उदाहरण भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं हुन्। उनी संघका प्रतिवद्ध कार्यकर्ता भएकै कारण गुजरातको मुख्यमन्त्री बन्छन् र पछि प्रधानमन्त्रीका रुपमा अघि सारिन्छन्। गुजरातको मुख्यमन्त्री हुनु अघिसम्म मोदीको नाम कसैले सुनेका पनि थिएनन्। तर, आरएसएसले उनलाई मुख्यमन्त्री बनाई दियो।
त्यसपछि हिन्दूत्वको विचारधाराको उत्कर्षको बर्ष सन् २०१४ नै हो। सन् २०१४मा भाजपाको विजय जति आरएसएसको विजय हो त्यति नै नयाँ पुँजिपति वर्गको विजय पनि हो। स्पष्ट शब्दमा भन्दा मुम्बई भर्सेज अहमदाबाद। मुम्बईको पुँजिपति वर्गमा कांग्रेसको प्रभाव थियो। र, त्यसको विकल्पको राजनीति गर्नेहरुले नयाँ पुँजिपति वर्ग खडा गर्नुपर्ने आवश्यकता थियो। गुजरातका गौतम अडानी र मुकेश अम्बानी यही सोचका प्रतिनिधि पुँजिपति हुन्। किनभने आजको वर्तमान विश्व व्यवस्थामा अर्थ बिनाको राजनीति कहीँ हुँदैन।
तर, यति गर्दा पनि आरएसएसलाई अहिले सांस्कृतिक राष्ट्रवादमाथि अर्थराजनीति हावी हुने हो कि भन्ने डरले सताई रहेको छ। त्यसैले अहिले आरएसएसले आफ्ना स्वयंसेवक परिचालन गरेर पुनः सांस्कृतिक राष्ट्रवादतर्फ मुलुकलाई फर्काउन प्रयत्न गरिरहेको छ। सन् २०१९को निर्वाचन भारतको राजनीतिक इतिहासमा धेरै मानेमा अर्थपूर्ण छ। त्यो निर्वाचनले सांस्कृतिक राष्ट्रवादमाथि गुजरातको पुँजिपति वर्ग हावि भयो कि भन्ने बहसलाई सतहमा ल्याई दिएको छ। अर्थात् नागपुरलाई के लाग्न थालेको छ भने मोदीका लागि हामीले जुन जुत्ता बनाई दिएका थियौँ त्यो जुत्ता भन्दा मोदीका खुट्टा ठूला भए। त्यसैले भाजपा भित्र आरएसएसको नियन्त्रण कमजोर हुनु हुँदैन भन्ने बहसले प्रधानता पाउन थालेको छ।
हिन्दूत्वको विचारधारामा लतपतिएको राष्ट्रवाद जसरी आफ्नो उत्कर्षमा छ त्यसले यस भूखण्डमा रहेका छिमेकीलाई कस्तो प्रभाव पार्ने देख्नु हुन्छ? के नेपालसँग त्यो उग्र हिन्दूत्वको राजनीति रोक्ने सामर्थ्य छ?
त्यसलाई रोक्न सक्ने हामीसँग कुनै साधन छैनन् किनभने हाम्रा संस्थाहरु कमजोर छन्। हाम्रा अधिकांश संस्थाहरुको जग हिन्दूत्वमै आधारित छ। के तपाईंले कुनै बैंकमा ताकियाह (मुस्लिम समुदायले लगाउने विशेषखालको टोपीको अरबी नाम। यसलाई ‘कुफी क्याप’ पनि भनिन्छ) लगाएको, लामो दाढी पालेको व्यक्ति देख्नु भएको छ? कल्पना गर्नुस् त हिन्दू ग्राहकले त्यो देख्ने बित्तिकै कस्तो महशुस गर्छ होला। तर, ठाडो धर्के टिका, ढाका टोपी लगाएको व्यक्ति त्यही बैंकमा बस्दा हामीलाई असहज हुँदैन। किनभने हाम्रो मानसिकतामै हिन्दूको वर्चश्व स्वभाविक हो भन्ने लागेको छ। यो कुनै एउटा संस्थाको हकमा भनिएको कुरा होइन।
सबैभन्दा धर्मनिरपेक्ष भनिएको पैसाको कारोबार गर्ने संस्थाको यो अवस्था छ भने अन्य संस्थाहरुको कुरै गर्नु परेन। झनै, न्यायालय, सेना/प्रहरीको कार्यालय र जिप्रकामा त छिर्ने बित्तिकै मन्दीर देख्न पाइन्छ। जुन देशमा घण्ट बजाएर, पूजापाठ गरेर दैनिक प्रशासनको काम शुरु गरिन्छ, त्यसले हिन्दूत्वको विचारधारालाई रोक्छ कि स्वागत गर्छ?
अब जाउँ यसको अर्को आयामतर्फ। के यी संस्थाहरुले नेपालमा हिन्दूत्वको राजनीतिलाई स्वागत गर्दैमा उ बर्चश्वशाली विचारधाराका रुपमा स्थापित हुन्छ? त्यो भने अलिक गारो छ। भारतमा जनजातिको संख्या अत्याधिक न्यून १० प्रतिशतको हाराहारीमा मात्रै छ। नेपालमा जनजातिको संख्या झण्डै ३५ प्रतिशत छ। त्यसमा पूर्ण हिन्दूकरण भइसकेको संख्या घटाई दिने हो भने पनि १६ प्रतिशत हुन आउँछ। नेपालमा गुरुङ र मगर समुदायको अलिक बढी हिन्दूकरण भएको भएपनि राई, लिम्बु, शेर्पा, तामाङहरुको पूर्ण हिन्दूकरण भई सकेको छैन।
जुन देशमा घण्ट बजाएर, पूजापाठ गरेर दैनिक प्रशासनको काम शुरु गरिन्छ, त्यसले हिन्दूत्वको विचारधारालाई रोक्छ कि स्वागत गर्छ ?
त्यस्तै काठमाडौं उपत्यकामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरु हिन्दू नै हुन् भनिए पनि उनीहरुमा खास किसिमको चेतना पाइन्छ। उनीहरु उदार हिन्दू भए पनि हिन्दूत्वको विचाधारालाई अंगाल्ने गरी अघि बढ्छन् भन्ने मलाई लाग्दैन। यो समुदाय झण्डै ५ प्रतिशतको हाराहारीमा छ। त्यसैगरी ५ प्रतिशत मुसलमान र करिब १ प्रतिशतका इसाई धर्म मान्नेहरु छन्। उदार र कम्युनिष्ट विचार मान्नेहरुको संख्या करिब ५ प्रतिशत छ भनेर मान्ने हो भने नेपालको झण्डै एक तिहाई जनसंख्यालाई कट्टर हिन्दूत्वको राजनीति स्विकार्य हुँदैन। त्यसो हुँदा एक तिहाई जनसंख्याको मतलाई कुल्चेर जाने हो भने मात्रै नेपाल पछि फर्कन सम्भव छ। दुईटा अवस्थामा मात्रै यस्तो सम्भव हुने देखिन्छ। पहिलो– जातीय युद्ध दोस्रो– सैनिक शासन। र, तत्काल दुबै सम्भावना देखिँदैन।
नेपालमा जातीय युद्ध हुने सम्भावना न्यून छ किनभने त्यो भारत र नेपालको वर्चश्वशाली समूह दुबैको हितमा हुँदैन। त्यसैले मलाई के लाग्छ भने कसैले आफ्नो प्रयत्नमा मस्जिद र चर्च बनाउँदै छन् भने आम नेपाली आत्तिनु पर्दैन। यदि हिन्दूहरुले आफ्नो धर्मको प्रचार र विस्तार गर्दैछन् भने अन्यले पनि गर्छन। त्यसमा अताल्लिनु पर्ने कुनै कारण छैन। त्यसो भए नेपालका आगामी दिनहरु कस्ता होलान् त? मलाई लाग्छ– नेपाल तत्काल अघि पनि बढ्दैन, धेरै पछि सर्ने सम्भावना पनि छैन।
नेपाल हिन्दू राष्ट्र कायम हुने सम्भावना कत्तिको देख्नु हुन्छ?
नेपाल संविधानतः हिन्दू राष्ट्र नै हो। सनातन धर्म–परम्पराको संरक्षण गर्ने भनेको प्रकारान्तरले हिन्दू राष्ट्र नै हो। त्यसैले यो संविधानलाई शिरोपर गरेर सपथ ग्रहण गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उज्जैनमा रामनामी आडेर कुनै अपराध गरेका छैनन्। उनले त संविधानको पालन गर्नका लागि आफ्ना पाइला मात्र चालेका हुन्। सनातन धर्म–परम्पराको संरक्षण र प्रवर्धन गर्नु भनेको अन्ततः संविधानको रक्षा गर्नु हो। प्रधानमन्त्रीको कर्तव्य पनि त्यही हो। त्यसो भए अप्ठेरो कहाँ पर्यो त? मलाई लाग्छ– आममानिसले नबुझेर अप्ठेरो मानेको हो। मूलतः यो देश हिन्दू राष्ट्र नै हो। जसले यो देश हिन्दू राष्ट्र हुनुपर्छ भनेर हो–हल्ला गरिरहेका छन्, तिनले आफ्नो राजनीति जोगाउन आक्रामक प्रतिरक्षाको खेल खेलेका हुन्।
यो देशमा धार्मिक स्वतन्त्रता छ भनेर कोही भ्रममा पर्नु पर्दैन। धार्मिक स्वतन्त्रता हुन्थ्यो भने गोरु काटेको अभियोगमा आदिवासी–जनजाति जेल जानु पर्थ्यो? धर्म प्रचार गरेको नाममा पक्राउ पर्नु पर्थ्यो? आफ्नो धर्मको पूजास्थल बनाउन अवरोध झेल्नु पर्थ्यो? धार्मिक स्वतन्त्रता आधारभूत मानवअधिकार मध्ये पर्छ तर यो संविधानले त्यो आधारभूत मानवअधिकारको संरक्षण पनि गर्न सकेको छैन। वर्चश्वशाली समूहको प्रवर्धन गर्न तपाईंलाई जति पनि छुट छ तर अल्पसंख्यकको गतिविधी कानुनको बर्खिलाफ छ। यही यथार्थ हो।