प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९:४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए ।
यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए।
उनले खुमलटारस्थित निवासमा पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए भने पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापासँग समेत कुरा गरेका थिए। त्यसपछि प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए।