कालो संसदकालको उदयले नेपालमा छाउँदा
पालो शासन चल्न गो अधमरो काँग्रेसीले पाउँदा ।
नेपाली इतिहासमा असजिलो एउटा कुरा लेखियो
भैंसालोटनमा गएर अहिले प्रत्यक्ष नै देखियो…।।
भन्ने कविताबाट हामीले रविलाललाई चिनेका थियौं, वहाँलाई भेट्नु अघि नै ।
यो उ समयको कुरा थियो, जतिवेला कम्युनिष्टहरु आफ्नो प्रभाव विस्तारका लागि राजतन्त्र र काँग्रेस दुवैलाई एकैपटक प्रहार गर्थे। हामी भरखर विद्यार्थी आन्दोलनमा सामेल भएर वामपन्थी राजनीतितर्फ झुकाव राख्न थालेको समय थियो। यही क्रममा हामीले यस्ता कविता पढ्ने र कण्ठस्थ पार्ने गरेका थियौं। भारतलाई विस्तारवादी र काँग्रेसलाई विस्तारवादको दलाल भन्दै गरिने विरोध अखिलको एउटा पहिचानजस्तो बनेको थियो।
न कसैसँग चर्को वचन न रिस राग। सधैं सरल सधैं सहज । तर विचारधारात्मक रुपमा वर्गवैरीप्रति चर्को आलोचना, पञ्चायत र यसले हुर्काएको विभेद र शोषणका प्रति तिव्र घृणा वहाँका अभिव्यक्ति र रचनाहरुका मुल प्रवृत्ति थिए। हामी पृथ्वीनारायण क्याम्पस स्ववियुमा पदाधिकारी (शिव कुमार पौडेल स्ववियु उपसचिव २०४१) निर्वाचत भएपछि रविलाल गुरुसँग बाक्लै भेट र साहित्यका बारेमा कुरा हुनेगथ्र्यो। रामघाटमा घर बनाएर बस्न थालेपछि वहाँ निरन्तर हिँडेर क्याम्पस जाने र हिँडेरै फर्कने गर्नुहुन्थ्यो। नियमित कोट लगाउनु हुन्थ्यो । एउटै रंगका दुइटा कोट थिए कि उही कोट सधंै लगाउनुहुन्थ्यो थाह भएन तर धेरैवर्षसम्म उस्तै कोटमा देखिनु पनि हाम्रा लागि अनौठो कुरा लाग्थ्यो। आफ्नो जीवनमा परिवार व्यवस्थापन र आयका विच असन्तुलन हुन थालेपछि बल्ल आफुले नै त्यस्को अर्थ बुझ्न थालियो। यसरी रविलालको दोस्रो छवि बनेको छ हाम्रो मानसपटलमा एकजना सरल, सज्जन र सादगी व्यक्तित्व भएका रविलाल अधिकारी गुरु।
पहिले त वहाँ कवि हुनुहुन्थ्यो र गोर्जेली रविलालको छोटकरी रुप ‘गोरला’ का नाममा कविता लेख्नुहुन्थ्यो। पछि वहाँ कविता छाडेर खासगरि साहित्य समिक्षातिर र निवन्ध र नियात्रा विधातिर आकर्षित हुनुभयो। क्याम्पसमा भने प्रायजसो भेट भइनै रहन्थ्यो। अनेरास्ववियुको क्याम्पस प्रारम्भीक कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पनि वहाँलाई प्रशिक्षकका रुपमा बोलाएको सम्झना छ। केही साहित्यीक गतिविधिमा हामी सामेल हुन्थ्यौं। ०४७ मा नेकपा मालेले जनसाँस्कृतिक महासंघ गठन गर्यो। त्यस अगाडि राष्ट्रिय जनसाँस्कृतिक मञ्च थियो मोदनाथ प्रश्रितको नेतृत्वमा। कास्कीबाट यो फोरममा रविलाल गुरु सामेल हुनुभएको थियो केन्द्रीय तहमा।
वहाँ पार्टी संगठनका औपचारिक संरचनामा सामेल भएको जस्तो लाग्दैनथ्यो । गेहेन्द्रेस्वर कोइराला र रघुनाथ अधिकारीसँग गरेको कुराबाट थाहा लागे अनुसार रविलाल गुरु २०३६ तिर पोखरामा तत्कालीन नेकपा मालेले भूमिगत रुपमा गठन गरेको क्रान्तिकारी बुद्धिजिवि संघको शाखामा सामेल हुुनुुहुन्थ्यो । घनश्याम ढकाल, रघुनाथ अधिकारी र रविलाल अधिकारीको कमिटि थियो, वामदेव गौतमले संगिठत गरेको। २०३७ मा केही समयका लागि नेपालगञ्ज सरुवा भएर गएपछि त्योे कमिटि र सम्बन्ध पनि टुटेको थियो। त्यसपछि रविलालले पार्टीको औपचारिक संगठनमा काम गरेको थाहा छैन। तर वहाँकी पत्नी सम्झना अधिकारी भने संगठनमा क्रियाशिल रहनु भयो निरन्तर।
नेकपा मालेका भूमिगत नेताहरुको शेल्टर भने वहाँको घरमा संधै थियो। २०४५ तिर मालेका भूमिगत नेता कमरेड किरण गुरुङले पर्वत फलेवासकी कृष्ण श्रेष्ठसँग विहे गरेपछि वहाँको डेरा पनि रविलाल अधिकारीकै घरमा थियो अर्थात भूमिगत रुपमा गरिएको भूमिगत नेताको आवास व्यवस्थाका लागि रविलालको घर सुरक्षित मानिएको थियो। २०४६ तिहारको समयको कुरा हो। कमरेड जीवराज आश्रित र कमरेड मोदनाथ प्रश्रित रविलालकै घरमा शेल्टर लिएर बसेको र हामीसँग भेट भएको सम्झना छ । पार्टीको औपचारिक संगठनमा कतै भएपनि थाहा नहुने र गोपनीयता कायम गर्नुपर्ने समयमा भएको यो भेटले संकेत गर्ने कुरा के थियो भने रविलाल गुरु बाहिर जे जस्तो भूमिकामा देखिएपनि पार्टीका प्रति प्रतिवद्ध र निरन्तर सम्पर्कमा रहनु भएको थियो, पार्टीको भूमिगत कार्यलाई सहयोग गरिरहनु भएको थियो।
पार्टीका प्रतिको यो प्रतिवद्धता वहाँले अन्तिम अवस्थासम्म कायम राख्नुभयो। एउटा बुद्धिजिविका रुपमा वहाँको यो प्रकारको भूमिका हाम्रो मानसपटलमा रहेको वहाँको अर्को रुप हो। वैचारिक प्रतिवद्धता र त्यसलाई मूर्तरुप दिने संगठनको गतिविधिलाई सहयोग एउटा क्रान्तिकारी प्रतिवद्ध लेखक र बौद्धिकको अनिवार्य कर्म मानिन्छ लेनिनवादी परम्परामा। रविलालमा त्यसप्रकारको प्रतिवद्धता कायम थियो। यो बेग्लै कुरा हो कि एमालेको बैचारिक धारमा खिया लाग्दा पनि वहाँले खुलेर आलोचना गर्नुभएन। र कहिल्यै कुनै राजनीतिक नियुक्ति पनि लिनु भएन या पाउनु भएन।
हामी दुवैजना पोखराको माले या अखिल भित्र निरन्तर पुस्तक अध्ययन गर्नेको पंक्तिमा पथ्र्यौं। कहिलेकहिँ वहाँकोमा पुग्दा केही न केही पुस्तक लैजाउँ जस्तो हुन्थ्यो किनभने अनेक पुस्तकको एउट पुस्तकालय जस्तो संग्रह वहाँले बनाउनु भएको थियो। यो पुस्तक पढ्ने बानीले पनि वहाँँंग हामी नजिक हुन्थ्यौं। पुस्तक आदान प्रदान पनि हुन्थ्यो। वहाँले एकपटक शिव पौडेलसँगबाट खुशवन्त सिँहको औरतें लगेर पढ्नु भएको थियो र त्यसलाई छ्या छ्या गर्नुभएको पनि हामीलाई रमाइलो खाले सम्झना छ। सायद यसबारे आलोचना गर्दै कुनै निवन्ध पनि लेख्नु भएको छ।
हामी दुवै राजनीति र जीजिविषाका अनेक झञ्झावत व्यहोर्दै पोखराबाट बाहिर पनि लामो समय बस्यौंं। पोखरा पुग्दा कतै न कतै वहाँसंग भेट जारी नै थियो।
वहाँको निधन पछि तत्कालै हामी बिच शिव पौडेलले वहाँका बारेमा एउटा पूर्ण परिचय र कृति समिक्षा सहितको आलेख लेख्ने सल्लाह भएको थियो। त्यस अनुसार शिवले धेरैजसो रचना संकलित गरेर केहीको समिक्षा पनि गरेर पठाउनु भयो। त्यसलाई यहाँ सामान्य परिमार्जन सहित सामेल गरिएको छ।
रविलालः व्यक्ति र कृति, केही चर्चा
वि.सं. २००२ साल असार १६ गते, तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको निधन गत वर्ष फागुन १६, २०७९ मा पोखरास्थित आफ्नै निवासमा भएको थियो । वहाँका पत्नी सम्झना अधिकारी सहित दुई छोरा र एक छोरी छन्।
गोर्जेकै भाषा पाठशालामा प्रारम्भिक अध्ययन गरेका अधिकारीले २०२१ मा रानीपोखरी संस्कृत पाठशालामा केही समय पढेर २०२२ देखि २०२७ सालसम्म नेपाली संस्कृत महाविद्यालय बनारसमा साहित्यमा शास्त्री तहसम्मको अध्ययन गर्नुभएको थियो । पछि २०३३ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको थियो । प्राध्यापन गरिरहेकै बेला २०५५ सालमा त्रिविविबाट प्रगतिवादी नेपाली साहित्यको विश्लेषणात्मक अध्ययन विषयमा विद्यावारिधी गर्नुभयो । लामो समय पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा नेपाली विषय अध्यापन गरेर सेवानिवृत हुनभयोे । कालिका बहुमुखी क्याम्पस रामबजार स्थापना गर्ने अभियानमा संलग्न रहेर त्यहाँ पनि पढाउनु भएको थियो।
उहाँको मुख्य योगदान दुई ठाउँमा रह्यो । शिक्षक र प्राध्यापकका रुपमा गरेको शिक्षा क्षेत्रको सेवा। र कविता, निवन्ध र समालोचनाका माध्यमबाट नेपाली साहित्यको सेवा। उहाँले वनारसमा रहँदा नै नेकपाका महासचिव कमरेड पुष्पलाल तथा अर्का नेता बलराम उपाध्यायसँग सम्पर्कमा आएपछि कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो (उहाँका सहयात्री रघुनाथ अधिकारीसँग शिव पौडेलले गरेको कुराकानी)। नेकपाको सम्पर्कमा आएपछि कम्युनिष्ट विचार र प्रगतिवादी साहित्यका तर्फ आकर्षित हुनुभएका रविललाले आफ्नो वैचारिक धारलाई कहिल्यै छाड्नुभएन। उहाँका कवितामा प्रष्टसँग वर्गचेतना, सामाजिक क्रान्ती र विद्रोहको आह्वान खुलेर आउँछन् ।
रघुनाथ अधिकारीका अनुसार रविलाल वनारसबाट फर्केपछि गाउँमा तत्कालिन प्रधानपञ्चका शोषण र जालझेलको विरोध गर्न थाल्नुभयो। गाउँमा बस्न नसक्ने भएपछि जीजिविषाको खोजीमा नवलपरासीको वर्दघाट झरेर ऐलानी जमिन कमाउन थाल्नु भएको थियो। खर्च लिन गाउँ फर्केपछि भने गाउँमै निम्न माध्यामिक विद्यालयको प्रअ भएर काम गर्न थाल्नुभयो।
त्यतिबेला गण्डकी धौलागिरी क्रान्तिकारी कम्युनिष्ट दल मालेका नेता पुष्पकमल सुवेदी पनि गोर्जे पढाउन पुग्नुभएको थियो। वहाँको नेतृत्वमा गोर्जेमा हाइस्कुल खोल्न भएका प्रयास स्थानीय अन्तरविरोधका कारण असफल भए। यो कुरा पनि रघुनाथ अधिकारीले जानकारी दिनुभएको थियो।
रविलालमा कविता र सहित्यका प्रतिको रुची भने किशोरवयदेखि नै सुरु भएको पाइन्छ। उहाँले २०१५ सालमा नै बन्ने थियो गोर्जेको डाँडो, एउटा शिक्षक पठाइदेऊ महेन्द्र भन्ने गीत रचेर गाउने गरेको कुरा रोहिणी ढकालसँगको अन्तरवार्तामा बताउनु भएको छ।
यहाँ रविलाल अधिकारीका केही काव्य र समिक्षा कृतिको समिक्षात्मक टिप्पणी गर्ने प्रयास गरिएकोे छ।
१)
गोर्जे भाषा पाठशालामा सँगै अध्ययन गरेका ३ जना साथीहरु टिकाराम अधिकारी, रविलाल अधिकारी र बाबुराम अधिकारीले विभिन्न विषयहरुमा लेखेका छन्द कविताहरुको संकलन दुःखको आवाज २०२० असोज महिनामा प्रकाशित कृति हो। यसमा रविलाल अधिकारीका चारवटा कविता सामेल छन्। यस कृतिमा लेखकको प्रकृति प्रेम एवम गाउँघरका दुःखका कथाव्यथाहरु प्रस्तुत भएका छन्। यो संकलन प्रकाशित हुँदा रविलाल जम्मा १८ वर्षका हुनुहुन्थ्यो।
२)
महाभारत महाकाव्यका पात्र एकलव्यलाई विषयवस्तु बनाएर लेखिएको एकलव्य लघुकाव्य रविलाल अधिकारीको तेस्रो रचना हो। ०३५ मा छापिएको काव्यमा सिद्धिचरण श्रेष्ठको शुभकामना र लेखकको भूमिका पनि छ। शार्दुलविक्रिडित छन्दमा लेखिएका ११४ श्लोक रहेको लघुकाव्यमा शिक्षा लिन आफुसामू आएको वालकलाई गुरु द्रोणाचार्यले तल्लो जातको भनी शिक्षा दिन अस्विकार गरेपछि द्रोणाचार्यको मूिर्तलाई गुरु थापना गरी धनु अभ्यास गरेर एकलव्य धर्नुविद्यामा निपुण भएको, पछि एकलव्य द्रोणाचार्यका शिष्य अर्जुन भन्दा विद्यामा अगाडि रहेकाले अर्जुनलाई हार्न नदिन द्रोणाचार्यले छल गरेर एकलव्यको औंला काट्न मागेको र यस्ता छलकपट मानिन्न भन्दै एकलव्यले विद्रोह गरेको सन्दर्भ राखेर अन्यायका विरुद्ध विद्रोह गर्न अपिल गरिएको छ। काव्यको एकठाउँमा लेखिएको छः
अन्धाएर समाजका हकहरु खोसेर गर्दै छल
देखाएर उदारता सरलता कालो लुकाई तल ।
लिन्छन् शोषक नीति पोषक कला सामन्तका छाउरा
कैल्यै बेहकमा अँगाल्दिन म क्यै माया दयाका कुरा ।।
यसले रविलालमा सामन्तवाद र विभेदकारी राज्य तथा समाज व्यवस्थाका विरुद्ध विद्रोह चेत हलक्कै बढेको देखाउँछ । यो वहाँ नेकपा र मार्क्सवादी साहित्यको सम्पर्कमा आएपछिको बैचारिक धारको शशक्त अभिव्यक्ति हो।
३)
आफ्नी आमा राधिका देवी अधिकारीको २०४० सालमा दुःखद निधन भएपछि रविलाल अधिकारीले आमाको सम्झनामा एउटा शोक काव्य लेख्नु भएको छ। विसं २०४१ सालमा प्रकाशित भएको बोल्नुपर्ने कुरा भनेर छन्द कवितामा नै आफ्नो भनाइ राख्नु भएकोछ। पहिलो श्लोकमा उहाँ लेख्नुहुन्छः
रोएँ मातृ वियोग खप्न नसकी धोको रुनैमा रह्यो
पोखी आँसु सधैं रुँदा कलममा यो काव्य पैदा भयो
सम्झी ती दिन दुःखका विरहले आफै म यो गाँउछु
हल्का हुन्छ वियोग भार कहँदा आनन्द भेट्टाउँछु
स्वार्थका आँसु, ब्यथाको कथा, मनको धोको, पौरखको पाठ, विवशता, पिँजराको पँक्षी, नर्विसने इतिहास, चाखिलो मरण, टुटेको नाता, रुने रहर गरी १० वटा शिर्षकहरुमा आमाको महत्व, मातृत्व, आमाले भोगेका दुःख कष्टहरु, आदिको बारेमा मनका कुरा काव्यात्मक शैलीमा उतारिएका छन् प्रस्तुत किर्तिमा । अगाडि लेखिएको छः
पौरखी थियो आमको चोलाः लच्छिनका थिए हात
सोचको थियो विचार राम्रो धर्मका थिए वात
यी सबै गए बाँकी छ यहाँ आँसुको सहारा !
ज्यूनु नै पर्ने नभएसम्म कालको आहारा ।
शोक काव्य भएकाले यसमा निराशावादी या आदर्शवादी भाव देखिएपनि वहाँले आमाले गरेका संघर्षहरुको व्याख्याका क्रममा समाजको रुढतामाथि प्रहार गर्न भने छाड्नु भएको छैन।
४)
२०४४ असारमा पोखराबाट प्रकाशित प्रगतिवादी नेपाली कविता इतिहास र विश्लेषण समिक्षा कृति पुष्पकमल सुवेदीमा समर्पित गरिएको छ । पुस्तकमा कवि युद्धप्रसाद मिश्रले प्रगतिवादी साहित्य के हो भन्ने धारणा सहित महत्वपूर्ण भूमिका लेखेका छन्। यसमा लेखकले मुख्यतया तीनवटा खण्डमा आफ्ना विचार प्रस्तुत गरेको पाइन्छ।
पहिलो खण्ड प्रगतिवादी कला र साहित्यबारे छ। यस खण्डमा प्रगतिवाद सम्बन्धी दर्शनको आधारका रुपमा द्वन्दात्मक र ऐतिहासिक भौतिकवाद सहित मार्क्सवादको व्याख्या गरिएको छ। कला साहित्य सम्बन्धमा मार्क्स, एंगेल्स, लेनिन, गोर्की, माओका विचारहरुको समिक्षात्मक प्रस्तुति छ। प्रगतिवादी साहित्य र कलाका विशेषतालाई १० वटा बुँदामा समेटिएको छ।
यसैगरि प्रगतिवादी दृष्टि र कविता शिर्षकमा कविता विधाका बारेमा प्रगतिवादी धारणाको विश्लेषण समेटिएको छ। नेपालमा प्रगतिवादी कविताको ऐतिहासिक चरण र विकासक्रमबारे लेख्ने क्रममा प्रलेकसंघको गठन तथा राजनीतिक आन्दोलन र प्रगतिवादी कवितामा त्यसका प्रभावहरु समेटिएका छन्। यसैगरी पुस्तकमा नेपाली कविहरु हृदयचन्द्र सिँ प्रधान, श्यामप्रसाद शर्मा, गोकुलप्रसाद जोशी, देविप्रसाद किसान, भूपि शेरचन, नेत्रलाल अभागी, युद्धप्रसाद मिश्र जस्ता कवि र उनीहरुका कविताको परिचय दिइएको छ। यसैगरि समकालीन कविहरु मोदनाथ प्रश्रित, गोविन्द भट्ट, दुर्गालाल श्रेष्ठ, रामचन्द्र भट्टराई, दिल साहनी, जनकप्रसाद हुमागाइँ, आनन्द देव भट्ट, राजीव, मेघराज मञ्जुल, विक्रम सुव्वा, विमल निभा, ललिजन रावल, धर्मोगत शर्मा तुफान, नुमराज बराल, नकुल सिलवाल आदिको चिनारी र रचनाबारे चर्चा गरिएको छ।
प्रस्तुत कृति प्रगतिवादी कला साहित्यका सैद्धान्तिक अवधारणा सहित मार्क्सवादी दृष्टिकोण र नेपालमा प्रगतिवादी साहित्यको इतिहास र समकालिन अवस्थाको बारेमा संग्रहणीय पाठ्य¬–सामग्री हो।
५)
विसं २०३२ साल देखि २०४१ सालसम्म लेखिएका कविताहरुको सङ्गालो परदेशीलाई पत्र वहाँको अन्तिम काव्य कृति हो। जम्मा ४४ पृष्ठको पुस्तकमा छ वटा शिर्षकमा कविले विभिन्न विषयमा आफ्ना धारणाहरु राखेको पाइन्छ ।
कवितामा नेपाली समाजमा विद्यमान अन्याय, विभेद, उत्पीडन, असमानताको चित्रण गर्दै त्यसका विरुद्ध एकजुट हुन र संघर्ष गर्न अपिल छ। विद्रोहलाई स्वर दिइएको छ। यसैमा सामावेश भएको र गाउँमा रहेकी आफ्नी पत्नीलाई सम्वोधन गरिएको सम्झनालाई चिठी शिर्षकको कवितामा नारी जागरणका पक्षमा लाग्न गरेको अपिल सामेल छ। यसले रविलाल अधिकारीमा सामाजिक क्रान्तिमा महिलाहरुको सहभागिताको अनिवार्यता छ भन्ने चेतना प्रवल रहेको तिर संकेत गर्छ।
६)
मोदनाथ प्रश्रितको भूमिका सहित २०४६ मा प्रकाशित भएको हर्के लघु काव्यमा श्रमजीवि वर्गको शोषणका ऐतिहासिक चरणहरुमा कसरी हर्केजस्ता पात्रहरुको शोषण गरेर ठालुहरुले रगत चुसे भन्ने विषयलाई ऐतिहासिक भौतिकवादी दृष्टकोणले समाज विकास क्रमको व्याख्या सहितको चर्चा गरिएको छ। दासयुग देखि सामन्तवादी र पुँजीवादी युगसम्म आइपुग्दा श्रमजीवि हर्केहरुमाथि भएको अत्याचारको विपक्षमा वर्ग संघर्षका लागि अपिल गर्दै श्रमीक अधिकार सहितको नयाँ युगको आह्वान यसमा छ। प्रगतिवादी साहित्य र मार्क्सवादी लेखकबाट गरिने वर्ग चेतना सहितको साहित्य र कला सिर्जनाको सन्दर्भमा यो रचना महत्वपूर्ण रहेको छ। तलको पंक्ति हेरौंः
नेपाली परिवेशमा कृषक नै हुन् देशका तागत
तैंले पर्छ अँगाल्न शक्ति उनको एउटै बनाई मत ।
तेरो वर्ग सचेतता र उनको सामथ्र्य डल्लो परे
एउटा अग्र अजेय शक्ति बुझी ले जन्मन्छ जन्मछ रे ।।
यो रचनासम्म आइपुग्दा रविलालमा तत्कालीन नेकपा मालेले लिएका नीति, भूमिगत रुपमा गरिएका संगठन खुला रुपमा उठिरहेका आन्दोलनहरुबाट आर्जित शक्तिले नेपालमा एउटा जनक्रान्ति निकट ल्याउँदै छ भन्ने विश्वास बढेको देखिन्छ। सामान्यतया कतिपय लेखकहरु अनुकुलताका क्रान्तीकारी हुन्छन्। वर्गसंघर्ष चर्किदै जाँदा र प्रतिरोधले शक्ति आर्जन गर्दा क्रान्तीकारी बन्ने र प्रतिक्रियावादीहरु शक्तिशाली बन्दा मलुवा हुँदै जाने र आत्मसमर्पण गर्नेहरु प्रसस्त पाइन्छन्। तर रविलालमा कम्युनिष्ट विचार र दलको सम्पर्कमा आएपछि मृत्युपर्यन्त एउटा प्रतिवद्ध प्रगतिवादी चिन्तक र लेखक तथा समिक्षक देखिन्छ। उहाँले गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ, जनसाँस्कृतिक महासंघ जस्ता संस्थामा रहेर आफुले विश्वास गरेको दल र आन्दोलनको पक्षमा काम गरिरहने र नयाँ पुस्तालाई दिक्षित गर्न प्रयास गरिरहनु भएको थियो।
यहाँ रविलालका समग्र कृतिहरुको समीक्षा गरिएको नभै केही प्रतिनिधिमूलक रचनाको चर्चासम्म गरिएको हो। रविलालका रचनाले उहाँको विचार निर्माणको ऐतिहासिक प्रक्रिया र सन्दर्भहरु, नेपाली समाजको चरित्र चित्रण, समाजमा विद्यमान विभेद र शोषणको राजनीति र त्यसका विरुद्ध समाजवादी क्रान्तिको सपना देखाउने काम गर्छन्। रचना वर्गचेत सहित मार्क्सवादी सौन्दर्यवोधले उज्यालिएका छन्।
रविलाल अधिकारी नेपाली प्रगतिवादी साहित्य र समालोचनाका क्षेत्रका महत्वपूर्ण स्रष्टा र द्रष्टा हुनुहुन्थ्यो। किशोर अवस्थामा लेखिएको प्रारम्भिक रचनाहरुमा बाहेक कम्युनिष्ट विचार र पार्टीको सम्पर्कमा आएपछिका रचनाबाट नेपाली प्रगतिवादी साहित्य र मार्क्सवादी राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुगेको छ।
यसैले पनि भन्न सकिन्छ रविलाल अधिकारीको निधन नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा एउटा अपूणरणीय क्षती हो।
रविलालले आफ्नो मृत्युको समय आफै तय गर्नुभयो। उहाँ पछिल्लो समय क्यान्सरले ग्रस्त हुनुहुन्थ्यो। लामो समय दुःखाइ र पिडा सहँदै उपचार गरेको भएपनि पछिल्लो समय रोग निको नहुने तर खर्च बढिरहने चिन्ताले पनि उहाँलाई लखेटेको हुनसक्छ। मृत्यु रोज्नु अघि उहाँले परिवारलाई विभिन्न कुरा गर्दै आफ्नो जीवनका सीमा र उपलब्धीका विषयमा जानकारी गराउने, आफ्नो जीवनको कर्तव्य सकिएको भन्दै आफ्नो अन्तिम समय आएको संकेत दिने गर्नुभएको पनि रहेछ। मूलतः आफुले व्यहोर्नुपर्ने पीडा र आफ्ना कारणले परिवारका सदस्यले व्यहोर्नुपर्ने दुःख अप्ठेरोबाट मुक्तिको बाटो स्वेच्छिक मरण हो भन्ने निष्कर्षमा उहाँ पुगेको जस्तो लाग्छ।
रविलाल अधिकारी एकजना सज्जन, मार्क्सवादी विचारप्रति प्रतिवद्ध तथा सरल जीवनका धनी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले कविता, नियात्रा र समालोचनाका माध्यमबाट प्रगतिवादी नेपाली साहित्यलाई महत्वपूर्ण गुन लगाउनु भयो। आफ्नो आदर्श र जीवन शैलीका बीच तादात्म्य राख्ने प्रयास गर्नुभयो। उहाँको निधनले प्रगतिवादी नेपाली साहित्य जगतले एकजना सक्रिय लेखक तथा समीक्षक गुमाएको छ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।