कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्। ‘डिपिक्सन’ नाम दिईएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएकाछन्। १७ वर्षदेखि कार्टुन बनाईरहेका मिश्रले तीन हजार भन्दा धेरै कार्टुन कोरेका छन्।
कार्टुनिष्ट क्लबका अध्यक्ष तथा कार्टुनिष्ट बासु क्षितिज, पूर्व अध्यक्ष अविन। कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक उमेश चौहान, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाईनखबर डटकमका सम्पादक बसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन्।
कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो।’
प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखिएकाछन्। पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।
कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। उनी भ्नछन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ। तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न आईपुगेको छु।’
‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकाम प्रकाशित हुन्छन्। कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुर्याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजिको सुरुवात गरेकाछन्।
‘यो प्रदर्शनी कार्टूनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोमल र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टूनलाई पुच्याउने रहर हो। कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने।
कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन मिश्र। प्रदर्शनी १४ माघसम्म चल्नेछ।