Date
आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025
Sunday, May 18, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सपना, शहर र सकस

यद्यपि हेराइको मर्म गहिरो थियो। तँ कसरी घाइते भइस? त्यसमाथि नाकमा चोट? अहँ ! हुनै सक्दैन। पिट्नु, कुटनु, थर्काउनु हेप्नु, ढाट्नु तिमीहरुका लागि त सामान्य होइन र? तिमीहरुको त रगतमै हिंसा व्याप्त हुन्छ, होइन र? कैयौं प्रश्नसूचक आवाजहरु आँखाका माध्यमबाट कानमा गुञ्जिरहे झै भान भयो।

हसिना बस्नेत हसिना बस्नेत
मंसिर ३०, २०८०
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्मृतिकथा:

    सपना, शहर र सकस 

    जीवनको उत्तरार्ध्दतिरको कुनै समय मेरा हजुरबाको दिनचर्या बिहानदेखि साँझसम्म पिढिँ रुँगेर बस्नु, आँखाले भ्याइन्जेल वरपर नजर डुलाउनु हुन्थ्यो। हजुरबाका मुखाकृतिमा पोतिएका धर्सा अनेकौ अनुभव, सुखदुःख र उमेरले परिपक्व लाग्दथे। उनको नाके डाँडीमा खस्ला खस्ला झैं अडिएको, सेतो फ्रेममा कालो डोरी बाधिँएको मोटो चश्मा मेरा आँखा वरपर यद्यपि घुमिरहन्छ। उनले बाँचेको समय, पैतालाले नापेको डोब र मैले बाँचेको समय अनि मेरा पैतालाले नापेको भुगोलको नक्सा उही रहेनन्। यद्यपि उमेरको खुडकिलो उक्लदै जादा कतिपय सन्र्दभहरु हजुरबासँग जोडिन आइपुग्छन्। चश्मा लगाएर काम गर्नु आजभोलि मेरो नियति बनेको छ। जसै चश्मा पहिरेर दर्पणमा मुहार नियाल्छु, निधारको टिकी सोझ्याउँछु, हल्का बाङ्गो नाकेडाँडीमा अडिएको चश्माले मेरो मानसपटलको अन्तरकुन्तरमा धुमिल भैसकेका ती दिनका यादहरु पुनः स्मृतिमा सलबलाउन थाल्दछन्।

    हरेक मान्छेले आ–आफ्नो परिस्थिति र परिवेश माथि अडेर सपना देख्ने रहेछन्। मेरा पुर्खाले संङ्गालेको थातथलो छाडेर पराया घर पुगेपछि मेरा सपना मात्र मेरा रहेनन्। मेरा सपनासँग मेरो परिवार, समाज र देश समेत जोडिए।

    युरोप, अमेरिका, अष्ट्रेलिया या खाडीमा पसिना बगाउनु त्यहाँ पुग्ने सपना देख्नु हाम्रो मुलुकका कतिपय युवाका लागि बाध्यता या रहर हुन सक्छ। तर मेरो लागि युरोप पुग्नु रहर भन्दा बढि केही थान सपना पुरा गर्ने बाध्यता थियो। काम गरिरहेको निजी विद्यालयमा भोगेको श्रम शोषणबाट हलाक परेर उता गएपछि जस्तोसुकै काम गरेर केही गरुँला भन्ने इख बढि थियो।

    सन् २००८ मे महिनाको घमाइलो दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सपरिवार उडेकी म भोलिपल्टको धमिलो दिनमा कोपनहेगन एयरपोर्टमा उत्रिएँ। बादल माथिमाथि उडिरहँदा मनमा उत्सुकता कम जिम्मेवारीबोधको भारीले बढतै थिचिरहेथ्यो। नितान्त फरक परिवेश। फरक भुगोल। भिन्न समाज, भाषा संस्कृति। डाँडाकाँडा र हिमालले अँगालो मारिरहेको पोखरा शहर छाडेर कोपनहेगन पुग्दा मेरा नजर क्षितिजदेखि क्षितिजसम्म फैलिएका सम्म परेका जमिन तथा समुन्द्रको अदभुत दुनियाँमा केही क्षण विलाए। फेवाताल जीवनमा मैले देखेको ठूलो ताल थियो। तर दृष्टिमा न कुनै हिमाल थियो न पहाड। सपनामासम्म नचिताएको विकास, देखिरहेको भन्दा भिन्न वैभव झुल्काउने हरेक चिजले चखभूत तुल्याए। अन्जान मान्छेको शहर। स–साना केटाकेटी। विद्यार्थी श्रीमान। विविध व्यवस्थापनमा खटाई उत्तिकै थियो। पुगेपछि केही दिन सबै सबै नौलो लागिरह्यो। अन्ततः नयाँ परिवेशमा घुलमिल नभई धरै थिएन।

    भर्खरै हिउँद सकिएर बसन्तको लाली चढदै थियो। बोटबिरुवामा पालुवा लाग्ने तरखर थियो। ताजा हिउँ नदेखिएता पनि बासी हिउँका अवशेषहरु भुइँतिर कताकति मेटिएकै थिएनन्। बाहिर निस्कँदाको ठिहिरो अनि चिसो हावाको झोक्काले घरीघरी चुटिरहने। केही कमाउनु, जोड्नु त्यहि बहानामा आफ्नो र सन्तानको भविष्य सुरक्षित पार्नु त्यहाँ बसिन्जेलका दुईढाई वर्षको उद्देश्य थियो। पुगेपछि तत्काल गरिहाल्नु पर्ने काम केटाकेटीको स्कुल खोज्नु थियो। त्यसपछि आफ्ना लागि काम।

    काम नभेटिन्जेउल यो या त्यो बहानामा समय र ठाउँको सदुपयोग गर्दै शहरमा, पार्कमा, घाटतिर, समुन्द्रको छेउछाउ भौतारी रहें। फुर्सदका समय मनमा अनेक विचारहरु आउँदै समुन्द्रको छालझै उसैगरी निमेषभरमै हराउँदै गरिरहन्थे। शहरका मूल सडकतिर देखिने प्रायः जसो रेष्टुरेन्ट, होटलतिर काम पाउन सकिन्छ कि भन्दै महिना दिन जति भौतारी रहें।

    डेनमार्क सन् २०२३ को तथ्याङ्क अनुसार संसारकै दोस्रो खुशी मुलुक। निवृत्त जीवनमा संसार भरकै खुशी महिला बस्ने ठाँउ। ज्यालामा समानता। काममा सम्मान। न कामलाई सानो, ठूलो मान्ने मानसिकता। खोज्दै गर्दा यस्ता अन्य विशेषता जोडिन पनि सक्लान्। गर्मी याममा आधारातसम्म उज्यालै। न रात परेको अनुभूति, न दिन ढलेको आभास। जहीँतहीँ चमक धमक। त्यहाँको सिस्टमका कुरा बिस्तारै बुझिँदै गए।

    अन्ततः ठूलै कसरतपछि काम मिल्यो। मलाई काम सिकाउने केटी थाइल्यान्डकी “फि” थिई। म न थाइ न डेनिस भाषा बुझ्थें। न ऊ अंग्रेजी या नेपाली बुझ्थी। आखिर शब्द नबुझे पनि ती शब्द मार्फत फी ले भनेका कुरा बुझ्न करै लाग्थ्यो। बातचित गर्न, काम सिक्न भाषा महत्त्वपूर्ण रहेनछ। म कहिल्यै नगरेको काम सिक्दै थिएँ। शारीरिक काम भएकाले शुरुताकाका भोगाइ कम्ति पिडादायक थिएनन्। गर्नैपर्ने बाध्यता। सक्नैपर्ने काम। मिनट मिनटको हिसाबमा खटाइ। आफ्नै शरिर मेशिन सरी चलेको भोगाइ। म नयाँ जिन्दगीमा अभ्यस्त हुँदै थिएँ। त्यो समयकी मेरी गुरु फी ले मलाई अनेक कुरा सिकाई। बिस्तारै म काममा पोख्त हुँदै गएँ। ऊ सँगको मेरो सम्बन्ध मात्र काम सिक्नु र सिकाउनुमा सिमित थियो।

    कुनै समय समाजशास्त्रमा डिग्री सकेपछि पिएन क्याम्पसतिर लेक्चरर बनेर बरालिने मेरा सपना अब बासी भैसकेका थिए। हरेक दिन पढाइ सकेर निस्कदा क्याम्पस गेटतिर चियागफ गरेर देशबिदेशका बहस छाट्ने प्राध्यापकहरु देख्दा आफु पनि कल्पनामा बेला बेला डुबुल्की मार्थें। उसो त मेरा लेक्चरर बन्ने सपना निजी विद्यालयमा समेत मुस्किलले काम भेटेपछि उहीबेला तुहिएका थिए। मान्छेका सपना, समय र परिवेश अनुसार परिवर्तित हुदै जाँदा रहेछन्। यो शहरमा आईसकेपछि म मेरा सपना र यथार्थ बिचको दूरी देखेर जिल खाएँ। तैपनि ठाम अनुसारको काम। यहाँ मैले गर्न सक्ने भनेकै शारीरिक श्रम थियो। श्रम गर्नु, पसिना बगाउनु संसारकै सबैभन्दा सुन्दर पक्ष हो भन्दै पारिश्रमिक हेरेर चित्त बुझाउँथें।

    म लगायत अरु १२–१४ देशका २४–२५ केटीहरु डेनिस बोसको अन्डरमा रहेर काम गर्थ्यौं। म्यासेडोनियाकी लिजिना, चाइनाकी हुवाङ, पोर्चुगलकी इशाबेल, श्रीलङ्काकी मान्दरी र म प्रायः एउटै फ्ल्याटमा काम गथ्र्यौ। सबैका आ–आफ्नै सपना, कथा व्यथा फरक फरक थिए। एउटै प्रकृतिको काम गरेकाले हामीबिच कामका साथै अन्य कुराहरु पनि शेयर हुनु स्वभाविक हुन्थ्यो। त्यो समय म एघार मिनट भित्र कसरी काम निप्टयाउने, छिटो काम गर्न के के कुरामा ख्याल गर्ने, कसरी सुपरभाइजरलाई खुसी पार्ने आदि ईत्यादि कुरामा घोत्लीरहन्थें। किन म चाइनाकी हुवाङ र लि झैं, पोर्चुगलकी ईशाबेल झैं छिटो काम गर्न सक्दिन भनेर सोचिबस्थें। उनीहरुको सिकाइको गति, प्रकृति र हाम्रो काम गर्ने गति, प्रकृति नै भिन्न रहेछ। बिस्तारै मेसो पाएँ।

    समय आफ्नै गतिमा चलिरहेको थियो। कोपनहेगन पुगेको एक वर्ष चार महिना बितिसकेछन्। बिस्तारै म शनिबार, आइतबार समेत काम खोज्न थालें। भन्नेहरु भन्थे यो देशमा वर्क, वुमन र वेदरको भरोसा हुदैन। पाइरहेको भन्दा गतिलो अवसरका निम्ति मानिस सदा प्रयत्नरत रहन्छ। लामो समयसम्म उही काम गरिरहने सोचमा न मेरा साथीहरु थिए न म। त्यहाँ धेरैजसो अनौपचारिक क्षेत्रमा काम गर्नेहरु बिच बिचमा काम छाडथे, फेरि नयाँ शुरु गर्थे। कामको कहिल्यै खडेरी हुन्थेन। हरेक जसो कार्यालय प्रमुख पदमा महिला थिए। आत्मनिर्भर महिलाहरु स्वनिर्णयमा चल्न सक्ने भएपछि आफ्नै पखेटामा स्वतन्त्र बिचरण गर्दा हुन्। युगौदेखि उनीहरुलाई कसैसँग दबिएर, हेपिएर बस्नु परेको थिएन। त्यहाँको विकास र स्वतन्त्रता देख्दा म मनमनै चकित खान्थें। भरपर्दो सामाजिक सुरक्षा। शान्ति सुरक्षा उत्तिकै। बेरोजगार भत्ता खाएर बाँच्नु सबैभन्दा लाजमर्दो भएको ठाउँ। त्यस्तै वेदरको कुरा गर्दा छिनमै पानी, छिनमै बादल, छिनमै घाम।

    चिसो दिनानुदिन बढिरहेथ्यो। पुनः ओसिलो मौसमको शुरुवात आउँदै थियो। काममा कुदाकुद चलेकै थियो। नोभेम्बरको महिना। शनिबारको कुनै दिन। हतार थिएन। सोफामा बसेर टिभि हेर्दै समय कटिरहेको थियो। दिन बिस्तार बिस्तार ढल्किने सुरसारमा थियो। श्रीमान आफ्नो फिल्डवर्कका सिलसिलामा महिनादिनदेखि नेपालमा थिए। आकाशबाट कपास जस्तै ताजा हिउँ फुस्स फुस्स झरिरहेथ्यो। करिब ३ बजेको हुँदो हो। जीवनमा पहिलो पटक हिउँ खसेको देखेर केटाकेटी सहित मेरा पनि आँखा घरी भित्र घरी बाहिर पुगिरहेथे। छोरा सानो, नानी ठूली थिई। छोराको ध्यान टिभीतिर भन्दा बाहिर भित्र बढि तानिईरहेथ्यो। केटाकेटीको स्वभाव खेल्ने, कुदने, चल्ने त हुने नै भए। मेरै मन पनि वरपर यताउति कुदिरहेको थियो।

    म भान्सामा काम परेर एक्कासी उठन खोज्दा उताबाट हुत्तिदै आएको छोराको टाउको मेरो नाकमा जोडले ठोक्कियो। ठोक्किदा कर्‍याक्क आवाज बाहिरै सुनियो। म असह्य पिँडाले रन्थनिए। तत्कालै अस्पताल जान सम्भव भएन। घाउँबाट रगत नबगेकोले पेनकिलर खाएर सहनुको उपाय थिएन। नजिकै बस्ने एक नेपाली परिवार बाहिर कतै घुम्न गएका थिए। एम्बुलेन्स बोलाएर कि त ईमरजेन्सीमा जँचाउन जानु पर्ने। अन्यथा आफ्नो निजी डाक्टरको एप्वाईन्टमेन्ट लिएर मात्र जान मिल्ने व्यवस्था थियो। म अस्पताल गए रातभर पनि लाग्न सक्थ्यो।

    छोराको अनुहार हेर्न लायक देखिन्थ्यो। बच्चाको मनोविज्ञानमा आफुले अन्जानमा गरेका गल्तीको भय छताछुल्ल देखियो। छिमेकीहरु सबै विदेशी थिए। सबै आ–आफ्नै तालमा हुन्थे। नजिक ढोका जोडिएकी स्वीडिस छिमेकी महिला छोराछोरी सहित कतै घुम्न गएकी थिइन्। नेपालमा जस्तो कसैलाई भनिहाल्नु न त सहज न व्यवहारिक थियो। आफ्नो काम आफै गर्नुपर्ने। अस्पतालमा पनि पालो नआइन्जेल कुर्नु र पर्खिनुको विकल्प थिएन। एउटा अस्पताल या डाक्टर छाडेर अर्को ठाउँ गइहाल्छु नि भन्न सहजै नमिल्ने। सिस्टममा पर्खिनुपर्ने। कहिलेकाही भिन्न सामाजिक, सांस्कृतिक परिवेशका कारण मान्छे अपाङ्ग बन्दो रहेछ। त्यो रात म दुखाइ सँगै देश सम्झेर रातभरि रोएँ।

    अनुहारको केन्द्रमा रहेको अङ्ग नाकमा एक्कासी चोट लाग्नु अकल्पनीय थियो। रात अर्धनिन्द्रामा बित्यो। भोलिपल्ट बिहान ऐनामा हेर्दा नाक हल्का ठाउँ सरेर बाङ्गिएको थियो। आमा, ठूलीआमाहरु कहिलेकाही कुराकानी गर्दा भन्नुहुन्थ्यो “नानी नाक बाङ्गो भएका मान्छे त भाग्यमानी हुन्छन् नि।” भाग्यको कुरा साँचो हो होइन म जान्दिन तर मेरो सिधा रेखामा भएको नाक हल्का बाङ्गियो। उपचार पछि सोझिएला भन्ने आसा भने थियो। भोलिपल्ट केटाकेटी स्कूल पठाएर एप्वाईन्टमेन्ट लिएर निजी डाक्टरको क्लिनिकमा गएँ। एक्स रे गरियो। नाकको कुरकुरे हड्डी कर्‍याक्क भएर अलिकति ठाउँ सरेकाले सानो सर्जरी गरी सोझ्याउनु पर्ने बताइयो। यसको लागि अस्पताल जानुपर्ने भो। हप्ता दिन पछिको पालो पाइयो। पर्सिपल्ट देखि दुखाइ अलिक कम हुँदै गएकोले म पेनकिलर खाँदै काममा जान थालें। घरका मान्छे तीन दिन पछि नेपालबाट फर्किए। नाकको बारे बेलिविस्तार लगाएँ। उनको पनि आफ्नै व्यस्तता थियो। समयमा पढाइ सकेर नेपाल फर्किनु पर्ने बाध्यता थिए।

    स–सानो सर्जरी भनिएकोले एक्लै अस्पताल गएँ। ८–१० मिनटको कुराइ पछि डाक्टर मेरो नाम लिदै मुस्कुराउदै हात मिलाउन आइपुगिन्। के, कसरी, कहाँ, कहिले जस्ता सामान्य सोधपुछबाट उपचार शुरु भयो। डेनिश भाषामा उनीहरु सामान्य छलफल गरे। जे भएको थियो बताएँ। छोराको टाउँको नाकमा ठोक्किएको बताइरहँदा मलाई उनीहरुले विश्वास नगरेको आभाष भैरहेथ्यो। मलाई सुनिरहदा डाक्टरका आँखा बढ्तै जिज्ञासु देखिए। नाक ठोक्किए पछि छोरालाई के भन्यौ? छोराको व्यवहार कस्तो थियो? श्रीमान के गर्छन्? उनको तिमी प्रतिको व्यवहार कस्तो छ? आदि ईत्यादि प्रश्नका वर्षा भए। उनीहरुको देश छिरे देखिन म कति पटक जँचाउन गएँ? के गर्छु? कहाँ बस्छु? सबै सहजै सिस्टमबाट थाहा हुन्थ्यो। ४, ५ महिना पहिले पनि कानमा पानी पसेर समस्या आएकाले म जचाँउन गएकी थिएँ। सायद देखियो होला। लाग्यो होला मैले साँचो बोलिन कि?

    भाँचिदा बिर्सिसकेका पिँडा अपरेसन गर्दा पुनः दोहोरियो। दुःखाइ असहय भएर मुखबाट आवाज ननिस्के पनि आँखाबाट केहीबेर पानी बगिरहे। ३–४ घण्टाको अस्पताल विश्राम पछि प्लास्टर टाइपको ख्वाप्प लगाउन र झिक्न मिल्ने दुई ईन्ची लामो सेतो क्याप (सपोर्ट गर्ने वस्तु) नाक माथिबाट लगाउन दिइयो। क्याप मुख धुँदा बाहेक राती समेत फुकाल्न मनाही थियो।

    तर मेरो नाक एकपटक नभई पटक पटक भाँचियो जब मैले नाकमाथि प्लाष्टर लगाएर हिडन थालें। हरेकका जिज्ञासु दृष्टि मेरा नाकमाथि पर्नु स्वभाविक थियो। ट्रेनमा, बसमा, काम गर्ने ठाउँमा, बस्ने ठाउँ वरपर। नेपालमा जस्तो मुखै फोरेर सोधिन्नथ्यो, साँचो हो। यद्यपि हेराइको मर्म गहिरो थियो। तँ कसरी घाइते भइस्? त्यसमाथि नाकमा चोट? अहँ ! हुनै सक्दैन। पिट्नु, कुटनु, थर्काउनु हेप्नु, ढाट्नु तिमीहरुका लागि त सामान्य होइन र? तिमीहरुको त रगतमै हिंसा व्याप्त हुन्छ, होइन र? कैयौं प्रश्नसूचक आवाजहरु आँखाका माध्यमबाट कानमा गुञ्जिरहे झै भान भयो। यस्तो प्रकारको सांस्कृतिक आघातबाट म केही दिन गुज्रिएँ। आखिर आफ्ना आवश्यकताले केही गर्ने अठोट बोकेर म त्यहाँ पुगेकी थिएँ। जे देखें, जे भोगें, चुपचाप हिडेँ। बाध्यता जो थियो।

    संसारभर जहाँ गएपनि आकाश उस्तै, जूनतारा र घाम उस्तै। मानिसलाई चाहिने सामान्य कुराहरु पनि उस्तैउस्तै नै हुँदा रहेछन् तर “मन” उस्तै नहुँदो रहेछ। एउटै देशभित्र विविध भाषा, समाज, संस्कृति, भिन्न भुगोलमा हुर्केका हामीलाई फरक संस्कृति, समाज र भुगोल प्रति सदैव आदर सम्मान रहन्छ। एक अर्काप्रति श्रद्धाभाव रहिरहन्छ। हाम्रो हृदय खुला छ, मन विशाल छ। विश्वबाट रङ्गभेद हटेर काला र गोरा बिच युद्ध समाप्त भएको कतिका वर्ष भइसक्यो। विश्वव्यापीकरणका कारण सारा विश्व एक गाउँ भएको छ। एक ठाउँका मान्छे अर्को ठाउँमा सहजै आवत जावत गर्दछन्। समाज, संस्कृति साटिन्छन्, परिवर्तन हुन्छन्। तैपनि युरोप अमेरिकाले नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई हेर्ने आँखा यद्यपि किन फरक होलान्? यो देशका हरेक युवालाई बिदेशिनु पर्ने बाध्यता हो कि रहर? संसारका कैयौ मुलुक पुगेका नेपालीले कति बिभेद, अन्याय सहनु पर्दो हो? त्यो हाम्रा देशका राजनीतिज्ञ र नीतिनिर्माताहरुले नै बुझुन्। कैयौ दिन यस्ता अनेकौं प्रश्नले मन विचलित बनाई रहयो।

    नाक भाँच्ने अर्थले साँच्चिकैको नाक नभाँचिदा पनि नेपाली समाजमा बिभिन्न विम्वात्मक शैलीका कथा सुनिन्छन्। समाजको सौन्दर्यसँग हाम्रो नाक जोडिएको पाइन्छ। सानामा कतिपय चिनेजानेकाले “नाक त दुरुस्तै बाउकै ल्याईछे” भनेर भन्दिदा फुरफुर पर्ने म ऐना हेरेर बेला कुबेला मस्कन्थें। नेपाल फर्केर आएको पनि आज दशक बितिसकेछ। हजुरबुवाले टिका लगाएर आशिर्वाद दिँदा “आफ्नो कुलको नाक राखेस् है नानी” भन्नुहुन्थ्यो। गाउँमा अन्तरजातीय विवाह गरेका जोडीको उदाहरण दिदै फलानाकी छोरी या छोराले नाक भाँचे भनेर वर्षौ कुरा गरेको सुनिन्थ्यो। नाकले मानिसको संस्कार, सभ्यता, संस्कृति र समाजसँग जोडिएको गहकिलो विम्व समेत पस्किने रहेछ। आज हजुरबा हामी बिच नभएको वर्षौं भैसक्यो। तर उनको चश्मा सम्झदै म आफ्नो हल्का बाङ्गिएको नाकमा अडिएको चश्मा मिलाउँदै पुराना दिन सम्झिएर कार्यालयका फाईल पल्टाइ रहेछु।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हसिना बस्नेत

      हसिना बस्नेत

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.