मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी सुर्जमान मालिले ललितपुरकी एक महिलालाई ऋणको जालोमा पारेर यौन शोषण गर्ने गरेको समाचार पहिलोपटक नेपाल रिडर्सले प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि प्रहरीले मालिलाई पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यलयले मालि विरुद्ध मानव बेचविखन तथा ओसार पसार(नियन्त्रण)ऐन २०६४ विरुद्धको अभियोग गरेको मुद्धा दायर गरेको थियो। ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलाशसले १३ जेठमा सुर्जमान मालिलाई मानव बेचविखन तथा ओसार पसार(नियन्त्रण)ऐन २०६४ अन्तर्गत दोषी ठहर गरेको हो।
२ असारमा बख्रेलको इजसाले मालीलाई १० वर्ष कैद सजाय सँगै ५० हजार रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपुर्ति तिर्नुपर्ने फैसला गरेको हो। जिल्ला अदालत ललितपुरले मालिका सहयोगी रहेका उमेश शाहीलाई २ हजार रुपैंयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपुर्ति तिर्नुपर्ने सजाय तोकेको छ।
पीडित महिलाले सुर्जमानबाट पाँच लाख रुपैयाँ ऋण लिएकी थिईन्। पाँच लाख रुपैयाँको बदलामा सुर्जमानले महिलाको घरजग्गा कब्जा गरे र बर्षौसम्म यौन शोषण गरे। पाँच लाख रुपैंया ऋण लिएकी उनले दुई लाख रुपैंया त चुक्ता नै गरिसकेकी थिइन्।
बाँकी रहेको तीन लाख रुपैंया र त्यसको ब्याज तिर्ने अवसर पनि नदिइ सुर्जमानले उनीमाथि पटक–पटक बलात्कार गराए। पहिलोपटक सुर्जमान आफैंले उनीमाथि बलात्कार गरे। त्यसपछि उनीमाथि तीन पटकमा चार जनाबाट बलात्कार गराए। जाली तमसुक बनाएर उनको घरजग्गा हत्याए।
सुर्जमानले जालि तमसुक बनाएर महिलाको घरजग्गा कब्जा गरेको विषय ललितपुर जिल्ला प्रशासन कार्यलयले टुंगो लगाउँदैछ।
यो पनि पढ्नुहोस् –
पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार