Date
सोम, जेष्ठ ५, २०८२
Mon, May 19, 2025
Monday, May 19, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यस पालाको तीजः महिला आक्रामक, पुरातनी पुरुषको जलन

एउटा डान्सको स्टेप र महिलाको ‘नो’ शब्दले डगमगाउने यो भालेसत्ताको रजगज कुनै न कुनै तरिकाले धर्ममराउन थालिसकेको छ। आज हाम्रो पुस्ताको प्रश्नले आत्तिएको सत्तामाथि भोलि कयौँ गुणा धेरै छोरीहरूले प्रश्नको वर्षा गराउनेछन्।

मेनुका बस्नेत मेनुका बस्नेत
भदौ १८, २०७९
- सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यो वर्ष पनि तीज त्यतिकै सकिएन, आगामी दिनमा बहस र चर्चाका लागि केही प्रश्नहरू उब्जाएर गएको छ। महिना दिन अघिदेखिको दर पार्टीले संस्कृतिमा आएको परिवर्तन त झल्क्यायो नै, पितृसत्ताबाट उम्कन खोजेको झझल्को दिनेगरी मध्यमवर्गले गरेको “नाच” ले अनेकन प्रश्न उव्जायो। यसपालीका तीज गीतको बजारीकरण अघिका वर्षमा जति हुन सकेन। बजारले चुरापोते बेच्यो, पूँजीवादले घरबाट तीजलाई तारे होटल र पार्टी प्यालेसमा घिसारेर लग्यो। यस वर्ष पनि तीज सुरु नहुँदै सामाजिक सञ्जाल तथा विभिन्न फोरममा व्रत बस्ने वा नबस्ने र ‘पाप पखाल्ने’ वा ‘नपखाल्ने’ लगायतका चर्चाको ट्रोल भयो। तर तीजबारे कुनै निश्चित धारणा बन्न सकेन। एकथरीले संस्कृति विकृत भएको भन्दै चिन्ता गरे, अर्कोथरीले यी विषयमा बहस भएको मन पराएनन्। कोही महिलाहरू एकातर्फ महिला मुक्तिको नारा घन्काउँदै र अर्कोतिर दासत्वका चिनारी चुरापोते र फरियाँ पहिरिदैं तीज गीतमा छमछमी नाचेको पनि देखियो। महिलाहरूले जाने कि जानेनन् जे होस् पितृसत्ताले विभिन्न बहानामा बनाएको दासत्वको भूमरीमा उम्कन महिलाले तीजलाई प्रयोग गर्न खोजे।

    जे होस् तीज अब बदलियो। अब यो महिलाको अलिअलि हातमा पुगेको छ। धेरै पूँजीवादले लान्छ कि भन्ने डर पनि भो। जे होस्! समाजमा तीजमा महिलाहरूले गरेका गीत र नृत्य तथा हावभाउहरूको शशक्तशाली प्रदर्शनले महिलालाई सधैँ दुःखी प्रजातिका रुपमा चित्रित गर्ने, महिला ‘भड्किलो’ वा ‘उत्ताउली’ हुन नहुने, उनी सधैँ सुन्दरता र भद्रताकी प्रतिक मात्रै देखिनुपर्ने र उनी दोस्रो दर्जाका हुन्, उनलाई दास बनाउनुपर्छ र उनी दयाका मात्रै लायक हुन्छिन् भन्ने चिन्तनको जरा उखेलिन थालेको छ। अब पुरुष सत्ताको बचेखुचेको मानसिकताको जरो उखेल्न तर्कवितर्क र बहसहरू भइरहनुपर्छ।

    भन्न त तीजलाई महिलाको चाड भनिन्छ, तर महिलाले गाएका गीत, महिलाले नाचेका दृश्य र महिलाले गर्ने मनोरञ्जन नै तीजका सबैभन्दा बढी चर्चाका विषय हुने गर्छन्। कतिलाई त यिनै विषयले ‘मानसिक रोगी’ नै बनाएको सामाजिक सञ्जालतिर छरपस्ट देखिन्छ। तीज लाग्नु अगावै एउटा गीत अति आलोचित बन्न पुगेपछि गीतको एउटा लाइन हटाइनु परेको र पछिल्लो समय नाचको एउटा ‘स्टेप’ कै कारण सरकारी कर्मचारीहरूले माफी माग्नु परेका घटना पितृसत्ताले महिलालाई महिलाकै नाममा कतिसम्म निषेध गर्छ भन्ने कुराका ज्वलन्त उदाहरणहरू हुन्। त्यसैले ‘महिलाकै चाड’ का नाममा महिलामाथि गरिने निषेध र महिलालाई दिइने दोस्रो दर्जाका विरुद्ध बर्षेनी आवाज उठ्छ र उठाइरहनुपर्छ।

    व्रत के का लागि?
    तीज अर्थात् हरितालिकाको दिन श्रीमानको लामो आयुका लागि भन्दै व्रत बस्ने चलन छ। श्रीमान्‌को आयुका लागि महिला किन व्रत वस्नुपर्ने र यो कुनैपनि हालतमा वैज्ञानिक छैन भन्नेखालका तर्क धेरैले गर्ने गरेका छन्। तर आजभोलि यस्ता विभेदकारी संस्कृतिका पक्षपोषकहरू व्रतको वैज्ञानिक व्याख्या गर्न थालेका रहेछन्। व्रत मानिसको स्वास्थ्यका लागि राम्रो कुरा हो र व्रत श्रीमानका लागि नभएर आफ्नै लागि बस्ने गरिन्छ भन्ने जस्ता उनीहरूका तर्क आधुनिकताको खोलमा आफैमाथि दमनको महिमामण्डन गर्नु सिवाय अरु केही होइन। यदि व्रत बस्नु स्वास्थकर हुन्छ भने वर्षमा एकदिन बस्ने व्रतले कति फाइदा गर्छ होला त ? वा स्वास्थ्यका लागि व्रत बस्नुको पनि नियम हुन्छ होला नि।

    अहिले आएर जतिसुकै तर्क गरेपनि पौराणिक रुपमा श्रीमानको आयुका लागि व्रत बस्ने प्रचलन र यसको पुरुषप्रति महिलाको दासत्वको अर्थलाई ढाकछोप गर्न सकिँदैन। तीजको व्रतलाई चाहे स्वास्थ्यको वाहाना बनाउनुहोस् वा आत्मशुद्धिको, यो व्रत बस्नुको पौराणिक कारण र समाजमा विद्यमान पितृसत्तालाई राम्ररी बुझ्ने हो भने यी वाहाना केवल वाहाना मात्रै लाग्छन्, न की कुनै तर्क।

    श्रीमानको लागि व्रत बस्नु र व्रतको समापनमा श्रीमानको गोडा धोएर पानी खानुले हाम्रो संस्कारमा पुरुषलाई सर्वोच्च र महिललाई निच करार गरेको छ भन्ने कुरा बुझ्न र बुझाउन कुनै कठिन कुरा हो जस्तो लाग्दैन। यो कुरामा वर्षौदेखि बहस हुँदै आएको पनि हो। तर उदेक त त्यतिबेला लाग्छ, जब हातमा स्मार्ट फोन बोक्ने, देश विदेश घुमेका र विज्ञान पढेका शिक्षित महिलाहरू पनि श्रीमानको गोडा धोएर पानी खानुको आफ्नै पारामा महिमामण्डन गर्छन्। यतिमात्रै होइन विश्वकै सबैभन्दा महंगो मोवाइल फोनबाट श्रीमानको गोडा धोएको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्छन्। यसबाट उनीहरू आफूपछिको पुस्तामा कस्तो सन्देश दिन चाहन्छन् वा यसलाई अबको प्रश्न र तर्क गर्ने जमातका अगाडि कसरी ‘डिल’ गर्छन् भन्ने कुरा सम्झिँदा आफैँ रणभूल्लमा पर्ने गर्छु।

    स्वेच्छाको खोक्रो नारा
    केही वर्ष अगाडि एक नायिकाले आफ्ना श्रीमान् (उनी चर्चित पत्रकार हुन्) को गोडा धोएर पानी खाएको भिडियो सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा तहल्का मच्चायो। एकथरीले घरभित्र जे गरेपनि त्यो तहको मान्छेले श्रीमानको गोडा धोएको पानी खाएको भिडियो सार्वजनिक नहुने तर्क गरे भने अर्कोथरी उनको स्वेच्छाको वकालत गर्न थाले। श्रीमानको गोडाको पानी खानु, श्रीमानको लम्बायुको लागि व्रत बस्नु, सिन्दुरपोते जस्ता पितृसत्ताका निशानीमा आफूलाई सुन्दर देखिनु र साउनमा हरिया चुरा तथा पहिरन लगाइनुलाई महिलाको नितान्त व्यक्तिगत रोजाईको विषय बनाइन्छ।

    एकतरिकाले सोच्दा यो स्वेच्छाको कुरा हो पनि। के गर्ने र कस्तो कपडा लगाउने कुरा एउटी महिलाको व्यक्तिगत रोजाइ हुनसक्छ। तर एउटी महिलाको स्वेच्छाको वकालत गर्ने जमातले तिनै नायिकाले नाच्ने तरिकालाई स्वीकार गर्न सक्यो ? तिनीहरूले कसरी नाच्ने र कसरी गीत गाउने कुरा पनि महिलाको नितान्त व्यक्तिगत कुरा हो भन्न किन सकेनन्? के उनीहरूले महिलाकै चाड भनिने तीजमा महिलाकै आवाज ‘नो व्रत प्लिज’ लाई स्वीकार गर्न सके? धार्मिक आस्थाको भरमा अहिलेसम्म टिकिरहेको व्रत परम्परालाई अहिले धेरैले प्रश्न गर्न थाले। तर तिनै स्वेस्च्छाको नारा लगाउनेहरू गलत परम्परामाथिको प्रश्न सहन सक्दैनन्। उनीहरू आफूलाई संस्कार जस्तो लाग्ने कुरामा महिलाको स्वेच्छाको नाम दिन्छन् भने आफूलाई मन नपर्ने कुरालाई विकृतिको संज्ञा दिन्छन्। सायद उनीहरूलाई स्वेच्छा भन्ने कुरा संस्कृति विपरित पनि जान सक्छ भन्ने कुराको हेक्का छैन।

    समाज परिवर्तनशील छ, स्वभाविक रुपमा चाडबाड मनाउने तौरतरिका र रहनसहन परिवर्तन हुनु अनौठो होइन। यसअनुसार सबै चाडपर्व मनाउने तौरतरिकामा परिवर्तन आएको छ। आफूलाई असहज र आपत्ति लाग्ने चाडपर्व र त्यसका रितिथितिमाथि प्रश्न गर्ने वा ‘त्यो मान्दिनँ’ भन्ने अधिकार सबैलाई छ। तर जब महिला बोल्छन्, तब पितृसत्ताको अहङ्कार डगमगाउँछ र महिलालाई निषेध गर्छ। यतिमात्रै होइन, चाडपर्वका नाममा लादिने गरेका थुप्रै विभेदकारी चलनहरू छन् जसले महिलाको अस्तित्व र सम्मानमा धक्का दिइरहन्छ।

    ‘चेलीबेटीलाई दिनुपर्छ’
    तीज लगायत जुनसुकै चाडपर्व र कार्जेहरूमा एउटामा भाष्य व्याप्त छ, ‘चेलीबेटीलाई दिनुपर्छ।’ हिन्दु परम्परामा कुनैपनि अवसर पारेर छोरी चोलीलाई केही थान कपडा, खानेकुरा, भाँडा लगायतका सामग्री गच्छेअनुसार दिने चलन छ। झट्ट सुन्दा यो चलनले हाम्रो परम्परामा महिलालाई ईज्जत दिएको वा सम्मान गरेको जस्तो लाग्ला। तर जब महिलाहरू वंश र अंशका भागिदार रहेनछन् भन्ने कुरा महशुस हुन्छ, तब यी चलनचल्तिले दिलाएका केही थान कपडा ईज्जत नभएर दयाका पोका जस्ता मात्रै लाग्छन्। अझ, कतिपय परिवारमा त ‘माइतीको इज्जत’ को मापक समेत हुँदा रहेछन् यी वस्तुहरू।

    खासगरी तीजको समयमा माइतीले बोलाउने/नबोलाउने, कस्तो खुवाउने र के दिने जस्ता कुराले महिलाको संवेदनालाई यसरी कब्जा गरेको छ कि आजका आत्मनिर्भर महिलाहरूले पनि यो विषयलाई तार्किक रुपमा सोचेको पाइँदैन। टेलिभिजन, युट्युव र टिकटक जस्ता माध्यममा माइतीले चेलीलाई नबोलाएको, खानेकुरामा विभेद गरेका जस्ता सामाग्रीहरू धेरै हेरिन्छन् र मनपराइन्छन्। यसको मतलव आजको समाजले पनि माइती अर्थात् दाजुभाई दाता र चेली अर्थात् दिदीबहिनीको ‘माग्ने वा लिने’ कै हैसियतलाई नजानिँदो पारामा स्वीकार गरिरहेको छ।

    सौभाग्य
    सबै मानिसको जीवन एकैनासको हुँदैन। विभिन्न परिस्थितिको सामना, विभिन्न खालका मानिसहरूसँग मिलन र विछोड जस्ता उतारचढाव सबै मानिसले ढिलोचाँडो भोग्नुपर्छ। कसैका श्रीमतीसँग वियोग हुन्छ, कसैको श्रीमान, कसैका छोराछोरी त कसैका बुवाआमासँग सबैले एक न एकदिन वियोगको सामना गर्नुपर्ने कुरा ध्रुवसत्य हो। आफ्ना प्रिय व्यक्ति गुमाउनु कसैका लागि पनि सह्य हुँदैन। तर समयसँगै मानिसले जस्तोसुकै पीडा र वेदनालाई पनि बिर्सने गर्छ वा त्यो सामान्यीकरण हुँदै जान्छ।

    तर हाम्रो समाजका केही चलनचल्ति र तिनले महिलाको मानसिकता र संवेदनामा पार्ने प्रभावले श्रीमान् गुमाएकी एउटी महिलाको खुशीमा बारबार प्रहार गरिरहन्छ। तीजले त्यस्ता एकल महिलाको अस्तित्वलाई स्वीकार गर्दैन, बरु श्रीमानको आयु र सौभाग्य नै महिलाका लागि सबैभन्दा महत्वपूर्ण कुरा हुन् भन्ने जस्तो बकवास कुराको भजन गाइरहन्छ। यदि यो पर्व महिलाको खुशीका लागि हुन्थ्यो भने यसले सबैखालका महिलालाई किन समेट्न सक्दैन? सौभाग्यका सामग्री चुरापोते, सिन्दुर र टिकाकै महिमामण्डन गरेर र श्रीमानसँगै रहेका महिलालाई ‘सौभाग्यवती’ हुन पाएकोमा गर्व गर्न लगाएर ती चिज लगाउन वर्जित एकल महिलालाई बारम्बर गिज्याउन खोजेको हो यो समाजले ?

    ऋषिपञ्चमी र महिनावारी
    तीजमा हामी महिलाले दर खायौं र छमछमी नाच्यौं। अर्को पटक पनि मनाउँला। तर तीजसँगै जोडिएर आउने अर्को ऋषिपञ्चमी पर्व विस्तारै महिलाले त्याग्न थालेका छन्। अबका दिनमा   यो पर्व “पाप पखाल्ने” किन भन्दै कठघरामा उठ्ने देखियो। यसपटक यसको उत्पत्तिका मिथक व्यापक चर्चामा आयो। एउटी महिला शारीरिक रुपमा परिपक्व भएपछि हुने महिनावारी हुनुलाई पाप सम्झिने ऋषिपञ्चमी इन्द्र भगवानको पाप हो भन्ने बुझे।

    मिथकलाई पुराणमा हालेर बनाइएको कथाअनुसार एक समय देवताहरूका राजा इन्द्रले आफ्ना गुरु विश्वरुपको हत्या गरे। त्यही व्राम्हण–हत्याको पाप धर्ती, जल (पानी) र स्त्री (महिला)लाई बोकाइदिए। इन्द्रको अपराधको पाप पखाल्न महिलाले महिनावारी झेल्नु परो।

    हाम्रा केही पुराणले महिलाको मासिक रक्तश्रावलाई इन्द्रको श्राप ठानेका छन्। अनि त्यही श्रापलाई आधार मानेर महिला/युवती/किशोरीहरू अहिले पनि महिनाको ४ दिन ‘अछुत’ बन्छन्/बनाइन्छन्। त्यो पाप पखाल्नकै लागि प्रत्येक वर्ष तीज पर्व आयोजना गरिन्छ। इन्द्रले जवर्जस्ति बोकाएको ‘पाप’ पखाल्न ३६५ दतिवन र ३६५ स्नान गरेर ऋषिपञ्चमी (सात मूख्य ऋषिको) पुजा गरिन्छ।

    ऋषिपञ्चमी पर्वका पौराणिक कथाहरू खोज्दै जाने हो भने अरुपनि भेटिन्छन्। तर के आजका महिलाहरूले पनि महिनावारी हुनुजस्तो सामान्य शारीरिक प्रक्रियालाई पनि पाप सम्झेर पखालिरहनु पर्ने ? अनि यसलाई चलन वा संस्कारका रुपमा मात्रै आत्मसाथ गर्ने मेरो पुस्ताका दिदीबहिनीहरूलाई मेरो प्रश्नः आफैलाई अपमानित गर्ने र पापिनी करार गर्ने संस्कारमा बिना प्रश्न कसरी तपाईँ रमाइरहनु भएको छ?

    तपाईँ हाम्रो पुस्ता अहिलेको ‘स्मार्ट’ पुस्ता हो। हामी यो संस्कारको पौराणिक कथा सुन्दैनौँ वा सुनिगएपनि यसैलाई ‘पाप पखाल्नु’को कारण मान्दैनौँ होला। बरु हामी आफ्नो स्वास्थ्यको कारण देखाइदिन्छौँ। दत्तिवन जस्ता वनस्पतिको महत्व झल्काइदिन्छौँ। तर, महिनावारीसँग सम्बन्धित सरसफाइ वर्षमा एकदिनमात्रै गर्ने हो र? अहिलेको समयमा सरसफाइका साधन माटो, दत्तिवन र गोबर हुन् र?

    वर्षौदेखि महिनावारीलाई पाप भन्ने र महिनावारी हुँदा भान्सा तथा पूजाकोठामा निषेध गर्ने परम्पराका बीच केही वर्षअघिदेखि मात्रै महिनावारीका विषयमा खुलेर चर्चा सुरु हुन थालेको हो। अब महिनावारी एउटा सामान्य शारीरिक प्रक्रिया हो र महिनावारी हुँदा बार्नु वा नबार्नुको कुनै अर्थ हुँदैन भन्ने अब महिलाले बुझ्न थालेका छन्। तर यो संस्कार र कुसंस्कारसँग गुजुल्टिएर हाम्रो सामू उपस्थित छ। अब यस्ता पर्वका सकारात्मक पक्षलाई कसरी सम्हाल्ने र नकारात्मक पक्षलाई फाल्ने बहस शुरु गर्ने भएको छ। समस्या के देखिदैंछ भने पर्वहरुमा पूँजीवादले सक्रिय हस्तक्षेप गर्दैछ।

    पूँजीबजारको प्रभाव
    समाज परिवर्तन भएसँगै महिलाको रहनसहनलाई पूँजीबजारले गाँजेको कुरामा दुइमत छैन। महिलाले आफ्नो ईच्छाले जस्तोसुकै पहिरन लगाउन र श्रृंगार गर्न सक्छिन्। तर चाडबाड र संस्कारकै नाममा बढी उपभोक्तावाद र बजारवादले आफू कति ग्रसित छु भन्ने कुरा पनि महिला आफैंले महशुस गर्नुपर्छ। चाड अनुसारका रंगका कपडा, कपडाअनुसारका श्रृंगारका सामग्री, त्यही अनुसारका व्याग, जुत्ता जस्ता बजारिया सामग्रीको अति उपभोगले महिलालाई वस्तुकरण गरिरहेको छ। पछिल्ला केही वर्षयता एउटा घरमा भेला हुने सबै दिदीबहिनी तथा आफन्तहरूले एउटै रंग र बुट्टा भएको कपडा लगाउने चलनले यो वर्ष व्यापकता पाएको देखियो। यस्तै पछिल्ला वर्षहरूमा दर खुवाउन बोलाइएका दिदीबहिनीलाई गिफ्ट दिने प्रचलन बढेको छ। यो वर्षपनि यसले निरन्तरता पाउनु कुनै नौलो कुरा भएन। यसबाट हाम्रा चाडपर्वहरूलाई बजारले कसरी गाँजेको रहेछ प्रष्ट देख्न सकिन्छ।

    संस्कृति तथा संस्कारले दिएको दोस्रो दर्जा र आजको पूँजीबजारले गरेको वस्तुकरण दुवैलाई महिलाले तार्किक ढंगले सोच्नुपर्छ। यी विषयमा आफूले कतिसम्म गर्ने र कतिसम्म नगर्ने भन्ने कुराको निर्णय गर्ने जिम्मा महिलाको आफ्नै हो। यसमा दायरा तोक्ने अधिकार कुनै मालिकहरूलाई छैन। एउटा डान्सको स्टेप र महिलाको ‘नो’ शब्दले डगमगाउने यो भालेसत्ताको रजगज कुनै न कुनै तरिकाले धर्ममराउन थालिसकेको छ। आज हाम्रो पुस्ताको प्रश्नले आत्तिएको सत्तामाथि भोलि कयौँ गुणा धेरै छोरीहरूले प्रश्नको वर्षा गराउनेछन्। यस्ता प्रश्नहरू वर्षेनी शक्तिशाली बन्दै गएका छन् भन्ने कुरा यसवर्षका बहस र चर्चामा पनि देखियो।

    तीज र संस्कारले गरेका विभेदमाथि आज भएका विरोध र चुनौतीलाई निषेध गर्दैमा यो रोकिँदैन। भोलि यी विरोधका आवाजहरू झनै माथि उठ्ने छन्, बहस अझै चर्किने छ र एउटा निस्कर्षमा नपुगुन्जेल यस्ता बहसहरू लम्बिरहनेछन्। तथापी यसपटकको तीजमा महिलाहरुले आफूमा गरिएको प्रश्नहरुको प्रति–आक्रामक जवाफ फर्काए, पुरातनी पुरुषहरु जलनका गीत गाइरहे।

    यो पनि पढ्नुहोस् – चाडपर्वलाई पूँजीवादले कब्जा गर्दैछ 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      काजक्रिया, धर्म संस्कृति र भौतिकवादी दृष्टिकोण

      काजक्रिया, धर्म संस्कृति र भौतिकवादी दृष्टिकोण

      त्रिलोचन ढकाल
      मंसिर २६, २०८०

      त्रिलोचन ढकाल राजाको निरंकुश शासनकालमा नयाँ जनवादी क्रान्तीको लक्ष्य राखेर तत्कालिन नेकपा मालेले थालेको भूमिगत राजनीतिका एकजना सक्रिय पेशेवर नेता...

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      मेनुका बस्नेत
      मंसिर १५, २०८०

      सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो।...

      चाडपर्वलाई पूँजीवादले कब्जा गर्दैछ

      विद्या भट्टराई
      भदौ १६, २०७९

      तीज पर्वको कथाका मुख्य पात्र भनिएका शिव र पार्वती हुन्। तिनीहरुलाई सांकेतिक रुपमा मंगोल र आर्यानको रुपमा व्याख्या गरिन्छ। तर...

      धर्म, समाज र हिंसा

      धर्म, समाज र हिंसा

      घनश्याम शर्मा पौड्याल
      अशोज २८, २०७८

      धर्मको शाब्दिक अर्थ धारण गर्नु, लिनु, मान्नु वा त्यसको घेरामा रहनु भन्ने हुन्छ। धर्मलाई कुनै वस्तुसँग सम्बन्धित गरेर अथ्र्याउने हो...

      शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

      शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

      नेपाल रिडर्स
      अशोज २६, २०७८

      वैदिक सनातनीहरू प्रायः देवीहरूका प्रसंग उल्लेख गर्दै सनातन–हिन्दू धर्मले कहिल्यै पनि महिलामाथि विभेद नगरेको दुहाइ दिने गर्छन्। मनुस्मृतिमा उल्लेख भएको...

      स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

      स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

      अमरनाथ
      अशोज १५, २०७८

      आर्यसमाज नामक अभियान/समाजसुधार आन्दोलनले भारतीय समाजमा गरेको योगदानलाई आज धेरै मान्छेहरूले भुलिसकेका छन् तर एक समय हिन्दू समाजमा रहेका कुरिती,...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.