पछिल्लो डेढ दशक यता नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो दक्षिण कोरिया। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रमका लागि नेपाली कामदार लाने विषयमा सहमति भएको थियो। त्यस यता रोजगारीका लागि करिब १ लाख १० हजार नेपाली युवाहरु दक्षिण कोरिया पुगिसकेका छन्। दक्षिण कोरियाले नेपालबाट कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि भनेर श्रमिकहरू लाने गरेको छ।
रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२४ मा दक्षिण कोरिया जान एक लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएका थिए। यससँगै यसै वर्षदेखि दक्षिण कोरियाले पानी जहाज निर्माणका लागि पनि कामदार माग गर्यो।
पानी जहाज बनाउने कामका लागि ३५ हजार ७ सय ८ जनाले आवेदन दिएका थिए। १ असोजमा भएको यो परिक्षामा तीन हजार ९ सय ८९ जना उत्तीर्ण भए। ईपिएस शाखाले पानी जहाज निर्माणको परिक्षा दिएर अनुत्तिर्ण भएका ३१ हजार ८९ जनालाई रोजगार अनुमति प्रणाली (ईपिएस) परिक्षामा सहभागि नगराउने निर्णय गर्यो।
आफूहरु पनि भाषा परिक्षामा सामेल हुन पाउनुपर्ने भन्दै १३ पुसमा लतिलपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका युवाहरुले प्रर्दशनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरे।
मन्त्री ज्वाला बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला युवाहरुले बालकुमारी पुलमा गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए। ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं। ईपीएसवालाको लफडा चलिरहेको रहेछ। तर, हामीलाई थाहा थिएन। हाम्रो गाडीलाई बीचमा पारेर घेरा हाले। उनीहरूले पहिले चक्काको हावा खुस्काए र गाडीमा आगजनी गरे,’ मन्त्री ज्वालाले भने।
मन्त्री सवार गाडीमा आगजनी भएपछि ललितपुर र काठमाडौंबाट प्रहरी पुग्यो। प्रहरीले प्रर्दशनकारीलाई तितरवितर गर्न लाठी प्रहारसंगै पहिले अश्रु ग्याँस हान्यो र पछि गोली चलायो। गोली लागि विरेन्द्र शाहको मृत्यु भयो। अर्का मृतक सुजन राउतको मृत्युको कारण भने खुल्न सकेको छैन।
बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको समीति बनाएको छ।
किन भयो प्रर्दशन ?
ईपिएस शाखाले नेपालबाट दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा पठाउन भाषा परीक्षाका लागि २ पुषदेखि ६ पुषसम्म आवेदन भर्ने समय तोकेको थियो। यो परिक्षामा सामेल हुनका लागि १ लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएको ईपिएस शाखाको तथ्यांकले देखाउँछ।
ईपिएस शाखाले यो भाषा परिक्षामा पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा दिएर अनुत्तिर्ण भएकाहरु सामेल हुन नपाउने निर्णय गर्यो। पानी जहाज कम्पनीका लागि परिक्षा दिएका १८ जना युवाहरु ईपिएसको निर्णयका विरुद्ध उच्च अदालत पाटन पुगे।
उच्च अदालत पाटनले ५ पुषमा उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पानी जहाज निर्माणका लागि परिक्षा दिएका युवालाई पनि सहभागी गराउन आदेश दियो। अदालतको आदेश अनुसार ईपिएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई १३ पुषमा आवेदन भर्न बोलायो।
रिट दिने बाहेक अरुले फाराम भर्न नपाउने भएपछि फाराम भर्न नपाउने युवाहरुले प्रदर्शन गरे। प्रर्दशनले उग्र रुप लियो, मन्त्री सवार गाडीमा आगजनी भयो, दुई जना युवाले ज्यान गुमाउनुपर्यो।
इपिएस शाखाका अनुसार सन् २०२३ को डिसेम्बरसम्म २० हजार नेपाली दक्षिण कोरिया पुगिसकेका छन्। २ लाख रुपैयाँ न्यूनतम तलब हुने, श्रम शोषण र ठगी नहुने र सीप सिक्न पाइने भएकाले नेपाली युवाहरुको रोजाइमा छ कोरिया।
दक्षिण कोरियाले नेपाल सहितका १६ देशबाट सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरूको माग गरेको छ। ईपिएस कोरिया शाखाका अनुसार यस पटक पनि पानी जहाज बनाउने, उत्पादन, कृषि लगायत क्षेत्रमा २५ देखि ३० हजार नेपाली दक्षिण कोरिया जान सक्ने सम्भावना छ।
रोजगारीको सपना साकार गर्न प्रर्दशनमा उत्रिएका युवाहरुले गरेको प्रर्दशन उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रयोग गरेको थियो। स्थिति साम्य हुने नदेखिएको भन्दै हवाई फायर गरेको थियो। सोही क्रममा एक युवालाई गोली लाग्यो भने अर्को एक युवाको छातीमा चोट लाग्यो। ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार ३ हजारको हाराहारीमा भेला भएका युवाहरुले मन्त्रीको सवारी साधान अगाजनी गरेपछि भीड तितरबितर पार्न प्रहरीले कारबाही गरेको हो।
प्रहरीले गोली चलाएको विषयमा भने छानबिन गरिने उनले बताए। ‘भीड नियन्त्रणमा क्रममा गोली चलाइएको हुनसक्छ, यस विषयमा हामी छानबिन गर्छौं, मान्छेको मृत्यु नै भइसकेपछि छानबिन हुन्छ,’ उनले भने।
यता गृह मन्त्रालयले छानबिन समिति नै बनाइसकेकाले उसैले यो घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई भन्छन्, ‘हामीले छानबिन समिति बनाएका छौं। उसलाई सात दिनको म्याद दिइएको छ। सात दिनमा सबै थाहा हुन्छ।’
यो घटनापछि उच्च अदालत पाटनले पानी जहान निर्माण परिक्षामा अनुत्तीर्ण भएका सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ। न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो।
‘निवेदकहरूलाई आवेदन फाराम भर्नबाट वञ्चित गर्न मनासिव नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ।