सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो दुई बजे वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताएका छन्।
उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसंगको छलफलमा सहभागी हुने मन्त्रालयले जनाएको छ । कुनै पनि हालतमा किसानको बक्यौता तिर्न उद्योगीलाई आग्रह गर्नु वार्ताको उद्देश्य भएको सहसचिव रेग्मीले बताए ।
मन्त्रालयले आन्दोलनरत किसानहरुलाई पनि वार्तामा बोलाएको थियो । तर उनीहरुले आफूहरुको बक्यौता रकम लिएर माइतीघरमा मन्त्री आउनुपर्ने बताएका छन् ।