१. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने ।
२. गर्नुपर्ने काम गर्ने तर नगर्नुपर्ने काम नगर्ने । यसमा धेरै कुरा पर्छ, आफैं बुझ्ने ।
३. निर्देशनमाथि निर्देशन दिएर नबस्ने । निर्देशनका भरमा काम हुँदैन भन्ने बुझ्ने । के गर्दा काम हुन्छ त्यो सुनिश्चित गर्ने ।
४. राजतन्त्र चाहिँदैन भन्दै आफैं राजा हुन नखोज्ने । गणतन्त्रमा कुनै राजकीय पदमा पुग्नु भनेको निश्चित अवधि जनताले दिएको एउटा जिम्मेजवारी निर्वाह गर्ने हो । त्यसैले, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री वा संवैधानिक आयोगको जिम्मेवारीमा रहँदा आफैं राजा भएको जस्तो नगर्ने ।
५. ज्ञानेन्द्रकै शैलीमा सबैतिर निषेधाज्ञा नलगाउने । माइतीघर मण्डला लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आजै हटाउने। शान्तिपूर्ण रूपमा असहमति प्रकट गर्न पाउने जनताको अधिकार नखोस्ने ।
६. टिकटक लगायतका एपलाई आवश्यक नियमत गर्न उनीहरूलाई नै लगाउने तर आफू अलोकप्रीय हुने डरले लगाएको प्रतिबन्ध आजै खोल्ने ।
७. रिबन काट्न कुनै कार्यक्रममा गएर अबदेखि रिबन काट्न जाँदिनँ भन्दै जग नहँसाउने । चुपचाप नजाँदा हुने कार्यक्रममा जान छोड्ने । सरकारी कार्यक्रम भए अरू सरकारी मान्छे र पार्टीको कार्यक्रम भए पार्टीकै सम्बन्धित जिम्मेवारीमा रहेका मान्छेलाई पठाउने ।
८. राष्ट्रियसभालाई हरूवा संरक्षण केन्द्रमा रूपान्तरण नगर्ने । सक्रिय राजनीति गरेका मान्छे प्रतिनिधि सभाका चुनाव लड्ने हो भन्ने बुझाउने । राष्ट्रिय सभामा राष्ट्रका लागि योगदान दिएका र सार्वजनिक छवि भएका तर सक्रिय राजनीतिमा नरहेका मान्छेलाई लैजाने ।
९. प्रतिपक्षी दललाई प्रतिपक्षकै ठाउँमा बस भन्ने । उस्तै परे प्रतिपक्षी दललाई पनि दुई चार मन्त्री भागमा दिउँला भनेझै नगर्ने ।
१०. राजनीतिक भागबण्डा अन्त्य गर्छु भनेर दिनमा तीन चोटी भाषण गर्ने तर पिउनसम्म भागबण्डा गर्ने परिपाटी अन्त्य गर्ने । यसका लागि त्रिविको उपकुलपति नियुक्तिबाट सुरू गर्ने । तर, छिर्के हानेर तलतलै मिलाउनेलाई चाहिँ प्रधानमन्त्री आफैंले तह लगाउने ।
११. सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने कानुनी व्यवस्था हटाउने । विश्वविद्षयालयलाई स्वायत्त संस्था बन्न दिने ।
१२. अरू संवैधानिक आयोग वा कर्मचारीतन्त्र वा सुरक्षा निकायका महत्वपूर्ण पद लिलाम बढाबढमा नराख्ने । योग्यताक्षमताको वैज्ञानिक-पारदर्शी मापदण्ड बनाउने र त्यसैअनुसार नियुक्ति हुने प्रणाली स्थापना गर्ने । यसलाई पारदर्शी गर्ने ।
१३. दलका दलालका हातमा सुम्पिएकाले राज्यका सबै संस्थाहरू खिया लागिसकेका छन् । तिनलाई पुनर्जिवन दिन्छु भनेर भाषण नगर्ने तर कम्तीमा दलका दलालबाट मुक्त गर्ने काम आफैं प्रधानमन्त्री हुँदा सुरू गर्ने ।
१४. अदालतमा कार्यकर्ता भर्ती नगर्ने । त्यसले गर्ने कामलाई स्वतन्त्रतापूर्वक गर्न दिने ।
१५. पारिवारिक सभा समारोहहरू कम खर्चिलो बनाउने । सेनाको हेलिकप्टर चढेर सम्धि भेट्न नजाने ।
१६. थालेका मुद्धा टुंग्याउछु भनेर धेरै भाषण नगर्ने तर आफू नजिकका मान्छेसँग वा सत्ता साझेदार दलका ठूला नेताका परिवारमा कुरा जोडिने बित्तिकै अनुसन्धान नरोक्ने । प्रहरीलाई निष्पक्ष रूपमा काम गर्ने दिने, प्रहरी आफैं प्रभाव वा दबावमा छ कि हेर्ने । सुन तस्करी र नक्कली शरणार्थी प्रकरणको छानबिन टुंग्याउने ।
१७. एकपटक गाडीमा चितवनबाट बुटवल जाने । त्यहाँको बाटो कहिले बन्छ जनतालाई भन्ने । यही काम मुग्लिन-पोखरा सडकमा पनि गर्ने ।
१८. समयमा ठेक्का किन पुरा हुँदैनन् ? यो कुप्रथा कसरी हुन्छ अन्त्य गर्ने । ठेकदारसँग घुस खानेलाई कारबाही गर्ने र ठेकदारलाई संरक्षण गर्न नदिने ।
१९. मनोमानी गर्नका लागि पार्टीप्रणालीलाई बोरामा पोको पारेर खोलामा नफाल्ने । महत्वपूर्ण विषयमा पार्टीबाट निर्णय गर्ने परिपाटी अंगाल्ने ।
२०. पार्टी कार्यकर्तालाई बेलाबेला प्रशिक्षित गर्ने । संघीयता, गणतन्त्र र धर्मिनरपेक्षाताका कुरा सम्झाउने-बुझाउने । जनताका कुरा के छन् उनीहरूबाट सुन्ने ।
२१. बालुवाटारमा दलाल र व्यापारीको प्रवेश कम गर्ने तर जनतासँग जोडिएका कार्यकर्ता र अरू मानिसहरूसँगको भेटघाट बाक्लो बनाउने ।
२२. सबैभन्दा मुख्य कुरा, बालेनजस्तो सेन्टिमेन्ट ल्याउन मन छ भनेर गफ नदिने तर जनताले प्रत्यक्ष सेवा लिने कार्यालयहरूको काम गर्ने शैली बदल्ने । जनतालाई सहज रूपमा र सम्भव हुने ठाउँहरूमा अनलाइन सेवा लिन मिल्ने वातावरण बनाउने । अनलाइनहरू दलालका कम्प्युटरमा खुल्ने तर सेवाग्राहीका कम्प्युटरमा नखुल्ने हुन नदिने । धेरै भीडभाड हुने कार्यालयहरु हप्ताको सातै दिन, बिहान देखि साँझसम्म खुल्ला रहने व्यवस्था मिलाउने ।
२३. सवारी चालक अनुमति पत्र प्रिन्ट गरेर बाँड्न आठदश वर्ष लाग्ने स्थिति आउन नदिने । बढिमा एकहप्ता भित्रैमा अनुमति पत्र हात लाग्ने व्यवस्था मिलाउने ।
२४. राजनीतिको उद्यमबाट अर्बौं कमाएकाहरूलाई उपचार खर्च बाँड्ने प्रथा अन्त्य गर्ने तर पैसा नभएकै कारण उपचार पाउन नसक्ने नागरिकलाई राज्यले सहज रूपमा सहयोग गर्ने वातावरण बनाउने ।
२५. वीर, शिक्षण, बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान जस्ता ठूला अस्पतालमा राजनीति नगर्ने । त्यहाँको सेवालाई नीजि अस्पताल हाराहारी बनाउन तत्काल काम सुरू गर्ने । जनशक्ति कम भएको ठाउँमा जनशक्ति थप गर्ने ।
२६. आलोचनालाई धैर्यसाथ सुन्ने । महत्वपूर्ण कुरामा जनताले गरेको आलोचनाबाट सुधार गर्ने वा परिवर्तन गर्ने तर जेलाई पनि गणतन्त्रमाथिको प्रहार भनेर मान्छे नहँसाउने ।
२७. मन्त्रीहरूलाई जिम्मेवार रूपमा काम गर्न र अभिव्यक्ति दिँदा ध्यान दिन भन्ने । अनावश्यक धार्मिक कार्यक्रमहरूमा गएर एउटा धर्मको बखान गर्न रोक्ने ।
२८. पशुपतिनाथमा हुने आरतीको ठेक्कापट्टा रोक्ने । त्यस्तो ठेक्कापट्टाबाट कसैले लाभ लिएको भए कानुन अनुसार कारबाही गराउने ।
२९. राम पनि नेपालमै जन्मिएको भन्ने कुरो छ भन्दै घुमाउरो तरिकाले अप्रमाणिक र मिथकिय व्यक्तिको जन्मस्थानको कुरा गरेर मानिसको धार्मिक भावनाको दुरूपयोग नगर्ने ।
३०. छिमेकी राष्ट्रसँग साह्रै कम्फर्टेबल नहुने । राष्ट्रहित विरूद्ध कुनै सम्झौता गर्दिनँ भन्दै दुतावासले २०करोड बाँड्ने व्यवस्था गर्दै मान्छे नझुक्याउने । यस्ता कुरालाई कुटनीतिक रूपमा निरूपण गर्न कर्मचारी तन्त्रलाई जिम्मा दिने ।
३१. रोजगार माग्ने युवालाई गोली नहान्ने ।
३२. जनतलाई परिवर्तन महशुस गराउने साना सय वा हजार काम पहिचान गर्ने र यस्तो काम तुरून्त गर्ने ।
३३. पूर्वमा चलिरहेको प्रदेश नामकरण विरोधी आन्दोलन सम्बोधन गर्ने ।
३४. मिटरब्याज र लघुवित्त पिडितहरूको आन्दोलनलाई धेरै नझुक्याउने । उनीहरूको समस्या पूर्णत हल गर्ने । गणतन्त्र उनीहरूले नै जोगाउँछन् ।
३५. आफूले बोलेको कुराको मर्यादा राख्ने ।
अन्त्यमा, जनतलाई गणतन्त्र राम्रो लाग्यो भने जनताले आफैं बचाउँछन् । तर, गणतन्त्रलाई लुटतन्त्रमा रूपान्तरण हुनबाट रोक्ने ।
(जो जससंग सम्बन्धीत छ उसैलाई)