Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025
Wednesday, June 18, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना

इजरायल-प्यालेस्टाइन युद्ध: ४

रोहेज खतिवडा रोहेज खतिवडा
मंसिर १, २०८०
- इतिहास, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दोस्रो विश्वयुद्धको अन्तयपछि प्यालेस्टिनी भूमिमा यहुदी राज्यका रूपमा इजरायलको स्थापना भयो। त्यसयता यो भूमिमा लगातार युद्ध र रक्तपात भइरहेको छ। इजरायल स्थापनाको पृष्ठभूमि बुझ्न हामी केही पछाडि फर्कनु पर्ने हुन्छ  र यहुदी राष्ट्रवादबारे बुझ्नु पर्ने हुन्छ।

    जिसस क्राइस्टको समयसम्म जेरूसलेम एउटा यहुदी अधिराज्य थियो। तर, यसपछि यहाँको राजतन्त्र अन्त्य भयो। अधिकांश यहुदीहरू जेरूसलेम छोडेर बाहिर गए। कतिपय इशाई धर्ममा परिवर्तन भए। यसपछि कहिल्यै पनि जेरूसलेम वा आसपासमा यहुदी राज्य स्थापना भएन। अर्थात्, यहुदी राज्य प्राचीन इतिहासमै सिमित भयो। यहुदी राज्य यो समुदायको सामूहिक सम्झनामा मात्रै सिमित थियो।

    अघिल्ला तीन भागमा हामीले हेर्‍यौं- यसपछि यहाँ इशाई वर्चश्व स्थापित भयो र मुहम्मदको समयपछि प्यालेस्टाइन इस्लाम बहुल बन्यो। विभिन्न युद्ध र आन्तरिक दंगापछि यहुदीहरू प्यालेस्टाइन छोडेर पश्चिम एसिया र युरोपका विभिन्न भागमा छरिँदै गए। प्यालेस्टाइनमा बस्ने यहुदीहरूको संख्या असाध्यै सानो थियो। धर्मनिरपेक्ष इस्लाम शासनको समयमा यहुदीहरूले यहाँ आफ्नो धार्मिक अधिकार उपयोग गर्न पाएका थिए र उनीहरूको संख्या पनि केही बढेको थियो। तर, क्रुसेड युद्ध पछि यो वातावरण रहेन।

    क्रुसेड मूलत: इस्लामविरूद्ध इशाईहरूको युद्ध थियो। तर, इशाईहरूले यहुदीहरूलाई दुश्मन बनाए। उनीहरूको नरसंहार गरे। युरोप मै पनि विभिन्न ठाउँमा क्रुसेड आर्मीले यहुदीहरूको नरसंहार गरे। यसपछि युरोपमा यहुदीविरोधी भावना अर्थात ‘एन्टी-सेमिटिज्म’ ह्वात्तै बढ्यो। हामीले दोस्रो भागमा भनेका थियौं- जिसस क्राइस्टाको हत्या गरेको आरोप इशाईहरू यहुदीमाथि लगाउँछन्। यसैकारण उनीहरू यहुदीहरूलाई घृणा गर्छन्। क्रुसेडपछि यो घृणा ज्यामितिय रूपमा बढेको थियो।

    युरोपमा यहुदीहरूमाथि इशाईहरूले गरेको ज्यादती र नरसंहारको फेहरिस्त असाध्यै लामो छ। मध्यकालमा जर्मनीमा मात्रै नभएर फ्रान्स, बेलायत, रसिया, स्पेन, पोर्चुगल लगायतका मुलकुमा पनि पटकपटक यहुदीहरूको नरसंहार गरियो। क्रुसेडभन्दा अघि यहुदी र इशाईहरूबिच विवाद भए पनि नरसंहारका यस्ता घटना अपवादमात्रै थिए। तर, क्रुसेडसँगै यहुदीहरूमाथिको घृणा चरमोत्कर्षमा पुग्यो। र, यहुदीहरूलाई सामूहिक रूपमा देश निकाला गरिनु, उनीहरूको सम्पत्तिमा लुटपाट गरिनु र नरसंहार मच्चाइनु नियमित जस्तै बन्न पुग्यो।

    युरोपेली कालविभाजन अनुसार आधुनिक कालमा पनि यहुदी घृणावादमा कुनै कमी आएन। बरू, बिसौं शताब्दीको मध्यमा भएको दोस्रो विश्वयुद्धमा यसको चरम रूप देखियो। नाजी जर्मनीको नेतृत्वमा यसबेला करिब डेढ दशकमा ६० लाख यहुदीहरूको हत्या गरियो। तर, यसपछि भने नाटकिय रूपमा यहुदी प्रति बेलायत र अमेरिकाको व्यवहार परिवर्तन भयो। मुलत: बेलायतको अग्रसरतामा प्यालेस्टिनी भूमिमा यहुदीहरूका लागि भनेर इजरायलको स्थापना गरियो।

    १२औं शताब्दीमै यहुदी राष्ट्रवादको जग हालेका स्पेनी कवि तथा वैद्य जुदाह हालेवी

    सुरूवातमा इस्लामहरू धर्मनिरपेक्ष र सहिष्णु थिए। तर, क्रुसेड युद्धपछि बिस्तारै इस्लामिक कट्टरता हाबी हुँदै गयो। १२औं शताब्दीपछि २० औं शताब्दीमा इस्लामिक दुनियाँमा पनि पटक-पटक यहुदीहरूले धार्मिक हिंसा, देश निकाला र नरसंहार भोग्नु पर्‍यो। यसले पनि यहुदी राष्ट्रवादलाई बल पुर्‍यायो।

    सन् १९४७मा इजरायल स्थापना भए पनि यहुदी राष्ट्रवादको इतिहास भने निकै पुरानो छ। यहुदी राष्ट्रवादको जग स्पेनी कवि तथा वैद्य जुदाह हालेवीले १२औं शताब्दीमै हालेका थिए। इस्लामिक स्पेन माथि दाबी गर्दै इशाईहरूले आक्रमण गरेपछि यी धर्मको चपेटामा परेका यहुदीहरूसमक्ष उनले यहुदी राष्ट्रवादको बिजारोपण गरेका थिए। जसले यहुदीहरूको आफ्नै राज्यका रूपमा इजरायल पुनर्स्थापनाको महत्वकांक्षा जगाएका थिए। तर, शताब्दियौंसम्म यो अवधराणाले कुनै आकार लिन सकेको थिएन।

    १९औं शताब्दीमा जेरूसलेममा इशाईका दुई सम्प्रदायहरूबीच भएको हिंसाले यहुदी राष्ट्रवादलाई अझ अगाडि बढाउने बाटो खोल्यो, जुन युद्धबारे हामीले यसअघिको भागमा चर्चा गरेका थियौं। ग्रिक अर्थोडक्स र ल्याटिन इशाई सम्प्रदायबीचको हिंसाले यो युद्धमा अर्थोड्क्स इशाईको संरक्षक रसिया तथा ल्याटिन इशाईका संरक्षक बेलायत र फ्रान्सलाई युद्धमा तान्यो। यो युद्धमा अटोमन पनि सहभागी भएपछि रसिया एक्लै तीनवटा शक्तिहरूविरूद्ध लडेको थियो, जुन युद्धमा रसिया पराजित हुनु स्वभाविक थियो।

    यो पनि पढ्नुहोस्:  तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    इजरायल-प्यालेस्टाइन युद्ध – १

    रसियालाई हराएपछि अटोमनले बेलायत र फ्रान्सका लागि जेरूसलेम प्रवेशको द्वार खोलिदियो। यतिबेला एकजना बेलायती यहुदी अगुवा मोजेज मोन्टेफिओरे यहुदी राष्ट्र स्थापनाको सपनालाई अगाडि बढाइरहेका थिए। उनले पहिले इजिप्ट वा युगान्डा कहिँ यहुदी राष्ट्र स्थापना हुनसक्ने सम्भावना औंल्याइरहेका थिए। तर, जब बेलायती नागरिकका रूपमा उनले जेरूसलेममा प्रवेश पाए, उनले जेरूसलेमलाई केन्द्र बनाएर प्यालेस्टाइनमा यहुदी राज्य स्थापनाको अवधारणा अघि सारे। उनले जेरूसलेममा यहुदी बालबालिकाका लागि आधुनिक शिक्षा दिने स्कुल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। साथै, माउन्ट सिओनमा उनले नयाँ यहुदी बस्ति पनि बसाएका थिए।

    एउटा सपनाको रूपमा रहेको यहुदी राष्ट्रवादलाई आकार दिने काम भने ‘फादर अफ जिओनिज्म’ भनेर चिनिने मोजेज हेसले गरेका थिए। हेस मार्क्स र एंगेल्सको विचारबाट प्रभावित व्यक्ति थिए। उनले बाइबलमा भएका मिथकहरूलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट पुनर्व्याख्या गरेका थिए। यहुदी राज्य स्थापनाको उनको प्रस्ताव पनि धार्मिक नभएर जर्मनीमा बढिरहेको यहुदीविरोधी विचारका कारण थियो। सन् १८६०मा प्रकाशित आफ्नो पुस्तक ‘रोम एन्ड जेरूसलेम’मा उनले यहुदीहरूले प्यालेस्टाइनमा समाजवादी राज्य स्थापना गर्नुपर्ने प्रस्ताव गरेका थिए।

    यहुदी राष्ट्रवाद निर्माणमा यहुदीहरूको मात्रै योगदान छैन, प्रोटेस्टेन्ट इशाईहरूको पनि उल्लेख्य योगदान छ। यसमा पनि बेलायती इशाईहरूको भूमिका प्रष्ट छ। यसैमध्ये एक थिए, बेलायती दरबारका इन्जिनियर क्याप्टेन चार्ल्स विल्सन। उनी पहिले जेरूसलेमको ‘हाइड्रोलोजी’ अध्ययन गर्न गएका थिए। पछि उनकै सक्रियतामा ‘प्यालेस्टाइन एक्स्प्लोरेसन फन्ड’ स्थापना हुन्छ, जसको मुख्य उद्देश्य प्यालेस्टाइन किन यहुदीहरूको हो भनेर वकालत गर्नु थियो। उनले घोषणा गरेका थिए, ‘प्यालेस्टाइन तिम्रो (यहुदी) र मेरो (इशाई)को मुलुक हो।’

    क्रुसेडपछि नगन्य संख्यामा प्यालेस्टाइनमा रहेका यहुदीहरू १९औं शताब्दीको मध्यतिरबाट धमाधम जेरूसलेम र आसपासका प्यालेस्टिनी गाउँ र शहरहरूमा बसाईं सर्न थालेका थिए भने अन्तर्राष्ट्रिय रूपमा पनि यहुदी राष्ट्रवादको वैचारिकी बलियो हुँदै गइरहेको थियो। बिसौं शताब्दीको सुरूवातमा प्यालेस्टाइनमा समानान्तर रूपमा दुई किसिमका घटना भइरहेका थिए। पहिलो, युरोप र पश्चिम एसियाका विभिन्न स्थानबाट यहुदीहरू ठूलो संख्यामा बसाईं सरेर प्यालेस्टाइन गइरहेका थिए। दोस्रो, अरब प्यालेस्टाइन (प्यालेस्टिनी इस्लाम)हरूले टर्कीको शासनबाट स्वतन्त्र राज्यको अभियान छेडिरहेका थिए। यसका लागि सन् १९१३मा पेरिसमा अरब कंग्रेस पनि भएको थियो।

    स्वतन्त्र प्यालेस्टाइनको यो अभियान यहुदी राष्ट्रवादको अवरोधका रूपमा उपस्थित हुनु स्वभाविक थियो। यहुदी राष्ट्रवादका अभियन्ता डेभिड बेन-गुरियन, जो पछि इजरायलक प्रधानमन्त्री भएका थिए,  सन् १९१५ मा लेखेका थिए, ‘यसले (अरब कंग्रेसले) मलाई बमले जस्तै प्रहार गर्‍यो।’

    गुरिसन लेख्छन्, ‘प्यालेस्टाइन जनताबिनाको भूमि हो। यहाँका जनता यहुदी हुन् जो यहाँ छैनन्। जो यहाँ छन् उनीहरू अतिक्रणकारी हुन्।’

    १९१४मा पहिलो विश्वयुद्ध सुरू हुँदा अटोमनले फ्रान्स र बेलायत विरूद्धको युद्धमा जर्मनीलाई साथ दिन्छ। यो युद्धमा अटोमनले लाखौं संख्यामा अर्मनियालीहरूको नरसंहार गर्छन्। यमसध्ये केही भागेर जेरूसलेम आउँछन्। यसले जेरूसलेममा अर्मिनेयालीको संख्या पनि बढ्छ। सन् १९१६बाट बेलायत र फ्रान्सले जर्मनी र अटोमनविरूद्ध दबाब बनाउन सुरू गर्छन्। अटोमनले अधिकांश भूमि गुमाइसकेको हुन्छ। इडवार्ड एलेनबाइको नेतृत्वमा रहेको बेलायती सेनाको एउटा फौज सिनाइ कब्जा गरेर गाजा हुँदै जेरूसलेमतिर अघि बढ्छ। अटोमनका तर्फबाट प्यालेस्टाइनका गर्भनर जमल पासा जेरूसलेम छोडेर भाग्छन्। जेरूसलेमका मेयर हुसेन सलिम अल हुसैनीले बेलायतसमक्ष आत्मसपर्पण गर्छन्। करेन आर्म्सट्रङ लेख्छिन्, ‘उनले (एलेनबाइले) क्रसेडको उद्देश्य पुरा गरे।’

    अटोमनको पराजय पछि अटोमनका अधिनमा रहेको भूभाग बेलायत र फ्रान्सले आ-आफ्नो उपनिवशेका रूपमा बाँडफाँड गर्छन्। यही बेला जोर्डन, सिरिया, लेबनान, इजिप्ट र इराकमा नयाँ राजतन्त्रको उदय हुन्छ। प्यालेस्टीनीहरूमा पनि आफ्नो छुट्टै राज्य स्थापनाको महत्वकांक्षा जाग्छ। तर, प्यालेस्टिनी जनताको चाहना विपरित यो भूमि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको खेल मैदान बन्न पुग्छ।

    यो पनि पढ्नुहोस्: तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म (इजरायल-प्यालेस्टाइन युद्ध २) 

    तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

    पहिलो विश्वयुद्धको समयबाटै त्यतिबेला विश्वको सबैभन्दा शक्तिशाली मुलुक बेलायतले दोहोरो भूमिका खेल्न थाल्छ। सन् १९१५ मा इजिप्टका लागि बेलायती उच्चाआयुक्त सर हेनरी म्याकमहनले मक्काका शासक हुसैन इब्न अलिसँग अरब राष्ट्रहरूको सम्प्रभूतालाई मान्यता दिने र पवित्र स्थलहरू ‘स्वतन्त्र सार्वभौम इस्लामिक राज्य’को अधिनमा रहने आश्वासन दिएर अटोमनविरूद्ध विद्रोहका लागि उकास्छन्। विभिन्न अवसरमा बेलायतले जोर्डन र सिरियाका शासकहरूसँग पनि प्यालेस्टाइन उनीहरूलाई दिने प्रलोभन देखाउँछन् र पहिलो तथा दोस्रो दुवै विश्वयुद्धमा यसबाट फाइदा लिन्छन्। अर्कातिर उनीहरू प्यालेस्टाइनमा यहुदी राज्य स्थापनाका लागि यहुदीहरूलाई पनि हरतरहरले आश्वासन र सहयोग जारी राख्छन्।

    प्रधानमन्त्री लोयड जर्जको निर्देशनमा विदेश सचिव आर्थर बाल्फरले वाल्टर रोथ्सचायल्डलाई लेखेको पत्रमा भनिएको छ, ‘बेलायती अधिराज्यको महामहिम सरकारको दृष्टिकोण प्यालेस्टाइनमा यहुदी राष्ट्र स्थापनाको पक्षमा छ र यो उद्देश्य प्राप्तिका लागि लागि उनीहरूले गर्ने प्रयासमा सहजीकरण गर्ने छ।’ यसलाई प्यालेस्टाइनबारेको ‘बाल्फर डिक्लारेसन’ भन्ने गरिन्छ।

    १९१९मा फ्रेन्चहरूसँग भएको एउटा समझदारीमा स्थानीय जनताको चाहनाअनुसार स्थापित निकटपूर्वका स्वतन्त्र राष्ट्रहरूलाई मान्यता दिने तर प्यालेस्टाइनको हकमा भने त्यहाँका अहिलेको बासिन्दाको इच्छा पनि नसोधिने भनी बाल्फरले उल्लेख गराएका छन्। तर, प्रथम विश्वयुद्धपछि बनेको ‘लिग अफ नेसन्स’को अग्रसरतामा अटोमन साम्राज्य अधिनका भूमिहरू बाँडफाँडका लागि बनाइएको किङ-क्रेन रिपोर्टमा भने सिरियन अरब राज्यमा प्यालेस्टाइन गाभ्ने सहमति गरिन्छ।

    १९१७ देखि १९२० सम्म प्यालेस्टाइन बेलायती सेनाको नियन्त्रणमा हुन्छ। १९२०मा लिग अफ नेसन्सले प्यालेस्टाइनको शासन बेलायतको हातमा सुम्पिन्छ। यसपछि बेलायतले आफ्नै हिसाबले यहुदी राज्य स्थापनाको प्रकृया सुरू गर्छ। यसपछि संसारभरीबाट यहुदीहरू तीब्र रूपमा बसाईं सरेर प्यालेस्टाइन जान थाल्छन्। अरब-प्यालेस्टाइनले आफ्नो अधिकार खोसिने शंका गर्दा बेलायतले पटक-पटक अरबको कुनै पनि अधिकार नखोसिने र कुनै समस्या सिर्जना नगरिने झुटो प्रतिबद्धता जाहेर गरिरहन्छ। प्रधानमन्त्री विन्सटन चर्चिल आफैंले समेत यस्तो प्रतिबद्धता दोहोर्‍याएका छन्।

    बेलायती शासनमा प्यालेस्टाइनमा यहुदी जनसंख्या कसरी बढ्छ भन्ने तथ्यांकले नै देखाउँछ। बेलायतको शासनमा आउनुअघि सन् १८८२को जनगणनामा प्यालेस्टाइनमा यहुदी जनसंख्या २४ हजार मात्रै थियो, जुन यहाँको कुल जनसंख्याको ८ प्रतिशत मात्रै थियो। पहिलो विश्वयुद्ध सुरू भएको वर्ष सन् १९१४मा यो संख्या ९४ हजार आसपास थियो। तर, १९३१मा यो संख्या बढेर १ लाख ७४ हजार नाघ्छ भने त्यसको पाँच वर्ष पछि सन् १९३६मा ३ लाख ८५ हजार पुग्छ।

    दोस्रो विश्वयुद्ध सकिएको वर्ष १९४६मा यो संख्या लगभग साढे पाँच लाख पुग्छ। इजरायल अलग राज्यको रूपमा स्थापना भएको वर्ष १९४७मा प्यालेस्टाइनको यहुदी जनसंख्या ७ लाख १६ हजार पुग्छ, जुन यहाँको सम्पूर्ण जनसंख्याको ८२ प्रतिशत हुनआउँछ। अर्थात् ६६ वर्षमा प्यालेस्टाइनमा गैरयहुदी जनसंख्याको प्रतिशत ९२ बाट घटेर १८ प्रतिशतमा सिमित हुन्छ। यो बसाईंसराईमा जर्मनीमा हिटलरले सुरू गरेको यहुदी नरसंहारले पनि भूमिका खेलेको छ।

    यसबीचमा बेलायतको सहयोगमा यहुदीहरूले आफ्नै अनौपचारिक राज्य खडा गर्न थाल्छन्। सन् १९३९मा दोस्रो विश्वयुद्ध सुरू हुनुअगाडि उनीहरूले आफ्नै प्रशासन र अर्धसैनिक दस्ता समेत खडा गरिसकेका थिए। दोस्रो विश्वयुद्ध सुरू भएपछि बेलायतले पश्चिम एसियाका इस्लामिक राज्यहरूसँग मित्रताको हात मिलाउने प्रयास गर्छ। र, प्यालेस्टाइन अरब र यहुदीहरूको स्वतन्त्र राष्ट्र हुने बाचा गर्छ। यसले यहुदी महत्वकांक्षामा ठूलो ठेस लाग्छ।

    यो पनि पढ्नुहोस्:  इजरायल-प्यालेस्टाइन युद्ध ३ – १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा 

    १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

    १९३०को दशकबाट नै यहुदी र अरब दुवै तर्फ अतिवादी शक्तिहरू हाबी हुन थालिसकेका हुन्छन्। दोस्रो विश्वयुद्ध अघि पटक-पटक दुई धार्मिक सम्प्रदायबीच हिंसात्मक झडप भइरहेको हुन्छ। दोस्रो विश्वयुद्धपछि हिटलरको ‘होलोकास्ट’ बाट बाँचेका एक लाख यहुदीलाई प्यालेस्टाइनमा स्थापित गर्न यहुदीहरूले माग गर्छन् तर बेलायतले यसलाई अस्वीकार गर्छ। जवाफमा यहुदीहरूको एउटा अतिवादी समूहले जेरूसलेमको बेलायती सेनाको हेडक्वाटर रहेको होटल डेविटमा बम बिस्फोट गराउँछ। विश्वको सबैभन्दा शक्तिशाली मुलुकको ताज गुमाएको र लगातार दुईवटा महायुद्ध झेलेको बेलायतले प्यालेस्टाइनमाथिको नियन्त्रण गुमाउँछ। फरक-फरक शक्तिहरूसँग गरेको विरोधाभाषी बाचा पुरा गर्ने सामर्थ्य बेलायतसँग हुँदैन। अन्तत: बेलायतले प्यालेस्टाइन मामला भर्खरै स्थापना भएको संयुक्त राष्ट्र संघको जिम्मामा छोडिदिन्छ।

    संयुक्त राष्ट्र संघले सन् १९४७ फेब्रुअरी ११मा प्यालेस्टाइन विभाजनको योजना ल्याउँछ। जसमा गलीली, उपल्लो जोर्डन उपत्यका, नेगव र तटीय क्षेत्र यहुदी राज्यका रूपमा स्थापना हुने इजरायललाई दिने र बाँकीमा प्यालेस्टाइन रहने प्रस्ताव गर्छ। पवित्र स्थलका रूपमा रहेका जेरूसलेम र बेथेलेमलाई भने अन्तर्राष्ट्रिय प्रशासनमा राख्ने भनिएको हुन्छ। २९ नोभेम्बर १९४७मा यो प्रस्ताव संयुक्त राष्ट्र संघको साधारण सभाले पारित गर्छ। यहुदीहरूले यो प्रस्तावको खुलेर स्वागत गर्छन् भने अरबहरूले यसलाई अस्वीकार गर्छन्। यहि प्रस्ताव अनुसार अहिलेको इजरायलको जग हालिन्छ।

    जिसस क्राइस्टको समयअघि, अर्थात दुई हजार बर्ष पहिले जेरूसलेम र जुडामा यहुदी अधिराज्य थियो। यो प्राचीन इतिहासको कुरा हो। यसपछि यहाँ कहिल्यै यहुदी राज्य थिएन। पहिलो क्रुसेडपछि त प्यालेस्टाइनबाट यहुदीहरू विस्थापित नै भएका थिए। असाध्यै सानो संख्यामा यहाँ यहुदीहरू थिए। युरोपेलीहरू आफैंले यहुदीहरूमाथि निरन्तर गरेको अन्याय र नरसंहारका कारण जन्मिएको र बलियो भएको यहुदी राष्ट्रवादलाई स्थापना गर्न एक हजार वर्षभन्दा लामो समयदेखि निरन्तर बसोबास गरिरहेका अरब-प्यालेस्टिनीको भूमि खोसेर, उनीहरूलाई विस्थापित गरेर यहाँ यहुदी राज्यको जग हाल्छन्। आधुनिक विश्वका लागि यो असंगत कुरा थियो।

    प्यालेस्टाइनको चिहानमा उभिएको इजरायल स्थापना अरब-प्यालेस्टाइनका लागि अन्यायको पहिलो पाइला थियो। यो क्रम आजसम्म पनि जारी छ। १९४७ यताको घटनाक्रमदेखि हमासको उदयसम्म हामी अर्को भागमा चर्चा गर्ने छौं।

    थप पढ्नुहोस्:

    मध्यपूर्वको समस्या र इरानी रणनीति

    हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

    इजराइल-प्यालेस्टिन विवादमा भारत किन फुकी फुकी कदम चाल्दैछ?

    प्यालेस्टिनी जनता विरुद्ध बर्बरतापूर्ण युद्ध

    इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू

    तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म 

    १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.