Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
Saturday, May 17, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा

मलंगवाका आतंकित मुस्लिम समुदाय अर्को अप्रीय घटना पर्खिरहेका छन् भने हिन्दू अतिवादीहरु अर्को अवसर

नरेश ज्ञवाली र सागर चन्द नरेश ज्ञवाली र सागर चन्द
अशोज १६, २०८०
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्लाहीको मंगलवामा हिन्दू-मुस्लिमबीच धार्मिक हिंसाको हावा चलिरहेको थियो। भदौ २० गते कृष्ण जन्माष्टमीका दिन कृष्णको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भयो। यो घटनापछि यहाँको मुस्लिम समुदाय आतंकित भइरहेको थियो।

    मलंगवा–२ को कृष्ण चोक नजिकै घर भएका गुलाम धुनियाँ मन्सुरीलाई आफ्नो घरमा बसिरहन असुरक्षित महशुस भयो। सात पुस्ता भन्दा बढी बिताइसकेको आफ्नो घर छोडेर १० जनाको परिवारसहित नयाँ आश्रयमा पुगे। उनको पुर्ख्यौली घर रित्तो भएको थियो।

    असोज ४ मा गणेश चतुर्थीका दिन गणेशको मूर्ति सेलाउने क्रममा फेरि झडप भयो। झडप भएपछि स्थानीय प्रशासनले राती १० बजेदेखि कर्फ्यु लगायो। भाडाको घरमा बसेर धुनियाँ कुनै अप्रीय घटना नहोस् भनेर प्रार्थना गरिरहेका थिए। प्रशासनले कर्फ्यु लगाएपछि उनी केही ढुक्क थिए।

    तर, कर्फ्युकै बीचमा राती १२ बजेतिर एउटा समूह उनको घरमा पुग्यो। त्यो समूहले उनको घरमा लुटपाट मच्चायो र तोडफोड गर्‍यो। उनको घरबाट एलइडी टिभि, ल्यापटप, ओढ्ने ओछ्याउने र लुगाफाटो समेत लुटियो। यतिसम्म कि चापाकल समेत निकालेर लगे। बन्चरोले हानेर फ्रिज फुटाइएको छ। उनको घरको ढोका फोडिएको छ। भित्तामा रहेको बिजुलीको मिटर उखेलिएको छ। झ्याल, ढोका भाँचिएका छन्। सिसाका टुक्राहरु घरभरी छरपष्ट छन्।

    ‘मेरो बुबा, बाजे, सबै यहीँ जन्मिए, यही घरमा बसे, यतैको माटोमा बिलाए तर यस्तो कहिल्यै भएको थिएन,’ घरको बरण्डामा लुटेराले अलपत्र छाडेका औषधी र मल्हमका बट्टा उठाउँदै धुनियाँले भने, ‘अब यहाँ बस्न डर लाग्छ।’

    गुलाम धुनियाँ मन्सुरीको दुई वटा घर हिन्दू अतिवादीले लुटपाट गरेपछि आफ्नो घर छाडेर विस्थापित भइ हाल उनी डेरामा बसिरहेका छन्। आफ्नो रित्तिएको घर देखाउँदै मन्सुरी।

    त्यसरात तोडफोड र लुटपाट धुनियाँको घरमा मात्रै सिमित थिएन। कर्फ्युका बीच ४ असोजदेखि ५ असोजको बीचमा मुस्लिम समुदायका ३२ वटा पसल र ५ वटा घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ। यसमध्ये अफजल अन्सारीको ‘च्वाईस टेलर्स’ एउटा हो।

    उनको दोकान धुनियाँको घरबाट दुई सय मिटर दक्षिणमा छ। यहाँबाट त्यति नै दुरीमा दक्षिणमा जिल्ला प्रहरी कार्यालय छ। पश्चिममा जिल्ला शिक्षा कार्यालय छ। प्रहरी कार्यालय नजिकै रहेको यो पसल ५ असोजको राती कर्फ्युकै बीचमा लुटियो।

    ३४ वर्षे अन्सारी १२ वर्षदेखि कृष्ण चोकमा टेलरिङ व्यवसाय गरिरहेका थिए। ८ जनाको उनको परिवारको आम्दानीको एक मात्र बाटो थियो यो दोकान। ‘सब बर्बाद गर्दिए, मलाई त रोडमा ल्याइदिए,’ अन्सारी थाप्लो समाउँछन्।

    उनको पसलमा ६ वटा लुगा सिलाउने मेसिन थिए। थान कपडा, सिलाएका लुगा थिए। लुटेराहरुले ती सबै सामान लुटे। कर्फ्युको बीचमा मुस्लिम समुदाय ज्यान जोगाउँदै आ-आफ्ना घरमा बसिरहेका थिए। त्यही मौकामा लुटेराहरुले छानी–छानी मुस्लिमका पसल, घर लुटपाट गरे, आगजनी गरे।

    अन्सारीको पसलबाट लुटन सकिने सामान सबै लुटिएका छन्। ‘लुट्न नसकेका सामान जति सबै तोडफोड गरे,’ भाँच्चिएको टेबल, कुर्सी, सिलाइ मेसिनको पाइदान र ह्याङगर देखाउँछन् अन्सारी। फेरि यही चोकमा पसल चलाउने हिम्मत र पूँजी दुवै छैन अन्सारीसँग। ‘भएभरको पूँजी त्यही पसलमा लगाएको थिएँ,’ अब अन्सारीले हार मानिसके, ‘अब मलंगवा बाहिर गएर कसैको पसलमा काम गर्छु।’

    कर्फ्युका बीच भएका तोडफोड र लुटपाटका यस्ता घटनाका भिडियो र सिसिटिभि फुटेज पनि उपलब्ध छन्। यी भिडियोमा आक्रमणकारीको अनुहार प्रष्टसँग देखिन्छ र मान्छे सजिलै चिन्न सकिन्छ। यति हुँदा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेर उल्टै घरमा बसिरहेका तीन जना मुस्लिम युवालाई पक्राउ गरेको छ। मलंगवा क्षेत्रका मुस्लिम समुदाय यतिखेर आतंकित छन्। आफूमाथि आक्रमण हुँदा पनि आफ्नै मान्छे पक्राउ परेपछि उनीहरु निरिह बनेका छन्। शान्तिको कामना गरिरहेका उनीहरु न्यायका लागि राज्यसँग गुहार मागिरहेका छन्।

    अन्सारीको पसलबाट लुटन सकिने सामान सबै लुटिए, लुटन् नसकेका सामान जति सबै तोडफोड गरिएको छ।

    यो सबै घटनाको सुरुवात २० भदौको कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको थियो। तर, यसअघि पनि विभिन्न हिन्दू अतिवादी संगठनहरुले हिंसा भड्काउने पूर्वअभ्यास गरिरहेका थिए।

    ‘कृष्ण जन्माष्टमीको घटना हुनु अगाडि नै यहाँ माहोल खराब भइसकेको थियो,’ धुनियाँ सुनाउँछन्। सामाजिक सञ्जाल, फेसबुक, टिकटकमा मुस्लिम विरोधी भिडियो, पोष्ट छ्यापछ्यापती थिए र छन्। मनोवैज्ञानिक रुपमा मुस्लिम समुदायमाथि हिन्दू अतिवादीले दवाब दिन सुरु गरिसकेका थिए। ‘त्यस्ता सामग्रीले हामी त डराइसकेका थियौं,’ धुनियाँले सुनाए।

    ह्वाट्स एप र म्यासेन्जरमा ग्रुप बनाएर नै स्थानीय मुस्लिम समुदायविरुद्ध घृणा फैलाउने काम भइरहेको थियो। यी समूहमा आदानप्रदान भएका सन्देश र सामग्री हेर्दा उनीहरुले कृष्णाष्टमीभन्दा अगाडिबाट नै हिंसाको योजना बनाइरहेको बुझ्न सकिन्छ। यसका लागि हिन्दू धर्म बचाउ अभियान मलंगवाबाट शुभारम्भ, अन्तर्राष्ट्रिय हिन्दू परिषद र कट्टर हिन्दू जय श्री राम लगायतका नाम भएका ग्रुपहरु सक्रिय थिए। यी तीनवटा ग्रुपमा ३०० भन्दा बढी सामाजिक सञ्जालका खाता आबद्ध छन्।

    कृष्ण जन्माष्टमीको पर्सिपल्ट भदौ २२ गते साँझ पाँचबजे तिर कृष्णको मूर्ति सेलाउन मानिसहरु एकत्रित हुँदै गए। यहाँ नगरपालिका चोकबाट निकालिएको कृष्ण मूर्ति कदम पोखरीमा लगेर सेलाउने प्रचलन छ। यसका लागि पुरानो जिल्ला प्रशासन कार्यालय हुँदै नुरी जामा मस्जिद जिलिनियाँ मोहल्लाको बाटो लैजान्छन्। यो बाटोमा मुस्लिम बहुल बस्तीहरु छन्।

    मूर्ति सेलाउन जाँदा गएको वर्षदेखि डिजे प्रयोग गर्न थालिएको छ। यात्रा सुरु हुँदा डिजेमा कृष्ण भजन बजिरहेको थियो। जतिजति यात्रा मुस्लिम बस्तीतिर प्रवेश गर्न थाल्छ, त्यहाँ त्यति नै मुस्लिम विरोधी गीत तथा भाषणहरु बजाउन थालिन्छ। यात्रा मस्जिद अगाडि र मुस्लिम परिवार घर अघि रोकिन्छ। अनि चर्को भोल्युममा एउटा गीत बज्छ,‘मियाँ के न दाल गली, हिन्दू के राज चली’।

    मुस्लिमप्रति घृणा फैलाउने यस्तो गीत बज्दा पनि स्थानीय मुस्लिम संयमित रहन्छन्। तर, यात्राका आयोजक यतिमा सन्तुष्ट हुँदैनन्। उनीहरु योगी आदित्यनाथ, बागेश्वर धाम लगायतका उत्तेजक भाषण बजाउन थाल्छन्। यसमा “हिन्दूस्तान में रहना हैं तो हिन्दू बन जाओ, नहीँ त पाकिस्तान चले जाओ” भन्ने आदित्यनाथको भाषण र “सब हिन्दू एक हो जाओ, पत्थर मारने वालों के घर पर बुलडोजर चलाओ” भन्ने बागेश्वरको भाषण बजाइन्छ। उनीहरु यतिमा रोकिँदैनन्, आफैं भाषण गरेर मुस्लिमलाई गाली गर्न थाल्छन्। उनीहरुले माईकिङ् गर्दै ‘जय श्री राम नभन्नेहरुलाई पाकिस्तान पठाउँछौं’ र ‘मुस्लिमहरु आतंकवादी हुन्’ भन्ने उत्तेजक नारा लगाउँछन्।

    मलंगवाको बजार क्षेत्रमा रहेका मुस्लिम समुदायका पसलमा रातो रंग पोतिएको छ भने हिन्दूहरुको पसलमा ‘जय श्रीराम’ को स्टिकर टाँसिएको छ। हिन्दू अतिवादीहरुले अर्को अवसरमा मुस्लिमहरुको पसलमा निशाना साध्न रातो रंग पोतेका हुन्।

    ‘उनीहरुले यही मस्जिद अगाडि मूर्तिको र्‍याली रोके। डिजे मा मुस्लिमलाई गाली गर्ने गाना बजाए, हामीलाई गालिगलौज गरे,’ एक स्थानीयले भने।

    हिन्दू अतिवादीका यी भड्काउ गीत, नारा, भाषण सबै सहेका छन् मलंगवाका मुस्लिम समुदायले।

    यो सबै चल्दै गर्दा सामाजिक सञ्जालबाट मूर्ति सेलाउन गएका हिन्दूहरुमाथि मुस्लिमहरुले तातो पानी र ढुंगा हाने भन्ने हल्ला फैलन्छ। यो हल्ला र्‍याली रोकिएको ठाउँमा पनि पुग्छ। त्यसपछि र्‍यालीमा सहभागीहरुले ढुंगा हान्न थाल्छन् र झडप सुरु हुन्छ।

    त्यहाँ भएको नेपाल प्रहरीका सुरक्षाकर्मीले हस्तक्षेप गर्छ र झडप ठूलो हुन पाउँदैन। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड अश्रु ग्याँस, १ राउण्ड हवाई फायर गर्छ। प्रहरीले तत्काल र्‍याली अगाडि बढाउन लगाउँछ। र्‍याली अगाडि बढेपछि थप झडप हुन पाउँदैन। यही राती दश बजेदेखि प्रहरीले कर्फ्यु लगाउँछ।

    सामाजिक सद्भाव बिथोल्न खोजेको आरोपमा असोज २४ गते प्रहरीले स्थानीय कृष्ण यादवलाई पक्राउ गर्छ। रोचक के छ भने, मलंगवा–६ खुटौनाका यादव हिन्दू अतिवादी समूह सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष हुन्। उनका हजुरबुवा सोनेलाल राय यादव राजा ज्ञानेन्द्रको मन्त्रिपरिषदमा सहायक गृहमन्त्री थिए। उनका बुवा रामगोपाल राय यादव गएको चुनावमा एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार भएका थिए।

    जनकपुरमा केन्द्रीय कार्यालय भएको सम्राट सेनाको सम्बन्ध भारतको राष्ट्रिय स्वयं सेवक संघ तथा बजरंग दलसँग छ। यादव गाउँगाउँमा हिन्दू सम्राट सेनाको संगठन बनाउने, सामाजिक सञ्जालबाट मुस्लिम विरोधी अफवाह फैलाउने र हिन्दू अतिवादी गतिविधिमा युवाहरुलाई परिचालित गर्ने गतिविधिमा सक्रिय छन्। र, कृष्णको मुर्ति सेलाउने कार्यक्रममा उनी नेतृत्वदायी भूमिकामा थिए।

    यसैकारण प्रहरीले उनलाई पक्राउ गरेका थियो। तर, उनको पक्राउ लगत्तै हिन्दू अतिवादीहरुले विरोध प्रदर्शन गर्न थाले। चोक–चोकमा टायर बालेर प्रदर्शन हुन थाल्यो। यता, काठमाडौंमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले यावदलाई रिहाइ गर्न माग गर्दै सार्वजनिक रुपमा भाषण नै गरे। यी विभिन्न दबावका कारणले प्रहरीले यादवलाई भोलिपल्टै छोड्यो।

    प्रहरीबाट उम्किने बित्तिकै यादव काठमाडौं आउँछन् र अस्पताल भर्ना हुन्छन्। यादवलाई भेट्न आरएसएस कार्यकर्ता पंकज दास र विकास ठाकुर अस्पतलमै पुग्छन्। विकास ठाकुर सर्लाही गैरका हुन्, उनी स्थानीय कांग्रेस कार्यकर्ता समेत हुन्।

    कृष्ण जन्माष्टमीको घटना राम्रोसँग सेलाएकै थिएन, असोज ४ गते गणेश चतुर्थीमा यही घटना दोहोरियो। तर, यसपटक पहिलेजस्तो सजिलै टरेन। गणेशको मुर्ति सेलाउन पहिले जस्तै डिजेसहितको यात्रा निस्कियो। गणेश चोक र जिल्ला प्रशासन कार्यालयबीचमा मेयर नागेन्द्र यादवको घर नजिकै मुस्लिम बस्तीबीचमा यात्रा रोकियो। यहाँ मुस्लिम विरोधी चर्को गीत, भाषण र नाराबाजी भयो।

    ‘छतबाट तातोपानी फ्याँके’ भनेर चलेको हल्लाका बीच मुस्लिमहरुले हिन्दू युवामाथि छुरा प्रहार गरेको सूचना मलंगवाभर फैलियो। त्यसपछि दुईपक्षबीच झडप सुरु भयो। रुपेश यादवमाथि छुरा प्रहार भएको सत्य हो तर हिन्दू अतिवादीहरुको सामाजिक सञ्जाल मार्फत् रुपेश मारिएको नियोजित दुष्प्रचार गरिएको प्रष्ट हुने तथ्यहरु नेपाल रिडर्ससँग छन्। उपचारपछि हाल रुपेश घर फर्किसकेका छन। त्यसैगरी रुपेशमाथि छुरा प्रहार गरेको अभियोगमा प्रहरीले अम्जद अलि मिक्रानीलाई पक्राउ गरी मुद्दा दायर गरेपनि उनले नै छुरा प्रहार गरेका हुन् वा होइनन् प्रहरी अनुसन्धानबाट खुलिसकेको छैन।

    राती १० बजेसम्म स्थिति नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालयले फेरि कर्फ्यु आदेश जारी गर्‍यो। तर, योजनाबद्ध रुपमा मुस्लिममाथि आक्रमण गर्ने तयारीमा रहेका हिन्दू अतिवादी समूहलाई कर्फ्युले रोक्न सकेन। उनीहरुले राती छानी छानी मुस्लिमका घर र पसलमा लुटपाट, तोडफोड र आगजनी गरे। यो क्रम पर्सिपल्ट असोज ६ गतेसम्म चल्यो।

    यसैक्रममा धुनियाँको घर र अन्सारीको पसलमा लुटपाट र तोडफोड भएको थियो। यस्तै, मलंगवाको मुख्य चोक नगरपालिका चोकमा हविव मियाँ मन्सुरको पसल पनि आगजनी गरियो। धार्मिक किताब र सिलाईबुनाईका सामान पाइने उनको पसल अहिले पुरै खरानी भइसकेको छ। मन्सुर कतिसम्म डराएका छन भने पसल आगलागी भएको एकहप्ता पुगिसक्दा पनि उनले आफ्नो पसल सफा गर्न सकेका छैनन्।

    प्रहरी प्रशासनको चौबिसै घण्टा उपस्थित हुन्छ यो चोकमा। ‘५ असोजको राती आगो लगाए,’ मन्सुरले पछिल्लो बिहान मात्र थाहा पाए। कर्फ्युका बीच उनी आफ्नो पसलसम्म आउन पाएनन्। ‘आइतबार (७ असोज) मा आउँदा पुरा दुकान राख भइसकेको थियो,’ हविव टोलाउँछन्।

    नगरपालिका चोकको यो लाइनमा मुस्लिम समुदायका थुप्रै पसल छन्। यही पसलको वरीपरी रहेका मुस्लिमका पसलको ढोकामा रातो रंग छ्यापिएको छ। ‘मुस्लिमको दोकान ठम्याउन सजिलो होस् भनेर मुस्मिलको पसलको भित्ता र ढोकामा रातो रंग छ्यापिएको छ,’ स्थानीय अरवाज मन्सुरी भन्छन्।

    पितापुर्खादेखि बसिरहेको ठाउँमा असुरक्षित भइएला भनेर हविवले कल्पना पनि गरेका थिएनन्। ‘हामी त डराएका छौं। अब यहाँ बस्न नसक्ने भएका छौं,’ जीवनको उत्तरार्धमा पुगेका हविव नयाँ ठेगाना खोजिरहेका छन्।

    यही चोकमा छ, लालबाबु मिक्रानीको ‘चाँदनी धागा, बटन हाउस’। उनको दोकानमा पनि हिन्दू अतिवादीले तोडफोड गरे। सामान लुटे र आगजनीको प्रयास गरे। ‘अल्लाहका शुक्र हो, मेरो दुकानमा आगो भने सल्किएन,’ मिक्रानी आफ्नो दोकानमा बचेखुचेका सामान जम्मा पारेर बोरामा हाल्दैछन्। १८ वर्षदेखि यही चोकमा व्यापार गरिरहेका उनी तत्कालका लागि आफ्नो व्यवसाय बन्द गर्ने सोचेका छन्। व्यवसाय बन्द गरेर के गर्ने भनेर सोचिसकेका छैनन्, ‘यहाँ सुरक्षित छैन। तर, अर्को ठाउँ पनि कहाँ जानु ?’ उनी अन्योलमा छन्।

    हिन्दूत्वको विचारधाराले जरा गाड्न थालेसँगै मलंगवाका ठाउँ-ठाउँमा हिन्दू प्रतिक र चिन्हहरु देखिन थालेका छन्।

    यही लाइनमा थियो मोहम्मद इस्राफी मन्सुरीको पाकिजा टेलर्स। उनको पसल हिन्दू अतिवादीले गरेको आगजनीका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। जलेर राख बनिसकेको पसल अगाडि उभिएर ६५ वर्षे इस्राफी गम खाइरहेका छन्। ‘यही दुकानका लागि ५ लाख ऋण लिएको थिए,’ उनी पसिना पुच्छन्, ‘हेर्नुहोस्, मेरो दुकान कस्तो बनाइदिए।’

    उनले देखाउँदा त्यहाँ जलेका कपडाका थान थिए। आगलागीले कोइला बनेका कुर्सी टेबल थिए। धुवाँ र खरानीको गन्ध थियो। इस्राफीको पसल पनि कर्फ्युको बीचमा शुक्रबार (५ असोज) जलाइयो।

    ‘हामीलाई हाम्रो मकानमा कैद गरियो, यता लुटपाट मच्चाइयो, आगो लगाइयो,’ इस्राफी गुनासो गर्छन्, ‘आगो लागेको २ घण्टापछि थाहा पाएँ मैले।’ प्रहरीसँग हारगुहार गरेर उनी घरबाट पसलसम्म आइपुग्दा ‘राख’ मात्र थियो।

    इस्राफीको पसल छेउमै थियो मोहम्मद जानिफ मिक्रानीको ‘सम्राट टेलर’। उनको पसलमा अगाजनीको प्रयास गरिए पनि सफल भएन्। तर, उनको पसलका सबै सामान लुटिएका छन्। तोडफोड भएको छ। मिक्रानीको पसलसँगै जोडिएको थियो मोहम्मद इजराईल साहको टेलर पसल। उनको पसलबाट लुगा कपडा र मेसिन लुटिएको छ, पसलमा तोडफोड गरिएको छ।

    तोडफोड र लुटपाटपछि भग्न भइसकेको पसलमा बसेर उनी न्याय मागिरहेका छन्। उनी हात जोडछन्, ‘यहाँ कसरी बस्ने ? हामी धेरै दुःखमा छौं, हजुर। नेपाल सरकारलाई भन्दिनु होला हामीलाई न्याय चाहियो।’

    नगरपालिका चोकबाट उत्तरतर्फको यो गल्लिमा ५ वटा मुस्लिमका पसलमा लुटपाट भएको छ। दुईवटा पसलमा आगजनी भएको छ। बाँकी आधा दर्जन बढी पसलमा रातो रंग छ्यापेर निसाना साँधिएको छ।

    मलंगवा-१० मुरली पोखरी नजिकै छ मैनुद्धिन अन्सारीको उजाला टेलर। यहाँबाट करिब ५ सय मिटरको दुरीमा छ जिल्ला प्रशासन कार्यालय। शुक्रबार ५ असोज दिउँसो १२ बजे यो पसल आगजनी गरिएको थियो। पसल अगाजनी हुँदा मैनुद्धिन दिल्लीबाट फर्किदै थिए। ‘दिल्लीबाट फर्केर पटना पुगेको थिएँ,’ मैनुद्धिन भन्छन्, ‘दिउँसै दोकान फोडेर समान लुटे, आगो लगाए।’ पछिल्लो दिन शनिबार उनी पुग्दा उनको पसल तहसनहस भइसकेको थियो।

    यहाँ छानीछानी मुस्लिमका पसलमा लुटपाट, तोडफोड र आगजनी मच्चाएको नाङ्गो आँखाले देख्न सकिन्छ। मैनुद्धिनको पसलसँगै जोडिएको हिन्दूको पसल सुरक्षित छ। धेरै ठाउँमा जहाँ–जहाँ मुस्लिमका पसल जलाइएका, लुटिएका छन्, त्यहाँ सँगै रहेका हिन्दूका पसल भने सुरक्षित छन्।

    तोडफोड र आगजनी गरिएको उजाला टेलर्स।

    हिन्दू अतिवादीहरुले मुस्लिका पसल, घरमाथि योजना बनाएरै आक्रमण गरेका यसमा संलग्न युवाहरु नै स्वीकार गर्छन्। अवधेश यादव र सन्दिप यादव हिन्दू सम्राट सेनाका सदस्य हुन्। अवधेश एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सर्लाही इकाईका सदस्य हुन्। सन्दिप माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको सर्लाही इकाईका सदस्य हुन्।

    दुवै जना मलंगवामा मुस्लिम समुदायमाथि आक्रमण गर्ने समूहमा थिए। हिन्दू अतिवादीका म्यासेन्जर, ह्वाटसएप च्याट ग्रुपका एडमिन समेत रहेका यी युवाले माथि उल्लेखित, ‘उजाला टेलर्स, च्वाईस टेलर्स र पाकिजा टेलर्स’मा तोडफोड र आगजनी गरेको सुनाए। ‘उजाला र च्वाईस यहाँको फेमस टेलर हो,’ उनीहरुले सुनाए, ‘यीनमा आगो लगाइयो, फोडियो।’

    मलंगवामा मुस्लिम समुदायका सबैभन्दा धेरै टेलर, वर्कशपको व्यवसाय छ। ‘तिनिहरु(मुस्लिम)को टेलर वर्कशप धेरै छ, हामीले सकेजति जलायौं,’ उनीहरु अझै पनि मुस्लिममाथि आक्रमण गर्ने योजनमा छन् र हाकाहाकी भन्छन्, ‘अझै पनि हामीले सोचे जस्तो भएको छैन।’

    अर्को कुनै अवसर सिर्जना गरेर तोडफोड, लुटपाट, आगजनी गर्न उनीहरुले मुस्लिमका बाँकी रहेका पसलमा रातो रङ पोतेका छन्। हिन्दूहरुको पसल निशानामा नपरोस् भनेर प्रष्ट देखिने गरी ‘श्रीराम’को पोस्टर टाँसिएको छ।

    मलंगवामा रहेका सम्पूर्ण मुस्लिम समुदायको घर, पसलमा आगजनी गर्ने योजना भएपनि प्रहरीले गर्दा रोकिएको सुनाउँछन् यी युवाहरु। ‘पुलिस नभएको भए हामी सब जलाइदिन्थ्यौं,’ उनीहरुले सुनाए। आगजनी, तोडफोड र लुटपाटपछि यहाँका अतिवादी हिन्दूहरु अर्धभूमिगत भएका छन्। मुस्लिम समुदायका मानिसहरुले आफूलाई दबाउन खोजेको र कृष्ण जन्माष्टमीको मूर्ति विर्सजनमा ढुंगा प्रहार गरेर हिन्दू धर्ममाथि आक्रमण गरेको यी युवाको बुझाइ छ।

    सर्लाही सदरमुकाम प्रवेश गर्ने मुख्य चोक शिवसागर चोकमा अझैसम्म जलाइएका पसलको खरानी सडकमा छ। हिन्दू अतिवादीले कर्फ्युकाबीच गरेको आगजनीको पिरो धुवाँले अझै पनि आँखा र नाक पोल्छ।

    शिवसागर चोकमा रहेको अलि मियाँको ‘लक्कि जनरल स्टोर’ मा शुक्रबार दिउँसो तीन बजेतिर लुटपाट मच्चाइयो। ‘फ्रिज तानेर चोकमा लगेर आगो लगाए,’ पसलमा आगलागी हुँदा मियाँ घरमा थिए। पसलको माथिल्लो तल्लामा बस्नेले पसल लुटिएको खबर गरेपछि उनी दौडिँदै आउन खोजे तर प्रहरीले कर्फ्यु भन्दै रोक्यो।

    ‘उनीहरुलाई लुटपाट, आगजनी गर्न कर्फ्यु नहुने, हामीलाई कर्फ्यु भयो,’ मियाँ आक्रोशित हुन्छन्। तर, मलंगवामा उनको आक्रोश सुन्ने कोही छैन। मुस्लिम समुदायको गुनासो सुन्नै कोही छैन।

    शिवसागर चोक आसपासमा रहेका मुस्लिमका मोटरसाइकल वर्कशप, वर्कशप टेलर, पसलामा आगजनी गरियो, लुटपाट मच्चाइएको छ। शिवसागर चोकबाट एक सय मिटर पश्चिममा शिवसागर पोखरी छ। यही पोखरीको छेउमा जाहिर हुसैन लहरीको कम्समेटिक पसल र अब्दुल खालिग बक्स मियाँको सानो घर थियो। यो पसल र घर दुवैमा लुटपाच मच्चाइयो र आगजनी गरियो।

    कतिसम्म भने हिन्दू अतिवादीले अब्दुल खालिग बक्स मियाँको घर मात्र जलाएनन्, उनको बारीमा रहेका आँप र केराका बोट समेत काटेर फाले। ७६ वर्षे मियाँ जलेर खरानी भइसकेको आफ्नो सानो घरको अवशेष छेउमा उभिएर ‘अल्लाह’ पुकारिरहेका छन्।

    जलेर खरानी बनिसकेको आफ्नो पसलमा उभिएका ६५ वर्षिया मोहम्मद इस्राफी मन्सुरी।

    जाहिर हुसैन लहरीको कस्मेटिक पसल जलेर बाँकी रहेको अवशेष मात्र बाँकी छ। उनले आफ्नो दुकानमा ग्रामिण विकास लघुवित्तलाई किस्ता तिर्न भनेर साढे १२ हजार रुपैयाँ राखेका थिए। ‘त्यो पैसा लुटे, सामान लगे अनि जलाइदिए,’ लहरी निरिह छन्, ‘हामी कहाँ जाने हजुर ? के गर्ने ?’ शिवसागर चोक र त्यस आसपासका घर, पसलमा शुक्रबार दिउँसो १ बजेदेखि तीनबजेसम्म लुटपाट र आगजनी भयो।

    मुस्लिम समुदायले संकलन गरेको विवरण अनुसार ४ असोज देखि ६ असोजको बीचमा मलंगवामा मुस्लिम समुदायका ३२ वटा पसल, ५ वटा घरमा हिन्दू अतिवादीले लुटपाट र आगजनी गरे। तर, सर्लाही प्रशासनसँग भने यसको विवरण छैन। १२ असोजमा नेपाल रिडर्सको टिम पुग्दा पनि सर्लाही प्रशासनले क्षतिको विवरण संकलन गरिसकेको थिएन।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, ‘हामीसँग ठ्याक्कै तथ्यांक छैन। यसको वास्तविक तथ्यांक संकलन भइसकेको छैन। यसमा प्रहरीले काम गर्दैछ। अबको हप्ता दिनमा तथ्यांक आइसक्छ।’ यता नेपाल प्रहरी भने शान्ति व्यवस्था कायम गर्नमै खटिरहेको दाबी गर्छ।

    मलंगवामा मुस्लिम समुदायमाथि आक्रमण भएपछि आसपासका मुस्लिम बस्ति त्रसित छन्। मलंगवा ६ खुटौनाका मुस्लिम समुदायका मानिस रातभर निदाउन सकेका छैनन्। कतिसम्म भने उनीहरु डरले रातभरी गाउँमा गस्ति गर्छन्। उनीहरु पत्रकारसँग आफ्नो नाम र फोटो नछापिदिन अनुरोध गर्छन्, ‘हाम्रो नाम र फोटो छापियो भने हामीलाई टार्गेट बनाउँछन्।’

    मुस्लिम समुदायमा डर कतिसम्म छ भने, ‘म ४० वर्षको भएँ। यो घटना हुनुअगाडि ६४ किलो थिएँ, अहिले घटेर ५४ किलो पुगिसकेँ। रातभरी निन्द्रा लाग्दैन।’ खुटौनाका मुस्लिम युवा भन्छन्, ‘यतिखेर हामी मौन छौं। हामीबाट सानो पनि केही गल्ति भयो भने यहाँ थामिनसक्नु हुन्छ, हामीमाथि निर्मम आक्रमण हुन्छ।’

    सर्लाहीको सदरमुकाममै मुस्लिम समुदायमाथि दिनदहाडै कर्फ्युको बीचमा आक्रमण हुँदा पनि यस क्षेत्रका नेता, सांसद कोही पनि मुस्लिम समुदायको हालखबर बुझ्न आएनन्। ‘हामीलाई सबैले एक्ल्याउँदैछन्, हामीलाई योजनाबद्ध रुपमा नै आक्रमण गरिँदैछ,’ उनीहरु भन्छन्।

    मलंगवा ३ का ६२ वर्षे अब्दुल कलाम मन्सुरी आग्रह यहाँ आएर यहाँको माहोल हेरिदन आग्रह गर्छन्। ‘नेता, विधायक, पत्रकार, बुद्धिजिविहरु तपाई आफैँ आएर यहाँको आँखो देखि हाल हेरिदिनुहोस,’ उनी अनुनय गर्छन, ‘हामीमाथि कत्रो अत्याचार भइरहेको छ थाह पाउनुहुन्छ।’

    खसीबाख्राको व्यापार गर्ने मुस्लिम व्यापारीहरुले कामको शिलशिलामा गाउँ डुल्दा समेत दुर्व्यवहार खप्नु परिरहेको छ। एक व्यापारी आफूले भोगेको दुर्व्यवहार सुनाउँछन्, ‘खसी किन्न जाँदा मुस्लिम आयो भन्दै गाली गर्छन्। जय श्री राम भन् भनेर दबाब दिन्छन्।’

    मलंगवामा मुस्लिम समुदायमाथि आक्रमणलाई समर्थन गरेका छन् जनता समाजवादीका पार्टीका नेता तथा पूर्व प्रदेश सांसद अशोक यादवले। हिन्दू सम्राट सेनाका नाममा मुस्लिमाथि आक्रमण गर्ने कृष्ण यादवलाई आफ्नो समर्थन भएको यादवले सुनाए। ‘कृष्ण यादवलाई हाम्रो समर्थन छ, उसले आफ्नो अभियान चलाएको छ, त्यसमा त समर्थन छ।’

    मुस्लिमहरुले हिन्दूको चाड पर्वमा विवाद गर्ने गरेको आरोप लगाउँछन् यादव। भन्छन्, ‘हाम्रो पर्वमा उनीहरु विवाद खडा गर्दिने, उनीहरुको पर्वमा हामी सपोर्ट गर्दिन्छौं।’

    मलंगवकै स्थानीय जसपा नेता नागेन्द्र यादव पनि मुस्लिमहरुले नै गल्ती गरेको दाबी गर्छन्। ‘उनीहरु हाम्रो पर्वमा सधैं निहुँ खोज्छन्। ७/८ वर्षदेखि यही खेला भइरहेको छ मलंगवामा,’ उनी भन्छन्, ‘उनीहरु हाथ हतियार लिएर निस्कन्छन्। हामी हिन्दू त कानूनलाई मान्छौं, हामीले हातहतियार लिएर निस्कियो भने के हुन्छ?’

    भारतको राष्ट्रिय स्वयंम् सेवक संघ (आरएसएस) सँग निकट रहेर गतिविधि गरिरहेको हिन्दू सम्राट सेनाको प्रभाव मधेशका आठवटै जिल्लामा स्पष्ट देख्न सकिन्छ। यो संगठनका नेताहरुले मुस्लिम विरोधी भावना भड्काउन उत्तेजक गतिविधि गर्ने गरेका छन्।

    २० भदौदेखि मलंगवमा भइरहेको तनावले अझै नपुगेको बताउँछन यादव। उनी मलंगवामा हिन्दूहरुले ठूलो प्रर्दशन गर्नुपर्ने ठान्छन्। ‘यतिले भएको छैन, यहाँ हिन्दूहरुको एकपटक ठूलो प्रदर्शन हुनु पर्यो।’ मलंगवामा भएको हिन्दू अतिवादीको हिंसाले मात्र हिन्दू राष्ट्र कायम नहुने बताउँदै यादव भन्छन्, ‘मलंगवाको आन्दोलनले हिन्दू राष्ट्र हुँदैन तर आन्दोलन त चर्काउनु पर्‍यो।’

    पूर्व सांसद यादव मलंगवा हिंसामा मुस्लिमकै गल्ति देखाउँछन्। ‘कृष्ण जन्माष्टमीमा ढुंगा, हान्ने पानी फाल्ने मान्छेलाई कारबाही गर्नुपर्ने थियो। त्यो कारबाही नहुँदा हिन्दू युवाहरु आक्रोशित भए, मुस्लिमाथि आक्रमण गरे।’ यादवकै गाउँ सलेमपुरमा पनि हिन्दू अतिवादी युवाहरुले मस्जिदमा तोडफोड गरेका छन्। मुस्लिम समुदायलाई गालि गलौज गर्दै पूर्व सांसद यादव भन्छन्, ‘मलंगवामा ९० प्रतिशत हिन्दू छन्, १० प्रतिशत मुस्लिम छन्। तिनिहरु हामीसाग किन निहुँ खोज्छन्, सकिन्छन् तिनीहरु।’

    हिन्दू सम्राट सेनाले मधेशका आठ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिरहेको छ। राष्ट्रिय अनुसन्धान विभाग र प्रहरी उच्च स्रोतका अनुसार यो संस्थाले मधेशका हरेक गाउँमा आफ्नो संगठन विस्तार गरिरहेको छ। जय श्री राम भन्ने यो संगठनले आफ्ना कार्यक्रम, भिडियो मार्फत हिन्दू राष्ट्र कायम गर्नुपर्ने, मुस्लिमलाई धपाउनुपर्ने माग गरिरहेको हुन्छ।

    राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) र हिन्दू अतिवादीको संगठन राष्ट्रिय स्वयं सेवक संगठनले मधेशमा मुस्लिम विरोधी, हिन्दू अतिवादी गतिविधि चलाइरहेको छ। यसका लागि उनीहरुले विभन्न धार्मिक संस्थालाई प्रयोग गरिरहेका छन् भने लडाकु दस्ताका रुपमा हिन्दू सम्राट सेनालाई प्रयोग गरिरहेका छन्। भारतको र आरएसएले हिन्दू अतिवादी समूहलाई सहयोग गरिरहेको पूर्व सांसद यादव पनि स्वीर्काछन्। ‘यो सबै पारी (भारत) बाट सहयोग भइरहेको छ,’ उनले स्वीकारे।

    मलंगवामा भएको पछिल्लो घटनामा भारतको अतिवादी हिन्दू संगठन राष्ट्रिय स्वयं सेवक संगठन (आरएसएस) सँग जोडिएका हिन्दू सम्राट सेना नेपाल, विश्व हिन्दू परिषद, राष्ट्रिय एकता अभियान, बजरंग दल लगायतका संगठन सक्रिय थिए। उनीहरुले योजनाबद्ध रुपमा नै यो घटना घटाएका थिए। मलंगवाका हिन्दू अतिवादीहरु सामेल भएको म्यासेन्जर र ह्वाट्स एप ग्रुपमा घटनाको समयमा भएको कुराकानी नेपाल रिडर्सले फेला पारेको छ। जसमा उनीहरुले मुस्लिम समुदायका सक्रिय व्यक्ति, समाजसेवी र व्यापारीका घर, पसलमाथि कसरी आक्रमण गर्ने भनेर योजना बनाएका छन्। ती च्याट ग्रुपमा सामाजिक सञ्जालमा मुस्लिम विरोधी पोष्ट, भिडियो र अभिव्यक्ति पोष्ट गर्ने र योजनावद्ध रुपमा मुस्मिलमाथि आक्रमण गर्ने तयारी गरिएको छ।

    यी सबै घटनाक्रमले मलंगवामा जे भयो, त्यो यतिमा नरोकिने प्रष्ट देखिन्छ। मलंगवाका आतंकित मुस्लिम समुदाय अर्को अप्रीय घटना पर्खिरहेका छन् भने हिन्दू अतिवादीहरु अर्को अवसरको।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेश ज्ञवाली र सागर चन्द

      नरेश ज्ञवाली र सागर चन्द

      ज्ञवाली र चन्द नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.