नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न र उहाँको छोरा तथा परिवारलाई भेट्न गएका अन्तरिम विधायिका सांसद एवम् राष्ट्रिय उद्यमी कृष्ण आचार्य, लेखनाथ पोख्रेल, मोहन के.सी, एम. एस. थापा, केशवलाल श्रेष्ठ र कमलामोहन पौडेलहरू बिच पुराना कम्युनिस्टहरूलाई एकै ठाउँमा भेला गर्ने सम्बन्धी प्रस्तावहरूमा छलफल भएको रहेछ । काठमाडौँमै रहेर पनि म आफ्नै परिवारको सदस्य बिरामी भई हस्पिटलमा उपचारको क्रममा रहेका कारण त्यहाँ उपस्थित हुन सकिनँ । दोस्रो चरणमा पोखरा कृस्तीका लेखनाथ पोखरेलको मिति २०७९/१०/१३ मा आयोजित चौरासी पूजा र भेटघाट कार्यक्रममा पनि सोही विषयमा छलफल भएको थियो । यही क्रममा वि.सं. २०८० भाद्र ९ गते पोखरामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र भेगबाट बिस जना साथीहरू भेला भएका थियौँ । उक्त भेलाले कृष्ण आचार्य संयोजक, मोहन के.सी सह–संयोजक, रामराज रेग्मी र गेहेन्द्रेश्वर कोइराला कोषाध्यक्ष एवम् व्यवस्थापक र झलक सुवेदी सचिव रहेको भेला आयोजक समिति बनेको थियो । सो भेलामा सहभागी हामी सबै बिसै जनालाई आयोजकको रूपमा राखिएको थियो । सोही समितिले २०८१ कार्तिक ९ र १० गते पोखरामा विभिन्न कम्युनिस्ट पार्टीहरू र वामपन्थी जेष्ठ कम्युनिस्टहरूको बृहत भेला सम्पन्न गरेको थियो । उक्त भेलामा मुस्ताङदेखि पूर्वी नवलपरासीसमेत गण्डकी प्रदेशका सबै जिल्लाका जेष्ठ कम्युनिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो । यसै सन्दर्भमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र त्यस यताका विविध घटना क्रमलाई सङ्क्षेपमा उल्लेख गर्ने जमर्को गरेको छु ।
नेपालको कम्युनिष्ट आन्दोलनका उकाली ओराली
दोस्रो विश्वयुद्धको समाप्तिसँगै पूर्वी युरोपका तत्कालीन पूर्वी जर्मन, चेकोस्लोभाकिया, युगोस्लाभिया, पोल्याण्ड, हङ्गेरी, बुल्गेरिया, रोमानिया र अल्वानियामा सोभियत समर्थित कम्युनिस्ट सरकार स्थापना भई लालझन्डा फहराउन सफल भएको थियो । यिनै देशहरु मिलेर पोल्यान्डको राजधानी वार्सा सन्धी पनि नेटोको खिलापमा निर्माण भएको थियो । यता एसियाका चीन, भियतनाम, मङ्गोलिया, उत्तर कोरियालगायतका र पछि (लाहोस र कम्पोचिया) देशहरूमा क्रान्ति सम्पन्न भई नयाँ जनवादी सरकार स्थापना हुँदै गर्दा नेपालमा १९४९, अप्रिल २२ तदनुसार वि.सं. २००६ साल वैशाख ९ गते भारतको कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापनाको विषयमा पनि विभाजित कम्युनिस्ट पार्टीहरूको अलग–अलग धारणा रहेको पाइएको छ । जसमा नेकपा एमालेले २२ अप्रिललाई स्थापना दिवस मान्दै आएको छ भने पुष्पलालको नेतृत्वको कम्युनिस्ट पार्टीले वि.सं. २००६ साल आश्विन ६ गते १५ सेप्टेम्बरलाई मान्दै आएको छ । यसै सन्दर्भमा पुष्पलालको निधन पश्चात वि.सं. २०३५ साल असोज ६ गते १५ सेप्टेम्बरमा पार्टी स्थापनाको मितिलाई आधार मानेर दरभङ्गामा चित्रबहादुर गुरुङ (पोखरा) को अध्यक्षतामा सङ्कटकालीन सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनबाट छानिएको केन्द्रीय कमिटीको बैठकले सहाना प्रधानलाई पार्टीको महासचिवमा चयन गरेको थियो । सम्मेलनमा म आफू पनि सहभागी भएको र अस्वस्थ रहेका चित्रबहादुर गुरुङलाई पोखरादेखि दरभङ्गासम्म सँगै लैजाने काम पनि म आफैँले गरको थिएँ । दरभङ्गा जाने क्रममा काठमाडौँका पुष्पलालका पुराना अनुयायी र केन्द्रीय कारागारमा रहेका केशरमणि पोखरेललाई पनि भेटेर अनौपचारिक सल्लाह लिने काम भएको थियो ।
यसरी मुलुकको गरिबी र पछौटेपनबाट मुक्तिका लागि, शोषित, पीडित जनताको एक मात्र अगुवा दस्ता नेपाल कम्युनिस्ट पार्टीको स्थापना युगको मागलाई सम्बोधन गर्दै भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छहत्तर वर्ष नाघिसकेको छ । यो लामो अवधिमा मुलुकको राष्ट्रिय राजनीतिमा निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य, २००७ सालको जनक्रान्ति, २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा अब उप्रान्त मुलुकको शासन भार जनताले चुनेको प्रतिनिधिद्वारा गणतन्त्रात्मक विधिद्वारा सञ्चालन हुने छ भन्ने घेषणा तत्पश्चात संविधान सभा कि संसद्को चुनाव भन्ने विवाद उब्जाएर दलहरू बिच मतान्तरकै बिचमा २०१५ सालमा संसद्को निर्वाचन, नेपाली काँङ्ग्रेस पार्टी दुई तिहाइ बहुमतमा, प्रतिपक्षमा गोरखा परिषद्, त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले चार सिट संसद्मा प्रतिनिधित्व गराउन सफल भएको थियो । चार सिटमा विजयी हुनेहरूमा ललितपुरबाट तुलसीलाल अमात्य, पाल्पाबाट कमलराज रेग्मी, बारा र पर्साबाट शेख फरमान अनि हृदयाल महतो रहेका थिए ।
२०१५ सालको विपी कोइराला नेतृत्वको सरकारलाई राजा महेन्द्रद्वारा वि.सं.२०१७ साल पौष १ गते फौजी बलद्वारा विघटन गराई मुलुकमा निरङ्कुश शासनको पुनरावृत्ति सुरु हुन पुग्यो । संसद् विघटनपछि उक्त राजनैतिक घटनालाई हेर्ने दृष्टिकोणका बारेमा कम्युनिस्ट पार्टीका नेताहरू बिच मतान्तर रहेको थियो । जसमा पुष्पलालद्वारा विघटित संसद्को पुनस्र्थापना, तुलसीलाल अमात्यको प्रस्ताव सार्वभौमसत्ता सम्पन्न संसदको पुनःस्र्थापना, मोनविक्रम सिंहको संविधान सभाको निर्वाचन र तत्कालीन पार्टी महासचिव डा. केशरजंग रायमाझीबाट घुमाई फिराई राजाको कदमको समर्थनलगायत छोटै अवधिमा मुलुक विविध उतारचढाबबाट गुज्रिदैँ आएको हो । यसरी पार्टी स्थापनाको दशक भित्रै मतान्तरको महाभारत सुरु भएको थियो । अन्ततः मुलकमा एउटै कम्युनिस्ट पार्टी रहन सकेन । वि.सं. (२०१४) को दोस्रो महाधिवेशनबाट दक्षिणपन्थी अवसरवादको रुझान मात्र हैन खुल्लमखुल्ला नेतृत्वमा राजावादी धारको गर्ने डा. केशरजंग रायमाझीको नेतृत्वले पार्टीलाई बिसर्जनको दिशामा लग्नबाट जोगाउन र बचाउन पार्टीका संस्थापक महासचिव पुष्पलाल र तुलसीलालको पहलमा दोस्रो महाधिवेशनबाट छानिएका छ जनाको प्रयासमा भारत प्रवास (वनारस) मा तृतीय महाधिवेशन आयोजना भयो । यता मुलुकमा संसद् विघटन भई कैयौँ नेताहरू जेल र प्रवासको शरणमा पुगिसकेका थिए । संसद् विघटन लगतै दरभङ्मा बसेको प्लेनमले एउटै विचार निर्माण गर्न नसकेको पनि दस्तावेजहरूले पुष्टि गरिसकेको थियो ।
तृतीय महाधिवेशनमा पुष्पलालबाट प्रस्तुत नयाँ जनवादी कार्यक्रम पारित हुन सकेन । तुलसीलाल अमात्यद्वारा प्रस्तुत राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम पास भयो । महासचिवमा तुलसीलाल अमात्य चयन हुनुको विकल्प थिएन किनकि नीति कार्यक्रम तुलसीलालको पास भएको थियो । त्यो समयमा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम भनेको रुसी संसोधनवादी खु्रस्चेभको लाइन भनी आरोप लगाइएको थियो । दुर्भाग्यवश नव निर्वाचित महासचिव अमात्य र पुष्पलाल बिच मतान्तरको शृङ्खला पनि सुरु भयो । यता पुष्पलालले नेपाली जनताको क्रान्तिको एक मात्र कार्यक्रम नयाँ जनवादी कार्यक्रम ‘मूल बाटो’ र तुलसीलालद्वारा ‘कुन बाटो’ जस्ता दस्तावेजहरू सार्वजनिक गरेर मतान्तरका शृङ्खलाहरू पार्टीका तल्ला तहसम्म विस्तार हुन सुरु भयो । अन्ततः तुलसीलाल अमात्य दिल्लीमा अड्डा जमाएर बस्ने कार्य सुरु भयो । यता पुष्पलालले वनारसबाटै देशभित्रका छरिएर रहेकका र तृतीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा छानिएका आफू पक्षका केही साथीहरू जुटाएर तितरवितर भएको सङ्गठनलाई पुनर्जीवित गर्न भगीरथ प्रयत्न गर्ने क्रममा वि.सं. २०२५ सालमा तेस्रो ऐतिहासिक गोरखपुर सम्मेलनद्वारा पार्टीको क्रान्तिको कार्यक्रम नयाँ जनवादी कार्यक्रम पारित भयो । म आफूलाई पनि गोरखपुर सम्मेलन यताका घटनाक्रम नजिकबाट हेर्ने, बुझ्ने र पार्टीमा सङ्गठित भई अगाडि बढ्ने अवसर ईतिहासले जुराएको थियो ।
वि.सं. २०२५ सालतिर मनमोहन अधिकारी जेलबाट भर्खर छुटेका, गोरखपुर सम्मेलनमा अनुपस्थित यता मोहनविक्रम र निर्मल लामाहरू भने जेलमै रहेकाले गोरखपुर सम्मेलन आयोजनाका सन्दर्भमा नेताहरू बिच के कस्ता प्रत्यक्ष वा परोक्ष संवाद भए भन्ने कुरा मेरा तहबाट ती प्रारम्भिक अवस्थाका घटनाक्रमहरू दस्तावेजमा अभिलिखित भएका मात्र जानकारी हुनु स्वाभाविक थियो।
अतः मनमोहन अधिकारी जेलबाट छुटेपछि पु्ष्पलालको नेतृत्वलाई सहज स्वीकार नगरेको देखिन्छ र पूर्व कोशी समूहको रूपमा अलग्गै रहेको पुष्पलालद्वारा लिखित पार्टीको १८ वर्षे सिंहावलोकन पुस्तकमा पूर्व कोशी गुट भनिएको छ । समयको अन्तराल पछि पूर्व कोशी समूहको धारबाटै सुरुमा भारतीय नक्सलवादीको प्रभावमा झापाली समूहको उदय हुन पुग्यो । झापाली समूहका नेताहरूमा मोहनचन्द्र अधिकारी, के.पी शर्मा ओली (वर्तमान नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री), सिपी मैनाली, राधाकृष्ण मैनालीलगायतको पहल र समर्थनमा २०३५ साल पुुस ११ गते माओ जयन्तीको अवसर पारेर नेकपा माले पार्टी स्थापना हुन पुग्यो । माथि नाम उल्लेख भएका मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओली लगायतका नेताहरू जेलमा भए पनि माले स्थापनामा समर्थन रहेको दस्तावेजहरूले पुष्टि गरिसकेको छ । यसभन्दा अगाडि मोहनविक्रम सिंह र निर्मल लामा (२०२८ सालमा जेलबाट छुटेपछि) पुष्पलालको नेतृत्वलाई अस्वीकार गर्दै ‘गद्दार पुष्पलाल’ जस्ता दस्तावेज रूपी पुस्तक मोहनविक्रमद्वारा सार्वजनिक भयो । लामा र मोहनविक्रमकै पहलमा वि.सं. २०३१ नेकपा मसाल विधिवत घोषणा भयो । त्यतिबेलासम्म मनमोहन अधिकारी मसाल र पुष्पलालको नेतृत्वको नेकपामा कतै पनि संलग्न नरहेको र पछि माले गठनमा मनमोहन अधिकारीको संलग्नता पनि देखिएन । यो कुरा विगतका दस्तावेज र घटनाक्रमहरूले पुष्टि गरिसकेको छ ।
यसरी २०३५ साल अगाडि २०३० को दशकमै नेपाल कम्युनिस्ट पार्टी विभाजित रूपमा अगाडि आएको थियो । २०३० सालपछि माले गठनअगाडि मोहनविक्रमको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको देशव्यापी प्रभाव फैलिँदै थियो । विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरू, कलेज पढिसकेर गाउँ गाउँमा शिक्षकका रूपमा गाउँ छिरेकाहरूको माझमा यो विस्तार हुँदै थियो । यता पूर्व झापा आन्दोलनले पनि कोअडिनेशन केन्द्रका रूपमा आफूलाई सङ्गठित गर्दै सहर बजारका युवा विद्यार्थीहरूका बिच प्रभाव बढाउँदै लग्यो । झापा आन्दोलनका अगुवाहरूबाट २०३५ साल पुुस ११ गते मालेको स्थापना पश्चात यो सङ्गठनले युवा, विद्यार्थी र किसानहरूका बिचमा प्रभाव र विस्तार गर्न एक पछि अर्को सफलता प्राप्त गर्दै गयो । पुष्पलालको नेतृत्वमा सङ्गठित रहेका पाका, पुराना साथीहरू पनि मालेको फैलावटतर्फ आकर्षित हुन थाल्नु स्वाभाविक थियो । जसका कारण मोहनविक्रम नेतृत्वको चौथो महाधिवेशन र पुष्पलाल नेतृत्वको पार्टी सङ्गठनात्मक रूपमा खुम्चिदै जाने क्रम सुरु भयो । यसै क्रममा २०३३ सालपछि मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितहरू पनि पुष्पलाल नेतृत्वको सांस्कृतिक म्ुक्ति मोर्चा नै कब्जा गरेर कोके तिर समाहित भएको कुरा ऐतिहासित तथ्यले पुष्टि गरेको छ ।
वि.सं. २०३५ साल साउन ७ गते पुष्पलालको निधनपछि सहाना प्रधानको नेतृत्वमा पुष्पलालको विरासतलाई अगाडि बढाउने कार्य सुरु भयो । यता मनमोहन अधिकारी, सिद्धिलाल सिंह, भरतमोहन अधिकारी, केशरमणि पोख्रेल, कमल कोइराला र हिरन्नेलाल श्रेष्ठ एम.ए,स थापालगायत देशभर छरिएर रहेका पाका पुराना नेता कार्यकर्ताहरूलाई समेटेर (२०३६) भाद्रमा भएको एक पाटनको अनौपचारिक भेलालाई हिरन्नेलाल श्रेष्ठको युगधारा पत्रिकामा नेकपा मनमोहन अधिकारी समूह गठन भनेर समाचार प्रचार भएपछि सञ्चार माध्यममा पुष्पलालको विरासतका दुई समानान्तचर पार्टी नेकपा मनमोहन समूह र नेकपा सहाना समूह प्रचारमा आयो । जनमत संग्रहको खुकुलोपनलाई उपयोग गर्दै पत्रपत्रिकाहरुमा पार्टीका अगाडि प्रतिबन्धीत जुन्डयाएर प्रचार प्रसार हुने गरेको थियो । सहाना र मनमोहन अधिकारी नाताले साली भेना भए पनि राजनैतिक रूपमा पुष्पलालको विरासतलाई आ–आफ्नै भएको दावी गर्दै दुई ओटा पार्टी अलग–अलग अस्तित्वमा अगाडि आए । कारण मनमोहन अधिकारी पुष्पलालकै समकालीन एवम् २०१० सालको प्रथम महाधिवेशनका महासचिव रहिसकेका, मुलुकको राष्ट्रिय राजनीतिमा र अन्तराष्ट्रिय क्षेत्रमा समेत विशिष्ट पहिचान बनिसकेका मूर्धन्य व्यक्तित्व भएकोले सहानाको नेतृत्व मनमोहनलाई स्वीकार्य नहुनु स्वाभाविक थियो । यता पुष्पलालको नेतृत्वमा सङ्गठित रूपमा रहेका तर व्यक्तित्वको हिसाबमा जुनियरहरूको नेतृत्व जस्ता आपसी टकराव पनि यसको कारण रहेको थियो ।
अन्ततः पुष्पलालकै विरासतका दुई पार्टी अलग–अलग रूपमा लामो समय अगाडि जान नसक्ने अवस्था सिर्जना भएपछि वि.सं. २०४४ साल चैत्रमा भारतको वनारसको सारनाथमा दुवै पार्टीको राष्ट्रिय भेला आयोजना गरी मनमोहनको नेतृत्वमा नेकपा मार्क्सवादी एकीकृत भई अगाडि बढ्यो । यता चौथो महाधिवेशनको नाममा अगाडि आएको मसालमा मतान्तर भई मोहनविक्रम नेतृत्वमा नेकपा मसाल र निर्मल लामाको नेतृत्वमा नेकपा मशाल दुई पार्टी अलग अस्तित्वमा अगाडि बढ्ने क्रम सुरु भयो । यसै बिचमा रूपलाल विश्वकर्माको सर्वहारा श्रमिक सङ्गठन आदि सङ्गठनहरू पनि अस्तित्वमा आए ।
२०४६ सालको जनआन्दोलनमा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीका सङ्गठनहरू अस्तित्वमा आइसकेका थिए । २०४६ सालको जनआन्दोलनमा नेपाली काँङ्ग्रेससँग संयुक्त संयन्त्र निर्माण गरेर पञ्चायत विरुद्धको आन्दोलनमा अगाडि बढ्नका लागि सात वाममा नेकपा माक्सवादी (नेता मनमोहन अधिकारी), नेकपा माले (नेता मदन भण्डारी), नेकपा संयुक्त नेता (विष्णुबहादुर मानन्धर), नेकपा मशाल (नेता निर्मल लामा), नेकपा अमात्य (नेता तुलसीलाल अमात्य), नेकपा वर्मा (नेता कृष्णराज वर्मा), नेपाल मजदुर किसान पार्टी (नेता नारायणमान विजुक्छे ‘रोहित’) लगायत सामेल थिए । यता मसालका विभाजित अलग अलग नौ ओटा सङ्गठनबाट पनि ‘संयुक्त राष्ट्रिय जनआन्दोलन समिति’ का नाममा आन्दोलनमा सरिक भएका थिए । त्यस्तै नेपाल किसान मजदुर सभा नेता श्यामप्रसादको समूहबाट गण्डकी क्षेत्रमा नेता शेषमणि आचार्य, रामराज रेग्मीलगायत पनि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी रहेका थिए । २०४६ सालको जनआन्दोलनको सफलतापछि पनि नेपालमा कम्युनिस्ट पार्टीहरू एक आपसमा एकीकरण हुने, पुनः विभाजित हुने यो शृङ्खला आज छहत्तर वर्षसम्म आइपुग्दा पनि निरन्तर चलिरहेको छ ।
माथिका सन्दर्भहरूमा धेरै कम्युनिस्ट पार्टीहरूमा छरिएर रहेका कुनै न कुनै रूपमा योगदान पु¥याउँदै आएका जेष्ठ कम्युनिस्टहरूको एउटै थलोमा जमघट गराउने उद्देश्यका साथ गएको कार्तिक ९ र १० गते पोखरामा झन्डै दुई सय जनाको जमघट भएको थियो । अहिले पनि संसद्मा प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीहरुमा नेकपा एमाले (सरकारको नेतृत्व प्रधानमन्त्री के.पी शर्मा ओली) नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकृकीत समाजवादी नेता माधव कुमार नेपाल, संयुक्त जनमोर्चा नेपाल (मातृपार्टी नेकपा मसाल नेता मोहन विक्रम) नेपाल मजदुर किसान पार्टी नेता नारायण मान विजुकछे रहेका छन् । संसद् बाहिर नेकपा माओवादी नेता नेत्र विक्रम चन्द विपल्प, नेकपा माओवादी नेता किरण वैध्य, नेकपा माले नेता सिपी मैनाली, नेकपा पुष्पलाल, नेता ऋषि कट्टेललगायतका अस्तित्वमा छन् ।
पोखरा भेलाको झाँकी
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आतिथ्यता र स्वागतबाट सुरु भएको कार्यक्रममा विगत लामो समयदेखि आ–आफ्नो वामपन्थी छवि र पृष्ठभूमिलाई कायम राख्न सफल कलेजका प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सरकारी कर्मचारी, बैङ्क–वित्तीय संस्थाबाट निवृत्तलगायत राजनीतिक पार्टीमा सक्रिय भूमिका र विशिष्ट महत्वका कार्यहरूमा विगतमा संलग्न भैसकेकाहरूको भेलामा उल्लेख्य सहभागिता रहेको थियो । जस्तै पूर्व कृषि मन्त्री हाल आनन्द आश्रम (स्याङ्जा) संस्थापक संरक्षक त्रिलोचन ढकाल, पूर्व जलस्रोत राज्यमन्त्री, राष्ट्रिय उद्यमी व्यवसायी पहिचान बनाएका हरिप्रसाद पाण्डे (पोखरा), राष्ट्रिय योजना आयोजका पूर्व उपाध्यक्ष एवम् राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पोखराका चर्चित वामपन्थी नेता पूर्व सांसद कोसी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, पुष्पलालको अस्तु बनारसबाट पशुपतिमा ल्याएर बिसर्जन गर्ने काम गरेका र हाल पुष्पलालको विरासतको दावी कर्ता नेकपाका केन्द्रीय नेता रामबहादुर भण्डारी, नेकपाका केन्द्रीय अध्यक्ष ऋषि कट्टेल, पूर्व महान्यायाधिवक्ता खेमनारायण ढुङ्गाना, वामपन्थी आन्दोलनको क्षेत्रमा विशिष्टता हासिल गरेका, पछि राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक एवम् पूर्व मन्त्री एम.एस. थापा, पर्वतको चर्चित ‘चुवा काण्ड’ को आरोपमा जेलनेल, प्रवासको सास्ती खेपेका खड्गबहादुर गुरुङ (पर्वत), प्रगतिशील साहित्यकार खगेन्द्र सङ्ग्रौला, संविधान सभा सदस्य टेकु नेपाली (स्याङ्जा), पूर्व सांसद कृष्णप्रसाद भट्टराई (पर्वत), पूर्वमन्त्री देवबहादुर क्षेत्री (पर्वत) संविधान सभा सदस्य भलक पाणी तिवारी, तिसको दशकमा पुष्पलालसँग वनारस हेड क्वाटरमा पुष्पलालका सहयोगीका रुपमा रहेका माक्र्सवादी दार्शनिक चिन्तक गोपीरमण उपाध्याय, पूर्व मन्त्री केशवलाल श्रेष्ठ, लगायतका व्यक्ति र विभिन्न व्यक्तित्वहरू उपस्थित कार्यक्रममा सबैले आ–आफ्नो परिचय र विगतका योगदानलाई सङ्क्षेपमा प्रस्तुतीकरण गर्ने चाँजोपाँजोमा दुई दिनसम्म खटेर रेकर्ड गराउने, प्रस्तुतीकरणका लागि सहजीकरण गर्ने लेखक एवम् राजनैतिक विश्लेषक झलक सुवेदीबाट प्रस्तुत भेलाका सहभागीहरूको प्रस्तुति र विचार समेटिएको छुट्टै दस्तावेज पाठक बिच आउने नै छ । भेलामा संयोजक कृष्ण आचार्य आफ्ना विगतका समकालीनहरुसँग भेटघाट गर्न र भलाकुसरी साट्न व्यस्त त्यस्तै भेटघाटमा सह संयोजक मोहन के.सीको पनि दुईदिनसम्म व्यस्तता नै थियो । मोहन केसीले त उपस्थित सहभागिहरुका बीच एउटा व्यक्तिगत विवरण फारम भर्न लगाएर लानु भएकोले त्यसको एउटा विवरण र तथ्यमा आधारित विश्लेषणात्मक अभिलेखको तयारी पनि गर्नुभएकै होला । प्रस्तुतकर्ताहरुको रेकर्डको अनुगमन रामराज रेग्मीले निरन्तर निगरानी राखेको कार्यक्रममा तनुहँ जिल्लाबाट शेषमणि आचार्य, सम्भु बहादुर अधिकारी, मुरली मोहन काफ्ले, डम्मर बहादुर वि.क. (भिरकोट) लगायतका २१ जना साथीहरु सहभागी रहेका थियौँ ।
यो पनि –